बिराटनगरमा अङ्ग्रेजी महिनाको अन्तिम बिहीबार हुने “लास्ट थर्सडे” कार्यक्रम होटेल नमस्कारको प्राङ्गणमा २०७६ श्रावण ९ गते बिहीबारका दिन सम्पन्न भएको छ ।
होटेल नमस्कार, नेपलिज यंग इन्टरप्रेनस फोरम बिराटनगर, बिराटनगर इन्टरनेसनल कलेज, मकालु टेलिभिजन, विकल्प एन अल्टरनेटिभ तथा मल्ल इन्टरप्राइजेज द्वारा संयुक्त रूपमा आयोजित उक्त कार्यक्रममा सफल पार्टनर्सका व्यवस्थापक निर्देशक श्री आशुतोष तिवारीले अतिथि वक्ताको रूपमा बिराटनगरका युवाहरूसँग अन्तरक्रिया गरेका थिए ।
अन्तरक्रियामा तिवारीले आधा घण्टा आफ्नो अनुभव साटासाट गरेपश्च्यात प्रश्न उत्तर मार्फत सहभागीहरूको जिज्ञासा मेटाएका थिए lउनले आफू कुनै व्यवसायी घरानाबाट नभएको कारण विभिन्न सङ्घ-संस्थामा देश-विदेशका मानिसहरूसँग जागिर खान पाएको अनुभव र सिकाइको कारण आफू हालको अवस्थामा आइ पुग्न सफल भएको जानकारी गराए l
हिमाल मिडिया र सेर्पा एडभेन्चर गियर नेपालमा प्रमुख कार्यकारी निर्देशकको रूपमा तथा वाटर एड नामक संस्थामा कन्ट्रीरेप्रीजेंटेटिभको रूपमा कार्य गरिसकेका तिवारीले उद्यमशील हुनको निम्ति सृजनशील दिमाग र कल्पनाशक्तिले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने जानकारी गराए l
उनले हाल नेपालको शिक्षाले जाँचमा पास गराउन र असल विद्यार्थी बनाउन सहयोग गरे पनि, संसार हाँक्न सक्ने उद्यमी उत्पादन गर्ने कुरामा कमै सहयोग पुर्याउने कुरा व्यक्त गरे l विभिन्न विधामा सफल हुनको निम्ति किताबी ज्ञानसँगै काल्पनिक क्षमताको पनि त्यति नै भूमिका रहने तथा उद्यमी हुन कल्पना गर्न सक्ने, जिज्ञासु र प्रश्न गर्ने गुण आवश्यक हुने कुरामा जोड दिए l
हामी नेपालीहरूमा प्रश्न गर्ने बानी नहुँदा अरूको भर पर्दछौ, जस कारण हामी धेरै आवश्यक ज्ञानबाट वञ्चित हुनसक्ने अवस्था रहेको जानकारी उनले सहाभागीहरुलाई गराए l उद्यमी हुन चाहने व्यक्तिले आफूलाई जति थाहा छ त्यहाँबाट सुरुवात गर्नुपर्ने, मलाई आउँदैन भनेर पछि हट्न नहुने, रुचि भएको क्षेत्रमा समय दिने, आफ्नो विधामा ज्ञान भएको मान्छेलाई भेट्ने, आफ्नो नेटवर्कलाई फराकिलो बनाउने, प्रश्न गर्ने, जानकारी हासिल गरी बौद्धिक विकास र आत्मविश्वास बढाउन तर्फ लाग्न आवश्यक रहेको जानकारी आशुतोष तिवारीले गराए l
सक्दिन भनेर सोच्यो भने सकिँदैन, तर सकिन्छ भनेर लागियो भने अगाडी बढ्न सकिने कुरा उनले व्यक्त गरे l नेपालमा व्यवसाय नफस्टाउनुको कारण काल्पनिक शक्तिको अभाव, धर्यताको कमी, परामर्शको खाँचो, लगानीकर्ताको हिचकिचाहट, तथा राज्यको अस्पस्ट नीति इत्यादि रहेको कुरा व्यक्त गरे l होटेल नमस्कारको प्राङ्गणमा भएको कार्यक्रम लाइ विकल्प एन्ड अल्टरनेटिभका निर्देशक वसन्त अधिकारीले गरेका थिए भने, कार्यक्रमको औचित्य बारे होटेल नमस्कारका निर्देशक युनेश श्रेष्ठले प्रकाश पारेका थिए l
कार्यक्रमको अन्त्यमा नेपलिज यंग इन्टरप्रेनस फोरम बिराटनगरका सचिव श्री राघव कोइरालाले कार्यक्रमका वक्ता आशुतोष तिवारीलाई प्रशंसा पत्रले सम्मान गरेका थिए l कार्यक्रममा १०७ जना युवाहरूले उपस्थिति जनाएका थिए l
फोटोलिंक
https://bit.ly/2yfu5TW