ब्याक्तिले घर बनाउँदा होस् वा सार्वजनिक निर्माणका कार्य गर्दा होस्, सिमेन्ट अत्यावश्यक बस्तुहरू मद्धे पर्दछ l आधुनिक सभ्यताका ठुला ठुला सहरहरू बसाउन सिमेन्टले निकै ठुलो योगदान पुर्याएको छ l नेपाल पनि यसको अपवाद हुन सक्दैन l विश्वको अन्य कुनामा जस्तै नेपालमा पनि यसको ठुलो व्यापार छ, तर आफ्नै देशमा उत्पादन भए पनि सिमेन्ट छिमेकी देश भारतको तुलनामा नेपालमा निकै नै महँगो पर्ने देखिन्छ, जसको मार आम नेपाली उपभोक्ताले खेप्नु परिरहेको छ l आखिर सिमेन्ट नेपालमा किन महँगो भयो भन्ने प्रश्न उठ्दछ l जबकि फ्याक्ट्री, कामदार र अधिकांश कच्चा पदार्थ आदि यही उपलब्ध छ र सिमेन्ट हामीकहाँ नै उत्पादन हुन्छ l
अधिकाँश नेपाली नागरिकहरूले आफ्नो जीवन कालमा एउटा घर जोड्ने सपना देखेका हुन्छन् l तर त्यो घर बनाउन त्यति सहज छैन, किनकि त्यसको निम्ति धेरै लागत लाग्छ, जस कारण धेरैको घर बनाउने सपना-सपनामै सीमित रहन पुग्छ l घर बनाउनको निम्ति लाग्ने धेरै खर्चहरू मद्धे एउटा ठुलो खर्च सिमेन्टमा लाग्ने खर्च हो भनेर भन्दा फरक नपर्ला l
सिमेन्टका धेरै प्रकारहरू मद्धे ओपिसी र पिपिसी सिमेन्ट बिसेषगरि नेपाली बजारमा प्रचलनमा आएको पाइन्छ l त्यसमापनि विभिन्न ब्रान्डको सिमेन्टहरू बजारमा उपलब्ध छन् जसको मूल्य फरक –फरक छन् l बोर्डर पारि भारतमा ३७५ रुपैयाँ भारु, अर्थात् ६०० नेपाली रुपैयाँको हाराहारीमा ओपिसी सिमेन्ट पाइन्छ भने नेपाली उद्योगहरूले उत्पादन गरेका ओपिसी सिमेन्ट लाइ नेपाली बजारमा झन्डै ८०० को हाराहारी पर्न आउँछ l
यसो हुनुको पछाडि नेपाल सरकारले स्वदेशी सिमेन्ट उद्योगलाई संरक्षण गर्ने नीति अङ्गालेको कारण देखिन्छ, जसले सिमेन्ट आयातमा प्रति मेट्रिक टन ४०५० रुपैयाँ कस्टम ड्युटी, ४०% अन्तःशुल्क, र १३% भ्याट गरी नेपाल सरकारले प्रत्येक भारतीय सिमेन्टको बोरामा ३०० रुपैयाँ भन्दा बढी कर वसुली गर्दछ l जस कारण ६०० को भारतीय सिमेन्ट नेपाली बजारमा आइपुग्दा झन्डै ९०० रुपैयाँ भन्दा बढी पर्न जान्छ l फलस्वरूप नेपाली बजारमा भारतीय सिमेन्ट महँगो पर्न जान्छ, जस कारण बाध्यतावस हामी भारतीय सिमेन्ट नकिनेर नेपाली उत्पादन खरिद गर्न बाध्य हुन्छौ l
स्वदेशी उद्योगलाई प्रवर्धन गर्ने र उत्पादनमा स्व:निर्भर हुने नीति राख्नु ठिकै हो, तर आफ्नै देशका नागरिकहरूलाई बढी मूल्य तिर्न बाध्य गराएर स्वदेशी उद्योगको प्रवर्धन गर्न खोज्नु कत्तिको न्यायपूर्ण छ भन्ने प्रश्न पनि त्यति नै मनन योग्य छ l ३ करोड नेपाली नागरिकलाई हरेक बोरामा २०० रुपैयाँ भन्दा बढी तिर्न बाध्य बनाइ केही सीमित सिमेन्ट उद्योगहरूको हितलाई संरक्षण गर्ने नीति उचित छ वा छैन भनेर सबैले सोच्न जरुरी छ l
यहाँ तर्क नेपाली सिमेन्टलाई प्रतिस्थापन गरी भारतीय सिमेन्ट लाइ नेपाली बजारमा भित्राउनु पर्छ भन्ने होइन l सवाल भारतमा यति सस्तोमा उपलब्ध हुने सिमेन्ट, हामीकहाँ स्वदेशमै उत्पादन हुँदा पनि आखिरमा किन यति महँगो भन्ने कुराको हो l के कारणले गर्दा हाम्रो लागत मूल्य अरूको तुलनामा बढ्न गएको हो भनी अध्ययन गरी त्यसलाई निराकरण गर्न जरुरी छ l
वर्तमान परिपेक्षमा नेपालमा अरू उद्योग तथा व्यापारिक क्षेत्रले राम्रो उपलब्धि हासिल नगरिरहेको अवस्थामा सिमेन्टमा स्वदेशी तथा विदेशी कम्पनीहरूले लगानीको लागि तत्परता देखाउनु राम्रो पक्ष हो, जसले हामीलाई रोजगारी सिर्जना गर्न सहयोग गर्नुको साथै स्वदेशी उत्पादनलाई पनि टेवा पुर्याउँदछ l साथै यसले यस क्षेत्रमा नाफा आर्जन गर्ने अवसर रहेको कुरालाई इङ्गित गरेको छ l सिङ्गै घरहरूलाई सिमेन्ट कम्पनीले पोतेर गरेको विज्ञापन, राष्ट्रिय दैनिकहरूको मुख्य पृष्ठ र रेडियो टेलिभिजनको महत्त्वपूर्ण समयमा बज्ने विज्ञापन आदिलाई दृष्टान्तको रूपमा लिन सकिन्छ l
निस्सन्देह नाफा आर्जन गर्नु राम्रो कुरा हो, तर त्यो नाफा उपभोक्ताहरूको बचत खोसेर भन्दा पनि प्रतिस्पर्धाको बजारमा सुपथ मूल्यमा गुणस्तरीय बस्तु तथा सेवा प्रदान गरी आर्जन गरेको खण्डमा उचित हुन्छ l बजारमा उपभोक्ताहरू त्यही उत्पादकहरूको बस्तु तथा सेवा तर्फ आकर्षित हुन्छन् जसले उनीहरूलाई सस्तोमा राम्रो उत्पादन तथा सेवा प्रदान गरी उनीहरूको आवश्यकता पुरा गर्नको निम्ति सहयोग पुर्याउँदछ l यदि हामीले भारतीय सिमेन्ट सस्तोमा नेपालमा पाउने वातावरण हुने भने सायद हामी त्यतातर्फ नै आकर्षित हुने थियौ होला, तर राज्यले सिमेन्ट आयातमा अङ्गालेको नीतिको कारण त्यो कुरा हाललाई सम्भव देखिँदैन l
प्रतिस्पर्धाको बजारमा ग्राहकलाई सस्तोमा गुणस्तरीय बस्तु तथा उत्पादन उपलब्ध गराउन सक्ने उत्पादन कर्ताले नै विश्व बजारमा सफलता हासिल गर्न सक्छ भन्ने कुरामा दुइमत छैन l हाल नेपालमा साना र ठुला गरी कुल ५६ वटा सिमेन्ट उद्योग सञ्चालनमा रहेको देखिन्छ भने सिमेन्ट उत्पादक सङ्घ नेपालका अध्यक्ष ध्रुव थापा अनुसार सन् २०२२ सम्ममा नेपाली सिमेन्ट उद्योगको उत्पादन क्षमता मागको तुलनामा दोब्बरभन्दा बढी हुनेछ l आज हामी अतिरिक्त नेपाली सिमेन्ट उत्पादनलाई विदेश निर्यात गर्ने छलफल गर्दैछौ, तर जुन उद्योगहरूले आफ्नै बजारमा महँगोमा सिमेन्ट बेच्नु पर्ने परिस्थिति छ, ती कम्पनीका उत्पादनले विश्व बजारमा कसरी प्रतिस्पर्धा गर्लान् भनेर सोच्न बाध्य हुनुपर्ने अवस्था छ l
आजको विश्वव्यापीकरणको युगमा हाम्रा उद्योगहरूले मूल्य र गुणस्तरमा प्रतिस्पर्धा गर्न नसकेको खण्डमा नेपालको बजारमा मात्र खुम्चिनु पर्ने अवस्था आउने छ जुन कुरा चित्तबुझ्दो अवश्य होइन l
त्यसै कारण किन नेपाली सिमेन्ट महँगो पर्न गएको छ त्यसबारे अनुसन्धान गरी, नेपाली उद्योगहरूले अन्तर्राष्ट्रिय गुणस्तर तथा मूल्यसँग प्रतिस्पर्धा गर्न सक्ने तथा नेपाली नागरिकहरूको बचत गराउन सहयोग गर्ने किसिमको नीति अवलम्बन गर्नको निम्ति राज्य तथा निजी सिमेन्ट उद्योगहरूले पहल गर्न आवश्यक देखिन्छ l
यसो गर्न नसकेको खण्डमा राज्यले नेपाल बाहिरबाट आयात हुने सिमेन्टमा लाग्ने भन्सार दस्तुरलाई न्यूनतम बनाइ नागरिकहरूले सस्तोमा बाहिरबाट आयात हुने सिमेन्ट खरिद गर्न सक्ने वातावरण सिर्जना गर्न आवश्यक छ l यसले अवस्यपनि हाम्रा उद्योगहरूलाई बाहिरका उद्योगहरूसँग प्रतिस्पर्धा गर्न बाध्य बनाउने छ, जुन कुरा हाम्रा उद्योगहरूलाई त्यति सहज नहुन पनि सक्छ, तर यसले नेपालमा रहेका सिमेन्ट कम्पनीहरूलाई प्रतिस्पर्धात्मक बनाइ उनीहरूले प्रदान गर्ने सेवा र गुणस्तरमा सुधार ल्याउनको घच्घच्याउनुको साथै मूल्य लाइ पनि न्यूनतम बनाउन मद्दत पुर्याउने छ l
प्रतिस्पर्धा ग्राहकहरूको हितमा छ भन्ने कुरा हाल थपिँदै गएका सिमेन्ट उद्योगहरूको कारण गत साल नेपाली बजारमा ९०० रुपैयाँको हाराहारीमा रहेको सिमेन्टको मूल्य हाल ८०० रुपैयाँमा झरेको तथ्यले प्रस्ट गर्दछ l
राज्यको संरक्षणमा आफ्नै नागरिकहरूलाई हरेक बोरामा २०० रुपैयाँ भन्दा बढी रकम तिराउने नीति कदापि सही हुन सक्दैन l किनकि यसले आम नागरिकहरूलाई बढी रकम तिर्न बाध्य बनाइ केही सीमित व्यापार तथा उद्योगको हितलाई मात्र संरक्षण गर्न मद्दत पुर्याउँदछ, साथै राज्य स्वयंले सञ्चालन गर्ने भौतिक संरचना र विकासका आयोजनालाई पनि आत्याधिक खर्चिलो बनाइदिन्छ (जुन आम नेपाली नागरिकहरूले तिरेको करको रकम हो) र नेपाली उत्पादनले विश्व बजारसँग प्रतिस्पर्धा गर्ने अवसरबाट पनि वञ्चित रहने छ l