एउटा राज्यमा राजपरिवार र प्रजाहरूको लागि पानी खाने छुट्टाछुट्टै दुई वटा कुवा थियो l एक रात कुनै बाद्मासले प्रजाको कुवामा केही मिसाई दिएछ l फलस्वरूप कुवाको पानी खाने प्रजाहरू सबै पागल भएछन् l पानी पिउने सबै नागरिकहरू अजिब गरिब हरकत गर्दै राजालाई भेट्न दरबार तर्फ लागेछन् l राजा आफ्नो नागरिकहरुलाइ बेस्सरी झपार्छन् l भिडमा कसैले भन्छ “हाम्रो राजा पागल भए जस्तो छ, यसलाई ठिक लगाउनै पर्छ”, सबै जना राजालाई झम्टन दौडन्छन्” l स्थिति नियन्त्रणभन्दा बाहिर जान लागेपछि, मन्त्रीले भन्छन् “ महाराज अब नागरिहरुको कुवाबाट पानी खाएर आउनु बाहेक अन्य केही विकल्प छैन, तुरुन्त गई हाल्नुस्” l महाराजले मन्त्रीले भने अनुसार नै गर्छन् l एक छिन पछि राजा पनि नागरिकहरू जस्तै व्यवहार गर्दै नाच्दै आउँछन् l राजा प्रजा दुवै सँगै रमाउन थाल्छन् l राजाको फेरी जय-जयकार सुरु हुन्छl
कथाको तात्पर्य: भिड जस्तै व्यवहार गर्न सजिलो छ तर फरक सोच राख्न सहज हुँदैन l यो प्रसङ्ग अहिलेको राष्ट्रवाद संग जोडेर हेरौँ l
साहित्यकार खगेन्द्र सङ्ग्रौला भन्नुहुन्छ “राष्ट्रवाद माथि प्रश्न गर्न, विवाद गर्न र विमति जनाउन गाह्रो हुन्छ, एक प्रकारले यो अघोषित रूपमा वर्जित विषय जस्तै नै हो” l
राष्ट्रवादको सवालमा फरक विचार बोल्न कति गाह्रो हुन्छ भन्ने कुराको उदाहरण हालै नेपाली नागरिकहरूको ‘फोन ट्यापिङ’ गर्न दिने व्यवस्थासहित जासुसी विधेयक राष्ट्रियसभाबाट पारित गर्दा प्रतिपक्ष नेपाली काँग्रेसले बोल्न नसक्नुले उजागर गर्दछ l जबकि यही प्रस्ताव प्रति विगतका दिनमा प्रतिपक्षी काँग्रेसका सांसदहरूले विरोध जनाउँदै आएका थिए l
ठुल्ठुला आपत-विपदका घटनाले सरकारलाई असिमित अधिकार प्रयोग गर्ने अवसर प्रदान गरिदिन्छ, जसलाई सरकारले नागरिकहरुको अधिकार हनन गर्नको निम्ति प्रयोग गर्नसक्छ भन्नेकुराको ज्वलन्त उदाहरण हो माथिको घटना l
अहिले चलिरहेको राष्ट्रवादको मुद्दालाई अरूले समर्थन गरे जसरी मैले अन्धाधुन्ध समर्थन गर्न सकिन l यसर्थमा केहीले अराष्ट्रियतत्त्वको रूपमा बुझ्ने डर छ l तर जति अन्य नेपालीहरूले यो देशलाई माया गर्नु हुन्छ, त्यो भन्दा कम माया म मेरो देशलाई गर्दिन l देशलाइ माया गर्ने, मुद्दा लाइ हेर्ने र सोच्ने तरिका मेरो अलि फरक हुनसक्छ l
नेपाली पक्षसँग सल्लाह नै नगरी छिमेकी भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिक स्थल मानसरोवर जाने सडक मार्ग केही समय अघि खोलेको छ l नेपाललाई त्यसबारे जानकारी पनि नगराउनुमा उसको गलत रवैया देखिन्छ l आफ्नै देशको भूमिबाट अरूले बाटो बनाएर लगेको समाचारको विषयलाई कुनै पनि सार्वभौम राष्ट्रका नागरिकहरूलाई स्वीकार्य हुने कुरै भएन l
यसबारे हाम्रा सरकारका मानिसहरूलाई जानकारी नै नहुनु अर्को आश्चर्यको विषय हो l यसलाई लिएर नागरिकहरूले आक्रोश पोख्नु र सरकारको निकम्मापनको विरोध गर्नु स्वाभाविक हो l भ्रष्टाचार, कुसासान र सत्ताको लुछाचुँडीको कारण बदनामी कमाएको अहिलेको सरकार लाई यस मुद्दाले थप बदनाम बनाउने कुरा निश्चित थियो l
आफ्नै सत्ता बचाउन भए पनि केही न केही स्टन्ट गर्नै पर्ने स्थिति सृजना भएको कारण, आफ्नो साख र पद बचाउन भए पनि नयाँ नक्सालाई जारी गरी सहानुभूति हासिल गर्ने यो भन्दा सुनौलो अवसर अर्को हुने थिएन l नक्सा पारित भयो l यसले धेरै नेपालीहरूको मनमा पहिला देखि नै भारत प्रति रहेको घृणा लाइ मलजल गर्न सहयोग गर्यो l एक रात अघि सम्म आलोचना खेपेको नेतृत्व लाइ रातारात राष्ट्रवादी भएर उदाउने अवसर परिस्थितिले फेरी सिर्जना गरिदियो l
जसरी नाकाबन्दीको बेला अडान लिएको कारण चुनावमा बहुमतको सरकार बनाउने अवसर मिल्यो, त्यसरी नै अहिलेको नयाँ परिवेशले शक्ति लाइ थप बलियो बनाउन सहयोग गर्नेछ भन्ने अनुमान लगाउन सकिन्छ l महिनौँ लामो नाकाबन्दीलाई हामी नागरिकहरूले कसरी झेल्यौ भन्ने कुरा हामीले अझै बिर्सिएका छैनौ l
झन्डै दुई तिहाइ मत दिएर सरकार लाई सत्तामा पुर्याएर हामीले हाल कस्तो शासन पाएका छौ भनेर मैले भनी राख्नु पर्दैन होला l अब अहिलेको सरकारको निर्णयले आगामी दिनमा हामीलाई कुन परिस्थितिको सामना गर्न बाध्य बनाउने हो त्यो हेर्न भने अझै वाकी छ l
राजनीतिज्ञहरू भगमानका अवतार होइनन्, उनीहरूको पनि स्वार्थ हुन्छ, जसलाई पुरा गर्न उनीहरू सधैँ तल्लीन हुन्छन् l जे कुराले उनीहरूको स्वार्थ पुरा हुन्छ, वा शक्ति लाइ स्थापित गर्न सहयोग पुर्याउछ, त्यो काम गरेर आफ्नो अभिस्ट पुरा गर्न सायदै उनीहरू पछि पर्छन् l
राजनीतिज्ञहरू त्यतै ढल्किन्छन् जता जनभावना बग्दछ, उनीहरू विपरीत जान गाह्रो हुन्छ, जान चाहना विपरीत गएको खण्डमा उनीहरूको पतन हुन धेरै समय लाग्दैन l अन्ततः उनीहरूको सत्ता र शक्तिको श्रोत मानिसहरू हुन् l
जनताले चाहेमा उनीहरूलाई रातारात महान् बनाइ दिन सक्छन्, घरको न घाटको हुन पनि धेरै समय लाग्दैन भन्ने कुरा उनीहरूले राम्ररी बुझेका हुन्छन् र त्यही जनइच्छा अनुरूप कार्य गर्दछन् l अहिलेको यो नयाँ नक्सा राजनीतिक इच्छा भन्दा पनि जनताको दबाब र आफ्नो साख बचाउन ल्याउनु परेको हो भनेर भन्दा फरक नपर्ला l
यदि हाम्रा नेतृत्वहरुलाई यो मुद्दा त्यति नै प्यारो हुन्थ्यो भने धेरै पहिला नै नेपाली जनतालाई आफ्नो देशको नक्साको यथार्थ थाहा हुने थियो, अहिले आएर अचम्म पर्नु पर्ने अवस्था हुने थिएन l यसर्थ मा नेतृत्व र सरकार प्रति नतमस्तक भइराख्नु पर्ने कुनै कारण देखिँदैन l
अहिले सामाजिक सञ्जाल तातिरहेको अवस्था छ l मिडियामा अहिले नयाँ नक्साको विषयलाई लिएर गर्मा गर्मी चलिरहेको छ l विषयलाई लिएर जसरी भारतीय मिडियाहरू बिष वमन गरिरहेका छन्, उनीहरूको नेपालमा चौतर्फी विरोध भइरहेको छ l हाम्रो मिडियाले पनि “इँटको जवाफ पत्थर” ले दिनु पर्यो भनेर धेरैले वकालत गर्ने गरेको देखिन्छ l तर धन्यवाद छ नेपालका मिडिया लाइ जसले यो मामलामा भारतीय मिडिया सरह प्रस्तुत नभएर धेरै परिपक्वता देखाएका छन् l
भारतको मिडियामा सहभागी हुनेहरू हाकाहाकी नेपालको नयाँ नक्सा स्विकार्दिनौ भन्न थालेका छन् l उसको बिचारमा नेपाल चीनको इसारामा चलिरहेको र वार्ताको पनि कुनै गुञ्जायस छैन l यस अवस्थामा स्थिति के हुनेछ ? के हामी भारतसँग मुठभेड गरेर अघि बढ्न सक्ने अवस्था छ ? हामी नेपालीले व्यापार लगायत अन्य धेरै कुरामा भारत प्रति निर्भर हुनुपर्ने बाध्यता छ, यस अवस्थामा उनीहरूलाई चिढ्याएर वा वैमनस्य साधेर बाच्न हामी नेपाली लाइ कति दिन साध्य होला ?
भूपरिवेष्टित मुलुक भएको कारण ३ तिर भारतबाट घेरिएका छौ l उत्तर चीनसँग संसारका अग्ला हिमालको साध छ, जहाँबाट हाम्रा आवस्कताका बस्तु तथा सामाग्री ल्याउन त्यति सहज छैन भन्ने करा नाकाबन्दीको बेला स्पष्ट भैसकेको छ l त्यसकुरालाइ मनन गरी ५ वर्ष यता हामीले त्यस नाका लाइ सहज बनाउने पहल गरेको पनि सायदै देखिन्छ l
कोरोनाको महामारीले थिलथिलो बनाएको गरिब नेपालको अर्थतन्त्र लाइ अहिलेको नक्साको विवादले झन् ठुलो समस्या निम्त्याउने देखिन्छ l नेपालको भूराजनीतिक अवस्थालाई मध्यनजर गरेर भए पनि संयम र दुरदर्शीता अपनाई काम गर्नु पर्ने स्थिति देखिन्छ l
लिपुलेकको सम्बन्धमा विगतमा घटनाक्रमहरू कसरी विकास भएका छन्, कुन सरकारको पालामा के-कस्ता निर्णय र सम्झौताहरू गरिएका छन् त्यसलाई नियालेर हेर्न र भारतसँग वार्ता गर्न जरुरी छ l निहुँ खोजेर भन्दा पनि, जे गर्दा अहिले देशको हित हुने देखिन्छ, त्यही अनुरूप राष्ट्र र जनताको हितमा सरकारले निर्णय लिनु पर्ने हुन्छ l
देशको बागडोर सम्हालेकाहरूले फगत राजनीतिक स्टन्ट र व्यक्तिगत तथा संस्थागत स्वार्थ लाइ स्थापित गर्नको निम्ति मात्र राष्ट्रवादको मुद्दालाई प्रयोग गरेको खण्डमा यसले नेपाल र नेपाली जनता माथि ठुलो दुर्घटना निम्त्याउन सक्छ l
हामी नागरिकहरूको राष्ट्रवाद सामाजिक सञ्जालमा भारतीयलाई गाली गरेर रमाउने कुरामा मात्र सीमित हुनु हुँदैन l यो जनताले निम्ताएको समस्या भन्दा पनि सरकारले लिएको नीतिको कारण निम्तिएको समस्या भएको कारण जे गर्दा देशको लागि दीर्घकालीन हित हुन्छ त्यसको निम्ति आफ्नो देशको नेतृत्वलाई घच्घच्याउन आवश्यक छ l
नेपालको सबैभन्दा ठुलो समस्या आर्थिक गरिबी हो, जहिले सम्म हाम्रो व्यवस्थाले हामीलाई गरिब बनाइ रहन्छ तबसम्म हामीले छिमेकी मुलुकहरूबाट यस किसिमको हेपाइ सधैँ खेपिरहनु पर्ने अवस्था हुन सक्छ l
सिंगापुर र स्विजरल्याण्ड हामी भन्दा धेरै सानो देश हुन्, उनीहरू शक्तिशाली छिमेकि मुलुक का बिचमा अवस्थित भए पनि कसैले उनीहरुलाइ हेप्न सक्दैन, किनकि उनीहरूले आफूलाई समृद्ध बनाइ परस्पर निर्भरताको अवस्था सिर्जना गरेका छन् l
यता हाम्रो नेतृत्व र व्यवस्थाले भने गरिबी सिर्जना गर्ने नीति अपनाई सधैँ अरुमाथि आश्रित हुने अवस्था निम्त्याई रह्यो l हामीले उपयोगिता सिर्जना गरेर अरूलाई पनि हामीमा निर्भर बनाउन सक्थ्यौ, तर गरेनौ l अरुसंग नै नुन, चामल, पोलियो र मलेरियाको दबाई मागेर खान व्यस्त र अनुगृहित भइरह्यौ l
यदि हामी पनि समृद्ध भई अरू देशहरुसंग बराबर व्यवहार गर्न सक्ने हो भने सधैँ यो राष्ट्रियताको रोइलो रोइरहनु पर्ने अवस्था आउने थिएन l अन्ततः गरिबलाई जसले पनि हेप्छ, चाहे त्यो मानिस होस् वा देश l
किन भारत र पाकिस्तान, वा उत्तर र दक्षिण कोरिया जहिले पनि एक अर्का बिच लडाई कै तयारीमा हुन्छन् ? किनकि उनीहरू एक-अर्कासँग व्यापार गर्दैनन्, फलस्वरूप लडाई गर्छन् वा त्यसको तयारी गर्छन् l जबकि पहिलो र दोस्रो युद्ध झेलेको युरोप, जसले करोडौँको सङ्ख्यामा आफ्ना मानिसहरू गुमायो, सयौँ वर्ष सम्म जमिनको टुक्रा र सीमाको आकार फराकिलो बनाउन लडाई मात्र गरी रह्यो, आज उनीहरू एक अर्कासँग लडाई गर्दैनन्, किन? किनकि युरोपले युद्धले निम्त्याउन सक्ने विध्वंस र व्यर्थता भोगेको कारण आज एक अर्कासँग व्यापार गर्छन् l
आज युरोपको एउटा देशको भिसा लिएको खण्डमा २० वटा भन्दा बढी देश घुम्न सकिन्छ l कुन देशको सीमा कहा बाट सुरु भयो र कहाँ सकियो थाहा पाउन मुस्किल छ l यदि मेरो व्यापार वा लगानी भारतको कुनै सहरमा छ भने म त्यहाँ पाकिस्तान वा चीनले बम गिराओस् भन्ने कामना कहिल्यै गर्दिन l व्यापारले शान्तिलाई बढावा दिन्छ, यो नै दीर्घकालीन शान्तिको उपाय हो l
त्यसैले हामीले काडेतार र दिवाल लगाउने किसिमको बहस गर्ने भन्दा पनि आन्तरिक तथा वाहिय व्यापार प्रवर्धन गर्न र आर्थिक सम्रिद्दीको अभियानलाई साकार बनाउन नीति निर्माताहरुलाई घच्घच्याउदा उचित हुने देखिन्छ l
फ्रेन्च अर्थ शास्त्री फेडरिक बास्टियाट भन्छन् “जब बस्तु, सेवा तथा उत्पादनहरुले दुई देशको सीमा पार गर्दैनन्, तब सेनाले सीमा पार गर्ने छन्” l द्वन्द्व निम्त्याउन सक्ने खतरा र शान्तिको महत्त्वलाई बुझी, नेपाललाई आर्थिक रूपमा बलियो बनाउन पहल गर्नु अहिलेको आवस्यकता हो l
सीमा विवादको विषय त्यति सहज विषय होइन भन्ने कुरा विभिन्न देशका नागरिकहरूले आफ्नो देशको सीमा विवादको कारण बर्सौँ देखि भोग्दै आएको समस्याले चित्रण गर्दछ l तर यसको मतलब ठुला देशले साना देशको सार्वभौम र अस्मिता माथि दखल दिन र जमिन हडप्न पाउँछ भन्ने हुँदैन l
चिन र भारत दुवै उदाउँदै गरेका शक्तिशाली राष्ट्र हुन् l परापूर्व कालदेखि दुवै राष्ट्र हाम्रा असल मित्र रहँदै आएका छन् l सबै प्रकारले हाम्रो क्षमता उनीहरू जतिको नभएको कारण उनीहरूसँग सिना-जोरी गरेर बस्नु सम्भव छैन l असल कूटनीति अपनाई दुवै देशलाई रिझाएर व्यापार प्रवर्धन गरि आफुलाई आर्थिक रुपमा समृद्द र सक्षम बनाउनुमा नै नेपालको हित छ l यदि हामी दुई ठुला शक्ति राष्ट्रको द्वन्द्व र स्वार्थको मारमा पर्यौ भने, नेपालले सदैको लागि शान्ति र स्थायित्व गुमाउने सम्भावना राख्दछ, जुन नेपाली जनताको हितमा पक्कै छैन l
2 Comments
Raw le kati poisa diyo…
You should know the difference between Nationalism and Patriotism. Good luck to your nationalist view.