विषादी, स्वनिर्भरता र सम्रक्षणवाद

59

 

केही दिन अघि भारतबाट आयात हुने फलफुल तथा तरकारीमा विषादीको मात्रा धेरै हुने भएको कारण नेपाली नागरिकहरूको स्वास्थ्यमा असर पर्न नदिन नेपाल सरकारले विषादी परीक्षण पश्च्यात मात्र भारतीय तरकारी र फलफुल नेपाल भित्रिन दिने भन्ने खबर आएको थियो भने भारत सरकारले लिखित रूपमै यसबारे असहमति जनाएको छ ।

केहिले यसलाई नेपालको स्वाधीनता माथि भारतको हस्तक्षेपको संज्ञा दिएका छन् भने काठमाण्डौ स्थित भारतीय दूतावासका प्रवक्ता अभिषेक दुबेले नाकामा सड्न लागेका तरकारी फलफुलला चाडै छुटाइ दुवै पक्षलाई नोक्सानी नहोस् भनी समस्या समाधानको निम्ति नेपाल सरकारका सम्बन्धित निकायहरूलाई आग्रह तथा ध्यानाकर्षण गराएको बताएका थिए l

मात्र केही समय अघि अङ्गालेको नीतिलाई भर्खरै नेपाल सरकारले कर्मचारी र प्रविधिको अभाव देखाएर परीक्षण गर्न सम्भव नभएकोले हाललाई भारतबाट आयात हुने फलफुल तथा तरकारीको विषादी प्रतिक्षण कार्यलाई स्थगित गरेकोमा सरकार आफ्नो निर्णयबाट पछि हटेको भनेर सदन, पत्रपत्रिका, सामाजिक सञ्जाल तथा नेपाली समाजमा भारतीय फलफुल र तरकारी ठुलो टिका-टिप्पणीको विषय बनेको छ l

भित्री कुरा जे भए पनि यसले बहस र माहौललाई तताएको छ l आज धेरै नेपालीहरू भारतीय फलफुल र तरकारीको प्रयोग नगरेर आफ्नै करेसा बारीमा तरकारी फलाऊ भन्ने तर्क गर्न थालेका छन् l जसले स्व निर्भरता र राष्ट्रवादको हावालाई मलजल गर्न सहयोग पुर्‍याएको छ l

निस्चयपनि कसैले अरूको जीउ-धन र स्वास्थ्य माथि आघात पुर्‍याउन पाउँदैन, पैसा तिरेपछि  स्वास्थ्यबर्धक खाना खान पाउनु हरेक व्यक्तिको अधिकार हो भने, पैसा कमाउने नाममा जथाभाबी र अरूको स्वास्थ्यमा खेलबाड हुने काम जघन्य अपराध हो, चाहे त्यो जसलेसुकै किन नगरोस् l

भारतबाट आयात हुने फलफुल तथा तरकारीमा रहेको विषादीको मात्र चेकजाच गरी नागरिकहरूको स्वास्थ्यमाथि ध्यान पुर्‍याउनु एकदम उचित कदम हो, तर यसै बहानामा राज्यको संयन्त्रले व्यापारी तथा अन्यलाई गलत नियत राखी अनावश्यक झन्झट सिर्जना नगर्लान भनेर भन्न सकिन्न, जसको लागि हाम्रो कर्मचारीतन्त्रले निकै बदनामी कमाएको छ l

यदि विषादी युक्त खाद्य सामग्री सिमानाबाट भित्रिरहेको छ भने जाँच गरी त्यसको आयातलाई रोक्नु वाजिब छ तर खाद्ययुक्त फलफुल तथा तरकारीलाई भने चाडै जाचपास गरी दैनिक उपभोगका बस्तुहरू बजारसम्म पुग्न दिन त्यति नै आवश्यक छ l किनभने फलफुल तथा तरकारी चाडै नै कुहिने बस्तु भएको कारण छिटो भन्दा छिटो चेकजाच नभएको अवस्थामा व्यापारी तथा आयातकर्ताले ठुलो नोक्सानी व्यहोर्नु पर्ने हुनसक्छ l उक्त कारणले बजारमा फलफुल तथा तरकारीको अभाव हुन गई नागरिकहरू बढी मूल्य तिर्न बाध्य हुन्छन्, जुन नीति अवश्य राम्रो होइन l

तर नेपालको प्रशासनिक ढिलासुस्ती र सम्बन्धित मानिसहरूको स्वार्थ लिप्तताको कारण माथि उल्लिखित समस्या ननिम्तेला र नागरिकहरूले सास्ती नपाउलान् भनेर भन्न सकिने आधार कमै छ l

आ-आफ्नै करेसा बारी तथा खेतमा फलफुल तथा तरकारी फलाएर स्व-निर्भर हुने तर्क ठिकै सुनिन्छ र गर्न सक्दा राम्रो पनि होला तर अहिलेको विश्व ब्यापिकरणको युगमा सबै कुरा हामी आफै उत्पादन गरी स्व निर्भर हुन्छौ भनेर तर्क गर्ने कुरा बुद्धिमानी पूर्ण नहुन सक्छ l हरेक व्यक्तिले आफूले खाने पाउरोटी आफ्नै घरमा बनाउँछु भन्ने कुरा त्यति तर्कसङ्गत नहोला l

घरमा कहिलेकाहीँ रहरले पाउरोटी बनाउनु रमाइलो हुन्छ तर सधैँ-सधैँ आफ्नो लागि पाउरोटी बनाउन सहज नहोला, भए पनि त्यसले हामो अतिरिक्त समय र पैसा खपत गर्ने कुरा निश्चित छ l  जुन श्रोत-साधन हामी अरूले बनाएको पाउरोटी अझ सस्तोमा खरिद गरी बचेको समय र पैसा अन्य कामको निम्ति खर्च गर्न सक्छौ l यही कुरा फलफुल तथा तरकारीको सन्दर्भमा पनि लागु हुन्छ l

हामी नेपालीले अरूभन्दा गुणस्तर र सस्तो बस्तु तथा सेवा उत्पादन गर्न सक्ने आफ्नो क्षमता तर्फ ध्यान पुर्‍याई धेरै भन्दा धेरै आर्थिक लाभ लिन सक्छौ, साथै जुन बस्तु तथा सेवा उत्पादन गर्न आफूलाई बढी लागत लाग्दछ त्यो बस्तु तथा सेवा अरूबाट सस्तोमा खरिद गरी आर्थिक लाभ लिन सक्दा अझ हित कर हुन्छ l स्व निर्भर हुनु राम्रो कुरा हो, तर यदि हामीलाई कसैले हामीले उत्पादन गरेको  भन्दा सस्तोमा राम्रो उत्पादन दिन तयार छ भने स्वाभाविक रूपले त्यसैतर्फ आकर्षित हुनेछौ l

तर आवेश र राष्ट्रियताको भावनामा बगेर भारतीय फलफुल तथा तरकारीको आयात लाइ रोक्न तर्फ लाग्ने हो भने बस्तु तथा उत्पादनको अभाव वा  एकाधिकार को रूपमा त्यसको असर हाम्रो बजारमा पर्न सक्छ, जसको मार अन्ततः हरेक नेपाली नागरिकले बढी मूल्यको रूपमा चुकाउनु पर्ने हुन्छ l

त्यसैले आजको हाम्रो बहस भारतीय तरकारीलाई बहिष्कार गर्ने भन्दा पनि त्यसको गुणस्तरको परीक्षण गरेर मात्र भित्र्याउन दिने कुराको हुनु पर्दछ l एक पटक अत्यधिक विषादी युक्त फलफुल तथा तरकारी नेपालीहरू खपत गर्न चाहँदैनन् भन्ने सन्देश भारतीय कृषक तथा व्यापारीहरूमा जाने बित्तिकै उनीहरू आफूलाई सच्याउन तर्फ लाग्ने कुरा निश्चित छ, किनकि कोहिपनि कृषक र व्यापारीहरू आफ्नो सामान बिक्री नहोस् वा आफ्नो उत्पादनले बजार तथा ग्राहक नपाओस् भन्ने हुँदैन, त्यसमा पनि फलफुल तथा तरकारी जस्तो छिटो कुहिने उत्पादन तर्फ उनीहरू अझ संवेदनशील भएर अघि बढ्ने कुरा निश्चित छ l

यसको लागि नेपाल सरकारले आवश्यक ठाउँमा तुरुन्त योग्य मानिस तथा परीक्षण गर्ने प्रविधिको व्यवस्था गर्नुपर्ने हुन्छ, ताकी नागरिकहरू अखाद्य बस्तुको जोखिमबाट बच्न सकुन्, साथै सम्बन्धित निकायका मानिसहरूले चुस्त-दुरुस्त र इमान्दारिताका साथ सेवा प्रदान गरी नागरिकहरूको दैनिक जीवन सहज बनाउन पहल गर्नुका साथै बजारमा स्वच्छ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता देखिन्छ l

Photo Source: https://bit.ly/2LFp0w5

You might also like

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.