आखिर किन कुनै देश समृद्ध र विकसित हुन्छ, अनि कुनै देश गरिबीको दलदलमा फस्न बाध्य हुन्छ?
उदाहरणको लागि उत्तर र दक्षिण कोरियाली मुलुकलाई तुलना गरी हेरौँ l उस्तै भूगोल, समान आर्थिक अवस्था, उही भाषा, संस्कृति र इतिहास, एकैनासका मानिस भएको देश, दक्षिण कोरिया संसारको सम्पन्न देशहरू मद्धे एक हुन पुग्यो भने उत्तर कोरिया गरिबीमा थेचरियो l प्रश्न आखिर किन भन्ने हो l
दोस्रो विश्वयुद्ध अघि कोरिया जापानको अधीनमा थियो l विश्व युद्धमा जापानले हार व्यहोरेपछि शक्ति राष्ट्रहरूले अगस्ट १९४५ मा कोरियालाई उत्तर र दक्षिण गरी दुइटा देशमा टुक्र्याए l ७५ वर्ष पछि आज अन्तरिक्षबाट प्राप्त रातिको चित्र हेर्दा दक्षिण कोरिया झिलिमिली देखिन्छ भने, उत्तर कोरिया राजधानी प्योंगयोंग बाहेक अन्य ठाउँ अन्धकारमय देखिन्छ l दक्षिण कोरिया आज संसारको सबैभन्दा समृद्ध मुलुकहरूको श्रेणीमा पुग्न सफल भयो भने, उत्तर कोरियाको गन्ती संसारको गरिब देशको रूपमा गरिन्छ l
राज्यले अङ्गालेको नीति र व्यवस्थाले कतिसम्म फरक पार्दछ भन्ने कुराको उदाहरण उत्तर र दक्षिण कोरिया बिच भएको आर्थिक असमानताले प्रस्तुत गर्दछ l
दोस्रो विश्वयुद्ध पछि उत्तर र दक्षिण दुवै कोरियाली देशले बेग्लै-बेग्लै किसिमको व्यवस्था अङ्गाले l चिन र रुसको प्रभावमा उत्तर कोरियाले साम्यवादी व्यवस्थालाई अङ्गाल्यो भने, अमेरिका र पश्चिमा देशहरूको प्रभावमा दक्षिण कोरियाले केही हदसम्म खुल्ला बजार अर्थतन्त्र व्यवस्थालाई अङ्गाल्यो l भयो के त ? फरक व्यवस्थाले दुई देशमा फरक स्थितिको जन्म भयो l
दक्षिण कोरियाले आफ्नो नागरिकहरूलाई स्वतन्त्रता र समृद्धि दियो भने उत्तर कोरियाले आफ्ना नागरिकहरूको व्यक्तिगत र आधारभूत स्वतन्त्रतालाइ समेत खोसेर गरिब बनायो l एउटाले संसार सँग आफ्नो व्यापारको ढोका खोल्यो भने अर्कोले व्यापारको ढोका लाइ बन्द गरी संसारबाट आफूलाई अलग्यायो l
१९६० को दशकमा सैन्य शासक Park Chung Hee को पालामा आर्थिक विकासको आधार खडा गरे पनि १९८० को दशकको अन्त्यमा प्रजातन्त्रको उदय भए पश्चात् दक्षिण कोरियाले आर्थिक बिकासको गतिलाइ समात्यो l
दक्षिण कोरियाले स्वैच्छिक लेनदेनमा आधारित आर्थिक गतिविधि सञ्चालन गर्ने अवसरको बाताबरण सिर्जना गर्यो l जसले उद्यमी तथा ब्यावसायीहरुलाई उपभोक्ताले रुचाएको सामान उत्पादन गर्ने अवसर दियो l सफल हुनेहरूलाई नाफा आर्जन गर्ने प्रेरणा दियो, जसले उद्यमीहरूको पुजीलाई सबै भन्दा उपयोगी ठाउँमा लगानी गर्ने अवस्था सिर्जना गर्यो l
अन्तर्राष्ट्रिय व्यापार लाई सहज गरी करको दर लाई सीमित बनायो l विश्वास र स्वैच्छिक लेनदेनमा आधारित आर्थिक गतिविधिलाई प्रोत्साहन गरी आन्तरिक तथा बाहिरी लगानी गर्ने वातावरण तयार गर्यो l विधिको शासन र प्रजातान्त्रिक मूल्य मान्यतालाई अङ्गाली दक्षिण कोरियाली समाज सम्पन्नता तर्फ अघि बढ्दै गयो l
फलस्वरूप केही दशकको अन्तरालमा दक्षिण कोरियाले संसारभरिको बजारमा हुन्डाई, किया गाडी, साम्सुंग मोबाइल, एल.जी टिभी, उच्च स्तरको सङ्गीत, सिनेमा र कस्मेटिकलाई विस्तारित गर्यो l
आज दक्षिण कोरियामा धेरै हदसम्म बजार अर्थतन्त्रले काम गरेको छ, जुन उपभोक्ताको माग र चाहनामा आधारित छ l यस व्यवस्थाले मात्र केही दशक अघिसम्म गरिब रहेका दक्षिण कोरियालीहरूको जीवनस्तरलाई संसारका विकसित मुलुकहरूका नागरिकहरूको स्तरमा पुर्याएको छ l
जबकि उत्तर कोरियाले आफूलाई सर्वसत्तावादी अर्थात् तानासाह राज्यको रूपमा स्थापित गर्यो l जहाँ अर्थतन्त्र लाइ केन्द्रीकृत योजना द्वारा निर्देशित र नियन्त्रण गरिएको छ l
जसको अर्थ मानिसहरूलाई व्यापार-व्यावसाय गर्ने स्वतन्त्रता दिइएको छैन l नागरिकहरूलाई नाफा कमाउन, अथवा उनीहरूले आर्जन गरेको नाफा राख्न र लगानी गर्न वर्जित गरिएको छ l पुजी कहाँ लगानी गर्ने भनेर पार्टीले वा केहि ओहोदामा बसेका मानिसहरुले निर्देशित गर्दछन् l मूल्यहरू नियन्त्रित गरिएको छ l
डरको कारण मानिसहरूले आफ्नो सम्पूर्ण ऊर्जा र समय, पार्टी र शक्तिमा रहेकाहरूलाई रिझाउनमा खर्च गर्नु पर्ने अवस्था छ l जसको नतिजा अन्ततः दुर्भाग्यपूर्ण हुन गयो l
विगतका दशकहरूमा उत्तर कोरियालाई पटक-पटक भोकमरीले सताएको छ, जसले लाखौँ मानिसहरूको ज्यान लियो l मूल्य र सम्पत्तिमाथि अधिकार नभएकोले त्यहाँका व्यवसायी तथा किसानहरूलाई बस्तु तथा उत्पादन गर्ने कुनै उत्प्रेरणा छैन l
उत्तर कोरिया एउटा सैन्य देश हो, जहाँ विधिको शासन नभएर व्यक्तिद्वारा शासन गरिएको छ, जहाँका जनताहरू डरमा बाच्न बाध्य छन् l आज उत्तर कोरियाका जनताहरू ज्यान जोखिम मै राखेर भए पनि दक्षिण कोरिया पलायन भएर स्वतन्त्रताको उपयोग गर्न चाहन्छन् l उत्तर कोरियाको अर्थतन्त्र यति अविकसित बनेको छ कि राति आकाश बाट हेर्दा साँच्चै नै अँध्यारो देखिन्छ जबकि संधियार देश दक्षिण कोरिया झलमल्ल देखिन्छ l
कुनै पनि राज्यले अङ्गालेको आर्थिक नीति तथा राजनैतिक व्यवस्था कति महत्त्वपूर्ण हुन्छ, देश र त्यस देशका जनताको जीवनस्तरलाई व्यवस्थाले कतिसम्म फरक पार्न सक्छ भन्ने कुराको ज्वलन्त उदाहरण हो उत्तर कोरिया र दक्षिण कोरियाको दृष्टान्त l जुन कुरा बाट हामी नेपालीले पनि पाठ सिकेर अघि बढ्न सक्दा उचित हुने देखिन्छ l
भीडियोको लागि तलको लिंकमा जानुहोस l