केही समय अघि पश्चिममा चर्किएको राजधानी विषयको विवाद हाल विराटनगर लगायत पुर्बान्चलका अन्य सहरहरूमा सरेको छ l प्राविधिक कठिनाइ, नेतृत्वकर्ताहरुको अकर्मण्यता वा व्यक्तिगत स्वार्थमा लिप्त भएका स्वार्थ समूहरुको प्रभाव र दबाबको कारण, विगत लामो समय देखि यो समस्यालाई निराकरण गर्न सकिएको अवस्था छैन l यही विषयलाई लिएर हाल विराटनगर तथा पूर्वान्चलका नागरिकहरू माझ ठुलो बहसको विषय बनेको छ l
केही दिन अघि इटहरीका बासिन्दाले इटहरीमा सडक जाम गरी इटहरी राजधानी हुनुपर्ने, लगायत धरानका नागरिकहरूले मुख्य मन्त्रीको कार्यालय घेरेर धरानलाई राजधानी बनाउनु पर्ने, साथै १ नम्बर प्रदेशको नाम यो हुनुपर्ने वा त्यो हुनुपर्ने, यहाँ हुनुपर्ने वा त्यहाँ हुनुपर्ने भनेर डेलिकेसन बुझाउने तथा विरोध गर्ने जस्ता क्रियाकलापहरू मोफसलका प्रमुख समाचारको विषय रहीआएको छ l
निकै बहस र छलफल पश्च्यात विराटनगरलाई पूर्ण राजधानी नबनाउने छाटकाट देखिएपछि विराटनगरमा सरोकारवाला निकायहरू माथि दबाब सिर्जना गर्नको निम्ति भेष प्रसाद धमलाको संयोजकत्वमा शान्तिपूर्ण दवाब समिति बनाइ मिति २०७६ साल २३ गते सोमबारका दिन विराटनगर बन्दको घोषणा गरियो, जसको मुख्य उद्देश्य विराटनगरलाई नै राजधानी बनाइनु पर्ने र बन्दको अन्य विकल्प नभएको कारण बन्दको आह्वान गर्नुपरेको बन्दकर्ताहरुको भनाइ रहेको थियो l
भौतिक पूर्वाधार तथा संरचनाको हिसाबले हेर्ने हो भने अन्य ठाउको तुलना हाल विराटनगरलाई राजधानी बनाउँदा उपयुक्त देखिन्छ, किनकि प्रदेश सरकारसँग पर्याप्त श्रोत साधन नभएको अवस्थामा विराटनगरले ठुलो मात्रामा हुने थप आर्थिक भारबाट बचाउने कुरा निश्चित छ, जुन अन्ततः नागरिकहरूले तिरेको करको पैसाको नै बचत हो, जसलाई अरू उत्पादनमूलक कार्यमा खर्च गरी जनहितका कार्यमा लगाउन सकिन्छ l
म विराटनगरवासी भएको नाताले विराटनगर राजधानी होस् भन्ने भित्री कामना कतै-कतै रहनु स्वाभाविक हो, तर राजधानी हुने बित्तिकै त्यस ठाउको कायापलट नै भइहाल्छ भन्ने कुरामा भने म सहमत हुन सक्दिन l राजधानी जहाँ भए पनि विकास हुनसक्छ, त्यसको निम्ति सुशासन, सही आर्थिक नीति, नेतृत्वकर्ताहरुमा दूरदर्शिता र असल नियत हुन जरुरी छ l
उदाहरणको निम्ति न्युयोर्कको सबैभन्दा ठुलो सहर म्यानह्याटन र इलिनोयको सबैभन्दा ठुलो सहर सिकागो भएपनि, न्युयोर्क र इलिनोयको राजधानी क्रमस अल्बानी र स्प्रिंगफिल्डको रुपमा अवस्थित छन् l राजधानी नै नभएपनि म्यानह्याटन र सिकागो संसारका सबैभन्दा ठुला र प्रसिद्ध सहरहरू मद्धेमा पर्दछन् l तर हाम्रो मानसिकता हाम्रै ठाउँ राजधानी भएमा मात्र हाम्रो विकास सम्भव छ भन्ने मान्यता रहेको छ, जुन मान्यतालाइ , म्यानह्याटन र सिकागोले गलत सिद्ध गरिदिन्छ l
विराटनगरलाई राजधानी बनाउनुपर्ने विषयमा मेरो एकाबध्यता रहेपनि राजधानी बनाउनको निम्ति गरिएको विराटनगर बन्दप्रति मेरो विमति छ l विरोधको स्वर सबैले राख्न पाउनु पर्दछ, यही नै लोकतान्त्रिक परिपाटीको सुन्दर पक्ष हो l तर मेरो विरोध गर्ने अधिकारसँगै अरूको अधिकार पनि रहेको हुन्छ जसलाई खोस्नु हुन्न वा अरूको अधिकारमाथि दखल पुर्याउनु हुन् भन्ने कुरा बुझ्न पनि सबैले आवश्यक छ l
हिजो आह्वान गरिएको बन्दमा मानिसहरूलाई निजी सवारी साधन गुडाउन दिइएन, सार्वजनिक सवारीको साधनहरू सञ्चालनमा रोक लगाइयो, पसलहरू जबरजस्ती बन्द गरिए, स्कुल कलेज बन्द भएको कारण विद्यार्थीहरू घरमै बस्न बाध्य हुनुपर्यो, टाढाबाट विराटनगर यात्रा गरिरहेका नागरिकहरूले इटहरीबाट साधन नपाएर सिटी रिक्सामा बढी मूल्य तिरेर यात्रा गर्न बाध्य हुनुपर्यो, नागरिकहरूलाई बलजफ्ती तथा गाली-गलोज गरियो जसले कसैको बिगारेका थिएनन्, साधन जलाउन खोजियो, मुख्यतः नागरिकहरूको व्यक्तिगत स्वतन्त्रता र धेरै न्यून आयश्रोत भएकाहरुको गरी खान पाउने अधिकार खोसियो, जुन कार्य कुनै पनि हिसाबले न्याय सङ्गत हुन सक्दैन l
यदि विराटनगरका नागरिकहरू स्वेच्छाले आफ्नो साधन चलाउँदैनन् वा आ-आफ्नो सङ्घ-संस्था, व्यापार, व्यवसाय बन्द गरी स्वेच्छाले बन्दकर्ताहरुलाई समर्थन वा सहभागिता जनाउदछन भने हालको बन्द न्यायसंगत हुन सक्दछ, अन्यथा एक जना व्यक्ति वा समूहको इच्छा अरू व्यक्ति माथि जबरजस्ती थोपर्नु अपराध हो l साध्य जतिसुकै राम्रो भए पनि गलत साधन प्रयोग गरी साध्य प्राप्त गरिने प्रयास गरिन्छ भने साध्यको औचित्य माथि नै प्रश्न चिन्ह खडा हुन्छ l
विकल्प अरुपनि हुन सक्दथ्यो, आफ्नो कुरा मनाउनको निम्ति बन्द मात्र अन्तिम अस्त्र होइन भने मेरो बुझाइ रहेको छ, तर अरू कुनै विकल्प नै नभएकोले बन्द र हिंसात्मक क्रियाकलाप गर्न बाध्य हुनु परेको र हिजोको बन्दलाइ न्यायोचित ठहर्याउने आन्दोलनका समर्थकहरूको प्रयास हास्यास्पद देखिन्छ l
यहाँसम्म जनताको करले पालिएका कर्मचारीहरू समेत स्वयं जनतालाई धम्की र सास्ती दिन सडकमा उत्रिएको प्रतक्षदर्शीहरु बताउँदछन्, जुन कुरा कतिसम्म सत्य हो, अथवा हो भने जनताले तिरेको करको पैसाबाट नुन भात खाएर जनतालाई नै सास्ती दिनु कतिसम्म जायज छ ? यस अवस्थामा उनीहरुलाई किन र केको लागि हामीले कर तिरेर पालिराख्ने भन्ने प्रश्न उब्जिन्छ l
सामान्यतया शासक तथा उनीहरूका स्वार्थ समूहलाइ फरक मत राख्नेहरू अरास्ट्रियतत्त्व वा दलाल लाग्नु स्वाभाविक हो, किनकि फरक मत राख्नेहरूले उनीहरूको स्वार्थ सिद्ध गर्न वा ढाड कन्याउन कुनै सहयोग गर्दैनन् l उनीहरूलाई जे सही लाग्छ त्यही व्यक्त गर्दछन्, र लोकतन्त्रमा सबैको त्यो अधिकार सुनिश्चित हुन जरुरि छ, जबसम्म त्यस कार्यले अरूको अधिकारमाथि मान हानी गर्दैन l
फरक मत राख्नेहरू सबै पैसामा बिकेका वा दलाली गर्ने हुन्छन् भन्ने मान्यता आफैमा गलत हो l अवस्यपनि बन्दको विरोध गर्ने आफ्ना स्वार्थ लुकाएर बसेका केही स्वार्थ समूहरु नहोलान् भनेर भन्न सकिन्न, तर त्यही कुरा बन्दको समर्थनमा हिँडेका साथीहरूमा नहोला भन्ने कुराको के ग्यारेन्टी छ ? आफूले आवाज उठाउँदा नगरको हितमा हुने र अरूले बोल्दा चाहिँ दलाली भनेर सोच्नु सङ्कुचित मनोदशा हो, जुनकुरालाइ हिजोका बन्दका समर्थकहरूले बुझ्न जरुरी छ l
हिजोको बन्दमा विराटनगरलाई राजधानी बनाउनु पर्छ भन्नेकुराको समर्थन हुँदा-हुदैपनी विराटनगरवासीहरूले गलत प्रकियाको विरोध गरेका हुन् l हिजोको बन्दलाई सही ठहर्याउने हो भने बोली गएर, धरान, इटहरी, बिराटचोक आदिले पनि राजधानी चाहियो भनेर यसै किसिमको हिंसात्मक गतिविधि अपनाए भने त्यो अवस्थामा के गर्ने ?
गलत कुरा जसले सुकै, जहाँ सुकै, जे सुकै कारणको लागि गरे पनि गलत नै हुन्छ l साध्य सही भए पनि साधन गलत प्रयोग गरिएको खण्डमा साध्यमाथि प्रश्न चिन्ह उठ्न जान्छ, त्यसैले गलत कुरालाई न्यायोचित ठहर्याई गलत नजिर र परिपाटी बसाल्ने कार्य नगरौँ l
साथै विराटनगर राजधानी भएकोमा सबै विराटनगरवासीलाई बधाई छ, हालाकी अहिले आएको यो राजधानीको प्रस्ताव पहल नै आएको र त्यसलाई नै नीति निर्माण तहमा बसेकाहरूले हुबहु पारित गरिएको प्रचारमा आएको छ l सत्य तथ्य जे भए पनि, पपुलिस्ट हुन, जस लिन र आफ्नो स्वार्थ सिद्ध गर्नको निम्ति मात्र कसैलेपनि राजनीति नगरौँ l
जनताले जनहितको निम्ति राज्यसेवकहरुलाई आफ्नो मत र आफ्नो गाँस काटेर कर तिरेर पालेको कुरा नभुलौ, त्यसैले जनतालाई सास्ती दिने काम बन्द गरी जनताको हितको निम्ति कार्य गर्न जुट्नु हुनको निम्ति सम्पर्ण राष्ट्रसेवकहरूप्रति हार्दिक अनुरोध छ l