उद्यमशिलता शब्दको ब्युत्पति ल्याटिन भाषाको Entreprende भन्ने शब्दबाट भएको हो, जसको अर्थ “to undertake” अर्थात् व्यापारको सन्दर्भमा भन्दा आफ्नो उधम वा व्यवसायको सुरुवात गर्ने भन्ने कुरा बुझिन्छ l उद्यमशील हुनु अथवा उद्यमशिलताको सुरुवात गर्नु भनेको निरन्तर परिवर्तनशील प्रतिस्पर्धाको विश्व बजारमा बस्तु तथा सेवा प्रदान गरी नाफा कमाउने उद्देश्य लिएर जोखिम मोल्न तयार भई अगाडी बढ्ने जमर्को गर्नु हो l
उद्यमहरु आफ्नो नवीनतम सोच, विचार, आविष्कार र उत्पादनको कारण संसारलाई फरक दिशातर्फ डोर्याउन सक्ने परिवर्तनका सम्भाहक हुन् भन्ने कुरा जुगरबर्ग, स्टिभ जब्स र बिल गेट्स आदि जस्ता मानिसहरूको उदाहरणबाट प्रस्तुत हुन्छ l
उनीहरू बोल्ने र कल्पना गरेर बस्ने स्वभावका नभएर त्यसलाई कार्यरूप दिने स्वभावका हुन्छन् l अरूको लागि काम गर्नु भन्दा पनि उनीहरू आफ्नै निम्ति काम गर्न रुचाउँदछन्, जसमा ब्यावस्थापनको कुशलता र नेतृत्वको क्षमता रहेको हुन्छ l
उधमीहरुमा माग र आपूर्ति बिचमा रहेको सम्भावना देख्नसक्ने क्षमता रहेको हुन्छ, जसले कठिन परिस्थितिमा पनि अवसर देख्न सक्दछन् l असफलतालाई सिकाइको रूपमा लिई निरन्तर आफ्नो सोच र कामप्रति दत्तचित्त भएर लाग्ने स्वभाव उनीहरूको हुन्छ l
धेरै मानिसहरूले उद्यम र व्यापारलाई उस्तै-उस्तै रूपमा बुझेपनि यसमा केही फरक भने अवश्य छ l उद्यमशिलता भनेको बजारमा नयाकुराको सुरुवात गरी आफ्नो बाटो आफै पहल्याउनु हो भने व्यापार भनेको उद्यमहरुले पह्ल्याएको बाटोलाई अनुसरण गर्नु हो l
उद्यमीहरुसंग आफ्नोपन हुन्छ, जसकारण उनीहरू बजारलाई दिशानिर्देश दिन सफल हुन्छन् भने व्यापारीहरूले अरूको सोचलाई पछ्याएर सेवाप्रदायकको भूमिका निर्वाह गरेका हुन्छन् l
व्यापारीहरूको तुलनामा उद्यमीहरुले धेरै जोखिम उठाएका हुन्छन् l व्यापारीहरूको ध्यान नाफामा केन्द्रित हुन्छ भने उद्यमहरु आफ्नो सेवा मार्फत धेरैभन्दा धेरै मानिसहरूको जीवनलाई सहज बनाउन तर्फ केन्द्रित हुन्छन् l व्यापारमा प्रतिस्पर्धा असीमित हुन्छ भने उद्यमहरुको प्रतिस्पर्धी न्यून हुन्छन् l उद्यम र व्यापार बिच फरक भएपनि समाजमा दुवैले प्रदान गर्ने बस्तु तथा सेवाको आ-आफ्नै महत्त्व छ l
उद्यमी किन बन्ने ?
उद्यमी बन्नुका धेरै सकारात्मक पक्षहरू रहेका छन् l पहिलो कुरा त नाफा जहिले पनि तलब भन्दा राम्रो हुन्छ, किनकि तलबको सीमा हुन्छ तर नाफा (अरूको अहित नगरी कमाएको) को कुनै सीमा हुँदैन l उचित दिमाग र श्रम खर्च गरेर आफूले अङ्गालेको व्यवसाय मार्फत ब्याक्तिले जति पनि कमाउन सक्दछ l जिम रोन भन्दछन्, “यदि तपाईँ अरूको लागि काम गर्नुहुन्छ भने तपाईँ जेनतेन बाच्नु हुनेछ, तर यदि तपाईँ आफ्नो निम्ति काम गर्नुहुन्छ भने सम्पन्नता हासिल गर्न सक्नुहुनेछ l उद्यमीले आफूले रोजेको पेसा-व्यवसायमा समय खर्चिने हुँदा उसमा लगाव रहन्छ, घडी हेरेर काम गर्दैनन्, आफ्नो उद्यमलाइ विस्तार गर्न परिश्रम गर्न हर हमेसा तयार रहन्छन् l
उद्यमी बन्नको निम्ति ब्याक्तिलाइ धेरै पढाइको आवश्यक पर्छ भन्ने छैन, थोरै मात्र पढेको मानिसले पनि आफ्नो सोच, लगन र क्षमताको कारण सफलता प्राप्त गर्न सकेको उदाहरण हामी माझ प्रशस्त छन् l यसको लागि उमेरको कुनै हद बन्दी हुँदैन, जुगर्बर्गले १९ वर्षमा फेसबुक मार्फत नाम र पैसा कमाए भने, कोलोनेल स्याण्डर ले ६६ वर्षको उमेरमा KFC को सुरुवात गरेका थिए l उद्यम गर्ने मानिस गर्वसाथ आफू मालिक हु भनेर भन्न सक्छ l उनीहरू पथप्रदर्शक हुन्छन्, जसलाई अरू ब्यावसायीहरुले अनुसरण गरी समाजलाई बस्तु तथा सेवा प्रदान गर्दछन् l एउटा सफल उधमीले आफ्नो पद चिन्न छोडेर जान्छ l आज स्टिभ जब्स हामी माझ छैनन् तर Apple कम्प्युटर हामी माझ अवस्थित छ l धिरुभाई अम्बानी यस संसारमा नभए पनि उनले खडा गरेको आर्थिक साम्राज्य हामी माझ अवस्थित रही धेरै भन्दा धेरै मानिसहरूको जीवन सहज बनाउन सहयोग पुर्याइरहेको छ l
सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको उद्यमीहरुसंग स्वतन्त्रता हुन्छ, जुन अरूको निम्ति काम गर्ने मानिसहरूसँग हुँदैन l को सँग, कहाँ, कहिले, कति मूल्यमा, कसरी व्यापार गर्ने देखि लिएर, कहिले छुट्टी लिने, कस्तो शेख राख्ने, कस्तो लुगा लगाउने, कस्तो व्यक्तित्व बनाउने, कति समय परिवारलाई छुट्ट्याउने आदि जस्ता कुराको छनौट गर्ने अवसर उद्यमीहरु सँग रहेको हुन्छ l
समाजले उधमीहरुलाई हेर्ने दृष्टिकोण कस्तो छ ?
संसारभर उद्यमीहरुलाई हेर्ने दृष्टिकोण विभाजित रहेको छ, नेपाली समाज यसबाट अछुतो छैन l कसैले उनीहरूलाई सकारात्मक रूपमा हेर्दछन् भने कसैले उनीहरूलाई नकारात्मक रूपमा लिन्छन् l केही मानिसहरूको बिचारमा उनीहरू रोजगारी सिर्जना तथा आर्थिक बृधिको संवाहक हुनुको साथै, जोखिम मोल्न सक्ने, समाजलाई आवश्यक बस्तु तथा सेवा प्रदान गर्ने, सृजनसिल तथा पुँजीपतिको रूपमा हेर्दछन् भने कहिले उनीहरूलाई गरिबमारा, नाफाखोर (पैसाको निम्ति जस्तो सुकै गलत कार्य गर्न पछि नपर्ने), एकाधिकार कायम गर्न साठगाठ गर्ने (प्रतिस्पर्धा नरुचाउने) मानिसको रूपमा हेर्ने गरेको पाइन्छ l यहाँसम्म कि हाम्रो धर्मले पनि बस्तु तथा सेवा प्रदान गरी धन आर्जनमा संलग्न वर्गलाई ब्राम्हण र क्षेत्री पछि मात्र बर्णव्यवस्थामा स्थान दिएको छ l
केही मानिसहरूको बिचारमा १% मानिस (अधिकांश उद्यमी-व्यापारी) हरू सित संसारको आधा सम्पत्ति रहेको छ, जसको कारण संसारमा यतिका धेरै मानिसहरू गरिबी र अभावमा बाच्न बाध्य छन् l सीमित मानिसहरू सित धेरै सम्पत्ति रहेको कुरा स्वीकार गर्न सकिन्छ, तर संसार उनीहरूको कारण गरिब रहेको आरोप गलत छ l
संसारका १ प्रतिशत मानिसहरूसित पैसा जम्मा हुनुभन्दा पहिले के संसार समृद्ध थियो त ? पक्कै पनि थिएन, आजभन्दा २ सय वर्ष अघिसम्म संसारका अधिकांश विकसित देशका जनता समेत गरिबी र अभावमा बाचेको कुरा इतिहासले प्रस्ट्याउदछ l बरु संसार उद्यमी तथा व्यापारीहरूको नवीनतम सोच, बस्तु तथा सेवाको योगदानको कारण यो सम्पन्नताको अवस्थामा आइपुग्न सफल भएको हो भनेर भन्दा फरक पर्दैन l
आज शिक्षा, स्वास्थ्य, रोजगारी, जन्म र मृत्युदर जस्ता हरेक विषयहरूमा उल्लेखनीय किसिमले सुधार आइ मानिसहरूको जीवन धेरै सहज भएको छ l कुनै बेला बिजुली बत्ती, टेलिफोन, घडी, क्यामेरा, कम्प्युटर, रेडियो, टेलिभिजन, जुत्ता-चप्पल, कापी, किताब, कलम आदि जस्ता सबै कुराहरू धेरै मानिसहरूको निम्ति विलासीताका विषय थिए l केही सीमित धनाढ्य र राजा-महाराजाहरूले मात्र यी सबैकुराहरुको उपयोग गर्ने पहुँच र सामर्थ्य राख्दथे l तर आज ती सबै कुराहरू आम नागरिकहरूको पहुँचको विषय बनेका छन्, जुन उधमी-व्यवसायीहरू कै मुख्य देन हो l आज उद्यमीहरुले एक रुपैयाँको कपालमा लगाउने तेलको प्याकेट देखि लिएर २ रुपैयाँको स्याम्पु आदि जस्ता धेरै सामग्रीले संसारभरका न्यून भन्दा न्यून आय भएका मानिसहरूको हितलाई संरक्षण गरेको कुरालाई नकार्न सकिन्न l
उद्यम र व्यापारमा संलग्न मद्धे एउटाले जित्ने र अर्को ले हार्ने नकारात्मक प्रक्रिया होइन l व्यापारको लेनदेनमा संलग्न दुबैजना (सेवा दिने र खरिद गर्ने) लाभान्वित हुन्छन्, किनकि दुबैजनाले आफूले चाहेको बस्तु प्राप्त गर्दछन् l
यदि उद्यमीहरुले सस्तोमा आफ्नो बस्तु तथा सेवा मार्फत धेरै भन्दा धेरै मानिसहरूको चाहना र आवश्यकता पुरा गरी सम्पत्ति आर्जन गर्दछन् भने कसैलाई समस्या हुनु हुँदैन l हो यदि उनीहरूले साठगाठ र एकाधिकार कायम गरी उपभोक्तालाई बढी मूल्य तिर्न बाध्य बनाउँदछन् भने राज्यले उनीहरूलाई हदसम्मको सजायको व्यवस्था गर्न सक्नु पर्दछ l
आज संसारमा तिनै देशका जनता गरिबी, अभाव र त्यसले निम्त्याउने समस्याहरूमा जीवन व्यतित गर्नु परेको छ जुन देशका शासकहरूले आफ्ना अथवा आफ्ना स्वार्थ समूहहरूको निहित स्वार्थ पुरा गर्नको निम्ति उद्यमशिल वातावरण सिर्जना गर्ने ढोका बन्द गरिराखेका छन् l
उधमशिलता किन महत्त्वपूर्ण छ ?
आजसम्म जति पनि देशले विकास गरेका छन् ती सबै देशले व्यापार र उद्यमशिलातालाइ प्रोत्साहन गरेर नै आर्थिक तथा सामाजिक विकासलाई सम्भव तुल्याएका छन् l मागेर आजसम्म संसारमा कुनैपनि देश धनी भएको छैन भने व्यापार र उद्यमशिलतालाइ प्रोत्साहन गर्ने बाताबारण सिर्जना गरेर आजसम्म एउटा पनि देश गरिब भएको इतिहास छैन l
उद्यमीशिल समाजले रोजगारी सिर्जना गरी हरेक व्यक्तिको आयस्तर र जीवनशैलीलाइ माथि उठाउन सहयोग गरिदिन्छ, जसले अन्ततः देशको उन्नतिमा नै टेवा पुर्याउदछ l आयस्रोतको बाटो भएको खण्डमा मानिसहरूसँग आफ्नो आवश्यकताको निम्ति खर्च गर्न सक्ने क्षमता बढेर जान्छ, जुन आय उनीहरूले आफ्नो सन्तानको राम्रो शिक्षा र स्वास्थ्यमा समेत खर्च गरी देशको लागि योग्य नागरिक तयार गर्नको निम्ति सहयोग गर्न सक्छन् l
उधमिहरुले माग र आपूर्तिको बिच सेतुको काम गर्दछन् l उनीहरू श्रोत व्यवस्थापन गर्नमा कुशल हुन्छन् l कहाँ कुन बस्तुको माग बढ्दो छ र कहाँबाट कसरी त्यो श्रोत जुटाएर लाभ प्राप्त गर्न सकिन्छ भन्ने कुराको ज्ञान राखी, समाजलाई आवश्यक बस्तु तथा सेवा उत्पादन र वितरण गरी समाजका हरेक मानिसहरूको जीवनलाई सहज बनाउन उनीहरूको प्रमुख भूमिका रहेको हुन्छ l
आफ्नो नवीनतम, सृजनशील सोचद्वारा उत्पादित बस्तु तथा सेवा मार्फत उद्यमीहरु समाजलाई परिवर्तन गर्ने क्षमता राख्दछन् l उनीहरूको सोच र प्रयासको कारण मानिसहरूको समय र पैसाको बचत हुनुको साथै आफ्नो आवश्यकताको पूर्ति गर्न धेरै हदसम्म सम्भव भएको छ l उद्यमीहरु ग्राहकहरूको चाहना र आवश्यकता पुरा गर्न निरन्तर नयाँ-नयाँ बस्तु तथा सेवा उत्पादनमा तल्लीन रहेको कारण सोध,खोज र अनुसन्धानको पनि विकास सम्भव हुन पुग्दछ l
नेपालमा उद्यमशिलता विकासका केही चुनौतीहरू
नेपालमा उद्यमशिलता विकासको चुनौतीको बारेमा बहस गर्ने हो भने जति पनि गर्न सकिन्छ l कुनैपनि देशमा गरी खान सक्ने वातावरण कति सहज वा असहज छ भन्ने कुरा Doing Business Report ले हरेक वर्ष दर्साउने गर्दछ l हालै प्रकाशित भएको ‘Doing Business Report 2019′ अनुसार नेपाल १०५ स्थानबाट ११० औ स्थानमा खस्केको छ l साथै १०० औ स्थानमा रहेको छिमेकी भारत ७७ औ स्थान र ७८ औ स्थानमा रहेको चिन ४६ औ स्थानमा उक्लिन सफल भएका छन् l भारतले यो वर्ष २३ फड्को मारेको छ भने चीनले ३२ फड्को मार्न सफल भएको छ l यस तथ्याङ्कले हाम्रा छिमेकीहरू व्यावसायिक वातावरण बनाउन सफल भइरहेको अवस्थामा हामी गरी खान सक्ने वातावरण तयार गर्न असफल भइरहेको कुरालाई पुष्टि गर्दछ l
Doing Business Report कै अनुसार नेपालमा उद्यम-व्यवसायको सुरुवात गर्न, निर्माण सम्बन्धी स्वीकृति लिन, बिधुत जडान गर्न, सम्पत्ति दर्ता गर्न, कर्जा प्राप्त गर्न, अल्पसङ्ख्यक/minority लगानीकर्ताहरूको हित संरक्षण गर्न, कर तिर्न, अन्तर्राष्ट्रिय स्तर/सीमापारिको आयात-निर्यात व्यापार गर्न, करार कार्वान्वयन गर्न र दिवालिया व्यवस्थापन आदि विषयहरूमा निकै समस्या रहेको छ l यी सबै समस्याहरूको कारण नेपाल उद्यमशिल वातावरण तयार गर्न असफल भएको कुरा Doing Business Index ले उल्लेख गरेको छ l
यसको अलावा लामो समयसम्म देशमा रहेको राजनीतिक अस्थिरता, अराजकता (बन्द, हडताल, चन्दा आतङ्क, अपहरण, हत्या आदि) सुशासनको अभाव, ब्याक्तिगत सम्पत्तिमाथिको अधिकारमा प्रहार, अस्पस्ट र झन्झटिलो सरकारी नीति, भौतिक पूर्वाधारको अभाव, प्रतिस्पर्धालाइ निरुत्साहित गर्ने साठगाठ र एकाधिकार (सिन्डिकेट,कार्टेलिङ्ग) युक्त बजार, भ्रष्टाचार, जवाफदेहिताको कमी, र व्यापार तथा उद्यमशिलता प्रति समाजको नकारात्मक मानसिकता आदि कुराहरूले पनि नेपालको उद्यमशिलता विकासमा अवरोध पुर्याइरहेका छन् l
कस्तो वातावरणले उद्यमशिलता विकासमा सहयोग पुर्याउदछ ?
उद्यमशिलता विकासको निम्ति राजनीतिक स्थाइत्व, सुशासन र नागरिकप्रति जवाबदेहि सरकार हुन नितान्त आवश्यक हुन्छ l स्थाइत्व र सुशासन नभएको समाजमा कुनै पनि नीति–नियमलाई दिगो रूपमा कार्वान्वयन गर्न सकिन्न l यसकिसिमको समाजमा अराजकता र भ्रष्टाचार मौलाइ ब्यावसाहिक बाताबारणलाइ तानासाही बनाइदिन्छ जसले पुजी तथा श्रम दुवैलाई बाहिरिन बाध्य बनाउँदछ l
उद्यमशिलता विकासको निम्ति सही आर्थिक नीति (राज्य वा अन्य कसैको हस्तक्षेप बिना स्वतन्त्र रूपले उधम गर्ने वातावरण) अपरिहार्य रहन्छ l व्यापारिक साठगाठको भरमा कार्टेलिङ्ग वा सिन्डिकेट लादेर एकाधिकार कायम गरिएको बजारमा केही सीमित व्यापारी तथा त्यस कार्यसँग सम्बन्धित मानिसहरूले अरूको अहित गरी प्रशस्त फाइदा कमाउने अवसर पाए पनि आम उपभोक्ता तथा बजारमा प्रवेश गर्न चाहने नयाँ उद्यमीहरुलाई भने अहित गर्ने कुरा निश्चित छ l ब्यावासाहिक वातावरण तयार गर्नको निम्ति व्यापारिक साठगाठ तथा एकाधिकारलाइ राज्यले निरुत्साहित गर्न नितान्त आवश्यक हुन्छ l
l ब्याक्तिगत सम्पत्तिको सुरक्षाको प्रत्याभूति उद्यमशिलता विकासको निम्ति अर्को महत्त्वपूर्ण पाटो हो l आफूले मेहनत गरी आर्जेको सम्पत्ति आफूले पुजी निर्माणमा लगानी गर्न, भोग चलन वा सहज रूपले लेनदेन गर्न तथा खरिद-बिक्री गर्न पाइएन भने कसैलेपनि सम्पत्तिलाई उत्पादनशील कार्यमा खर्चन रुचि राख्दैन, जसले अन्ततः पुजी निर्माणलाई निरुत्साहित गरी पुजीलाई त्यस ठाउँमा ढकेलीदिन्छ जहाँ ब्याक्तिगत सम्पत्ति सम्पत्तिमाथिको अधिकारलाई प्रत्याभूत गरिएको हुन्छ l उद्यमीहरु आफ्नो लगानी त्यही ठाउँमा मात्र गर्न प्रेरित हुन्छन् जहाँ लगानी र त्यसबाट आउने प्रतिफल सुरक्षित महसुस गरिन्छ l
राज्यको अव्यावहारिक तथा अधिक कर जस्ता नीतिले लगानीलाई निरुत्साहित गरी पुजी पलायन गर्न सहयोग पुर्याउने भएको कारण करको दरलाई न्यून राख्न अति आवश्यक छ जसले लगानीलाई आकर्षण गरी पुजी निर्माण गर्न सहयोग पुर्याउदछ l
उद्यम तथा व्यापार त्यतिबेलासम्म फस्टाउँदैन जतिबेलासम्म करार तथा कानुन प्रभाकारी तवरले कार्वान्वयन गरिँदैन वा गरिन्छ भन्नेकुराको विश्वास हुँदैन l व्यापार दुई ब्याक्ति बिच हुने आपसी समझदारी भएको कारण कथंकदाचित कसैले त्यो समझदारी वा करार पालना नगरेको खण्डमा अन्यायमा परेकालाई न्याय दिलाउन राज्यको भूमिका अपरिहार्य रहन्छ l
उद्यमीहरुसंग नवीनतम र सृजनशील सोच भएर मात्र हुँदैन, यो सोचलाई कार्य रूप दिनको निम्ति पुजी व्यवस्थापन जरुरी पर्दछ l वित्तीय संस्थाहरूसँगको सहज पहुँचले उधमिहरुलाई श्रोत जुटाई उद्यम सञ्चालन गर्न प्रोत्साहित गर्दछ l
सञ्चालन गरिएका हरेक उद्यम-व्यवसाय सफल हुन्छ भन्ने हुँदैन, धेरैजसो असफलतामै चित्त बुझाउनु पर्ने अवस्था रहन्छ l त्यसैले सञ्चालन गर्न चाहेको उद्यम-व्यवसायमा सहज रूपले प्रवेश गर्ने वातावरण हुनुका साथै घाटा खाएको अवस्थामा आफ्नो लेनदेन चुक्ता गरी सहजै निस्कन सक्ने नीतिले उद्यमीहरुलाई सहजता प्रदान गर्दछ l
नेपालमा व्यवसाय दर्ता देखि लिएर कर तिर्न समेत अनेक कसमको प्रशासनिक झन्झट रहिआएका छन् l यस समस्यालाई निराकरण गर्नको निम्ति एक द्वार नीति (एउटा कामको लागि दस ठाउँमा धाउनु नपर्ने व्यवस्था) अपनाउनु पर्ने आवश्यक देखिन्छ, ताकी उद्यमीहरुले अनावश्यक झन्झट (समय र पैसा) नव्यहोरि आफ्नो व्यवसाय सञ्चालनमा बढी ध्यान दिन सकुन् l
उद्यमी तथा ब्यावसायीहरुले बस्तु तथा सेवा उत्पादन गरेर मात्र हुँदैन, सो उत्पादनलाई बजारसम्म पुर्याउन आवश्यक भौतिक पूर्वाधार (बाटो, पुल, बिजुली आदी) को पनि त्यति नै जरुरी पर्दछ, अन्यथा उत्पादित बस्तुले बजार नपाएर त्यतिकै खेर जाने सम्भावना बढेर जान्छ जसले उधमिहरुलाइ नोक्सान बेहोर्ने स्थितिमा पुर्याइदिन्छ l
बिस्वब्यापिकरणको युगमा उत्पादित बस्तु तथा सेवाहरूको निम्ति आन्तरिक बजारको मात्र सम्भावना नरहेर अन्य देशमा पनि बजारको सम्भावना त्यतिकै हुन्छ, जसको निम्ति सीमापारि हुने व्यापार (आयात तथा निर्यात) लाई खुल्ला र सहज बनाउन नितान्त आवश्यक रहन्छ l आयात वा निर्यातमा रोकटोक भएमा उद्यमी तथा उपभोक्ता दुवैले मूल्य चुकाउनु पर्ने कुरा निश्चित छ l
अन्त्यमा व्यावसायिक वातावरण फस्टाउनको निम्ति व्यापार व्यवसाय तथा उद्यमप्रति समाजको सकारात्मक दृष्टिकोण नितान्त आवश्यक रहनुको साथै राज्यले व्यावसायिक मैत्री अर्थात् लचिलो श्रम नीति अपनाउन अत्यन्तै जरुरी छ l
3 Comments
धेरै धेरै धन्यवाद यति राम्रो र स्पस्ट बिस्लेसन लेख को लागि सबैले जवान देखि बुढो ले पढ्नै पर्ने. धन्यवाद
Thank yous o much B.L Chaudhary sir for your kid words, appreciate it vey much.
यति राम्रो लेख पढ्न पाइयो।