मोटर साइकल, यो नामसँग परिचित नभएको व्यक्ति सायदै आज कोही होला l मात्र २ अढाई दशक अघि नेपाली समाजमा यसलाई बिलासिताको विषय मानिन्थ्यो l उस बेला जो व्यक्तिसँग मोटरसाइकल हुन्थ्यो, उसको आर्थिक हैसियत समाजका अन्य व्यक्तिको तुलनामा उच्च मानिन्थ्यो, किनभने त्यस बेला मोटरसाइकल थोरै व्यक्तिहरूको पाहुचमा मात्र सीमित थियो l तर हाल आएर व्यक्तिहरूको बढ्दो आय स्तर, बृहत् उत्पादन, बिस्वब्यापिकरण र दैनिक आवश्यकताको कारणले गर्दा मोटरसाइकल पहिलाको तुलनामा धेरै मानिसहरूको हातमा पुग्न सफल भएको छ l
आज यो साधन अधिकांश मानिसहरूको लागि दैनिक आवश्यक साधन बनेको छ l दैनिक काममा जान, किनमेल गर्न, घुमफिर गर्न, भेटघाट गर्न, बच्चालाई स्कुल लैजान, सामान किनबेच आदि कार्य गर्न निम्ति मोटर-साइकलले मानिसहरूको जीवनलाई निकै सहज तुल्याइदिएको छ l साथै यसले मानिसहरूको समय र पैसा बचत गर्न सहयोग पुर्याउने हुनाले पनि यसको प्रयोग दिनानुदिन बढ्दो छ l तर अझै यसको आवश्यकता भएका धेरै नेपालीहरूको पहुँचमा भने मोटरसाइकल अहिले पनि पुगिसकेको अवस्था भने छैन l
किन अधिकांश नेपालीहरूको पहुँचमा यो साधन पुग्न सकेको छैन भनेर हामीमा जिज्ञासा उठ्न सक्छ l के मानिस किन्न चाहँदैनन् वा नेपाली जनता सो साधन खरिद गर्ने हैसियत राख्दैनन् l जहाँसम्म चाहना राख्ने कुरा छ, हामी मद्धे अधिकांश आफ्नो दैनिक आवश्यकता पुरा गर्नको निम्ति घरमा एउटा नयाँ वा पुरानो जस्तो सुकै भए पनि एउटा मोटर-साइकल होस् भन्ने इच्छा राख्छौ l तर इच्छा हुँदा-हुदैपनि खरिद गर्न सक्दैनौ भने हामी मद्धे अधिकांश मानिसहरूको आर्थिक हैसियत कमजोर छ भन्ने कुरा दर्साउँदछ l अधिकांश नेपाली नागरिकहरूलाई एउटा मोटरसाइकल किन्नु परेमा निकै लामो योजना बनाउन र धेरै रकमको जोहो गर्न आवश्यक पर्छ l
भारतमा ५५-६०००० (९० हजार देखि १ लाख नेपाली रुपैयाँ) भारुमा पाइने १२५ सिसिको बजाज डिस्कभर मोटरसाइकललाई नेपालमा १८७,९०० रुपैयाँ पर्दछ l भारतमा ७८,५१५ भारु (१२५,६२४) मा पाइने १५० सिसिको पल्सर मोटरसाइकल नेपालमा किन्दा २,४०,००० नेपाली रुपैयाँ पर्दछ l जबकि विश्व बैङ्कको तथ्याङ्क अनुसार भारतीयहरूको प्रतिव्यक्ति आय १९७४ अमेरिकन डलर छ भने, नेपालीहरूको प्रति व्यक्ति आय १०१२ अमेरिकी डलर मात्र छ l प्रति व्यक्ति आयलाइ खर्च गर्ने हो भने नेपाली नागरिकलाई एउटा मोटरसाइकल खरिद गर्न झन्डै २.२१ वर्ष लाग्ने देखिन्छ भने भारतीयहरूलाई त्यही मोटरसाइकल खरिद गर्न मात्र ६ महिना लाग्दछ l
तुलनात्मक रूपले हेर्ने हो भने भारतीयहरूको क्रय शक्ति नेपालीहरूको भन्दा दोब्बर बढी छ, तर दैनिक आवश्यकता को साधन खरिद गर्नु परेमा हरेक नेपालीले भारतीय नागरिकहरूको तुलनामा दोब्बर बढी रकम तिर्नु पर्ने बाध्यता छ l
भारतको अधिकांश राज्यहरूमा मोटरसाइकल खरिद गर्दा, मात्र एकपटकको लागि न्यूनतम नवीकरण कर बुझाए पुग्छ l त्यहाँ नेपालमा जस्तो हरेक वर्ष नवीकरण कर बुझाई रहनु पर्ने बाध्यता छैन l जबकि नेपालमा १५० सिसिको मोटर-साइकल नवीकरण गर्नुपर्दा हरेक वर्ष ४५०० रुपैयाँ सरकारलाई कर बुझाउन बाध्य छौ l सोच्नुस् त, यदि हामी १५० सिसिको मोटरसाइकल २० वर्ष चलाउँदछौ भने, वार्षिक ४५०० को दरले २० वर्षसम्म कर तिर्दा ९०,००० रुपैयाँ नवीकरण कर मात्रै बुझाउँछौ l जबकि भारतमा त्यति रकममा नयाँ १२५ सिसिको बजाज डिस्कभर मोटरसाइकल नै खरिद गर्न सकिन्छ l
आखिर किन हामी यतिका धेरै महँगो रकम तिर्न बाध्य छौ त ? जबाब स्पष्ट छ, किनकि मोटर साइकललाई अझै पनि नेपालमा बिलासिताको साधनको रूपमा हेरिने गरिएको छ, जस कारण राज्यले नागरिकहरूसँग ठुलो मात्रामा करको रकम असुल गर्दछ l तर आज मोटरसाइकल हाम्रो लागि विलासिताको विषय हो वा हाम्रो आवश्यकताको विषय हो यो कुरा हामी सबैलाई बुझ्न त्यति गाह्रो नपर्ला ?
राज्यले नागरिकहरूबाट राजस्व उठाउनु कुनै नौलो कुरा होइन, राज्य सञ्चालनको मुख्य आयस्रोतको माध्यम नै यही भएकोले सबै राज्यले आफ्ना नागरिकहरूलाई कर तिर्न बाध्य बनाउँछन् l तर राज्यले कर उठाउन आवश्यक भए पनि कति मात्रामा कर उठाउने भन्ने प्रश्न महत्त्वपूर्ण हुन जान्छ ? आफ्नै नागरिकको घाटी निमोठेर राज्यको ढुकुटी भर्नु कतिको उचित हो ? नागरिकहरूलाई गरिब बनाएर कुनै पनि राष्ट्र राज्य समृद्ध हुन सक्दैन l
एउटा मोटरसाइकल खरिद गर्दा नेपाली नागरिकहरूले भन्सार शुल्क ३०%, अन्तःशुल्क ४०%, मूल्य अभिवृद्धि कर १३%, बाटो सुधार शुल्क (१५० CC १२०००, एक पटक), वार्षिक नवीकरण शुल्क ४५००, वातावरण कर (१०० देखि २००, सहरी क्षेत्रमा), दर्ता शुल्क (३००), र इन्सुरेन्स (१७१९) आदि गरी जम्मा आठ प्रकारका कर बुझाउनु पर्दछ l यसरी हेर्दा हामी नेपाली नागरिकहरूले मोटरसाइकलमा भारतीय उत्पादन मूल्य भन्दा झन्डै ११४ % बढी रकम तिरिरहेका छौ l यस कारण मोटरसाइकल नेपाली नागरिकहरूको लागि धेरै महँगो पर्न गएको अवस्था हो l जुन कुरा उचित छ वा छैन भनेर हामी सबै नागरिहरुले मनन गर्न जरुरी छ l
उदाहरणको लागि एउटा दूध बेच्ने मानिसलाई लिएर हेरौँ l एउटा दूध बेच्ने मानिस मोटरसाइकल खरिद गर्न नसकेको कारण जिन्दगी भरि साइकलमा नै दूध बेच्न बाध्य हुन्छ l यदि उसले साइकलको साटो मोटर-साइकलमा दूध बेच्न पाउने हो भने उसलाई धेरै तरिकाबाट फाइदा हुने कुरा निश्चित छ l उसले कम मेहनत र थोरै समयमा पहिलाकोभन्दा धेरै दूध बेच्न र आय आर्जन गर्न सफल हुनेछ l बचेको समय उसले आफ्नो गोठ, परिवार, साथीभाइ, छर-छिमेक, मनोरञ्जन वा अन्य आय आर्जनको कार्यमा लगानी गर्न सक्नेछ l उसको आर्थिक अवस्था राम्रो हुनु भनेको ऊसँग छनौटको अवसर हुनु हो l उसले आफ्नो छोरा-छोरीलाई राम्रो शिक्षा-दीक्षा दिन सक्ने हैसियत हुनु हो, जुन केटाकेटीहरू भविष्यमा दूध नै बेचेर हिँड्न बाध्य हुने छैनन् l यसका साथै उ लगायत उसको परिवारको लवाई-खुवाइ, रहन-सहन र सामाजिक मान-मर्यादा आदिको स्तर पनि माथि उठ्ने छ l ज्यादा परिश्रम गर्नु नपर्दा उसको स्वस्थ स्थिति पनि बिग्रनेछैन, जस कारण उ लामो समयसम्म काम गर्न योग्य हुनेछ l मोटरसाइकलले फाइदा पुर्याउन सक्ने प्रत्यक्ष वा अप्रत्यक्ष क्षेत्रहरू अन्य धेरै छन् l
नेपाली नागरिकहरूले १२५ सिसिको मोटर साइकल ९०,००० मा खरिद गर्न सक्नु भनेको हरेक नागरिकहरूको झन्डै १००,००० हजार रुपैयाँ बचत हुनु हो l जुन बचत कुनै सानो-तिनो उधम तथा व्यापारमा लगानी गरी त्यसबाट आय आर्जनको बाटो पहल्याउन सकिन्छ, वा आफ्नो अन्य कुनै प्रायोजनको लागि खर्च गरी त्यसबाट लाभ लिन सकिन्छ l
यसरी विचार गर्दा हाम्रो इच्छा, आकाङ्क्षा र प्रगतिमा के कुरा बाधक भइरहेको छ भन्ने कुरा स्पष्ट छ l राज्य सञ्चालन र जनहितका कार्य गर्न कर उठाउन आवश्यक छ, तर राज्यले जनताको स्रोत साधनलाई नै दोहन गरेर विकास गर्ने मान्यता राख्नु तर्कसङ्गत देखिँदैन l लगानीको उचित वातावरण, उत्पादनमा जोड, विधिको शासन, सही आर्थिक नीति र त्यसको कर्वानायनको पक्षलाई प्राथमिकताका साथ लागु गर्ने हो भने देश विकासको प्रक्रियालाई अवश्य द्रूतरुप दिन सकिन्छ l यो कुरा ३०-३५ वर्ष अघिसम्म आर्थिक गरिबीको दलदलमा फसेका हाम्रा दुई ठुला छिमेकी राष्ट्र चिन र भारतले प्रमाणित गरिसकेका छन् l उनीहरूले गर्न सक्छन् भने हामीले गर्न नसक्ने कुनै कुरै छैन l
नेपाल जस्तो मुलुक जहा सार्वजनिक यातायातको स्थिति त्यति सन्तोषजनक छैन, साथै देशको कठिन भौगोलिक परिस्थितिको कारण धेरै ठाउँमा दुई पाङ्ग्रे साधन बाहेक अन्य साधन सञ्चालन हुनसक्ने अवस्था छैन l त्यसैले हामी चाहन्छौ, राज्यद्वारा विलासिताको विषयको रूपमा हेरिएको मोटर-साइकल लाइ आवस्यक्ताको विषयको रूपमा हेरियोस् l साथै करको दरलाई न्यूनतम गरी नागरिकहरूले सहज, सुलभ अनि सस्तोमा आफ्नो आवश्यकताको साधन खरिद गर्न सक्ने वातावरण तयार गरियोस् l