हाम्रा जनप्रतिनिधि तथा राज्यका सेवकहरु, शुसासन, समृद्धि, बिकाश, जनता सेवाका कुरा गरेर कहिल्यै थाक्दैनन् l तर यथार्थमा तपाइले आफ्नो दैनिक जीवनमा यस कुराको आभाष पाउनु भएको छ l
सत्ता र शक्ति नजिक रहेका केहि मानिसहरुको हितको रक्षा भएपनि, अधिकांस नागरिकहरुले सायदै यसकुराको अनुभूति गर्न पाएका छन् l
हुन त नागरिकहरुको अधिकारको रक्षा र जनहितको कार्य गर्छु भनेर नै उनीहरुले स्वेच्छाले भोट मागेका, र जागिर खाएका हुन्छन् l त्यसैको लागि नै जनताले कर तिरेर उनीहरुलाइ पालेका हुन्छन् l
त्यसैले सार्वजनिक सेवामा खटिएका राज्य सेवकहरुबाट आम नागरिकहरूले आफ्नो र समाजको हितको अपेक्षा राख्नु स्वाभाविक हो l
तर यथार्थमा त्यस्तो भएको देखिदैन l
बिर्सन नहुने कुरा के हो भने मानिस स्वभावैले आफ्नो खुसी र चाहनालाई पुरा गर्न चाहने प्राणी भएकोले पहिला उ अरूको हित भन्दा पनि आफ्नो हितलाई बढावा दिन चाहन्छ l
हाम्रा राजनीतिज्ञ र सार्वजनिक निकायका मानिसहरू भगवानका अवतार पक्कै होइनन् l उनीहरूको पनि आम मानिसहरू जस्तै हुन्, जसको स्वार्थ, चाहना र आवश्यकता हुन्छ, जसलाई पूरा गर्न हर-हमेसा तल्लीन रहन्छन् l
यसै कारण, सार्वजनिक हितको निम्ति कार्य गर्ने व्यक्तिहरुपनि अरूको हित लाइ बढावा दिनु भन्दा पनि पहिला आफू र आफ्ना मानिसहरूको हित सुरक्षित गर्नको निम्ति लागि पर्दछन् l जस कारण हामी नागरिकहरूले हाम्रा राज्य सेवकहरूबाट आसा गरे अनुरूप नतिजा नपाउने सम्भावना बढेर जान्छ l
Public Choice सिद्धान्तका प्रतिपादक मद्धेका एक, नोबेल पुरस्कार विजेता James Buchanan को बिचारमा, जसरी मानिसहरूले बजारमा लेनदेन गर्दा आफ्नो हित र चाहनालाई ध्यानमा राखेर निर्णय लिने गर्दछन्, सार्वजनिक हितको निम्ति कार्य गर्नेहरू पनि त्यसरी नै निर्णय लिने गर्छन् l किनकि अन्य मानिसहरू सरह सार्वजनिक हितको निम्ति खटिएका व्यक्तिहरू पनि स्व-उत्प्रेरणाद्वारा प्रेरित हुन्छन् l
अर्का नोबेल पुरस्कार विजेता अर्थशास्त्री मिल्टन फ्रिड म्यानको बिचारमा पैसा खर्च गर्ने चार तरिका हुन्छ l
पहिलो तरिका भनेको आफ्नो पैसा आफू माथि खर्च गर्ने l यस अवस्थामा हामी निर्णय लिने कुरामा कमै मात्र गल्ती गर्दछौ र आफूले पैसा तिरे बराबर उपयोगिता खोज्छौ l किनकि यसबेला सामान आफ्नो लागि खरिद गरिएकोले पैसा कमाउने, खर्च गर्ने र लाभ पाउने व्यक्ति बिच सम्बन्ध दरिलो, प्रत्यक्ष र तत्काल हुन्छ l
दोस्रो आफ्नो पैसा अरूमाथि खर्च गर्ने l उदाहरणको लागि अरुलाई Gift दिन l यस अवस्थामा हामीमा हाम्रो पैसा कम खर्च होस् भन्ने चाहना हुन्छ, तर अरूलाई त्यो सामानको उपयोगिता के कति छ भन्ने कुरासँग हामीलाई त्यति सरोकार हुदैन l त्यसकारण अरूले चाहेको जस्तै वा उसलाई आवश्यक परेको चीज नै खरिद गरेर दिन्छौ भन्ने हुँदैन l
तेस्रो, अरूको पैसा आफू माथि खर्च गर्ने l मानौ कसैले हामीलाई खाना खान होटलमा निम्तो दियो रे l यो अवस्थामा हामीमा सही बस्तु तथा सेवा पाउने चाहना भए पनि अरूको कति खर्च भयो भन्ने कुरासँग हामीलाई सरोकार हुँदैन l अर्थात्, यस अवस्थामा हामीमा मितव्ययी हुने कुनै प्रेरणा हुँदैन l
चौथो अरूको पैसा अरू कसैमाथि खर्च गर्ने l उक्त अवस्थामा कमाउने, खर्च गर्ने र लाभ पाउने व्यक्ति बिच कुनै सम्बन्ध हुँदैन l जस कारण फजुल खर्च हुने र श्रोतको दुरुपयोग हुने सम्भावना बढेर जान्छ l सरकार वा उनीहरूका मानिसहरूले खर्च गर्ने भनेको यहि चौथो तरिका हो l यस अवस्थामा जसको जति सुकै पैसा खर्च होस्, कसैलाई सरोकार हुँदैन l
पैसा बोटमा फल्ने बस्तु नभएको हुँदा सरकार वा उसका मानिसहरुसँग त्यसै पैसा आउँदैन l सरकारले या त जनताबाट करको रूपमा पैसा उठाउँछ, या अन्य कुनै व्यक्ति, संस्था, दातृ निकाय वा देशसित ऋण लिएर आफ्नो खर्च धान्छ l
जसले गर्दा जनताको हितमा खटिएका सेवक तथा नीति-निर्माताहरुलाई राज्यको सम्पत्ति कत्ति प्रभावकारी तवरले जनताको हितमा खर्च भइरहेको छ वा छैन भन्ने कुरा प्रति त्यति चासो हुँदैन l अझ उनीहरूलाई तत्काल कसरी आफू र आफ्ना मातहतका मानिसहरुको बढीभन्दा बढी हित गरी भविष्यमा झन् बढी लाभ प्राप्त गर्ने अवसर सिर्जना गर्ने भन्ने ध्यय हुन्छ l
एउटा राजनीतिज्ञले आउदो चुनावलाई ध्यानमा राखेको हुन्छ l त्यसैले उ जनताको निम्ति भन्दा आफ्नो कार्यकर्ताको हितलाई बढावा दिने सोच राख्दछ l किनकि कार्यकर्ताले भविष्यमा झन्डा बोक्ने देखि लिएर चुनाव जिताउन समेत उसलाई सहयोग गर्न सक्छ, जुन काम गर्न, एउटा तटस्थ नागरिकले तत्परता देखाउँदैन l त्यसैले जनप्रतिनिधिहरु जनताको सेवा गर्नु भन्दा आफ्ना स्वार्थ समूहहरूको हितलाई संरक्षण गर्दा उचित हुने देख्छन् l
यसै गरी एउटा सरकारी कर्मचारीको ध्यान अब आउने बजेटमा उसको तलब तथा सेवा-सुविधा कति बढ्छ, कति धेरै बजेट परिचालन गर्न पाइन्छ, र सरुवा-बढुवाको स्थिति के रहन्छ भन्ने तर्फ ध्यान केन्द्रित हुन्छ l
त्यसैले उनीहरू नागरिकहरूको हितलाई बढावा दिने काम गर्नुभन्दा आफूलाई फाइदा पुर्याउने स्वार्थ समूहको काम गर्न तत्परता देखाउँछन् l किनकि यसो गर्दा उनीहरूलाई तत्काल र प्रत्यक्ष फाइदा छ, जुन कुरा नागरिकहरूको सेवा गर्दा हुँदैन l
एकपटक फेरी बुझ्नुस्, हाम्रा जनप्रतिनिधि तथा राज्यका सेवकहरु भगवानका अवतार हैनन् l उनीहरूको पनि आम मानिसहरू सरह स्वार्थ, चाहना र आवश्यकता हुन्छ, जसलाई पूरा गर्न उनीहरू हर-हमेसा तल्लीन रहन्छन् l
तर यसो भन्दैमा, उनीहरूले देश र नागरिकप्रतिको आफ्नो जिम्मेवारी र कर्तव्य बिर्सन मिल्दैन l जनप्रतिनिधि तथा राज्यका सेवकहरु नागरिकहरूको हित गर्ने प्रण लिएर स्वेच्छाले आफ्नो जिम्मेवारी बहन गरेका हुन्छन् l नागरिकहरूले तिरेको करको कारण राज्यका सेवकहरुको जीवन गुजारा चल्ने हुनाले उनीहरू नागरिकहरुप्रति पूर्ण रूपले जिम्मेवार र जवाफदेही हुन आवस्यक छ l
तर यदि उनीहरू आफ्नो कर्तव्यबाट विमुख भई आफ्नो र आफ्ना मानिसहरूको हित संरक्षण गर्न तर्फ मात्र लिप्त भएमा प्रचलित कानुनले उनीहरूलाई सजायको भागीदार बनाइनु पर्दछ l यदि राज्यको न्याय सम्पादन गर्ने निकायहरू नै भ्रष्ट भएको खण्डमा जवाफदेहिता र सुशासन स्थापित गर्नको निम्ति आम नागरिकहरुको अहम भूमिका हुन आउँछ l
भीडीयो को लागी तलको लिंकमा जानुहोस l