१. अयुसी जी स्वागत छ यहाँलाई, दर्शकमाझ आफूलाई चाहि कसरी चिनाउनु हुन्छ ?
मलाई कवाडीवाली भनेर चिन्छन् l कतिलाई यसरी मलाई सम्बोधन गर्न हिचकिचाहट पनि लाग्छ l तर मलाई लाग्छ, त्यो आफैमा एकदम गर्व गर्ने खाल्को पेसा रहेछ | मैले खालीसीसीवाला दाइहरूसँग काम गर्दै जाँदा थाहा पाए यो पेसामा कति दिमाग र मेहनत चाहिन्छ l किनकि यो व्यापार हो, कसैले गर्न सक्यो भने असाध्य नै राम्रो व्यवसाय रहेछ | यो व्यवसायी छनोटमा म गर्व गर्छु l मेरो सानो प्रयासमा मैले सिकाउन पनि खोजेको हो कि यो पनि अन्य व्यवसाय सरह नै हो l फोहोर संग सम्बन्धित भएता पनि यो व्यवसाय उत्तिकै राम्रो छ l
२. खाली सिसी डट.कम एउटा डिजिटल प्लेटफर्म हो l के हो यो खाली सिसी ? भनेको ,
हामीले ५० -६० वर्ष देखी गल्ली गल्लीमा खालीसीसी, पुरानो कागज , बोतल, फलाम भनेर सुनी रहेको कुरा हो, खाली सिसी डट. कम त्यहि पुरानो व्यवसायको आधुनिक अवस्था हो l ५० – ६० वर्ष देखी कवाडीमा काम गर्ने दाइहरुले गरिरहनु भएको कामको जानकारी लिने र उहाँहरूलाई पनि साथ् लिएर डिजिटल प्लेटफर्म मार्फत फोहोर व्यवस्थापन व्यवसायमा सहयोग पुर्याउने नयाँ पड़ाउ खालीसीसी डट. कम हो l
३. सामान्यतया कबाडीवाली भन्दा फोहोरमा काम गर्ने भन्ने बुझिन्छ, तर त्यो फाइदाजनक व्यवसाय, अनि सम्मानित पेसा हो भनेर बुझाउनलाई कति सङ्घर्ष गर्दै हुनुहुन्छ?
एउटा उदाहरणबाट सुरु गर्न चाहन्छु, जब मैले यस क्षेत्रमा डिजिटल क्रान्ति ल्याउछु भनी सोच बनाएर काम सुरु गरे, मेरो पहिलो सम्पर्क राम सागर दाइसँग भयो, मैले उहाँलाई मेरो घरको छतमा बोलाएर सँगै मिलेर काम गरौँ भनी प्रस्ताव राखे | यसो गर्दा तपाईँको पनि हित हुन्छ, नेपालको पनि राम्रो हुन्छ अनि नेपाललाई विश्वमा चिनाउने काम गर्नुपर्छ भनेर आधा घण्टासम्म भाषण दिए l मेरो यो कुरा सुनेर उहाँ हाँस्नु भयो र “फोनबाट पनि कसैले फोहोर उठाउन बोलाऊछ र बहिनी” भनेर भन्नुभयो l “तपाईँ हुनुहुँदो रहेछ, अनि सरहरू खोइ, कार्यालय कहाँ छ त” भनी प्रश्न राख्नु भयो | “हाम्रो प्रबिधि सम्बन्धित घरकै कौसीबाट गर्न मिल्ने व्यावसायिक काम भएपनि भौतिक पुर्वाधार पनि आवश्यक पर्दो रहेछ भन्नेकुरा सोच्न बाध्य भयौ l उहाँले हामीसँग एक महिना काम गरे पश्चात् सात देखी आठ हजार बढी पैसा कमाउनु भयो l त्यसपछि अरूलाई पनि लिएर काम गर्न सक्छु भन्ने ममा एक किसिमको आत्मविश्वास बढ्यो l मेरो पहिलो प्रयास नै दाइहरूलाई उहाँहरूले बुझने भाषामा यस व्यवसायको बारे बुझाउनु थियो, तर उहाहरुलाई बुझाउन भन्दा हाम्रो समाजको शिक्षित जमातलाई यो धारणा बुझाउन चुनौतिपूर्ण रहेछ भन्नेकुरा मैले बुझे l तसर्थ मेरो बुझाइमा नीतिगत र जनस्तरमा बुझाउन सक्यो भने दिगो विकास हुन सक्छ l
४.हुन त समाजमा फरक-फरक मानसिकता भएका व्यक्तिहरू हुन्छन्, अनि सबै जनालाई यो व्यासयाको बारेमा बुझाउन पनि आफैमा चुनौतिपूर्ण कार्य हो | मेरो प्रश्न तपाइलाई, यो व्यवसाय प्रति अरूको धारणालाई सकारात्मक बनाउन र उद्यमीको कार्यभारलाई संगसगै लग्न कत्तिको चुनैतिपूर्ण रहेको छ अनि कसरी सन्तुलन गदै हुनुहुन्छ?
विकल्प नै भएन | सबैलाई सफा वातावरण चाहिने नै कुरा हो, पढेलेखेको मानिसहरुले सहजै बुझ्नु हुन्छ जस्तो लाग्यो (कम्तीमा काठमाडौँमा)| तर यो त्यति सजिलो रहेनछ | यो व्यापार हो, आफूले मात्र बुझेर पनि भएन, अरूसँग व्यापार गर्नु पर्ने हुन्छ, त्यसैले जसले जुन भाषामा बुझ्नु हुन्छ, जसरी बुझ्नु हुन्छ त्यै हिसाबले बुझाउने प्रयास गर्न थाले | यसै क्रममा मैले पनि अझै राम्ररी बुझ्दै गए अनि आत्मबिश्वास पनि बढ्दै गयो, सुरुवातमै सबै कुरा नबुझेको पनि राम्रै जस्तो लाग्छ नत्र त्यति बेला नै डराएको भए त म सुरु गर्न नि हिचकिचाउथिए होला |
५.तपाईँहरूको आय/आम्दानी चाही कसरी गर्नुहुन्छ, अनि कसरी लागु गर्नु भएको छ?
फोहर जही पनि र जोसँग पनि हुन्छ | कसैले पनि हामीलाई हाम्रो वेबसाइट, सामाजिक सञ्जाल अथवा फोन मार्फत सम्पर्क गरेर आफ्नो सहजताको हिसाबले यो दिन सेवा दिनु भन्ने खबर पाएपछि हामी नजिकै रहनु भएको दाइलाई जानकारी दिन्छौ र वहाले गएर सेवा दिनुहुन्छ | उदाहरणको लागि हामी उबर, टूटल आदि लिन सक्छौ, हामीपनि त्यस्तै सेवा दिन्छौ | काठमाण्डौ भित्रका दाइहरू हाम्रो सम्पर्कमा हुनुहुन्छ, उहाहरुलाई व्यापार मिलाइदेको बापत, हामीलाई सेवा शुल्क बापत कमिसन दिनुहुन्छ | हामो ग्राहकले भने फोहोरको लागि बजार दर अनुसार नै पैसा पाउनुहुन्छ, त्यसमा कुनै सम्झौता हुदैन | तसर्थ हाम्रो आय-आर्जन दाइहरूलाइ सम्बन्धित ठाउँमा सम्पर्क गराइदिए बापत आउँछ |
६ . तपाईँले US AID को जागिर वा गोर्खा ब्रुवेरी जस्ता प्राइभेट सेक्टरको जागिर छोडेर यस्तो व्यापार र व्यवसाय सुरु गर्छु भन्दा तपाईँलाई नजिकबाट चिन्नेहरूको प्रतिक्रिया कस्तो रहेको थियो ? उनीहरूले तपाईँलाई अहिले कसरी लिन्छन् ?
मैले US AID को जागिर छोड्ने निर्णय लिँदा मेरो विवाह भइसकेको थियो l मैले आफन्तहरूलाई जब जागिर छोड्ने कुरा राखे, पहिले त उहाँहरू ढंग पर्नु भयो र मैले परिवार सुरु गर्न लाग्यो भन्ने सोच्नु भयो l
त्यस पछि मैले फोहोर सम्बन्धित काम गर्ने इच्छा उजागर गरे l यो कुरा सुनेर उहाँहरू अन्यौलमा परेको महसुस मैले गरे, यो एकदमै फोहोरी व्यवसाय हो भन्ने वहाहरुको प्रतिक्रिया थियो l यो भ्रम मैले मेरो परिवारमा हटाउन सकिन भने झन् बजारमा अरुलाई कसरी बुझाउने भन्ने अन्योलमा म परे l तसर्थ बिस्तारै बुझाउँदै गए, अलि-अलि बुझ्दै जानु भयो र अझै पनि बुझाउँदै छु l
७. अहिले तपाईँले आफ्नो घर, परिवार, समाजबाट कस्तो साथ सहयोग पाई रहनु भएको छ ?
धेरै राम्रो छ, कति पटक गल्ती गर्दा पनि मान्छेहरूले “यो त नयाँ व्यवसाय हो, हामी बुझ्छौ, तपाईँले गर्न खोज्नु भएको काममा हामी तपाईँलाई सहयोग गर्छौ भनेर सान्त्वना दिनुभयो l एकपटक हाम्रो सेवा लिनेहरुले अर्को पटक फेरी तपाईँसँग काम गरुँला भन्ने सम्मको उदारता देखाउनु भएको छ l नया काम गर्दा हामीलाई बजारले स्वीकार नगर्ला कि भन्ने डर हुन्छ, तर नेपालमा नयाँ व्यवसाय स्वीकार्ने परिपाटी छ l मिडियाबाट धेरै राम्रो साथ र सहयोग पाइरहेको छु l नयाँ कुरा कार्यान्वयन गर्ने मौका पाएको छु l
६. तपाईँले सुरुको दिन देखी लिएर अहिलेसम्म आई परेका अप्ठयारोहरुलाई कसरी पार गर्नु भयो ? अनि अहिले तपाइलाई सुनी रहनु भएका नयाँ उद्यमशीलता गर्न चाहने युवाहरूलाई “Life is not bed of roses “ भन्ने कुरा कसरी बुझाउन चाहनुहुन्छ?
अहिलेको समयमा जो कोहीसँग पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय पहुँच भएको पाइन्छ l उद्यमशीलता अहिले जो कोहीलाई पनि फेसन जस्तो भएको छ l उद्यमशीलता व्यवसायीकरण दौड भन्दा पनि व्यक्तिगत यात्रा हो जस्तो मलाई लाग्छ, किनभने सबै प्राथमिकतालाई हटाएर यसलाई पहिलो प्राथमिकता मान्न सक्नुपर्छ l नेपाल जस्तो देशमा परिवारहरूले राम्रो-नराम्रो दुवै तरिकाले दखल दिने गरेका हुन्छन् l यो अवस्थामा उधमी बन्न चाहने व्यक्तिले म परिवारलाई समय दिन सक्दिन, म आफ्नो उधममा मात्र ध्यान केन्द्रित गर्छु भनेर प्रस्ट हुन जरुरी छ l जब तपाईँ कम्पनी खोल्ने सोच बनाउनु हुन्छ, त्यसमा कम्पनी दर्ता गर्ने देखी लिएर, पैसा उठाउने, कर्मचारी थप्ने आदि धेरै कुराहरू हुन्छन् l अफिसमा बसेर CEO को काम गर्नेले आफ्नो कम्पनीको प्रतिनिधित्व गर्नु पर्ने, रणनीति बनाउनु पर्ने, बजार विश्लेषण गर्नु पर्ने, टिम जुटाउनु पर्ने आदि जस्ता थुप्रै कामहरुमा ध्यान दिनु पर्ने हुन्छ l कतिजना पुँजी व्यवस्थापनमा अड्कनु हुन्छ भने कति योजनामा अड्कनु हुन्छ l त्यसैले त्यो सबै कसरी सुल्झाउने भन्ने खालको योजना बनाउन र त्यसलाई कार्यान्वयन गर्न भने त्यति सजिलो हुँदैन l
७. राज्यबाट यहाँलाई खालीसीसी.कम दर्ता गर्ने क्रममा के कस्तो अप्ठयारो पर्यो ? तपाईँले त्यसलाई कसरी समाधान गर्दै हुनुहुन्छ ?
सरकार भनेको कतैको पनि आदर्श हुँदैन l नेपाल सरकारमा पनि धेरै समस्याहरू छन् l त्यसलाई नै सम्झदै बस्यौ भने व्यापार नै सुरु नगरे हुन्छ l जब म कम्पनी दर्ता गर्न मेरो वकिल सँग गए, नेपालको दर्ता प्रणाली अनुसार पूर्व निश्चित उद्देश्य हुँदोरहेछ र व्यवसाय उल्लिखित उद्देश्य भित्र पर्नु पर्ने रहेछ l झन्डै आधा संवाद पछि कवाडीसँग मिल्ने भएकोले कबाडीवालामा दर्ता गर्न भन्नुभयो l मेरो कम्पनी दर्ता भएकोमा दङ्ग परे तर त्यसले एउटा प्रश्न भने उजागर गर्यो l हाम्रो देशमा नवीनताको लागि खोइ त ठाउँ ? पछि सरकारसँग सम्बन्ध विस्तार गर्ने बेलामा अर्को चुनौती सामना गर्नु पर्ने हुनसक्ने भान भयो l तसर्थ, नीति निर्माण र जनचेतनाको कुरामा पनि अहिले देखी नै लाग्नु पर्ने आवश्यकता देख्छु म | नीति जबसम्म परिवर्तन हुँदैन तब सम्म व्यापार विस्तार गर्न सहज हुँदैन l नीति बनेर मात्र हुँदैन कार्यान्वयन पनि हुनु पर्दछ l
८. तपाईँ यस छेत्रको मार्ग-निर्माता हुनु भएकोमा आफूलाई कति गौरवान्वित महसुस गर्नु हुन्छ ?
म आफू दिनरात त्यसमा लागेर होला त्यस्तो केही गरेको जस्तो लाग्दैन l भर्खर त्यो सुरु मात्र गरेको जस्तो लाग्छ l
हामीलाई गर्व चाहिँ हामीले पाएको प्रतिक्रियाबाट हुन्छ l फोर्ब्स देखी लिएर गुगल, एसिया ट्वेन्टी वान सोसाईटी आदि सबै उपलब्धि हाम्रो कामले गर्दा आएको हो l यसले हामीलाई राम्रो काम गर्न अझ प्रोत्साहन गरेको महसुस हुन्छ l गर्व चाहिँ त्यो कुरामा लाग्छ जब केही श्रेय पाइन्छ l यस काममा सम्भावना छ, यसलाई अझै विकास गर्नु पर्छ l
९. यहाँ जस्तै कुनै नवीनतम व्यवसाय गर्न खोज्ने युवाहरु जो ग्रामीण क्षेत्रमा अवस्थित छन् l जोसँग सहरको सुलभता पनि छैन तर उनिहरु ग्रामीण स्तर मै बसेर केही गर्न चाहन्छन् l त्यस्तो नविनकारी योजना भएको युवाहरूलाई के सुझाव दिन चाहनुहुन्छ ?
दुर्भाग्यको कुरा हो, काठमाडौँ बाहिर बस्नेहरूको धेरै कुराहरुको पहुँचमा छैन l तर भारत जस्तो देश जहाँ करोडौको जनसङ्ख्या छ, जसरि त्यहाँ क्रिकेटरहरूलाई गाउँ गाउँबाट खोजेर ल्याइन्छ, त्यो स्काउटिंग एजेन्सी जस्तै नेपालमा रहेका उद्यमशील हबहरूले विभिन्न ठाउँमा गइ, क्षमतावान व्यक्तिहरुको पहिचान गर्न सक्नुपर्छ l
१० उद्यमशीलता विकास हुन इनक्यूबेटर सेन्टरहरू जस्तो संस्था चाहिन्छ l त्यो नभएको खण्डमामा यहाँहरूको सफलताको कथाले कतिको योगदान पुर्याउँछ जस्तो लाग्छ?
योगदान पुर्याउछ जस्तो लाग्छ, किनभने हामीले पनि पढेर अनि अरूले गरेको देखेर नै प्रोत्साहन मिलेको हो l जति स्थानीय उदहारणहरु हुन्छ, त्यति नै मानिसहरु प्रोत्साहित हुने गर्दछन् l सिलिकन भ्यालीको उद्यमीले भन्दा पनि नेपालकै मान्छेले यस्तो गर्यो, अझ काठमाडौँ बाहिरको, विराटनगरको, पोखराकोले गर्यो भन्ने उदाहरण एकदमै महत्त्वपूर्ण हुन्छ जस्तो मलाई लाग्छ l
११. खालिसीसी.कम को भविष्यका योजनाहरू के के रहेका छन् ?
हामी एउटा टेक कम्पनी हो l त्यसैले दाइहरूलाई नै कसरी डीजीटल्ली सशक्त गर्ने र सक्षम बनाउने भन्ने कुरामा हाम्रो जोड छ, जसकारण हाम्रो कारोबार उचित अनुपातमा बढछ l त्यसपछि, काठमाडौँ बाहिर कसरी, कुन तरिकाले विस्तार गर्ने भन्ने कुरामा हामी आहिले काम गर्दैछौ, किनकि नयाँ ठाउमा विस्तार तेती सहज हुदैन l
१२. यहाँहरूको टिमले चाहिँ अहिले कसरी यसमा सहयोग गरिरहनु भएको छ l अनि टिम भित्र चाहिँ कस्ता किसिमको व्यक्तिहरू जोड्दै हुनुहुन्छ ?
अहिले टेकमा सी. टि. वो अफिसर हुनुहुन्छ, उहाँले डाटा, ब्रान्ड, कम्युनिकेसन आदि जस्ता सबै टेक्निकल कुरा हेर्नुहुन्छ l यी मुख्य कुराहरूमा हामी तीन जनाको भूमिका छ l त्यो बाहेक टिम अरु सदस्यहरुको आ-आफ्नो भूमिका छ l हामी सबै जना नेपाललाई अबको २०३० सम्म टप २० रीसाइक्लिंग राष्ट्र बनाउने भिजनबाट बाँधिएका छौ l
१३. भिजन २०३० कार्यान्वयन गर्ने क्रममा यहाँहरू योजनामा हुनुहुन्छ l यस कुरामा कतिको आशावादी हुनुहुन्छ l
हामी आशावादी छौ, नभएको भए हामी व्यवसाय सञ्चालन गर्दिन थियौ होला l हुनत, हामीलले कुनै पनि योजना सार्वजनिक गर्न जरुरी थिएन, तर बोलेपछी बाचा पुरा गर्ने जिम्मेवारी हुन्छ | यो ध्रिढ लक्ष्य हो, जसमा हामी कर्यसिल छौ l जुन पुरा हुन वा नहुन पनि सक्ला l नेपाललाई २०३० सम्म टप २० रास्ट्र बनाउने मेरो कम्पनीको मात्र सपना नभएर, सम्पूर्ण नेपालको बिकास, प्रगति र पहिचानको निम्ति देखिएको साझा सपना हो | हामी नेपालीमा नेपालप्रति एकताको भाव छ, जुन हामी देख्न सक्छौ, त्यसैले यो योजना प्रति अलि आशावादी छौ |
१४. सामाजिक उद्यमशीलताको मापदण्डबाट अगाडी बढी राख्नु भएको छ l त्यसैसरि जागिर खानुपर्छ भन्ने मानसिकता भएको युवाहरूलाई सन्देश दिन कतिको जरुरी छ र अन्त्यमा तपाईँ आफ्नो सफलताको कथा कसरी व्यक्त गर्न चाहनुहुन्छ?
मेरो बुझाई अनुसार, जागिर खोज्नेहरु जागिर सिर्जना गर्ने नै बन्नु पर्छ भन्ने छैन l तर प्रायजसो हामीले जागिर खानु पर्छ भन्ने मानसिकता बनाएको हुन्छौ, त्यो परिधिलाई अलि फराकिलो बनाउन जरुरी छ l यति गर्न सक्यौ भने हामी अघि बढ्न सक्छौ l युवा अवस्थाको जोखिम उठाउन सक्ने समय हो, त्यसैले यस्तो उमेरमा जति जोखिम उठाउन सक्नुहुन्छ, उठाउनु होस् भन्न चाहन्छु |