के हो जबाफदेहिता र किन आवश्यक छ ?
चाणक्य आफ्नो कूटनीति र ज्ञानको लागि प्रख्यात थिए l एक दिन उनका एक विद्वान उनीसँग छलफलको लागि राति भेट गर्न आए, जुन भेट व्यक्तिगत थियो l तर चाणक्य आफ्नो सरकारी काम गर्दै थिए l जब ती मित्र कोठा भित्र छिरे, उनले सह्रिदयका साथ आफ्नो मित्रलाई स्वागत गरिसके पछि बलिरहेको बत्ती निभाएर अर्को बत्ती जलाए l मित्रले जिज्ञासावश चाणक्यलाई सोधे, “मित्र तपाइले किन पहिलाको बत्ती निभाएर दोस्रो बत्ती बाल्नु भयो, म आश्चर्यचकित भए ?” चाणक्यले मुस्कुराउँदै जवाफ दिए, “मित्र तपाईँ आउनु अघि म राज्यको काम गर्दै थिए, र राज्यको बत्तीको प्रयोग गर्दै थिए l तर अहिले तपाई मसँग सरकारी कामको लागि नभएर व्यक्तिगत भेटको निम्ति आउनु भएको छ l राज्यको श्रोत साधन मेरो व्यक्तिगत हितको निम्ति खर्च गर्न मलाइ नैतिकताले दिँदैन l किनकि त्यसको लागि जनताले पैसा तिरेका हुन्छन्, जसको लागि म जबाफदेही हुन जरुरी छ l
Accountability अर्थात् जबाफदेहिता, यो शब्द हामी नेपाली मद्धे धेरैले सुनेको हुनु पर्दछ l ल्याटिन भाषाको accomptare भन्ने शब्दबाट उत्पत्ति भएको यो शब्दले जानकारी गराउनु भन्ने अर्थ राख्दछ l साधारण भाषामा भन्दा जबाफदेहिता भन्नाले आफूले गरेको वा अक्थियारी लिएको काम प्रति जिम्मेवारी बहन गर्ने तत्परता भन्ने कुरा दर्साउँदछ l
आफूले पाएको अक्थियारिको सही सदुपयोग वा भनौँ कुनै पनि व्यक्ति वा सङ्घसंस्था आफ्नो निर्णय र काम प्रति जिम्मेवार तथा उत्तरदायी भई त्यसको नतिजा पारदर्शी ढङ्गले प्रकाशित गर्नु नै जबाफदेहिता हो l
यदि समाजमा एक अर्का प्रति विश्वासको वातावरण बनाइराख्नु छ भने जिम्मेवारी बहन गर्ने जो कोही पनि जबाफदेही हुन आवश्यक छ, चाहे त्यो व्यक्ति, नागरिक समाज, निजी व्यापार-व्यावसाय होस् वा सरकार l एक जनाले आफ्नो हितको निम्ति क्रियाकलाप गर्दा अर्को मानिसको अहित हुनु हुँदैन l
समाजमा एक अर्काको अहित नगर्ने भनेर व्यक्ति बिच एक किसिमको घोषित अघोषित सामाजिक सम्झौता रहेको हुन्छ, जसलाई सबैले पालना गर्न आवश्यक छ l यदि कसैले यो सम्झौतालाई पालना गर्दैन वा गर्ने इच्छा देखाउँदैन भने त्यो व्यक्ति वा संस्था जिम्मेवार र जबाफदेही भइरहेको छैन भनेर भन्न सकिन्छ l
एउटा निजी व्यवसाय आफ्नो यस कारण जिम्मेवार हुनु पर्दछ किनकि उसले बस्तु तथा सेवा दिए बापत उपभोक्तासँग पैसा लिएको हुन्छ l उसले उपोभोक्तालाइ जुन बस्तु तथा सेवा दिन्छु भनी प्रतिबद्धता जाहेर गरी पैसा लिएको हुन्छ, त्यस अनुरूपको बस्तु तथा सेवा दिनु उसको जिम्मेवारी हो l यदि उसले आफ्नो प्रतिबद्धता पुरा गर्दैन भने उ आफ्नो उपभोक्ताप्रति जबाफदेही भइरहेको छैन l यति मात्र नभएर, उसको व्यावसायिक क्रियाकलापको कारण समाजमा अन्य मानिसहरूको जिउ-धनमा कुनै पनि किसिमको नोक्सानी हुनु हुँदैन l
यदि व्यापारी तथा व्यावसायीहरुले ठगी गरेमा वा जबाफदेही नभएको खण्डमा उपभोक्ताहरूले उनीहरूबाट समान खरिद नगरेर उनीहरूलाई बजारबाट पलायन गराई सजाय दिनेछन् l साथै सामाजिक प्रतिष्ठा गुम्ने र राज्यको कानुन द्वारा सजाय पाउने डरले पनि उनीहरूलाई सो कार्य गर्न निरुत्साहित गरेको हुन्छ l जसले उनीहरूलाई आफूले दिने सेवाप्रति जिम्मेवार र जबाफदेही हुन् प्रेरित गर्दछ l
त्यसैगरि सरकार वा तिनका मानिसहरू यस कारण नागरिकहरू प्रति जबाफदेही हुनु पर्दछ किनकि उनीहरू स्वेइछाले जनताको हितको निम्ति सेवा गर्छौ भनेर प्रण गरेका हुन्छन् l हाम्रो जिउ-धनको सुरक्षा र दैनिक जीवन सहज बनाउन सहयोग गरेबापत उनीहरूलाई कर मार्फत तलब खुवाएर राखेका हुन्छौ l तर यदि उनीहरू नागरिकहरू प्रति जबाफदेही नभएको खण्डमा के त ?
जबाफदेहिताको विषय प्रत्यक्ष सुशासन सँग जोडिएको हुन्छ l सुशासन अर्थात् असल शासन जहाँ जनता माथि शासन नथोपरेर जनताहरूको समस्यालाई निराकरण गर्नको निम्ति विधिको शासनलाई महत्त्व दिइन्छ र सरकार नागरिकहरूको समस्या प्रति संवेदनशील, पारदर्शी, जिम्मेवार र जबाफदेही हुन्छ l
सुशासन सुनिश्चित गरिएको समाजका जनताले आफ्नो राज्यमा सुख, शान्ति र सुरक्षाको अनुभूति गरेका हुन्छन् l ती देशमा प्रजातान्त्रिक मूल्य-मान्यता र नागरिक अधिकार लाइ बढावा दिएर समृद्धिलाई प्रत्याभूत गरिएको हुन्छ l तर नेपाल जस्ता देश जहाँ सुशासनको स्थिति कमजोर हुन्छ, यी सबै कुराको अवस्था सन्तोषजनक छैन भन्ने कुरा हामी हाम्रो अनुभवबाट सजिलै बुझ्न सक्छौ l
हामी कहा सरकार र जिम्मेवार निकायहरू आम नागरिकको समस्या समाधान गर्ने र उनीहरू प्रति जबाफदेही हुने भन्दा पनि सीमित स्वार्थ समूहको हित संरक्षण गर्नमा तल्लीन देखिन्छ, जसले धेरै हदसम्म सर्वसाधारणहरूको दैनिक जीवनलाई असहज र कष्टपूर्ण बनाएको अवस्था छ l
सरकार किन र के का लागि ?
सामाजिक सम्झौता सिद्धान्तका जन्मदाता मद्धेका एक जन लकको भनाइ अनुसार, आदिम समाजमा मानिहरु प्राकृतिक अवस्थामा बाचेका थिए l तर त्यस अवस्थामा व्यक्तिको जीवन, सम्पत्ति र स्वतन्त्रताको रक्षा गर्न सम्भव थिएन l
आफूभन्दा बलियोले जति बेला पनि आफ्नो जिउ-धन र स्वतन्त्रतामाथि आक्रमण गर्ने सम्भावना थियो l त्यसै कारण व्यक्तिले धेरै भन्दा स्वतन्त्रताको उपयोग गर्न र आफ्नो जिउ-धन र स्वतन्त्रताको रक्षाको निम्ति अन्य मानिसहरूले एक-आपसमा एउटा सम्झौता गरे l
फलस्वरूप राज्य, कानुन तथा सुरक्षा निकायको जन्म हुन पुग्यो l राज्यलाई नागरिकहरूको जिउ-धन र स्वतन्त्रताको रक्षा गर्ने प्रमुख दायित्व दिइयो l यदि कसैले त्यस सामाजिक सम्झौतालाई तोडी अरूको अधिकारमा दखल पुर्याएको खण्डमा राज्यले नागरिकको अधिकारको रक्षा गर्न हेतु पीडितलाई न्याय र पिडकलाई सजाय दिन पाउने अधिकार व्यक्तिले राज्यलाई दियो र राज्यले त्यो अधिकार प्राप्त गर्यो l
राज्यलाई शान्ति, सुरक्षा र न्याय सम्पादन गर्न मानिसहरूको आवश्यकता पर्न गयो, जसको खर्च धान्नको निम्ति व्यक्तिले राज्यलाई कर बुझाउने निर्णय गर्यो l
तर यदि राज्य नागरिकहरूको जीवन, स्वतन्त्रता र सम्पत्तिको रक्षा गर्न असफल भएको खण्डमा नागरिकहरूले सरकारको विरोध गरी आफ्नो हितको रक्षाको निम्ति अर्को असल सरकारको स्थापना गर्ने अधिकार पनि राख्दछन् l
यस दृष्टिकोणबाट हेर्दा, व्यक्तिले राज्यलाई शान्ति, सुव्यवस्था र सुशासन कायम गने जिम्मेवारी दिएको छ, जुन राज्यको प्रमुख दायित्व भित्र पर्दछ l तर राज्यले यदि नागरिकहरूको हितको निम्ति काम नगरेर शक्तिको दुरुपयोग गरी कुशासन निम्त्याउन गएको खण्डमा सरकार लाई खबरदारी गरी सच्याउन पहल गर्ने काम सबै नागरिकको हो l
जिम्मेवार नागरिकको भूमिका के ?
जबसम्म सरकारले नागरिकहरूको हितलाई संरक्षण गर्दछ, तबसम्म सरकार लाई समर्थन गर्नु नागरिकको कर्तव्य हो, तर जब सरकार नागरिकको हितलाई संरक्षण गर्न असमर्थ हुन्छ र सीमित स्वार्थ समूहहरूको हितलाई मात्र प्रवर्धन गर्न तल्लीन रहन्छ, तब सरकारको कार्यको विरोध गर्नु पनि नागरिकको उत्तिकै दायित्व हुन आउँछ l किनकि नागरिकहरूको कर्तव्य भोट हाल्ने र कर तिर्ने कुरासम्म मात्र सीमित हुँदैन l
भनिन्छ, कुनै पनि देश नारा, भाषण र जुलुसले महान् हुँदैन, देश त्यति बेला महान् हुन्छ जति बेला त्यो देशका नागरिकले जिम्मेवारी उठाउने चाहना र हिम्मत राख्दछन् l दुईचार जना खराब व्यक्तिहरूले नराम्रो काम गरेर समाज बिग्रँदैन, समाज त्यति बेला बिग्रन्छ, जति बेला राम्रो व्यक्तिले चुप लागेर वा सहेर बसिदिन्छन् ।
कुनै पनि ठाउँमा दुई किसिमको मानिस पुग्ने सम्भावना हुन्छ, एउटा राम्रो अर्को खराब, खराब मानिसहरू यस कारण राम्रो ठाउँमा पुग्छन् किनकि असल मानिसहरू त्यस ठाउँमा जान रुचाउँदैनन् l
समाजमा दुई किसिमका अपराधीहरू हुन्छन्, एउटा सक्रिय अपराधी र अर्को निष्क्रिय अपराधी । सक्रिय अपराधीहरू देखादेखी अपराध गर्दछन् भने निष्क्रिय अपराधीहरू हेरेर बसिदिन्छन् । सक्रिय अपराधी भन्दा निष्क्रिय अपराधीहरू समाजको लागि घातक हुन्छन्, किनकि उनीहरू निष्क्रिय हुनुको साथसाथै काँतर पनि हुन्छन् ।
कुनै पनि समाजमा गलत काम गर्नेहरू थोरैको सङ्ख्यामा हुन्छन् l ठुलो जमात त्यो गलत काम लाइ सहेर बस्ने र तमासा हेर्नेहरूको हुन्छ । जबसम्म समाजमा दोस्रो किसिमका मानिसहरूको भिड हुन्छ, तबसम्म गलत कुराले प्रशय पाइरहन्छ।
जब गलत मनसाय भएका सीमित स्वार्थ समूहहरू एकजुट हुन्छन्, अनि राम्रा व्यक्तिहरू विभाजित भइरहन्छन्, तबसम्म सीमित स्वार्थ समूहहरूको समाजमा वर्चस्व रही नै रहन्छ । आज यो देशमा थोरै गलत काम गर्ने व्यक्तिहरू एकजुट भएका छन् भने असल भनाउँदा मानिसहरू विभाजित भएको अवस्था छ l
हामी के कुरा बोल्छौ, त्यसको लागि मात्र जिम्मेवार हुँदैनौ, हामी के कुराको लागि बोल्दैनौ त्यसको लागि पनि त्यति नै जिम्मेवार हुन्छौ। एउटा जिम्मेवार र सचेत नागरिक आफ्नो कर्तव्यको बारेमा मात्र सचेत भएर पुग्दैन, उसले अरूको गैर जिम्मेवारी पूर्ण क्रियाकलापको पनि त्यति नै खुलेर विरोध गर्न सक्नु पर्दछ ।
यदि कसैले मेरो छिमेकीलाई अकारण कुटी रहेको छ र म हेरेर बस्छु भने अब कुटाइ खाने पालो मेरो हुनसक्छ । छिमेकीको घरमा लागेको आगो ननिभाउँदा त्यसले मेरो घर पनि जल्न सक्छ भन्ने कुरा बिर्सनुहुँदैन ।
यदि हामी गलत कुराको विरुद्ध आवाज उठाउँदैनौ भने त्यस कुरामा हाम्रो मौन समर्थन छ भन्ने दर्शाउद्छ । गलत कुरा भनेको काँडाको बिरुवा रोपे जस्तै हो, जति हुर्कँदै जान्छ त्यसले धेरैलाई पिरोल्छ र एक दिन यस्तो अवस्था आउँछ त्यसलाई उखेलेर फ्याँक्ने सामर्थ्य हामी सँग हुँदैन।
समाजलाई सही दिशानिर्देश गर्नु छ भने हामी नागरिक जिम्मेवारी बहन गर्नबाट पन्छिनु हुँदैन l तपाईँ हामी आफै नेतृत्व लिन सक्छौ l तर दुक्खको कुरा हामी अरूको आस गरेर बसेका छौ र अरुपनि हाम्रै मुख ताकेर बसेका छन् l
विन्स्टन चर्चिल भन्छन्, महानताको किमत जिम्मेवारी हो l जिम्मेवारीलाई अङ्ग्रेजीमा Responsibility भनिन्छ, जुन Response + Ability भन्ने दुइटा शब्दबाट बनेको हुन्छ l Response भनेको उत्तर वा प्रतिक्रिया र Ability भनेको क्षमता l अर्थात् जो व्यक्तिमा आफू उत्तरदायी भई वा अरूलाई उत्तरदायी बनाउने क्षमता राख्दछ, त्यो व्यक्तिले समाजमा जिम्मेवारी उठाउन तत्परता देखाउनु पर्दछ l
हरेक कुराले नतिजा ल्याउँछ, राम्रो कुराले राम्रो नै नतिजा ल्याउँछ भने गलत कुराले गलत नै । यदि गलत कुरालाई समयमा रोक्न सकिएन भने यसले अब आउने पुस्तालाई समेत नराम्रो सँग सताउनेछ, जनकुराको लागि दोषी धेरै हदसम्म हामी पनि हुने छौ ।
यदि समाजमा गलत कुराले प्रशय पाइरहेको छ भने त्यस कुरालाईलाई निरुत्साहित गर्ने प्रमुख दायित्व राज्यद्वारा निर्देशित कानुनको हो l तर यदि राज्यको कानुन तथा संरचनाले नै खराब प्रवृत्तिलाई प्रोत्साहन गर्दछ भने त्यसकुरा विरुद्ध आवाज उठाइ सम्बन्धित निकाय लाइ जबाफदेही बनाउने कर्तब्य जिम्मेवार नागरिकहरूको हो l a