वैदेशिक सहयोग वा अनुदान नेपाल जस्तो अविकसित मुलुकको निम्ति धेरै समस्या समाधान गर्नको निम्ति आवश्यक देखिए पनि नेपाली समाजमा यसको प्रभावकारिता र यसले निम्त्याएको परिणामलाई नियाल्दा त्यति चित्त बुझाउन सक्ने अवस्था देखिँदैन l यसै कारणले नै होला, वैदेशिक सहयोग वा अनुदानले धेरै नेपाली नागरिकहरूको मन्मस्तिस्कमा नकारात्मक छाप छोड्न पुगेको छ l
अवस्था यति सम्म भएको छ कि यदि कसैलाई बदनाम गर्नु पर्यो भने उसलाई डलरवादीको ट्याग लगाइदिए पुग्छ, चाहे त्यो व्यक्तिले गरेको काम राम्रो होस् वा नराम्रो, अधिकांश नेपालीहरूको निम्ति खोजीको विषय समेत नबनी यो कुरा स्वीकार्य बन्ने अवस्था छ l
वैदेशिक सहयोगका राम्रा तथा नराम्रा दुवै पाटा रहेका छन् l यसले नेपाली समाजको शिक्षा, स्वास्थ्य, खानेपानी आदि जस्ता धेरै समस्याहरूलाई समाधान गर्नको निम्ति महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ भने हामीलाई परनिर्भरताको स्थितिमा ढकेकी नेपालको सार्वभौममाथि बाह्य शक्तिहरूको हस्तक्षेपलाई निम्त्याएको छ जुन कुरा कुनैपनि देशका नागरिकहरुलाई स्वीकार्य हुदैन l
देशको बजेट बनाउदा समेत यति रकम बैदेशिक सहयोग प्राप्त होला भन्ने अनुमानका साथ बजेट बनाइनु पर्ने बाध्यताले पनि नेपाल जस्तो अविकसित मुलुकमा वैदेशिक सहयोग र अनुदानले कति महत्व राख्दछ भन्ने कुरा दर्साउदछ l
यदि कसैले बिगतमा हामीलाई वैदेशिक सहयोग वा अनुदान नदिएको थियो भने हामी मद्धे धेरैलाई आज पोलियोको सङ्क्रमण देखिने सम्भावना हुने थियो l आज पनि एच. आइ. भी तथा अन्य धेरै रोगको औषधिहरुको निम्ति बिकशित देशहरु कै अनुदानमा निर्भर रहनु परेको अवस्था छ l
यसर्थमा वैदेशिक सहयोग र अनुदानलाई धेरै धेरै धन्यवाद जसले हामी नेपालीलाई पोलियो तथा अन्य रोगको सङ्क्रमणबाट जोगाउनुको साथै नेपाली समाजको अन्य धेरै किसिमका समस्याहरूलाई निराकरण गर्न मद्दत पुर्याएको छ l
जसरी एउटा बच्चा आफ्नो खुट्टामा उभिन नसकेको अवस्थामा अरूको सहारा लिनु पर्ने हुन्छ, त्यसरी नै आर्थिक रूपले सक्षम नभइसकेको अवस्थामा अनुदानले हाम्रो शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार आदि जस्ता धेरै समस्याहरू निराकरण गर्नको निम्ति उल्लेखनीय भूमिका निर्वाह गर्न सहयोग पुर्याउन सक्छ l
दोस्रो विश्व युद्ध ताका जब युरोप तहस नहसको स्थितिमा पुग्यो, त्यस अवस्थाबाट बौरिन युरोपले पनि मार्सल प्लान मार्फत वैदेशिक आर्थिक सहयोग लिएर अघि थियो l यसले पनि वैदेशिक सहयोग र अनुदानको उपयोगिता र महत्त्वलाई सिद्ध गर्दछ l
तर आर्थिक सहयोग पाएकै भरमा देश धनी हुन्छ भनेर सोच्नु कोरा कल्पना मात्र हुनेछ l यदि आर्थिक सहयोग कै भरमा देश धनी हुने थियो भने आज नेपाल लगायत धेरै अफ्रिकी देशहरू संसारका सबैभन्दा धनी हुनुपर्ने हो, किनकि यी देशहरूले त्यति धेरै आर्थिक सहयोग प्राप्त गरेका छन्, तर यी देशहरू आज पनि आर्थिक पछौटेपनको अवस्थामा छन् l कुनै पनि देशले पाएको आर्थिक सहयोगलाई त्यो देशको सरकार र नागरिकहरूले कसरी र केमा सदुपयोग गर्दछन् भन्ने कुराले आर्थिक सहयोग वा अनुदानको उपयोगितालाई प्रमाणिकरण गर्दछ l
दोस्रो विश्व युद्ध पछि युरोपले पाएको आर्थिक सहयोगलाई पुनर्निर्माण सदुपयोग गरी उद्यम र बजारको विकास तर्फ ध्यान पुर्याई आजको स्थितिमा आइपुगे भने साधन श्रोतले भरिपूर्ण नेपाल तथा अफ्रिकी मुलुकहरूले पाएको सहयोग र अनुदानलाई उचित तवरले खर्च नगरेको कारण सधैँ अरूको मुख ताकेर बस्नुपर्ने अवस्था निम्तियो l
अझ भन्ने हो भने त्यो अनुदान र सहयोग लाभान्वित वर्गसम्म नपुगी त्यहाँका शासक र तिनका आफन्त र स्वार्थ समूहहरूको हातमा पर्न गई उनीहरूको भ्रष्ट सत्तालाई संरक्षण गर्न र उनीहरूको भरण-पोषण गर्ने साधन बन्न पुग्यो l नेपाल लगायत अन्य देशहरू यसको पिडाबाट अछुतो छैनन्, जसले वैदेशिक सहयोगलाई बदनाम तुल्याएको छ l आज धेरै देशहरूमा वैदेशिक सहयोग र अनुदान गालीको पर्यायवाची बनिसकेको अवस्था छ l
निसन्देह पनि यदि कसैले केही कुरा दिन्छ भने उसको त्यसमा केही स्वार्थ अवश्य लुकेको हुन्छ, केही दिए बापत सकेसम्म उसले आफ्नो निहित स्वार्थलाई अघि बढाउँछ वा बढाउन खोज्छ l यही सवाल वैदेशिक सहयोग र अनुदानको विषयमा पनि लागु हुन्छ l
तर केही लिने नाममा कतिसम्म तल झरेर अरूको सर्त मान्ने भन्ने कुरा सहयोग लिने मानिस वा देशको निर्णयमा भर पर्दछ l भनिन्छ “कसैलेपनि कसैको अनुमति बिना उसलाई हीनताबोध गराउन सक्दैन” l यदि हामीले आज वैदेशिक सहयोग लिँदा कसैको थिचोमिचो वा अनावश्यक दखलान्दाजी सहनु परेको अवस्था छ भने त्यसमा हाम्रो निर्णय प्रक्रियामा पनि त्रुटि हुनसक्छ l
यदि हामी अनुदान र वैदेशिक सहयोगको भरमा बाच्न चाहन्छौ भने त्यसले हामीलाई अरूमाथि आश्रित बनाइ उनीहरूको सर्त मान्न र थिचोमिचो सहन बाध्य बनाइ रहने कुरा निश्चित छ l यदि हामी यो अवस्थाबाट उम्कन चाहन्छौ भने हामीले अनुदान र सहयोगको अपेक्षा नगरेर स्वदेशमै व्यापार-व्यवसाय र उद्यमको निम्ति उचित वातावरण तयार गरी धेरै भन्दा धेरै रोजगारी र उत्पादन गर्न तर्फ ध्यान पुर्याउन नितान्त आवश्यक छ l
मागेर आजसम्म कुनै पनि देश धनी भएको छैन भने उद्यम र व्यापार गरेर आजसम्म कुनै पनि देश गरिब भएको इतिहास छैन l अफ्रिकाका धेरै देश लगायत नेपाल आर्थिक रूपमा गरिब हुन पुग्यो किनकि यी देशहरूले व्यापार नगरेर माग्नमा रमाउन थाले, जबकि अन्य विकसित देशहरूले उद्यम र व्यापारको महत्त्वलाई बुझी आफ्ना नीति, कार्यक्रम, समय तथा श्रोतहरू त्यसलाई बढवा दिने कार्यको निम्ति परिचालन गरे l मज्जा माग्नमा हैन दिनमा हुन्छ l माग्दा आत्म-स्वाभिमान गिर्छ भने दिँदा आत्मसम्मान माथि हुन्छ l
नेपालले सन् १९५० को दशक देखि हालसम्म ठुलो परिमाणमा वैदेशिक सहयोग र अनुदान भित्र्याई सकेको भए पनि त्यसले उल्लेखनीय रूपमा आम नेपालीहरूको जीवनमा परिवर्तनको आभास दिलाउन सकेको अवस्था भने छैन l त्यसै कारण पनि हामीमा यसप्रति एक किसिमको वितृष्णा छ l
बैदेशिक सहयोग तथा अनुदान लिनु नराम्रो होइन l तर सहयोगको प्रायोजन सहि हुनुपर्यो र खराब कामबाट आर्जन भएको हुनु भएन l आज हामी नेपालीहरूको आवश्यकता भनेको हामी आफू सक्षम नभएको अवस्थासम्म पाएको वैदेशिक सहयोग र अनुदानलाई सदुपयोग गरी अघि बढ्ने, तर देशले अँगाली राखेको मगन्ते नीतिलाई त्यागी उद्यम र व्यापार फस्टाउने नीति तथा कार्यक्रम लागु गरि अघि बढ्नुपर्ने अवस्यक्ता देखिन्छ l
हाल कोरोनाको महामारीले विश्व अर्थतन्त्र लाइ नराम्ररी प्रभाव पार्नुको साथै २१ प्रतिशत जनता गरिबीको रेखामुनी रहेका नेपालीलाई थप गरिबीमा धकेलिदिने कुरा निश्चित छ l
लकडाउनले गर्दा हाम्रा उद्योग-व्यापार, पर्यटन आदि सम्पूर्ण रुपले ठप्प छन् l नेपालको कुल ग्राहस्थ उत्पादनको २८ प्रतिशत अर्थतन्त्र धानेको रेमिट्यान्समा यसले प्रतक्ष असर पारेको छ l वैदेशिक रोजगारमा गएका लाखौ नेपाली युवाहरू मध्ये धेरैले रोजगार गुमाई नेपाल फर्कनुपर्ने अवस्था रहेको छ l
स्वदेश तथा विदेशमा रोजगारी गुमाएका नेपालीहरूलाई राज्यले कसरी स्थापित गर्ने वा ती समस्यालाई कसरी सम्बोधन गर्ने भनेर चिन्ता गर्नुपर्ने अवस्था सिर्जना गरिदिएको छ l
हाम्रा धेरै समस्याहरू हल गर्न सहयोग पुर्याएका विदेशी दातृ निकायहरू हाल आफै समस्यामा रुमलिएको कारण धेरै हदसम्म हामीलाई सहयोग गर्न सक्ने अवस्थामा छैनन् l
यस अवस्थामा हामीले बैदेशिक सहयोगको भर परेर परनिर्भर हुनु भन्दापनि उद्यम तथा व्यापार-व्यावसाय गर्दा आइपर्ने नीतिगत बाधा तथा अड्चनलाई हटाइ, स्वदेशमै बस्तु तथा सेवाको उत्पादन र धेरैलाई रोजगारीको अवसर सिर्जना गर्ने वातावरण तयार गरि स्वनिर्भर हुने नीति अगाल्दा उचित हुने देखिन्छ l