व्यक्तिगत स्वतन्त्रता: अरूको अधिकारमा दखल नपुर्याएसम्म आफ्नो अधिकार प्रयोग गर्न पाउनु पर्दछ

बसन्त अधिकारी

104

मानिस जन्मँदै स्वतन्त्र प्राणी भएकोले उसको जीवनमा स्वतन्त्रताले ठुलो महत्त्व राख्दछ l हरेक मानिस भित्र स्वतन्त्रताको चाहना रहेको हुन्छ l कुनै पनि किसिमको दासत्व अनि गुलामीबाट बच्न चाहने स्वभाव उसमा हुन्छ l स्वतन्त्रतामा नै मानिसको सर्वाङ्ग विकास सम्भव छ l यदि मानिसको स्वतन्त्रपुर्वक बाच्न पाउने अधिकार लाइ कुण्ठित गरिदिने हो भने उसको विकासको क्रममा बाधा-अवरोध पुग्ने निश्चित छ l यसै कारण संसारमा अधिकांश ठुला-ठुला परिवर्तनहरू गुलामी र दासत्वबाट मुक्ति पाउनको निम्ति नै गरिएको पाइन्छ l

मानिसको जीवन, स्वतन्त्रता र सम्पत्ति माथिको नैसर्गिक अधिकार खोस्ने अधिकार कोही सँग पनि हुँदैन l किनकि जीवन मानिसले प्रकृतिबाट प्राप्त गर्दछ l मानिस आमा-बुवाको माध्यमले संसार देखेपनि उसको शारीरिक तथा मानसिक बनोट तयार गर्ने कुरामा आमा-बुवाको कुनै पनि हात हुँदैन, त्यसैले अरूलाई त परै जाओस्, स्वयम् आफ्नो बाबु-आमालाई समेत छोरा-छोरीको जीवन खोस्ने अधिकार हुँदैन l

स्वतन्त्रता मानिसले आफ्नो शरीर सँगै लिएर जन्मने कुरा हो l स्वतन्त्र रूपले हिँड्न पाउने, बोल्न पाउने, लेख्न पाउने, आफूले इछ्याएको काम गर्न पाउने आदि जस्ता अधिकार मानिसको शरीर र बिचारसँग सम्बन्धित रहेको कारण ब्याक्तिको यी अधिकारलाई खोस्ने अधिकार त्यो अवस्था सम्म कोहिसंग हुँदैन, जबसम्म उसले अरूको अधिकारमा दखल पुर्‍याउने कुनै किसिमको कार्य गर्दैन l

बाच्नको निम्ति व्यक्तिलाई आर्थिक क्रियाकलाप गर्न नितान्त आवश्यक पर्दछ l जसका निम्ति उसले आफ्ना शरीरको अङ्ग (दिमाग तथा हात-खुट्टा) को उपयोग श्रम गर्नमा खर्च गरी जीविकोपार्जनको निम्ति सम्पत्ति आर्जन गर्न नितान्त आवश्यक पर्दछ l व्यक्तिको श्रम (शारीरिक तथा मानसिक) र समय खर्च गरेर सम्पत्ति आर्जन गर्ने हुँदा सम्पत्ति माथिको अधिकार नितान्त व्यक्तिगत अधिकारको विषय हो l यस कारण बाच्न र गरी खानको निम्ति आर्थिक स्वतन्त्रता र उसको सम्पत्तिको रक्षा त्यतिकै महत्त्वपूर्ण हुन आउँछ l

यसै कारण बलिया र सक्षमहरूबाट कमजोर र असाहयहरुको सम्पत्ति र अधिकारको रक्षा गर्ने हेतुले राज्यको उत्पत्ति अनिवार्य भएको हो l व्यक्तिले आफ्ना अझ धेरै अधिकार सुनिश्चित गर्ने उदेश्यले नै आफ्ना केही अधिकार राज्यलाइ समर्पण गरी अरूबाट आफ्नो जिउ धन माथि हुनसक्ने सम्भावित आक्रमणबाट बच्न, र आफ्नो अधिकारको रक्षाको निम्ति कानुन र हतियारद्वारा सुसजित सुरक्षा निकायको व्यवस्था गर्न कर तिर्न मन्जुरी जनाएको हो l यस पक्षबाट हेर्ने हो भने राज्यले व्यक्तिको निर्माण गरेको नभएर व्यक्तिले आफ्नो अधिकार सुनिश्चित गर्नको निम्ति राज्य तथा यिनका निकायको स्थापना गरेका हुन् l जसकारण राज्यको प्रमुख दाइत्व नागरिकहरूको व्यक्तिगत अधिकार र जिउधनको रक्षा गर्नु हो l

आजसम्मको मानव इतिहासमा जति पनि विकास सम्भव भएको छ त्यो व्यक्तिको योगदानले गर्दा नै सम्भव भएको छ l व्यक्तिको योगदान बिना कुनै पनि सङ्गीत, कला, साहित्य वा आविष्कार सम्भव भएको छैन l व्यक्तिले मात्र सोच्न सक्छ, व्यक्तिले मात्र कल्पना गर्न सक्छ, व्यक्ति मात्रले नै सिर्जना गर्न सक्छ l त्यो व्यक्ति नै हो जसले आफ्नो कल्पना र आविष्कारको माध्यमद्वारा समाजलाई अगाडी बढाउन निरन्तर भूमिका खेल्दछ l

यदि व्यक्तिको योगदान नभएको भए संसार आजको अवस्थामा आइपुग्न सक्ने थिएन l समाज भन्नु नै व्यक्तिहरूको जोड हो l साचो अर्थमा समाज एउटा अवधारणा हो भने व्यक्ति यथार्थ हो l व्यक्तिहरूले नै समाज र राज्यको निर्माण गर्दछन् l त्यसैले समाजमा व्यक्तिको सम्भावना र स्वतन्त्रतालाई दमन र नियन्त्रण गरी समाज र राष्ट्रको प्रगतिको कामना गर्नु बेकार छ l

व्यक्तिको प्रगति बिना कुनै पनि समाजको प्रगति सम्भव छैन l व्यक्तिको हितसँगै समाजको पनि हित सम्भव छ l जबसम्म व्यक्तिको राजनीतिक, सामाजिक, आर्थिक, धार्मिक र व्यक्तिगत स्वतन्त्रता सुनिश्चित हुँदैन, तबसम्म उसको सर्वान्गीय विकास सम्भव छैन l यी उल्लिखित स्वतन्त्रताहरू कुण्ठित गरिएको खण्डमा व्यक्ति पङ्गु हुन पुग्दछ, जसले अन्ततः समाज र राष्ट्रको हित अवश्य गर्ने छैन l

हाम्रो स्वतन्त्रता प्रतिको बुझाइ त्यति स्पष्ट छैन l हामीले स्वतन्त्रतालाई स्वछन्दतासंग तुलना गरेर हेर्ने गरेका छौ l स्वतन्त्रताको अर्थ जसलाई जे मन लाग्यो त्यही गर्न पाउने कुरा अवश्य होइन l स्वतन्त्रतासँग व्यक्तिको अधिकार र उसले निर्वाह गर्नुपर्ने जिम्मेवारी जोडिएर आएको हुन्छ l अधिकार उसले गर्न पाउने कुरासँग सम्बन्ध राख्दछ, भने जिम्मेवारी व्यक्तिले निर्वाह गर्नुपर्ने दाइत्वसंग सरोकार राख्दछ l

व्यक्तिगत स्वतन्त्रताको मर्म भनेको अरूको अधिकार र स्वतन्त्रतामा दखल नपुर्‍याई आफूलाई इच्छा लागेको कुरा गर्न पाउने अधिकारको अवस्था हो l व्यक्तिको हात हल्लाउन अधिकार हुन्छ, तर उसको हातले अरूलाई चोट लाग्नु हुँदैन l हात हल्लाउन पाउने व्यक्तिको अधिकार हो, तर उसले हात हल्लाउँदा अरूलाई नलागोस् भनेर सचेत रहनुपर्ने उसको जिम्मेवारी हो l

हरेक स्वतन्त्रताको सीमा हुन्छ, जसको परिधि भित्र रहेर व्यक्तिले आफ्नो स्वतन्त्रताको उपयोग गर्न पाउँदछ l जबसम्म व्यक्तिले आफ्नो अधिकारको सीमा पार गरी अरूको अधिकारको दायरामा दखल पुर्याउदैन, तबसम्म उसले आफ्नो अधिकारको प्रयोग गर्न पाउनु पर्दछ l तर जब उसले आफ्नो अधिकारको सीमा नाघेर अरूको अधिकारमाथि आक्रमण गर्दछ, तब पीडितलाई न्याय दिलाउन र पीडकलाई सजायको भागीदार बनाउन प्रभावकारी कानुन नितान्त आवश्यक हुन्छ आउँछ जसले नागरिकहरूको अधिकारको रक्षा गरी समाजमा शान्ति स्थापना गर्नको निम्ति महत्त्वपूर्ण भूमिका खेल्दछ l राज्यको नीति नियम र कानुनलाइ पालना गर्नुपर्ने दायित्व हरेक नागरिक को हो , तर ति नीति-नियम र कानुन व्यक्तिको जीवनलाई प्रताडित गर्नको निम्ति नभएर उनीहरुको जीवनलाई सहज बनाउनको निम्ति हुनुपर्दछ l

नेपाली समाजको परिपेक्क्षमा व्यक्तिगत स्वतन्त्रताको स्थिति त्यति सन्तोषजनक छैन l हाम्रो सामाजिक संरचना, गरिबी र असिक्षाको कारण आज पनि अधिकांश हामी नेपालीलाई व्यक्तिगत स्वतन्त्रताको सवालमा त्यति धेरै चासो र सचेतना भएको अवस्था देखिँदैन l समाजको हितको निम्ति व्यक्तिको चाहना र अधिकारलाई तिलान्जली दिन सकिन्छ भन्ने हामी मद्धे धेरैको मान्यता रहेको छ l

लुडविग वॉन मिसेस भन्दछन् “यदि कोही व्यक्ति पानी नपिएर रक्सी पिउँदछ र खुसी हुन चाहन्छ भने सजिलै भन्न सकिन्छ कि उसले गलत काम गरिरहेको छ l बुद्धिमानी मानिसले त्यसो गर्नेछैन l तर पनि यदि उ त्यसमै रमाउन चाहन्छ भने त्यो उसको समस्या हो मेरो होइन” l  यसको अर्थ उमेर पुगेको व्यक्ति आफूले लिएको निर्णयको प्रति आफै जिम्मेवार हुन्छ, र त्यस निर्णयबाट आउने सही वा गलत परिणामको भागिदार पनि स्वयं उ नै हुन्छ l उसको निर्णयको लागि उ बाहेक अन्य व्यक्ति जिम्मेवार हुँदैन वा अरूलाई जिम्मेवार ठहर्याउन सकिन्न l

व्यक्तिसँग सही र गलत दुवै किसिमको निर्णय लिन सक्ने क्षमता हुन्छ भने दुवै किसिमको अधिकार पनि l यदि मानिससँग सही छनौट र निर्णय गर्ने अधिकार हुने तर गलत निर्णय र छनौट लिने अधिकार नदिने हो भने त्यो स्वतन्त्रता नभएर एक प्रकारको गुलामी नै हो l व्यक्तिले गलत निर्णय लिएको अवस्थामा अन्य व्यक्तिले उसको हितको निम्ति उचित सल्लाह सुझाव दिन सक्दछन्, तर उसलाई यो नै गर भनेर बाध्य बनाउन भने मिल्दैन l कुनै पनि मानिसलाई नैतिकता, समाज, नीति-नियम र कानुनको आडमा उसले इच्छाएको काम गर्नबाट वञ्चित गर्न सकिन्छ तर यसले उसको छनौट र व्यक्तिगत स्वतन्त्रताको अधिकारलाई कुण्ठित गरिदिन्छ l

एउटा उमेर पुगेको मानिसले के खाने, के हेर्ने, के गर्ने, के लगाउने, कस्तो हाउभाउ बनाउने, को सँग हिँड्ने, को सँग बस्ने, को सँग प्रेम र विवाह गर्ने, कुन धर्म अपनाउने आदि जस्ता विषयहरू नितान्त व्यक्तिगत छनौट र स्वतन्त्रताका विषय हुन् l जबसम्म उसको आचरण र ब्यावहारले अरूको व्यक्तिगत स्वतन्त्रता माथि दखल पुर्याउदैन तबसम्म समाजका अन्य मानिसहरूको टाउको दुखाइको विषय नहुनु पर्ने हो l हो उसको व्यवहारले अरूको अधिकारलाई असर पुर्‍याएको खण्डमा भने उसलाई अवश्य सजायको भागीदार बनाइनु पर्दछ l अन्यथा समाजले भिड, नैतिकता, नीति, नियम र कानुनको आड लिएर व्यक्तिमा आत्म ग्लानिको स्थिति सिर्जना गरी उसको व्यक्तिगत चाहाना, स्वतन्त्रता र अधिकारलाई कुण्ठित गर्नु आफैमा अनैतिक ठहरिन्छ l

मानिसको आर्थिक, सामाजिक, राजनीतिक र हरेक किसिमको विकास उसको स्वतन्त्रतामा नै सम्भव भएको कारण समाजमा व्यक्तिगत स्वतन्त्रता बारे छलफल चलाउन नितान्त आवश्यक देखिन्छ l

You might also like

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.