अनुवाद : सुरथ गिरी
सिद्धान्त एक : स्वतन्त्र मानिस समान हुँदैनन् र समान मानिस स्वतन्त्र हुँदैनन् ।
सर्वप्रथम त मैले यस आलेखमा कुन प्रकारको समानताको कुरा गर्दैछु भनेर स्पष्ट पार्नुपर्छ । मैले यहाँ कानूनको अगाडि सबै व्यक्तिको समानताको कुरा गरिरहेको होइन । जाति, लिङ्ग, धन, आस्था वा धर्मका आधारमा कानूनको अगाडि कसैलाई पक्षपात गर्नु हुँदैन भन्ने सिद्धान्त त पश्चिमी सभ्यताको आधार नै हो । कतिपय अवस्थामा हामी यस सिद्धान्तमा खरो नउत्रियपनि यस सिद्धान्तमाथि कसैको पनि फरक मत आउलाजस्तो मलाई लाग्दैन ।
मैले यहाँ कुरा गरिरहेको समानता उद्योग, वाणिज्य, बजार, काम र विनिमयमार्फत गर्ने कमाइबाट हुने आम्दानी तथा भौतिक सम्पत्तिको “समानता”का बारेमा हो । म आर्थिक समानताका बारेमा कुरा गर्दैछु । यस पहिलो सिद्धान्तलाई दुई भागमा विभाजन गरेर हेरौँ ।
स्वतन्त्र मानिस समान हुदैनन् । जब मानिसहरू आफैमा स्वतन्त्र हुन्छन्, उनीहरु आफ्नो भाग्यको मालिक आफै हुन्छन् । उनीहरू आफ्नो तथा परिवारको उन्नतिका लागि प्रयास गर्न स्वतन्त्र हुन्छन्, बजारले प्रदान गर्ने परिणामहरू एकैनासका हुँदैनन् । मानिसहरूले अत्यन्त फरकफरक स्तरमा आयआर्जन गर्छन् र फरकफरकमात्रामा धनको उपार्जन पनि गर्दछन् । केही मानिसहरू यस तथ्यबारे नै खेद प्रकट गरिरहेका हुन्छन् र “धनी र गरिबबीचको खाडल बढ्यो” भनेर दुःखमनाउ पनि गरिरहेका हुन्छन् । तर मलाई के लाग्दछ भने एउटा स्वतन्त्र समाजमा मान्छेहरू फरकफरक हुनु अत्यन्त गजबको कुरा हो । हामी सबैजना अद्वितीय छौँ, एकअर्काभन्दा वा कुनै जीवित वा मृत व्यक्तिभन्दा अनगिन्ती रूपमा फरक छौँ । यस्तो अवस्थाबारे ज्ञात हुँदाहुँदै पनि बजारमा गरेको अन्तरक्रियाबाट समान परिणाम आओस् भनेर आशा चाहिँ हामी किन गर्छौँ ?
हामी हाम्रो प्रतिभाको स्तरमा फरक छौँ । समाजमा रहेका अनेक सदस्यहरूमा कोहीसँग अन्यभन्दा बढी वा अन्यका भन्दा भिन्न र मूल्यवान प्रतिभा हुन्छ । केही मानिसले आफ्नो सर्वोच्च प्रतिभा जीवनको उत्तरार्धसम्म पनि थाहा पाउँदैनन् र कतिले त थाहा नै पाउँदैनन् पनि । टाइगर वुड्स एक प्रतिभावान गल्फ खेलाडी हुन् । उनले गल्फ खेलेर मैलेभन्दा अत्यन्त धेरै पैसा कमाउँछन् भन्ने कुरामा कसैलाई केही आपत्ति हुनु जरुरी छ र ? विल केलगले आफू ४६ वर्षको हुँदासम्म पनि आफूमा भएको अद्भूत उद्यमशिलता तथा विज्ञापन गर्न सक्ने प्रतिभाबारे थाहा पाएका थिएनन् । आफ्नो केलग कम्पनी शुरु गरेर नास्ताको उत्पादन बेच्नुभन्दा अगाडिसम्म उनी आफ्नो दाजुको ब्याटल क्रिक स्यानिटरियममा हप्ताको २५ डलरका लागि सानोतिनो काम गरेर गुजारा गरिरहेका थिए ।
हामी केवल प्रतिभामा मात्र नभएर मेहनतीपन, काम गर्ने इच्छा र लगनशिलताका आधारमा पनि एकअर्काभन्दा भिन्न छौँ । केही मानिस अन्यले भन्दा बढी मेहनतसाथ बढी समयसम्म र बढी चलाखीपूर्ण तरिकाले काम गर्छन् । यसले हामीले गर्ने कामलाई अरूले कतिको महत्व दिन्छन् र हाम्रो सेवालाई कति शुल्क तिर्न तयार हुन्छन् भन्ने कुरामा ठूलो फरक पार्दछ ।
हामी हाम्रो बचत गर्ने बानीका आधारमा पनि फरक छौँ । यदि हाम्रा राष्ट्रपतिले जादुको छडी घुमाएर रातारात हामी सबैलाई आम्दानी र सम्पत्तिका आधारमा बराबर बनाइदिए भने पनि भोलिको यसै समयसम्ममा हामी पुनः असमान भइसक्छौँ किनकि हामीमध्ये कसैले आफ्नो पैसा बचत गरौँला भने कसैले खर्च गरौँला । स्वतन्त्र मानिसहरू कहिल्यै पनि समान नहुने यी तीन कारणहरू हुन् तर कारणहरू यति मात्र छैनन् ।
समान मान्छे स्वतन्त्र हुँदैनन् – मेरो पहिलो सिद्धान्तको दोस्रो भाग । मलाई संसारको कुनै पनि कुनामा भएका आर्थिक रूपमा समान मानिसहरू देखाइदिनुस्, म तपाईंलाई एकदम अस्वतन्त्र मानिसहरू देखाइदिन्छु । किन ? समाजभर सबैलाई समान आम्दानी सुनिश्चित गर्ने र धनको वितरण गर्ने एउटै मात्र उपाय सबैको शिरमा बन्दुक तेस्र्याउनु हो । बल प्रयोग नगरी तपाईले मानिसहरूलाई समान बनाउन सक्नुहुन्न । यसका लागि तपाईले आदेश दिनुपर्ने हुन्छ र यसको समर्थनका लागि फाँसीको फन्दा, गोली, जिलोटिन १ वा विद्युतीय कुर्सी २राख्नुपर्ने हुन्छ । यसका लागि नागरिकहरूलाई दिइने आदेशहरू पनि निम्नलिखित प्रकारका हुन आवश्यक पर्छ, “उन्नति नगर् । अरूभन्दा चलाख नबन् । अरूले भन्दा बढी बुद्धिमतार्र्पवक बचत नगर् । नवीन उत्पादन लिएर अगाडि नआउ । ग्राहकले तिम्रो प्रतिस्पर्धीको उत्पादनभन्दा बढी रुचाउने सम्भावना भएको सामान वा सेवा उपलब्ध नगराउ ।”
१ – जिलोटिन घाँटी छिनाएर मृत्यृदण्ड दिने एक यन्त्र हो जुन विषेशतः अठारौं शताब्दीको अन्त्यतिर भएको फ्रान्सेली क्रान्तिमा प्रयोग भएको थियो ।
२ -संयुक्त राज्य अमेरिकामा विद्युतीय कुर्सीको प्रयोगद्वारा विद्युतीय झट्काको प्रयोग गरी मृत्युदण्ड दिइन्छ मेरो विश्वास गर्नुस् – जुन समाजमा यस्ता नीतिगत रूपमा बाध्यात्मकउर्दीहरू रहेका हुन्छन् त्यस्तो समाजमा तपाईँले जीवन चलाउन रुचाउनु हुने छैन ।
साम्यवादी खमेररुजको शासनका बेला सन् १९७० को उत्तरार्धमा कम्बोडिया झन्डैझन्डै यस्तै अवस्थाको नजिक आइपुगेको थियो । यसको परिणामस्वरूप चार वर्षको अन्तरालमा ८० लाख जनतामध्ये २० लाख जनता मारिए । प्रभुत्व वर्गमा भएका केही शक्तिशाली व्यक्तिहरूबाहेक त्यस पीडित देशमा भएका सबै जनताले त्यस अन्तरालमा ढुङ्गे युगमा जस्तो जीवन व्यतीत गरेका थिए । पहिलो सिद्धान्तको सन्देश के हो भने मानिसहरूको आफ्नै कारणले गर्दा आउने आम्दानीको भिन्नतालाई लिएर धेरै नअल्झौँ । यदि ती भिन्नताहरू कुनै कृत्रिम राजनैतिक बाधाका कारणले भएका हुन् भने त्यस्ता बाधाबाट छुट्कारा पाऊँ । तर असमान मान्छेलाई ल्याएर, पेलेर एकनासको थुप्रो बनाउने प्रयास नगरौं । त्यसमा कहिल्यै सफलता हासिल गर्न सकिँदैन । बरु त्यस्तो प्रयास गर्दा थुप्रै हानी र क्षति भने अवश्य हुन्छ ।
३ – खमेरुज एक कम्बोडियाली गुरिला शक्ति तथा साम्यावादी राजनीतिक आन्दोलन थियो र सन् १९७५ देखि सन् १९७९ सम्म कम्बोडियाको सत्ताधारी पार्टी रहेको थियो ।
उदाहरणका लागि बलजफतीपूर्ण करको दरले कहिल्यै पनि मानिसहरूलाई समान बनाउँदैन । यस कार्यले केवल मेहनती र उद्यमशील व्यक्तिहरुलाई अन्य स्थानमा सर्न वा अन्य प्रकारको काम गर्न प्रेरित मात्र गर्छ, जसका कारण ती व्यक्तिहरूबाट लाभान्वित हुने ठूलो जनसाधारणको हिस्सा गरिबीमा पिल्सन बाध्य हुन्छन् । अब्राहम लिङ्कनले भनेका थिए, “कुनै एक व्यक्तिलाई तल तानेर तपाईले कुनै अर्को व्यक्तिलाई माथि उठाउन सक्नुहुन्न ।”
सिद्धान्त दुईः जुन कुरा तपार्इको हो, त्यसको तपाई हेरचाह र्गनुहुन्छ, जुन कुरा कसैको होइन वा सबैको हो, त्यसको स्याहार हुदैन ।
यस सिद्धान्तले मुख्यतः निजी सम्पत्तिको जादुमाथि प्रकाश पार्दछ । यसले संसारभरका समाजवादी अर्थतन्त्रको असफलताबारे पनि व्याख्या गर्दछ ।
पुरानो सोभियत साम्राज्यमा सरकारले केन्द्रीय योजना र राष्ट्रिय स्वामित्वको विशिष्ठताको खुब गुणगान गाउँदथ्यो । उनीहरू निजी सम्पत्तिको निराकरण वा कम्तीमा न्यूनीकरण गर्न चाहन्थे किनकि उनीहरूको सोचाइमा निजी स्वामित्व स्वार्थी र अनुत्पादक थियो । राज्यका सम्पूर्ण स्रोतहरू सरकारी स्वामित्वमा भएमा सबैको हितका लागि सदुपयोग हुन्छ भन्ने उनीहरूको तर्क थियो । यसै कारण पहिले जुन खाद्यान्न किसानको खाद्यान्न थियो, त्यो “जनताको खाद्यान्न” हुन पुग्यो र मानिसहरू भोकै पर्न थाले । जुन कारखाना कुनैबेला उद्यमीको कारखाना थियो, त्यो “जनताको कारखाना” बन्न पुग्यो र त्यसबाट यति गुणस्तरहीन सामान उत्पादन हुन थाल्यो कि ती सामानका लागि राज्यको सीमाभन्दा पारी कुनै बजार नै थिएन ।
हामीलाई अहिले थाहा छ, पुरानो सोभियत साम्राज्यले एकपछि अर्को आर्थिक र पर्यावरणीय गल्ती गर्यो । एकपछि अर्को भयावह सपना लिएर आयो । यो प्रत्येक समाजवादी प्रयोगले सिकाएको पाठ पनि हो । हुन त समाजवादीहरू अम्लेट बनाउन लागि केही अन्डाहरू त फुटाउनै पर्छ भन्न खुब रुचाउँछन् तर सत्य के हो भने उनीहरू जहिले पनि अन्डा मात्र फुटाउने कार्य गर्दछन् तर अम्लेट कहिल्यै बनाउँदैनन् ।
तपाईँ आफू सम्पत्तिको ख्याल राख्नमा राम्रो छु जस्तो लाग्छ भने गएर अरू कसैको घरमा एक महिनाको लागि बसि हेर्नुहोस् वा उनीहरूको गाडी केही समय चलाएर हेर्नुस । म वचन दिन्छु, सोही समयवधिमा न त उनीहरूको घर, न त गाडी नै तपार्इँको जस्तो देखिनेछ वा रहिरहनेछ ।
यदि तपाईँलाई समाजमा रहेका उत्पादनका सीमित स्रोतहरू लिएर रद्दीमा परिणत गर्नु छ भने तपाईले केवल ती स्रोत सिर्जना गर्ने वा कमाउने व्यक्तिको हातबाट खोसेर कुनै केन्द्रीय अख्तियारलाई व्यवस्थापन गर्नका लागि दिए पुग्छ । तपाईले एकै झट्कामा सबै कुरा तहसनहस पार्न सक्नुहुन्छ । दुःखको कुरा त के छ भने, सबै तहका सरकारले सँधैजसो त्यस्ता ऐन वा कानून बनाइराखेका हुन्छन्, जुन निजी सम्पत्तिको अधिकार हनन गरेर सम्पत्तिको राष्ट्रियकरण गर्नतर्फ उन्मुख हुन्छन् ।
सिद्धान्त तीनः असल सार्वजनिक नीतिले अल्पकालीन प्रभाव र सीमित व्यक्तिहरूलाई मात्र नभएर दीर्घकालिन प्रभाव र सबै व्यक्तिहरूलाई ध्यानमा राख्नुपर्छ ।
हुन त बेलायती अर्थशास्त्री जोन मेनार्ड केन्सले कुनै समयमा घोषणा गरेको, “दीर्घकालमा त हामी सबै मर्छौ” भन्ने कुरा सही होला तर यसलाई भोलिको समयमा थुप्रै मानिसहरूलाई असर पार्ने गरी वर्तमानमा केही मानिसको खुसीका लागि नीतिहरु बनाउने छुटका रुपमा प्रयोग गर्नु ठीक होइन ।
म त्यस्ता थुप्रै नीतिहरूलाई उदाहरणका रुपमा प्रस्तुत गर्न सक्दछु । लिन्डन जोन्सनले १९६० को दशकमा “महान समाज” को अवधरणा निकालेका बेलाको सोच भने केही व्यक्तिहरू कल्याणकारी चेकबाट लाभान्वित हुनेछन् भन्नेथियो । अहिले हामीलाई थाहा छ, दीर्घकालमा उक्त कार्यक्रमले अल्छिपनलाई बढावा दिने, परिवारहरू विखन्डन गर्ने, अन्तरपुस्तागत परनिर्भरता सिर्जना गर्ने र कर तिर्ने व्यक्तिहरूको कमाइको ठुलो अंश खोस्ने काम गर्नुका साथै अन्य सांस्कृतिक रोगहरू सिर्जना गर्यो । यसको नकारात्मक प्रभावको निवारण गर्नका लागि केही पुस्ता नै लाग्न सक्छ । त्यसैगरी सरकारी घाटा र सरकारको आकार विस्तार गर्ने नीतिले गर्दा आरम्भमा केही सीमित व्यक्तिलाई फाइदा भए तापनि यसले पछि आएर राष्ट्रको अर्थतन्त्र र नैतिकताको बन्धनलाई दसकौ देखि रोगी बनाइरहेको छ ।
यो सिद्धान्त हाम्रा सोचहरूलाई गहन बनाउनका लागि एउटा अनुरोध पनि हो । यसले हामी हाम्रो फैसलामा खोक्रो हुनु हुदैन भन्छ । यदि कुनै एउटा चोरले एकपछि अर्को बैंकबाट सामर्थले भ्याएसम्मको नगद चोर्छ र सबै पैसा स्थानीय पसलहरुमा खर्च गर्छ र पसलेहरूमाझ सर्वेक्षण गरेर उक्त चोरले अर्थतन्त्रलाई बढावा दिइराखेको छ भन्ने निष्कर्षमा तपाईँ पुग्नुहुन्छ भने तपाईँको फैसलालाई गहन भन्न मिल्दैन ।
हामीले सधैं याद राख्नुपर्छ कि विगतका नीतिकर्ताहरूले वास्ता नगरे हुन्छ भनेको भोलिको कुरा नै आजको हाम्रो वर्तमान हो । यदि हामी उत्तरदायी वयस्क बन्न चाहन्छौ भने हामीले शिशुको जस्तो व्यवहार गर्नु हुदैन, जो केवल आफ्नो र वर्तमानको इच्छामा मात्र केन्द्रित रहन्छ ।
सिद्धान्त चारः कुनै कुरालाई उत्साहित गरे बढी पाउनुहुन्छ, निरुत्साहित गरे कम पाउनुहुन्छ ।
तपाईँ र म मानव भएका नाताले कुनै पनि काम गर्नुका पछाडि त्यसमा उत्प्रेरणाको भूमिका र त्यसको महत्वबाट अछुतो रहन सक्दैनौँ । ती उत्प्रेरणा अनुसार नै हामी सधै प्रतिक्रिया जनाइरहेका हुन्छौ । कतिपय अवस्थामा अत्यन्त शक्तिशाली तवरमा ती उत्प्रेरणाले हाम्रो व्यवहारलाई प्रभावित गरिरहेका हुन्छन् । यस पक्षलाई बिर्सने नीति निर्माताहरूले मुर्खतापूर्ण काम गरिरहेका हुन्छन् । जस्तै, कुनै वस्तु वा सेवामा करको दर बढाए पनि मानिसहरूले उक्त वस्तु वा सेवा उत्तिकै मात्रामा प्रयोग गरिहाल्छन् नि भनेर सोच्ने प्रवृत्ति जनताहरू ऊन कटाउनका लागि लामबद्ध भएर बसेका भेडाहरू हुन् भनेर सोचे जस्तै हो ।
अमेरिकामा जर्ज बुश (प्रथम) ले दबावमा आएर सन् १९८८ को “नयाँ कर” लगाउँदिन भनेर गरेको वाचा तोडेको स्मरण गर्नुस् । सन् १९९० को ग्रीष्ममा करको दरमा ठूलो मात्रामा वृद्धि भयो । अरू सँगसँगै डुंगा, हवाइजहाज तथा गहनामा नाटकीय ढङ्गले सदनले कर बढायो । कानून निर्माताहरूले यी वस्तुहरू धनीहरूले मात्रै त उपभोग गर्छन् भनेर सोचेर उक्त कर लागू गरे । यी तीन वस्तुहरुबाट उनीहरूले ३ करोड १० लाख अमेरिकी डलर पहिलो वर्षको राजस्वका रूपमा उठ्ने अनुमान गरेका थिए तर अपेक्षा गरिएभन्दा ठीक उल्टो भइदियो । वृद्धि गरिएको करको दरले राजस्व केवल १ करोड ६० लाख अमेरिकी डलर मात्र उठाउन सक्यो । यसका साथै उच्च दरको करले गर्दा यी उद्योगहरूमा आएको मन्दीका कारण बेरोजगार भएका व्यक्तिहरूलाई दिने बेरोजगारी भत्ता स्वरूप अर्को १ करोड ६० लाख अमेरिकी डलर बराबरको रकम खर्च भयो । केवल वाशिङ्टन डी. सी. मा मात्रै होला जहाँ कानून निर्माताहरू प्रायः उत्प्रेरणाको महत्व बिर्सिएर ३१ को लक्ष्य राख्दा केवल १६ मात्र हासिल गर्छन् र त्यसका लागि २४ खर्च गर्छन् तरपनि ठीकै भएको छ भनेर सोच्छन् ।
परिवार टुक्र्याउन चाहनुहुन्छ, परिवार टुक्रिएमा अझ मोटो कल्याणकारी चेक पाइने व्यवस्था गरिदिनुस् । बचत तथा लगानी घटोस् भन्ने चाहनुहुन्छ, दोहोरो कर लगाइदिनुहोस् र त्यसमाथि अझ पूँजीगत नाफा कर पनि लगाइदिनुहोस् । मानिसहरूले कम काम गरुन् भन्ने चाहनुहुन्छ भने उच्च करलगाइदिनुहोस् ताकि मानिसहरूले बढी काम गर्नु नै बेकार हो भन्ने सोचुन् ।
अहिले अमेरिकाको राज्य सरकार र सङ्घीय सरकार दुवैको ध्यान घट्दो राजस्व र आर्थिक मन्दीका कारण आएको घाटाको अवस्थासँग कसरी जुझ्ने भन्ने प्रश्नमा आएर अल्झेको छ । म्याकिन्याक केन्द्रमा हामी के विश्वास गर्दछौ भने यस्तो परिस्थितिको समाधान सरकारले त्यसैगरी गर्नुपर्छ जसरी हामी जस्ता परिवारहरुले देशभरि गर्छन् – खर्च कम गरेर । कमजोर अर्थतन्त्रलाई सुचारु गर्ने उपाय नै त्यही हो ताकि यसले बढी रोजगारी र राजस्व सिर्जना गरोस् । बिरामी सिकिस्त भएको बेला डाक्टरले अझ थप रगत निकाल्दैनन् ।
सिद्धान्त पाँचः आफ्नो पैसाजस्तो ध्यान दिएर अरूको पैसा कसैले पनि खर्च गर्दैन ।
तपाईँले कहिलेकाँही सरकारले ६०० डलर पर्ने हथौडा र ८०० डलर पर्ने ट्वाइलेट सिट खरिद गरेको सुन्दा कहिल्यै अचम्म मान्नु भएको छ ? तपाईले यो देशको कुना कुना वा दुरदराजमा गएर खोज्नुभयो भने पनि त्यस्तो व्यक्ति पाउनु हुन्न जसले आफ्नो पैसा त्यसरी खर्च गरेको होस् । तर यस्ता फजूल खर्चसरकारी तथा कहिलेकाँही जीवनका अन्य अवस्थामा पनि भइरहेका हुन्छन् । किन? किनकि ती सबै अवस्थामा खर्च गर्ने व्यक्तिहरुले अरू कसैको पैसा खर्चिरहेकोहुन्छन् ।
अर्थशास्त्री मिल्टन फ्रिडम्यानले यस कुरालाई विस्तृत रूपमा व्याख्यागरेका छन् । उनले औँल्याएअनुसार पैसा खर्च गर्ने चार तरिका हुन्छन् । जब तपार्इँआफ्नो पैसा आफूमाथि खर्चिनु हुन्छ तपाईँले कमै मात्र गल्ती गर्नुहुन्छ । किनकि पैसा कमाउने, खर्च गर्ने र त्यसबाट लाभ हुने व्यक्तिबीचको सम्बन्ध दरिलो, प्रत्यक्षर तत्कालको हुन्छ । जब तपाई आफ्नो पैसा अरू कसैलाई उपहार किनिदिनका निम्ति प्रयोग गर्नुहुन्छ, तपाईँलाई आफ्नो पैसाको सही मूल्य पाउने प्रेरणा त हुन्छ तर तपाईँले प्रापकले चाहेजस्तै वा उसलाई आवश्यक परेकै चीज किन्नुहुन्छ भन्ने ग्यारेन्टी हुँदैन । जब तपाईँ अरू कसैको पैसा आफ्ना लागि केही किन्नका लागि प्रयोग गर्नुहुन्छ, जस्तै अर्कैको खर्चको खाताबाट आफ्ना लागि खाजा खाने खालको कुरा भयो भने तपार्इँलाई सही वस्तु पाउने प्रेरणा हुन्छ तर मितव्ययी बन्ने कुनै प्रेरणा हुँदैन । अन्त्यमा जब तपाई अन्य व्यक्तिको पैसा अरू कसैका लागि केही किनिदिन प्रयोग गर्नुहुन्छ भने उक्त अवस्थामा कमाउने, खर्च गर्ने र लाभ पाउने व्यक्तिबीच कुनै सम्बन्ध हुँदैन जसले गर्दा फजुल खर्च हुने वा स्रोतको हिनामिना हुने सम्भावना सबैभन्दा धेरै हुन्छ । यी चारवटा तरिकालाई ध्यानमा राख्दै अबसोच्नुहोस् त कुनै व्यक्ति अरू कसैको पैसा अरू नै कोहीको लागि खर्च गरिराखेको छ । सरकारले आजसम्म सधैं गरिआएको कार्य नै त्यही मात्र हो । यसै कारणले गर्दा सरकारी स्तरमा धेरै फजुल खर्च भइरहेको हुन्छ ।
सिद्धान्त छः अरू कसैसँग लिएको बाहेक सरकारसँग कसैलाई दिने केही हुँदैन । जुन सरकार तपाईलाई सबैकुरा दिन सक्ने गरी ठूलो हुन्छ त्यो सरकार तपाईको सबैकुरा खोस्न सक्ने गरी नै ठूलो हुन्छ ।
यो कुनै अतिवादी, सिद्धान्तवादी, सरकारविरोधी अभिव्यक्ति होइन । यो सत्य कुरा हो । यस अभिव्यक्तिले सरकारको प्रकृतिका बारेमा धेरै कुरा दर्शाउँछ । अमेरिकाका प्रवर्तकहरूको सोचाइ र सल्लाह पनि यसै अनुसारको रहेको थियो ।
जर्ज वासिङ्टनले एक पटक भनेका थिए, “सरकार तर्क वा बोलीको भरमा चल्ने संयन्त्र होइन । सरकार आगो सरह खतरनाक नोकर वा भयावह मालिक हो ।” यसबारे गहिरिएर सोचिहेर्नुस त । जर्ज वासिङ्टनले चाहेभन्दा ठूलो नभई साँच्चै सरकारले जनताको सेवक नै भन्न मिल्ने गरि सबै काम गरेतापनि उनको भनाइमा सरकार अझै खतरनाक नै हुन्छ । ग्राउचो मार्क्सले एकचोटि आफ्नो भाइ हार्पोलाई भनेका थिए “ऊ इमान्दार छ तर उसमाथि निगरानी राख्न चाहिँ जरुरी छ ।” एकदमै सानो र असल सरकारको पनि निगरानी गर्नु जरुरी छ किनकि जेफर्सनले भनेझैं सरकारको प्रकृति नै विस्तार हुने किसिमको हुन्छ, तर स्वतन्त्रता भने खुम्चिने प्रकृतिको हुन्छ । यस अनुच्छेदमा अर्को भनाइ थप्दा, ऐलक्जन्डर ह्यामिलटनले भनेका थिए,“मानिसको अस्तित्वको नियन्त्रण भनेको उसको इच्छाको नियन्त्रण हो ।
कथित “कल्याणकारी राज्य” भनेको खर्चालु र भ्रष्ट कर्मचारीतन्त्र मार्फत् रामसँग रहेको सम्पत्ति लुटेर विनाश गरिसकेपछि श्यामलाई दिने प्रपन्च बाहेक केही होइन । एक प्रकारले कल्याणकारी राज्य भनेको घोडालाई दाना खुवाउँदा बाटोमा भँगेराले पनि चारो खान पाँउछन् भन्नु जस्तै हो । यसलाई अर्को तरिकाले हेरौं– राज्य भनेको हामी सबैजना एउटा ठूलो घेरा बनाएर उभिइरहेका छौं र हामी सबैको हात आफूभन्दा अगाडि उभिने मान्छेको खल्तीमा छ । कसैले एकचोटि भनेको थियो नेताहरूको कल्याण हुने र बाँकी जनताले चैं कर तिर्ने भएको भएर यसको नाम कल्याणकारी भएको हो ।
स्वतन्त्र र स्वाधीन मानिसहरूले आफ्नो जीविकोपार्जनका लागि सरकारको मुख ताक्दैनन् । उनीहरू सरकारलाई सित्तैमा भनेको जस्तै चीज फल्ने कल्पवृक्षका रूपमा नहेरेर आफ्नो स्वतन्त्रताको रक्षकका रूपमा हेर्छन् जसले शान्ति कायम गर्ने, सबैजनालाई अवसर वृद्धि हुने काम तथा नियम कानूनको व्यवस्थापन गर्ने आदि जस्ता आधारभूत कामहरू गर्छ र यसबाहेक अन्य अवस्थामा हामीलाई एक्लै छोडिदिन्छ । सरकारमा धेरै भर पर्नु एकदम खतरनाक हुन्छ भन्ने कुरा प्राचीन रोम देखिकै हरेक सभ्यताहरूले पीडादायी तरिकाले सिक्दै आएका छन् ।
जब तपाईका प्रतिनिधि तपाईँकहाँ आएर “र्हेनुस मैले तपाईलाई के–के ल्याइदिएको छु” भन्छन्, तपाईले सोध्नुहोला ती वस्तुको मूल्यचाहिँ कसले चुकायो । यदि उनी इमान्दार रहेछन् भने उनले तपाईँका लागि केही कुरा ल्याउन सक्नुको कारण अरू कसैबाट लिएर नै हो भन्ने छन् । यसैगरि अन्य प्रतिनिधिहरूले आफ्ना जनतामा लिएर जाने चीजहरूको मूल्य पनि तपाईले चुकाइराख्नु भएको छ ।
सिद्धान्त सातः स्वतन्त्रताले नै संसारमा सबै भन्दा बढी महत्व राख्छ ।
मैले माथिका छ सिद्धान्तमार्पत् पनि अझै आफ्नो कुरालाई प्रष्ट पारेर बुझाउन सकिनकी जस्तो लागेर यो सातौं र अन्तिम सिद्धान्त थपेको छु ।
स्वतन्त्रता कुनै एउटा राम्रो वा आरामदायी विचार मात्रै होइन । न त यो कुनै सुखद परिस्थिति वा आत्मरक्षाको कुनै साधारण अवधारणा मात्रै नै हो । स्वतन्त्रता त्यस्तो कुरा हो जसले अरू सम्पूर्ण कुरा हुनमा अहम् भूमिका खेल्छ । स्वतन्त्रता विना जीवन वाक्क लाग्दो हुन्छ र अन्त्यमा यस विना जीवन नै रहँदैन ।
जुन सार्वजनिक नीतिले स्वतन्त्रता हटाउँछ वा स्वतन्त्रतालाई संरक्षण वा सुदृढीकरण गर्ने काम गर्दैन, त्यस्ता सार्वजनिक नीतिप्रति स्वतन्त्रता प्रेमीहरू सजगर सशङ्कित हुनु जरुरी छ । हामीले हाम्रो स्वतन्त्रता गुमाएबापत के पाइराखेका छौ त ? भनेर उनीहरुले सोध्नुपर्छ आशा गरौँ यो कुनै अल्पकालिन र मूल्यहीन लाभ नहोस् । अझ बेन फ्र्याङ्कलिनले त हामीलाई सल्लाह नै दिएका छन् “जो अस्थायी सुरक्षा किन्नका लागि आफ्नो आधारभूत स्वतन्त्रता नै अरूलाई सुम्पन तयार हुन्छन्, उनीहरू न त सुरक्षाका हकदार हुन्छन् न त स्वतन्त्रताको नै ।”
आजकल प्रायः नीति निर्माताहरू नीति बनाउँदा स्वतन्त्रतालाई के असर पर्छ भन्ने विचार नगरिकन नै नयाँ नीति बनाउँछन् । आफूलाई राम्रो महशुस भयो भने वा बाहिर राम्रो सुनियो भने वा आफूलाई निर्वाचित गराउन मद्दत गर्ने किसिमको नीति देखे भने उनीहरूले त्यसलाई नीतिगत तहमा अपनाउँदछन् । यस प्रक्रियामा स्वतन्त्रताका आधारलाई लिएर ती नीतिहरूउपर प्रश्न उठाउनेहरुलाई हास्यास्पद बनाउने वा टार्ने कोशिस गरिन्छ । आज सबै तहका सरकारले हामीले गरेको सम्पूर्ण उत्पादनको ४२ प्रतिशत लिएर जान्छ र उपभोग गर्छ जबकि १९०० सम्ममा सरकारले केवल लगभग ६ देखि ७ प्रतिशत मात्र जनताको उत्पादन उपभोग गर्थ्यो। तर पनि थोरै मात्र मान्छेहरू ठूलो सरकारका समर्थकहरूलाई प्रश्न गर्छन “४२ प्रतिशतले किन पुग्दैन ? अझै कति चाहिँ चाहिन्छ ?” वा “कतिसम्म चाहिँ मानिसले आफ्नो श्रमको फल पाउनुपर्छ ?”
(लरेन्स डव्लू रिड म्याकिन्यक सेन्टर फर पब्लिक पोलिसिका अध्यक्ष हुनुहुन्छ ।)
1 Comment
Pingback: Seven Principles Of Sound Public Policy –