पुजीवादलाइ धेरै-धेरै धन्यवाद !

किन घृणा गरिन्छ पुजीवादलाइ ?

110

पुँजीवाद ! यो नामले नेपाली समाजमा निकै ठुलो बदनामी कमाएको छ l आज यो नामलाई कुनै गाली भन्दा कमको रूपमा लिँइदैन l कसैलाई गाली गर्नु परेमा पुजीबादीको ट्याग भिडाइदिए पुग्ने अवस्था छ l समाजको सारा खराबीको जड पुँजीवाद हो भन्ने मान्यताले प्रधानता पाएको छ l यहाँसम्म कि भर्खरै मात्र गृहमन्त्री बादलले नेपालमा बढ्दै गएको बलात्कारको घटनाको कारण भनेकै पुँजीवाद हो भनेर सम्म दोषारोपण गर्न पछि परेनन् l

पुँजीवाद नामसँग दैनिक रूपमा हामी चिरपरिचित भए पनि कमैले मात्र यसलाई यसको अध्ययनको पाटोबाट बुझ्ने प्रयत्न गरेको पाइन्छ l हामीमद्धे धेरैको पुँजीवाद सम्बन्धी बुझाई अथवा धारणा साम्यवादी वा समाजवादी धारमा विश्वास गर्नेहरूको व्याख्यान, चिन्तन र त्यसलाई जनमानस समक्ष सम्प्रेषण गर्ने माध्यमहरूले स्थापित गरेको मान्यतामा आधारित छ l हामीले पुजीवादलाइ साँचिनै बुझेर आलोचना गर्दछौ वा सुनेको भरमा मात्र आफ्नो मान्यता बनाएका छौ, त्यसतर्फ मनन गर्न जरुरी छ l पुजीवाद बारे कुनै पनि धारणा बनाउनुभन्दा पहिला यसलाई बुझ्ने प्रयास गर्दा ठिक होला l

के हो त पुँजीवाद ?

पुँजीवाद जसलाई अङ्ग्रेजीमा क्यापिटलिजम भनेर बुझ्ने गरेका छौ l जसको शाब्दिक अर्थ क्यापिटल अर्थात् पुजी हुन आउँछ l यसको सिद्धान्तसँग सरोकार राख्ने वादलाई पुजिबाद भनिन्छ l पुजी भनेको आफूसँग सञ्चित स्रोत र साधन हो, जसलाई कुनै उधम तथा व्यापारमा लगानी गरी त्यसबाट बढी नाफा आर्जन गर्ने सोच राखिन्छ l

पुँजीवाद एउटा आर्थिक तथा राजनीतिक प्रणाली हो जसमा उधम र व्यापार गर्नको निम्ति राज्यले सहजकर्ताको भूमिका खेलेको हुन्छ l यस वादले ब्याक्तिगत सम्पत्ति माथिको अधिकारलाई सुनिश्चित गरी, विधिको शासन, खुल्ला बजार नीति र राज्यको कम नियन्त्रण र हस्तक्षेपको सिदान्तलाइ आत्मसाथ गर्दछ l यस व्यवस्थाले श्रमको बाँडफाँड, माग र आपूर्ति (Demand र Supply), आपसी समझदारी (Voluntarily Cooperation/कसैको कर काप बिना) मा हुने लेनदेन, छनौट र प्रतिस्पर्धामा आधारित बजारको सिद्धान्तमा विश्वास गर्दछ l
मानिसहरू आफ्नो हितलाई बढावा दिनको निम्ति कार्य गर्दछन् र आफ्नो हित सुनिश्चित गर्ने क्रममा समाजमा रहेका अन्य व्यक्तिहरूको पनि हितलाई बढावा दिन्छ भन्ने मान्यतामा पुँजीवाद विश्वास गर्दछ (जस्तै: एउटा खसी काट्ने मानिसले अरू मानिसहरूलाई मासु खुवाउने उदेश्यले खसी काटेको हुँदैन, बरु त्यसबाट उसले आफ्नो फाइदा देख्ने क्रममा अरूको पनि आवश्यकता पुरा हुन पुग्छ ) l

धेरै मानिसहरूले नचाहँदा-नचाहँदै पनि बजारमा अदृश्य हातहरू (invisible hands) मार्फत एक-अर्काको जीवन सहज बनाउनको निम्ति सहयोग पुर्‍याइरहेका हुन्छन् l उदाहरणको निम्ति संसारको कुनै पनि ब्याक्तिले साधारण लाग्ने पेन्सिल एक्लै बनाउन सक्दैन, विश्वको विभिन्न कुनामा रहेका मानिसहरू एउटा पेन्सिल बनाउनको निम्ति बिभिन्न तरिकाले आफ्नो सहयोग जुटाई रहेका हुन्छन् l

पुजिबादि समाजमा मानिसहरू कसैको जबरजस्ती र कर-काप बिना आफ्नो काम गर्न, उत्पादन गर्न, प्रतिस्पर्धा गर्न, लगानी गर्न, लेन-देन गर्न, छनौट गर्न, खरिद-बिक्री आदि जस्ता कार्य गर्न स्वतन्त्र हुन्छन् l आधुनिक पुँजीवादको जननीको रूपमा एडम स्मिथलाइ मानिन्छ, जसले पुँजीवादलाई वैज्ञानिक रूपले व्याख्या गरेका छन् l

आधुनिक समाजमा पुँजीवादको योगदान

आज संसारमा जति पनि देशले आर्थिक विकासको फड्को मारेका छन् ती सबैले पुजीबादी (खुल्ला बजार अर्थतन्त्र) व्यवस्थालाई अनुकरण गरेर नै सफल भएका छन् भनेर भन्दा फरक नपर्ला l यहाँसम्म कि चिन लगायत स्वीडेन, डेनमार्क, नर्वे फिनल्यान्ड आदि युरोपियन देश जो आफूलाई समाजवादी भन्दछन्, उनीहरूले पनि पुजीबादी अर्थ व्यवस्थालाई नै अनुसरण गरी समृद्धि हासिल गरेका छन् l भलै उनीहरूले समाजवादी धारणालाई आत्मसाथ गरी सम्पत्ति वितरण गरेका किन नहुन्, उनीहरूले पुजीबादी व्यवस्था (उधम, व्यापार-व्यवसाय) मार्फत सम्पत्ति सिर्जना गरी सम्पत्ति वितरण गर्न सफल भएका छन् l १९० वटा देश मद्धे Ease of Doing Business को तथ्याङ्क (पृष्ट ४) मा डेनमार्क ३, नर्वे ८ स्वीडेन, १० फिनल्यान्ड १३ औ नम्बरमा पर्नुले पनि यसकुरालाइ स्पष्ट गर्दछ l जबकि नेपाल १०५ औ स्थानमा रहेको छ, अर्थात् यी देशहरूको तुलनामा नेपालमा व्यापार- व्यवसाय र उधम गरी नागरिकहरूले आफ्नो आर्थिकस्तर माथि उठाउने परिस्थिति त्यति सहज छैन l

अलग धारमा विश्वास गर्ने मानिसहरूले पुँजीवादको जतिसुकै निराशाजनक चित्र र व्याख्या प्रस्तुत गरे पनि खुल्ला बजार अर्थतन्त्रले संसारलाई धेरै समृद्ध बनाएको छ भन्ने कुरालाई नकार्न सजिलो छैन l कुनै बेला सीमित मानिसहरू बाहेक अधिकांश मानिसहरू अभाव र गरिबीमा बाच्नु पर्ने बाध्यता थियो l

बिजुली बत्ती, टेलिफोन, घडी, क्यामेरा, कम्प्युटर, रेडियो, टेलिभिजन, जुत्ता-चप्पल, कापी, किताब, कलम आदि जस्ता सबै कुराहरू धेरै मानिसहरूको निम्ति विलासीताका विषय थिए l केही सीमित धनाढ्य र राजा-महाराजाहरूले मात्र यी सबैकुराहरुको उपयोग गर्ने पहुँच र सामर्थ्य राख्दथे l तर आज ती सबै कुराहरू आम नागरिकहरूको पहुँचको विषय बनेका छन्, जुन पुजिबादि विकास कै देन हो l

आज एक रुपैयाको कपालमा लगाउने तेलको प्याकेट देखि लिएर २ रुपैयाको स्याम्पु आदि जस्ता धेरै सामग्रीले न्यून भन्दा न्यून आय भएका मानिसहरुको हितलाई सम्रक्षण गरेको कुरालाई नकार्न सकिन्न l पुँजीवाद (बजार अर्थतन्त्र) ले प्रतिस्पर्धा मार्फत सस्तो मूल्यमा बस्तु तथा सेवा उत्पादन गर्न मद्दत पुर्‍याई न्यून आय स्तर भएका मानिसहरूको निम्ति छनौटको अवसर सिर्जना गरी बचत गर्नको निम्ति सहयोग पुर्‍याएको छ, जसले अन्ततः उनीहरूको आर्थिक स्तर माथि उठाउनको निम्ति धेरै सहयोग पुर्‍याएको छ l

आज निम्नस्तरका अमेरिकी जनताको घरमा पनि हिटिंग (तातो-चिसो) सिस्टम, रेफ्रिजेटर, वासिंग मेसिन, कार आदि साधारण कुरा भएका छन्, जनकुरा नेपालमा धेरै धनाढ्यहरूले मात्र उपयोग गर्ने सामर्थ्य राख्दछन् l यहाँसम्म कि साधारण एउटा गरिब नेपाली (वैधानिक तबरले) अमेरिका पस्ने हो भने ६ महिना देखि १ वर्षसम्म यी सबै कुराहरू सजिलै प्राप्त गर्न सक्दछ, जनकुरा नेपालमा आजीवन उनीहरूको सपनामा मात्र सीमित हुनेछ l यी सबै कुराहरू यसकारणले सम्भव भयो किनकि त्यहाँ पुजीबादी बजार अर्थतन्त्रले राम्रोसँग काम गरेको छ, जसलाई हामीले नेपालमा फस्टाउने पर्याप्त मौका दिएका छैनौ l

तथ्याङ्क अनुसार सन् १८०० ताका ९४ % मानिसहरू गरिबीमा (२ डलर भन्दा कम आय) बाचेका थिए भने १९९० ताका त्यो गरिबी ३७ % मा झर्न पुग्यो, जबकि यसबिचमा जनसङ्ख्या १ खर्बबाट बढेर ५.३ खर्ब हुन पुगेको थियो l सन् २०१६ मा त्यो गरिबीको सङ्ख्या घटेर १० % मा आइपुग्यो, यो सबै पुँजीवादले निम्त्याएको नतिजा हो (तर अझै पनि संसारमा ७५ करोड मानिसहरू गरिबीको रेखा मुनि छन् भन्ने कुरालाई बिर्सन मिल्दैन) l

१९९० देखि २०१५ सम्ममा १ अर्ब २५ करोड मानिसहरू गरिबीको रेखामाथि उठेका छन् l हरेक वर्ष ५ करोड र हरेक दिन १ लाख ३७ हजार मानिसहरू गरिबीको रेखा माथि उठिरहेका छन् भने हरेक आधा घण्टामा झन्डै २८०० मानिसहरू गरिबीको रेखामाथि उठ्ने कुरा तथ्याङ्कले उद्धृत गर्दछ l

सन् १९४७ ताका विश्वका झन्डै ५० % मानिसहरू कुपोषणको अवस्थामा बाचेका थिए l १९९० यता झन्डै २ खर्ब ६० करोड मानिसहरू स्वच्छ खानेपानीबाट लाभान्वित भएका छन् भने १९८० मा २४ % मानिसहरू मात्र स्वच्छतामा बाचेका थिए भने २०१५ आएर यो ६८ % मा परिणत हुन पुगेको छ l

१८ औ शताब्दीमा फ्रेन्चहरूको औसत आयु २७.५ वर्ष थियो l सन् १९०० मा विश्वका मानिसहरूको औसत आयु सरदर ३१ वर्ष देखिन्छ भने आज आएर त्यो ७१ वर्ष हुन पुगेको छ l अमेरिकामा १९०५ ताका अमेरिकीहरूको औसत आयु ४७ वर्ष मात्र थियो l एसियामा पनि १९५० देखि २०११ सम्ममा औसत आयु ४२ वर्ष देखि बढेर ७० को हाराहारीमा पुगेको छ भने अफ्रिकामा ३७ वर्ष देखि बढेर ५७ वर्ष पुग्न सफल भएको छ l सन् २००६ सम्म मलेरिया, कुष्ठरोग, एच.आइ.भी एड्सबाट हुने मृत्युदरमा ४२ % ले कमी आएको छ l

इंग्ल्यान्ड जहाँ औधोगिक क्रिन्तिको सुरुवात भई आधुनिक पुँजीवादको जन्म भयो त्यहाँ १५२० ताका ८० % मानिसहरू कृषि पेसामा आश्रित थिए, जुन १८५० मा घटेर २५ % हुन पुग्यो भने आजको दिनमा १% भन्दा पनि कम मानिसहरू कृषि पेसामा आबद्ध छन् l संसारका अधिकांश अविकसित देशका नागरिकहरू अझै पनि कृषि पेसामा आधारित छन्, नेपालीहरूको यस क्षेत्रमा संलग्नता झन्डै ७० % छ l

कुनै बेला सिङ्गापुर, जापान, ताइवान, कोरिया, इन्डिया, चाइना आदि देश चरम गरिबीको अवस्थामा थिए l सन् १९८१ ताका चीनमा १० जना मद्धे ९ जना चरम गरिबीमा बाच्दथ्ये भने आज १० जना मद्धे १ जना मात्र त्यो अवस्थामा बाच्न बाध्य छन् l भारतमा मात्रै १९९३ यता २४ % ले गरिबी घटेको देखिन्छ l

विकासको क्रम सँगै हिंसाका घटना हरूमा पनि धेरै कामी आएको देखिन्छ l बिसौँ शताब्दीसम्म युद्ध र अन्य हिंसात्मक आबद्धताको कारण धेरै मानिसहरूको जीवन छोटो रहन्थ्यो l यातना, मृत्युदण्ड र दास प्रथा प्राय सबै समाजमा स्थित थियो l नेपालमा पनि सती प्रथा जस्तो कुप्रथा रहेको हामीले इतिहासबाट बुझेका छौ l दोस्रो विश्वयुद्ध ताका सम्म सिमानाको लागि सधैँ एकआपसमा युद्धरत युरोपियन देशहरूले आज सिमाना मेटाएर व्यापार गरिरहेको अवस्था छ l तर यसो भन्दैमा विश्वमा युद्ध र हिंसाका घटना छँदै छैन भनेको हैन, थुप्रै स्थानमा अझै पनि युद्ध र अशान्ति अवस्थित छ, तर त्यसलाई मध्यस्थता गर्नको निम्ति UN तथा अन्य निकायहरूको सिर्जना गरिएको छ l

आज पनि अशिक्षा, गरिबी, अविकास, अल्पायु मृत्यु, बच्चा तथा सुत्केरी आमाको मृत्यु दर, रोजगारी तथा स्वस्थ सम्बन्धी समस्या आदि हाम्रै जस्ता अल्प-विकसित देशहरूमा अवस्थित छन् जहाँ पुँजीवाद (खुल्ला बजार अर्थतन्त्र) लाई राम्रो सँग काम गर्ने वातावरण सिर्जना गरिएको छैन l धेरै विकसित देशहरूले यी याबद समस्याहरूबाट मुक्ति यस कारण पाए किनकि पुँजीवादले उनीहरूलाई यी समस्याहरूलाई निराकरण गर्नको निम्ति आर्थिक समृद्धिको ढोका खोल्न सहयोग पुर्‍यायो l

आलोचना

हाम्रो जस्तो मुलुक जहाँ कुनै पनि समस्या आइपरेको खण्डमा पुजीवादलाइ दोषारोपण गरिन्छ, त्यहाँ पुजीवाद वा खुल्ला बजार अर्थतन्त्रको आलोचना गरेर थाकिने अवस्था छैन l पुजीवादको बारेमा हुने केही मुख्य आलोचनालाई तल व्याख्या गरिएको छ l

पुजीवादले धनीहरूलाई धनी र गरिबहरू गरिब बनाउँदै जान्छ l

यो तर्क धेरैलाई सान्दर्भिक लागे पनि यथार्थपरक छैन, किनभने पुजीवादले जति संसारका मानिसहरूलाई गरिबीबाट माथि उक्सेको छ त्यति अरू कुनै व्यवस्थाले गर्न सकेको माथिको छैन, जुन कुरालाई माथिका तथ्यांकहरुले उजागर गरिसकेका छन् l चिनले मात्र ३८-३९ बर्ष भित्रमा (१९७९ पछी) पुजीवादको प्रयोगद्वारा आफ्ना ७० करोड मानिसहरुलाई गरिबीबाट माथि उठाईसकेको छ l सस्तोमा सेवा तथा बस्तु प्रदान गरेर होस् वा मानिसहरुको आर्थिक अवस्थालाइ माथि उठाएर, पुजीवादले जति गरीबहरुको हित गरेको छ त्यति अरू कुनै व्यवस्थाले गर्न सकेको छैन l

एउटा ब्याक्ति धनी हुनको निम्ति अर्को व्यक्ति गरिब हुनैपर्छ भन्ने हाम्रो बुझाइ गलत छ l बजार स्वेच्छिक लेनदेन हुने ठाउ हो, जहाँ एउटाले जित्न अर्कोले हार्नै पर्दछ वा एउटाले नाफा खादा अर्कोले घाटा खानै पर्दछ भन्ने छैन l लेनदेन गर्दा दुबैजना धेर-थोर रुपमा लाभान्वित हुन सक्दछन् l ब्यापारमा लिने (खरिद गर्ने ) र दिने (बेच्ने) दुबै जनाको जित हुन्छ, किनभने खरिद गर्नेको लागि उसको पैसा भन्दा बस्तु महत्वपूर्ण हुन्छ भने बेच्ने लागि उसको बस्तु भन्दा पैसा l त्यसैले हामि दोकानमा लेनदेन गरि सकेपछि चित्त बुझेको खण्डमा ग्राहक र साहुजी दुबैले एक अर्कालाइ धन्यवाद भनेर छुट्टिन्छौ l

मानिसहरु, त्यतिबेला मात्र एकअर्कासंग लेनदेन गर्दछन् जब उनीहरुलाई लाग्छ त्यस लेनदेनले उनीहरुलाई फाइदा पुर्याइरहेको छ, जब उनीहरुलाई लाग्छ यस लेनदेनले उनीहरुलाई घाटा पुर्याउने छ, तब उनीहरु लेनदेनमा संलग्न हुने इच्छा जाहेर गर्ने छैनन् l यदि कुनै व्यक्ति वा संस्थाले म लगायत समाजका अन्य धेरै मानिसहरुको जीवन सहज बनाइँ आर्थिकस्तर राम्रो बनाउन सहयोग पुर्याई बढी पैसा कमाउदछ भने मानिसहरूलाई यसप्रति त्यति धेरै आपत्ति नहुनु पर्ने हो l तर धेरै मानिसहरु पुजीवादले मानब जातिलाई पुर्याएको योगदानलाइ नजरअन्दाज गरि यसका केही कमि-कमजोरीलाइ औल्याउनमा आफ्नो अमुल्य समय खर्च गर्न रुचाएको देखिन्छ l

संसारमा सबै मानिसहरु एक समान हुदैनन्, सबैको फरक-फरक बिषेशता र क्षमता हुन्छ, जसकारण जो मानिस सबैभन्दा मेहेनेती, उत्पादनशिल, बिबेकी (सहि छनौट गर्न सक्ने वा निर्णय लिन सक्ने ) र बचत गर्ने स्वभाबको हुन्छ उसले समाजमा अन्य व्यक्तिको तुलनामा आफ्नो आर्थिक, सामाजिक राजनीतिक स्तर माथि उठाउने कुरा निश्चित छ l जुनकुरा अल्छि र अविवेकी मानिसहरुबाट आशा गर्न सकिन्न l पुजीवाद व्यक्तिगत तथा आर्थिक स्वतन्त्रतामा विश्वास गर्ने ब्यवस्था भएकोले बिधिद्वारा सासित स्वतन्त्र समाजमा मानिसहरु आफ्नो छनौट र निर्णय लिन स्वतन्त्र छन्, जसले परिस्थिति अनुरुप सहि छनौट र निर्णय लिन्छ उसले अवस्य प्रगति गर्दछ, जसले गर्दैन उ अरुको तुलनामा पछि पर्दछ l व्यक्ति आफ्नो निर्णय र छनौटको निम्ति आफै जिम्मेवार हुन्छ l त्यसैले सबैबाट बराबर परिणामको आशा राख्नु उचित हुदैन l

समाजमा भएकाहरुको सम्पति खोसेर नभएकाहरुलाई बाडेर सबैको आर्थिक हैसियत समान बनाउने हो भनेपनि एउटाले त्यसको सहि सदुपयोग गरेर भोलि फेरी आफ्नो आर्थिक हैसियत माथि उठाउला, अर्को व्यक्तिलेले त्यस स्रोत साधनको दुरुपयोग गरेर फेरी कंगाल नहोला भनेर भन्न सकिन्न l आफुसंग केही नभएपनि आफ्नो बुद्धि र मेहेनतको प्रयोगले संसारमा धनी भएका मानिसहरु धेरै छन्, उदाहरणको लागि स्टिव जब्स, बिल गेट्स, बिल केलोग, ज्याकमा, हेनरी फोर्ड, जुगरबर्ग, कोलोनेल स्यान्डर्स, जेफ बेजोज आदिलाइ लिन सकिन्छ l यी व्यक्तिहरु यसकारण धनि हुन सफल भए किनकि यिनीहरुले विश्वभरीका मानिसहरुलाई सस्तोमा राम्रो सेवा प्रदान गर्न गरि धेरै भन्दा धेरै मानिसहरुको जीवनलाइ सहज बनाउन सहयोगी भूमिका खेलेका छन् l मेरो बिचारमा कानुनको अगाडी सबै बराबर हुनुपर्दछ र सबैले प्रतिस्पर्धा र छनौट गर्ने बराबर अवसर प्राप्त गर्नुपर्दछ, यसले सबैको भलो गर्ने कुरा निश्चित छ l

लगानी गर्नेहरुले अवस्य अरुभन्दा बढी फाइदा संचित गर्ने हक राख्दछन्, किनकि उनीहरुले आफ्ना कामदारभन्दा धेरै जोखिम बहन गरेका हुन्छन् l लगानीकर्ताको लगानीले प्रतिफल दिन्छ नै भन्ने कुराको कुनै ग्यारेन्टी पनि हुदैन, बिबेकपूर्ण तरिकाले गरेको लगानीले मात्र व्यक्तिलाई प्रतिफल दिन्छ अन्यथा लगानी डुब्ने सम्भावना पनि त्यति नै रहन्छ l लगानी डुबेको खण्डमा लगानीकर्ता बाहेक अरू कसैले तो नोक्सानी नबेहोर्ने भएकोले पनि लगानीकर्ता मुनाफाको हकदार हुन्छ l लाभको उदेश्य राखेर नै कसैलेपनि आफ्नो ब्यापार व्यावसाय सुरु गरेको हुन्छ, यदि आफुले कमाएको लाभ नै राख्न नपाउने हो भने किन कसैले आफ्नो समय र पैसाको लगानी गर्दछ ?

आर्थीक समानता त्यहि देशमा सम्भब छ जुन देशमा सरकारले बलजफ्ती (कानुन बनाएर, बढी कर लादेर वा बन्दुकको नालको आडमा) एउटाको सम्पति खोसेर अर्कोलाई बाड्ने प्रयास गर्दछ l तर यसले अन्तत गरिबी र अभाब बाहेक समाजमा केही निम्त्याउने छैन, जुनकुरा सोभियत रुस, माओ चाइना र पोलपोट कम्बोडीयाको उदाहरणले छर्लंग पार्दछ l

श्रमिकहरूको शोषण

पुजीवादले मानिसहरूलाई लामो समय काममा लगाई न्यूनतम तलब दिन्छ, कामदारहरूको काम गर्ने ठाउँको अवस्था नराम्रो हुन्छ र बालश्रमको प्रयोग गरी उनीहरूको शोषण गर्दछ भन्ने तर्क निकै पहिला देखिनै सुनिँदै आएको तर्क हुन् l पुजीबादको विकासक्रमको सुरुवाती समयमा यो तर्क सार्थक भए पनि अहिलेको युगमा यो तर्क सान्दर्भिक छैन l

किनकि आजको युगमा मानिसहरूसँग कहाँ, कोसँग, कतिमा काम गर्ने भन्ने छनौटको अवसर छ l साथै व्यक्तिलाई कसैले जबरजस्ती काम गर्न बाध्य बनाउन सक्दैन l व्यक्तिलाई इच्छा लागेको खण्डमा काम गर्न सक्छ, नलागेको खण्डमा छोड्न कसैले रोक्न सक्दैन, यो व्यक्तिको स्वेच्छाको विषय हो l प्रतिस्पर्धाको बजारमा जो व्यक्ति जति धेरै विशेषज्ञ र उत्पादनशील भयो त्यति नै धेरै उसको माग हुन्छ र पैसा कमाउन सक्छ l बजारमा एकै प्रवृत्तिको काम गर्ने वा कुनै विशेष दक्षता आवश्यक नपर्ने काम गर्ने व्यक्ति धेरै भएको खण्डमा उसको त्यति माग रहँदैन l

प्रतिस्पर्धाको बजारमा व्यक्तिको मुख हेरेर भन्दा पनि उसको काम वा उसले पुर्‍याउने योगदानको आधारमा उसको मूल्याङ्कन गरिन्छ l राम्रो काम गर्ने वा नतिजा दिने कामदारले आफ्नो योग्यता अनुसारको पारिश्रमिक माग गर्न सक्दछ, यस्तो व्यक्तिलाई जो कोहीले पनि आफ्नो निम्ति काम गर्नको निम्ति प्रस्ताव राख्न पछि पर्दैन l आजको युगमा पुजीवादले शोषण गर्नुभन्दा पनि धेरैभन्दा धेरै रोजगारीको अवसर सिर्जना गरी न्यून आय भएका मानिसहरूको जीविकोपार्जनको निम्ति सहयोग पुर्‍याएको छ l

आज कामदारहरूले काम गर्ने ठाउँको नाजुक अवस्था र बालश्रमको प्रयोग भएका तिनै अविकसित देशहरूमा अवस्थित छन् जहाँ पुजीवादलाइ राम्रोसँग काम गर्ने अवसर प्रदान गरिएको छैन l अधिकांश विकसित मुलुकहरूमा काम गर्ने वातावरण र बालश्रम जस्ता समस्याहरू अब समस्याको रूपमा अब रहेनन् l

पुजीवादले एकाधिकार निम्त्याउँछ

मानिसहरूले पुजीवाद (खुल्ला बजार अर्थतन्त्र) लाई शङ्काको दृष्टिकोणले हेर्नुको एउटा मुख्य कारण ठुला-ठुला व्यापारिक कम्पनीहरूले एकाधिकार निम्त्याइ सर्वसाधारणहरूलाई हानि नोक्सानी पुर्याउदछन् भन्ने डर र शङ्का हो l तर हामीले बुझ्नुपर्ने कुरा के हो भने प्रतिस्पर्धाको बजारमा सरकारका मानिसहरूको साठगाठ र मिलेमतो बिना कुनै पानी व्यापार र व्यापारीले एकाधिकार जमाउन सक्दैन l त्यो त जब सरकारको मातहतमा रहेका मानिसहरूले विभिन्न माध्यमबाट नयाँ व्यापारीहरूलाई बजारमा प्रवेशमा रोक लगाई सीमित व्यक्ति वा समूहलाई विशेष अधिकार प्रदान गर्दछ तब निम्तिने समस्या हो l यदि बजारले एकाधिकार सिर्जना गर्न सक्ने हो भने धेरै जना व्यापारीहरू आफ्नो एकाधिकार कायम गराउनको निम्ति सरकारका मानिसहरूको शरणमा परेको देख्नुपर्ने अवस्था आउने थिएन l उनीहरूले बजारबाटै त्यो काम गर्ने थिए, हार-गुहार गर्न सरकारका मानिसहरू समक्ष धाइरहनु पर्ने अवस्था आउने थिएन l

खुल्ला बजार अर्थतन्त्रले कुनै पनि व्यक्तिलाई बजारमा प्रेबेस गर्न, बजारबाट बाहिरिन, आफूले चाहेको व्यक्ति तथा व्यावसायसंग खरिद वा बिक्री गर्ने स्वतन्त्रता प्रदान गर्ने हुनाले, यदि कसैले बढीमा बिक्री गरी अधिक नाफा आर्जन गरिरहेको छ वा गर्न खोज्दछ भने यसले अरू नयाँ व्यापारीहरूलाई त्यस क्षेत्रमा आउन आकर्षित गर्दछ जसले मूल्य समायोजन गर्नको निम्ति सहयोगपूर्ण भूमिका खेल्दछ l
कहिलेकाहीँ उस्तै प्रकारका व्यावसायीहरु आपसी मिलेमतो गरी बजारमा अरू नयाँ प्रतिस्पर्धीहरूलाई सेवा प्रदान गर्नबाट वञ्चित गरी सिन्डिकेट र कार्टेलिंगको गर्ने स्थिति भने निम्त्याउँदछ, तर फेरि पनि सरकारको सहयोग बिना यो कार्य गर्न सम्भव छैन l त्यस्ता गलत प्रवृत्तिमा संलग्न ब्याक्ति तथा संस्थालाई दण्डित गरी प्रतिस्पर्धाको बजारलाई कायम गरी नागरिकहरूलाई छनौटको अवसर प्रदान गर्न सहयोग पुर्‍याउनु राज्यको मुख्य दायित्व हो l

खुल्ला बजार अर्थतन्त्रमा ग्राहकहरूले कुनै पनि कम्पनीको भाग्यको फैसला गर्न सक्छन्, किनकि बजारमा ग्राहकहरू सर्वेसर्वा हुन्छन् l कुनै पनि कम्पनी सफल हुने वा नहुने भन्ने कुरा उपभोक्ताहरूको छनौटमा भर पर्दछ l ग्राहकले त्यो कम्पनीको बस्तु तथा सेवा रुचाएको खण्डमा कम्पनीलाई सफल हुनबाट कसैले पनि रोक्न सक्दैन l तर यदि कम्पनीले ग्राहकहरूको चाहानालाई नबुझी स्रोत र साधनलाई सही ठाउँमा सदुपयोग नगरेको खण्डमा कम्पनी घाटा खाएर बजारबाट पलायन हुने कुरा निश्चित छ l

किन गरिन्छ पुजीवादलाइ घृणा ?

लुडविग वन मिजेज (Ludwig von Mises) को भनाइ अनुसार, पहिला-पहिला राजाका छोरा नै राजा हुन्थे, फलामको काम गर्नेको छोराले पनि फलाम कै काम गर्नुपर्ने बाध्यता थियो l राजाको छोरा नै राजा हुने र लोहारको छोरा लोहार नै हुने निश्चित भएपछि लोहारको छोराले राजाको छोराप्रति इर्षा गर्ने कारण थिएन, किनभने आ-आफ्नो भाग्य र भूमिका पहिला देखि नै सुनिश्चित थियो l तर पुजीवादले सबैलाई बराबर प्रतिस्पर्धा गर्ने अवसर सिर्जना गर्दछ l

एउटा गरिबको छोराले पनि विशेष क्षेत्रमा दक्षता हासिल गरी आफूलाई उत्पादनशील बनाउने हो भने उ सफल हुने निश्चित छ l विवेकपूर्ण तरिकाले कसैले यदि आफ्नो उधम र व्यापार सञ्चालन गरी धेरै भन्दा धेरै मानिसहरूलाई सेवा दिन्छ र आम मानिसहरूले उसको सेवालाई मन पराइ दिएको खण्डमा साधारण मानिस पनि छोटो समयको अन्तरालमा समाजको धनी र प्रतिष्ठित मानिस बन्ने अवसर पुजिबादि खुल्ला बजार अर्थतन्त्रले प्रदान गर्दछ l सँगै हुर्की बढी गरेका समान हैसियतका मानिसहरू मद्धे एउटाले विवेकपूर्ण निर्णय लिएर मेहनत गरी अगाडी बढ्ने र अर्कोले सोही अनुसार कार्य गर्न नसक्दा जहाँको त्यही रहने स्थिति सिर्जना हुन्छ l सफल हुनेहरूप्रति समाजका अन्य व्यक्तिले इर्षा व्यक्त गर्नु बाहेक अन्य कुनै विकल्प रहँदैन, त्यसैले समाजमा मानिसहरूको सम्पत्ति सिर्जना गर्ने पुजीपतिहरु प्रतिको इर्षाको स्थिति त्यस्तै हो भनेर मिजेज भन्दछन् l

साथै विश्वमा पुजीवाद र पुजीबादीहरुको नकारात्मक छवि बन्नु को पछाडि साम्यवादी र समाजवादी चिन्तन र यसले आफ्नो सिद्धान्तलाई तुलनात्मक रूपले राम्रो देखाउनको निम्ति पुजीवाद माथि थोपरेको आरोप र प्रत्यारोपहरू हुन् भनेर भन्दा फरक पर्दैन l नेपालको हकमा अधिकांश राजनीतिक पार्टी र तिनका नेता, कार्यकर्ता समाजवाद र साम्यवादको सिद्धान्तमा विश्वास गर्ने र उनीहरूले गर्ने बहस पैरवी र टिका-टिप्पणीले पुजीवादको नकारात्मक छवि स्थापित गर्नुमा ठुलो भूमिका खेलेको छ l रेडियो, पत्र-पत्रिका, टेलिभिजन, सिनेमा, सार्वजनिक बक्तब्य, किताब, प्राकासन आदि सबैले पुजीवादलाइ समाज विकासको तगारोको रूपमा प्रस्तुत गरिदिँदा यसले आम जनमानसमा व्यापक प्रभाव पारेको कुरालाई पनि नकार्न सकिन्न l यहाँसम्म कि स्वयम् केही सीमित स्वार्थ बोकेका व्यापारिक समूहहरूको आपसी साठगाठ र त्यसले निम्त्याएको एकाधिकारले प्रतिस्पर्धाको घाटी निमोठी आम उपभोक्ताहरूको हितमा कुठाराघात गरेको कारणले गर्दा पनि सम्पूर्ण व्यवस्थाको छवि धुमिल बनाएको अवस्था छ l

गज्जब कुरा त यो छ कि आज पुजीवादलाइ गाली गर्नेहरू नै कम्बल ओढेर पुजीवादको घ्यू चाटेर पुजिवादलाइ नै गालि गर्दछन् l उनीहरुले गालि गर्न प्रयोग गर्ने माइक, छापा, पर्चा, किताब, कम्प्युटर, सामाजिक संजाल, मोबाइल आदि पनि पुजिवाद कै देन हो भन्ने कुरा उनीहरुलाई याद दिलाउन जरुरि छ l शासन र शक्तिमा बसेकाहरू यस कारण पुजीवादको विरोध गर्दछन् ताकी आफू लगायत आफ्ना निकटका मानिसहरूको खाइपाई, शासन-सत्ता र शक्ति टिकी रहोस् र सर्वसाधारणहरूलाई अशिक्षा, गरिबी र गुमराहमा राखेर आफूले चाहे अनुसार उनीहरूमाथि शासन गर्न सकियोस् l

शिक्षित र सम्पन्न मानिसहरूलाई लामो समयसम्म गुलाम बनाएर राखिरहन सम्भव छैन, तर गरिब र असिक्षित् मानिसहरूलाई आफ्नो अधीनमा राख्न भने सम्भव छ l रोजगारी भएको व्यक्ति आफ्नै काममा व्यस्त हुनेछ र यदि उ आफ्नो आवश्यकताहरू पुरा गर्न सामर्थ्य राख्दछ भने अरू कसैको झन्डा बोक्न र जय-जयकार गर्नको निम्ति आफ्नो समय खर्चने छैन l तर बेरोजगार व्यक्तिलाई झन्डा बोकाउन, जयजयकार गराउन, आपराधिक कार्यमा संलग्न गराउन, यहाँसम्म कि क्रान्तिको नाममा हतियार उठाएर मर्न र मार्नको निम्ति समेत प्रेरित गर्न सजिलो हुन्छ l त्यसैले पनि पहुँच र शक्ति भएकाहरू समाजमा आफ्नो वर्चस्व कायम गर्न आम मानिसहरूलाई रोजगारी र सम्पन्नताबाट टाढै राख्न चाहन्छन् l

मेरो बुझाइमा मानिसहरूको घृणा पुजीवादप्रति भन्दा पनि साठगाठ पुजीवाद (Crony Capitalism) र व्यापारवाद (Mercantilism) प्रति इङ्गित छ l पुजीवाद, साठगाठ पुजीवाद र ब्यापरबादमा निक्कै अन्तर छ l साठगाठ पुजीवाद त्यो वाद हो जसले व्यापारी र सरकारका मानिसहरूबिचको साठगाठ र मिलेमतो जसले केही सीमित व्यापारीहरूको हितको संरक्षण गरी अधिकांश ग्राहकहरूलाई बढी मूल्य तिर्न बाध्य बनाइदिन्छ l उदाहरणको निम्ति भर्खरै नेपालका चिनी व्यापारीहरूले सरकारका मानिसहरूसँग साठगाठ गरी बाहिरबाट ल्याइने चिनीमा आयात कोटा तोकी सर्वसाधारणलाई चिनी ल्याउनलाइ रोक लगाई आम नेपाली नागरिकलाई बढी मूल्य तिर्न बाध्य बनाएको घटनालाई लिन सकिन्छ l

व्यापारवादले राज्यको सहयोगमा व्यापार गर्ने नाममा स्वतन्त्र देशहरूलाई उपनिबेस बनाइ त्यस देशको श्रोत साधनहरूलाई दोहन गरी नागरिकहरू माथि शोषणको नीति अपनाउँदछ (उदाहरणको निम्ति बेलायतले East India Company मार्फत भारतमाथि गरिएको व्यवहारलाई लिन सकिन्छ) l तर पुजीवाद (खुल्ला बजार अर्थतन्त्र) कसैको कर काप बिना आपसी समझदारीमा हुने लेनदेन, छनौट र प्रतिस्पर्धामा आधारित बजारको सिद्धान्तलाई आत्मसाथ गर्दछ जसले ब्याक्तिगत सम्पत्ति माथिको अधिकार र विधिको शासनमाथि विश्वास गरी सबैलाई सम्पत्ति सिर्जना गर्ने बराबर अवसर सिर्जना गर्दछ l राज्य वा नागरिकहरूले व्यापारीको होइन व्यापारको हितमा वकालत गर्नुपर्दछ, जसको प्रतिनिधित्व साठगाठ पुजीवाद र व्यापारवादले नगरेर खुल्ला बजार अर्थतन्त्रले गर्दछ l

अन्त्यमा

संसारमा कुनै पनि व्यवस्था पूर्ण छैन, पुजीवाद (खुल्ला बजार अर्थतन्त्र ) यसको अपवाद हुन सक्दैन l सबैका आ-आफ्ना राम्रा र नराम्रा पक्षहरू छन् l पुजीवादले संसारलाई समृद्ध बनाउन ठुलो भूमिका खेले पनि यसप्रति नेपाली समाजमा हेर्ने दृष्टिकोण भने त्यति सकारात्मक छैन l पुजीवादलाइ बुझेर भन्दा पनि नबुझीकन गाली गर्नेहरूको जमात ठुलो छ, जसले अरू धेरै मानिसहरूको विचारलाई पुजिवादप्रति नकारात्मक बनाउन सफल भएको छ l

तर इतिहासको पानाहरू पल्टाएर हेर्दा पुजीवादले संसारका अधिकांश मानिसहरूलाई जति गरिबीबाट माथि उठाई उनीहरूको आर्थिक स्तर उकास्नको निम्ति सहयोग गरेको छ, सायदै अरुकुनै व्यवस्थाले गर्न त्यसो सकेको थियो वा गरेको छ l बिजुली बत्ती, टेलिफोन, मोबाइल, घडी, क्यामेरा, कम्प्युटर, रेडियो, टेलिभिजन, जुत्ता-चप्पल, कापी, किताब, कलम आदि जस्ता विषयहरू धेरै मानिसहरूको निम्ति कुनै बेला विलासीताका विषय भए पनि आज न्यून भन्दा न्यून आय स्तर भएका मानिसहरूको पहुँचमा यो ब्यवास्थाले पुर्‍याउन सफल भएको छ l यसले केही सीमित धनी मानिसहरूको मात्र हित नगरेर संसारभरका निम्न आय स्तर भएका मानिसहरूको स्वास्थ्य, शिक्षा, आय-आर्जन, जीवन-शैली आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुर्‍याएको छ l

आज नेपाल समाजबाद उन्मुख देश रहेको कुरा संबिधानले नै ब्याख्या गरेको छ l तर समाजबादले सम्पति वितरण गर्नको निम्तिपनि सम्पति हुन वा सिर्जना गर्न आवस्यक छ भन्ने कुरालाई बिर्सनु हुदैन l पुजिवाद नै एउटा यस्तो व्यवस्था हो जसले सम्पति सिर्जना गर्न सहयोग पुर्याउदछ, त्यसैले नेपालले पनि पुजीबादी खुल्ला बजार अर्थतन्त्रको औचित्य र महत्त्व बुझी यसका निम्ति आवस्यक पर्ने नीति अवलम्बन गरी देश र जनतालाई सम्पन्नता तर्फ डोर्‍याउन पछि पर्नु हुँदैन l

You might also like

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.