विराटनगरमा अङ्ग्रेजी महिनाको अन्तिम बिहीबार हुने “लास्ट थर्सडे ” कार्यक्रम होटेल नमस्कारको प्राङ्गणमा २०७६ मंग्सिर १२ गते बिहीबारका दिन सम्पन्न भएको छ ।
होटेल नमस्कार, नेपलिज यंग इन्टरप्रेनस् फोरम विराटनगर, विराटनगर इन्टरनेट कलेज, मकालु टेलिभिजन, विकल्प एन अल्टरनेटिभ तथा मल्ल इन्टरप्राइजेज दुआरा संयुक्त रूपमा आयोजित उक्त कार्यक्रममा जाजु ग्रुपका संस्थापक, एसियन थाई फूड्स प्राइभेट लिमिटेडको प्रबन्ध निर्देशक श्री महेश जाजुले अतिथि वक्ताको रूपमा बिराटनगरको युवाहरूमाझ आफ्ना व्यक्तिगत र व्यावसायिक अनुभवहरू सुनाउनु भएको थियो ।
विराटनगरमा जन्मेका महेश जाजुले आफ्नो बाबुआमाका पाँच जना सन्तान मध्ये आफू पाँचौ सन्तान रहेको र आफ्नो दुई छोरा र एक छोरी रहेको बताउनु भयो। उहाँको पढाइको सुरुवात काली कोपिला धर्मशाला वाट सुरु भएको तथा सत्यनारायण माध्यमिक बिद्यालय माध्यमिक शिक्षा र महेन्द्र मोरङबाट उच्च शिक्षा हासिल गर्नु भएको थियो l जाजु साधारण विद्यार्थी रहेको र सानैदेखि उद्योगी बन्ने प्रबल इच्छा भए पनि पुजी अभावको कारण आफ्नो पारिवारिक कपडा पसलमा काम गर्नु परेको थियो l कपडा पसलमा आफ्नो त्यति रुचि नभएको र आफूमा उद्योग गर्ने भोक र इच्छा उदाउँदै पनि त्यसलाई अगाडी बढाउन सहज नभएको जानकारी सहभागीहरूलाई गराउनु भयो l
उध्योगी बन्ने इच्छा भएकोले २१ वर्षको हुँदा पहिलो पटक साझेदारीमा क्वालिटी बिस्कुट प्रा.लिई. को थालनी गरेको तर लगातार ७ वर्ष व्यवसायले घाटा खाएको कारण घर परिवार लगायत सबैको लागि चिन्ताको विषय बनेको र आफू नराम्ररी हारेको महसुस भएको कुरा व्यक्त गर्नु भयो l
बुबाले उद्योग नथापेको देखेर पुरानै व्यवसायमा आउन अनुरोध गरे पनि आफूले १ वर्ष अझै उद्योग गर्नको निम्ति समय मागेको र त्यही बिचमा भारतको फिफ्टी-फिफ्टी बिस्कुट र उसको र्यापरबाट प्रभावित भई त्यसलाई कपि गरी टेस्टी टेस्टी बिस्कुट उत्पादन गर्ने निर्णय गरी त्यसलाई बजारमा ल्याएको कारण आफ्नो भाग्यलाई उदय गर्न सहयोग पुर्याएको कुरा जानकारी गराउनु भयो l
७ वर्षको लगातार असफलताको कारण समाज र परिवारले आफूलाई बेवकुफ र केही गर्न नसक्ने भने पनि आफुले हरेस नखाएको र एक दिन आफ्नो भाग्य उदय हुने आसमा दत्तचित्त भई लागि परेको कारण विगतका दिनमा आलोचना गर्नेहरू आफू सफल भएपछि धेरैले तारिफ र वाह वाई गरेको भनेर जाजुले भन्नु भयो l
क्वालिटी बिस्कुटले दिन थालेको सफलतालाई १ वर्ष पनि राम्ररी भोग्न नपाइ पारिवारिक कारण आफूले क्वालिटी बिस्कुट छोड्नु परेको र आफ्नो भिनाजुलाई हस्तान्तरण गरी एसियन थाई फुड प्रा. लिई. को स्थापना गरी अघि बढ्ने निधो गर्नु परेको कुरा महेश जाजुले बताउनु भयो l
त्यो बेला चाउचाउ भनेको नै वाई-वाई थियो, जुन उत्पादनको नाम नै चाउचाउ छ भने त्यसको प्रतिस्पर्धा कसरी गर्ने ठुलो चुनौती थियो तर आफूले जोखिम लिएर र रमपम चाउचाउ बजारमा ल्याउने निधो गरेको जानकारी गराउनु भयो l
सुरुको अवस्थामा उत्पादन देखि मार्केटिङ सबै कुरा आफैले नै हेर्नुपर्ने अवस्था रहेको थियो l ३ जना स्टाफबाट सुरु गरेको एसियन थाई फुड्समा हाल ४ सय ५० डिस्ट्रिब्युटर्स, २ सय ५० सेल्स पर्सन रहेको तथा अमेरिका, अस्ट्रेलिया र भारत लगायतका विश्वका ठुला देशमा पनि डिस्ट्रिब्युटर्सहरु रहेको जानकारी जाजुले दिनु भयो ।
नुडल्समा रमपम मात्र नेपालको एउटा यस्तो ब्रान्ड हो जसले देश बाहिर पनि आफ्नो छाप छोड्न सकेको छ भन्ने वहाँको भनाइ छ l प्रभावकारी तरिकाले ब्रांडिंग, एडभरटाइजिङ राम्ररी गरी बजारीकरणमा गरेको कारण रमपमले बजारमा आफ्नो छाप छोड्न सफल भई छोटो समयमा ग्राहकको मन जित्न सफल भएको कुरा वक्ता जाजुको रहेको छ l प्याकेजिंग, ब्रांडिंग र एडभरटाइजिङ कसरि गर्नुपर्छ भनेर रम पम चाउचाउले नेपालमा सिकाएको कुरामा आफूलाई गर्व रहेको कुरा महेश जाजुको जोड थियो l
उहाँको अनुसार बस्तुको ब्रांडिंग, एडभरटाइजिङ महत्त्वपूर्ण भए पनि अन्ततः ग्राहकलाई गुणस्तरीय उत्पादन दिनु नै पर्छ l आफ्नो सफलता एक दिनमा नआएको यसको पछाडि २० वर्षको लगनशीलता र मेहनत रहेको जानकारी दिनु भयो l आज एसियन थाई फुड्सले गुड लाइफ बिस्कुट, जुस, हिम गिरी सोप तथा अन्य अझै बढाउने क्रममा रहेको साथै विदेशमा पनि नुडल्स फ्याक्ट्री खोलेर नेपाललाई चिनाउने इच्छा रहेको व्यक्त गर्नु भयो l
केही पनि गर्ने अन्ततः मान्छेले नै हो, तर जबसम्म मानिसमा इच्छा शक्ति, लगन, र केही गर्ने भोक वा दृढसंकल्प हुँदैन तबसम्म सफलता प्राप्त गर्न सहज नहुने कुरा जानकारी गराउनु भयो l नेपालमा कामको कमी नभएको तर वातावरण नभएको कारण युवाहरू बिदेशिनु पर्ने बाध्यता रहेको छ, जसको निम्ति सरकारले नेपाली युवालाई यही गरेर खाने वातावरण सिर्जना गर्नुको साथै उद्योग सञ्चालन गर्ने वातावरण तयार गर्न जरुरी छ भन्ने उहाँको भनाइ रहेको थियो l सबै युवा विदेश गएको खण्डमा उद्योग धन्दा कसरी संचालन गर्ने भन्ने चिन्ता व्यक्त गर्दै १ घण्टा युवाहरूको प्रश्न र जिज्ञासालाई मेटाउनु भएको थियो l
भाग्य ठुलो कुरा भए पनि, यसैको सहारामा मानिस बाच्नु हुँदैन, कर्म नगरेसम्म भाग्यको पनि उदय हुँदैन भन्ने भनाइ वक्ता जाजुको रहेको छ l आफू चुनौतीलाई स्वीकार गर्ने र जोखिम लिन नडराउने किसिमको मानिस भएकोले लगातार जोखिम उठाउन नचुकेको र दृढसंकल्पका साथ अघि बढेपछि आफू अहिलेको स्थानमा आई पुगेको बताउनु भयो ।
“लास्ट थर्स्ड़े” अङ्ग्रेजी महिनाको अन्तिम बिहीबार सञ्चालन गरिने उद्यमशीलता बहस कार्यक्रम हो जसमा सफल उद्यमीहरूले आफ्ना व्यक्तिगत तथा व्यावसायिक अनुभवहरू साटासाट गरी युवाहरूलाई उद्यमी बन्ने उत्प्रेरणा दिने कार्य गर्दछन् l होटेल नमस्कारको प्राङ्गणमा सञ्चालन भएको यो कार्यक्रमको ५० औ शृङ्खलामा ९० जना सहभागीहरूले सहभागिता जनाएका थिए भने कार्यक्रमको अन्त्यमा नेपलिज यंग इन्टरप्रेनस् फोरम विराटनगरका सचिव श्री राघव कोइराला र विराटनगर इन्टरनेसनल कलेज बिजनेस डेवलप्मेंट हेड तथा आवर विराटनगरका म्यानेजिंग डाइरेक्टर विवेक दाहालले कार्यक्रमका वक्ता महेश जाजुलाई प्रशंसा पत्रले सम्मान गरेका थिए l कार्यक्रममा १०३ जना युवाहरूले उपस्थिति जनाएका थिए l