संसारमा आजसम्म जति पनि देशहरूले आर्थिक विकासलाई सम्भव तुल्याएका छन्, ती सबै देशले बजारको विकास गरेर मात्र सम्भव तुल्याएको देखिन्छ l नेपाल भने त्यसको अपवाद हुन सक्दैन l तर नेपालमा बजारको विकासको निम्ति आवश्यक नीति तथा कानुन बजार मैत्री बनाउनको निम्ति राज्यले सहजीकरण गर्न नसकेको कारण, आज पनि हाम्रो बजार विकसित देशको तुलनामा धेरै नै पछि परेको अवस्था छ l त्यसमा पनि आम नेपालीहरूको बजारप्रतिको हेराइ र बुझाइ त्यति सकारात्मक नभएको कारणले पनि, जुन रूपमा बजार विकासले गति लिनु पर्ने थियो, नेपाली समाजमा त्यो हुन सकेको छैन l
बजार त्यस्तो ठाउँ हो जहाँ क्रेता र बिक्रेताहरू खरिद, बिक्री तथा आर्थिक लेनदेनको प्रक्रियालाई मूर्त रूप दिन्छन् l बजारमा मानिसलाई आवश्यक परेको सबै किसिमका बस्तु तथा सेवाहरूको छनौट गर्ने अवसर एकै ठाउँबाट प्राप्त हुने सम्भावना रहन्छ l हामीलाई चामल वा तरकारी चाहिएको अवस्थामा धान वा तरकारी खेत नै पुगी रहनु पर्ने बाध्यता भने हुँदैन l नाफाको उत्प्रेरणाले गर्दा उक्त कुराहरू सहजै हामीले बजारमा प्राप्त गर्ने वातावरण बन्दछ, जसले हाम्रो समय र पैसाको बचत गर्न मद्दत पुर्याउदछ l
व्यापार जुवाको खेल जस्तो हो, जहाँ एक जनाले जित्न अर्कोले हार्नै पर्छ भन्ने मान्यता राख्नेहरू धेरै छन्, तर यथार्थमा त्यसो हुँदैन l बजार यस्तो ठाउँ हो जहाँ लेनदेनमा सहभागी दुवै पक्ष लाभान्वित हुन्छन् l यदि मलाइ टुथपेस्ट चाहिएको छ भने, म मेरो २० रुपैयाँ भन्दा धेरै टुथपेस्टलाई महत्त्व दिन्छु l जसले मलाई मेरो २० रुपैयाँ भन्दा धेरैको उपयोगिता सिर्जना गर्दछ, अन्यथा म त्यो टुथपेस्ट खरिद गर्न मेरो पैसा खर्च गर्ने छैन l दोकानदारलाई उसको टुथपेस्टले भन्दा धेरै मैले तिरेको २० ले उपयोगिता सिर्जना गर्दछ l यसै कारण, हामी दुवै जना लेनदेनको प्रक्रियामा सहभागी हुन राजी खुसी हुन्छौ, जसले हामी बिचको लेनदेनलाई सम्भव तुल्याउँछ l बजार नै यस्तो ठाउँ हो, जहाँ क्रेता तथा बिक्रेता दुवैले एक अर्काले खोजेको कुरा पाउँछन् र खुसी साथ एक अर्कालाई धन्यवाद दिन्छन् l
स्वभावैले हरेक मानिसको फरक चाहना र रोजाई हुन्छ l यस कुरालाई ध्यानमा राखी बजारले हरेक मानिसहरूको क्षमता र आवस्यकता अनुसार उनीहरूको चाहना र रोजाई लाई पुरा गर्न मद्दत पुर्याउदछ l बजारले धनी देखि गरिबसम्म सबैका लागि, सबै प्रकार र दामका समानहरू उपलब्ध गराउन सहयोग पुर्याउदछ, जुनकुरा सामान्य अवस्य हैन l
सबै किसिमका बस्तु, सेवा तथा उत्पादनहरू सुरुको अवस्थामा विलासिताको बस्तु थियो भनेर भन्दा फरक नपर्ला l जसमा केही सीमित मानिसहरूको मात्र पहुँच सम्भव थियो, धेरै मानिसहरू ती बस्तु तथा सेवाहरू बाट वञ्चित थिए l बजारले ढिलो चाड ती सबै बस्तु तथा उत्पादनहरूलाई आम मानिसहरूको पहुँच सम्म पुर्याउन सहयोग पुराएको अवस्था छ l उदाहरणको रूपमा, पङ्खा, बिजुली बत्ती, टेलिभिजन, क्यामेरा, मोबाइल, घडी, रेडियो, मोटरसाइकल दिलाइ लिन सकिन्छ l यी बस्तुहरू मात्र केही दशक अधि सम्म थोरै धनी मानिसहरूको पहुँचमा मात्र सीमित थियो, तर बजारले आज ती सबै कुरालाई सर्वसाधारणहरूको पहुँचमा पुर्याउन सहयोग गरेको छ l
बजारले धनीहरूको हित र आवश्यकतालाई मात्र ध्यानमा राख्दछ भन्ने मान्यता र बुझाई धेरैको छ l तर मानव इतिहासमा बजारले जति आर्थिक रूपले पछाडि मानिसहरूको हित गरेको छ, त्यति अरू कुनै व्यवस्थाले गर्न सकेको छैन l सन् १८०० मा झन्डै ८० प्रतिशत मानिसहरू गरिबीको अवस्थामा बाचेका थिए भने, आज त्यो प्रतिशत १० प्रतिशत भन्दा तल झरेको अवस्था छ, जसको श्रेय बजाराइ नै जान्छ l मात्रै केही दशकको अन्तरालमा भारत र चिने गरेको बजारको विकासले झन्डै ७०० मिलियन भन्दा बढी मानिसहरू लाई गरिबीको अवस्था बाट माथि उठाएको उदाहरण हामी माझ ताझैँ छ l २ रुपैयाँ को तेल, स्याम्पु, चाउचाउ, ५ रुपैयाँको कफी, हर्लिक्स, भुजिया, पाउरोटी आदि देखि लिएर सस्तोमा लुगा-कपडा तथा अन्य बस्तु तथा सेवा मार्फत बजारले निम्न भन्दा निम्न आय भएका मानिसहरू चाहना र आवश्यकतालाई पुरा गरी उनीहरूको जीवनलाई सहज बनाउन सहयोग पुर्याएको छ l
त्यसै गरी बजारले भेदभाव र वैमनस्यतालाइ कम गरी शान्तिलाई बढवा दिन सहयोग पुर्याउदछ l बजारले जातपात, छालाको रङ्ग, धर्म, लिङ्ग, राष्ट्रियता आदि कुराको आधारमा विभेद नगरी सबैलाई सेवा प्रदान गर्दछ l व्यापार गर्ने मानिसलाई उसको ग्राहकको जातपात, धर्म, लिङ्ग, राष्ट्रियता हेर्ने भन्दा पनि आफ्नो समान बेच्ने र व्यापार बढाउने कुरा सँग बढी सरोकार हुन्छ l ग्राहकसंग कुनै किसिमको भेदभाव, झगडा गर्ने वा दुस्मनी साध्ने काम गरेमा व्यापारीले ग्राहक गुमाउनुको साथै व्यापार गर्ने अवसर पनि गुमाउन पुग्दछ l यस कारण समाजमा सबैसंग राम्रो सम्बन्ध स्थापित गर्ने प्रेरणा व्यापार गर्ने मानिसमा हुन्छ l यदि कसैको व्यापार दिल्लीमा छ भने पाकिस्तानले दिल्लीमा बम हानोस् भन्ने कामना सायदै उसले गर्ला l यसै कारण पनि बजार र व्यापारले सान्तीलाई बढवा दिन्छ र भेदभावलाई कम गर्न सहयोग पुर्याउदछ l
बजार अर्थतन्त्रले सबैलाई बराबरी सफल हुने अवसर सिर्जना गर्दछ l जसरी राजनीतिको बजारमा मानिसहरूले भोट दिएर आफ्ना प्रतिनिधिको छनौट गर्दछन्, त्यसै गरी बजारमा मानिसहरूले गोजीको पैसा मार्फत सही बस्तु तथा सेवा खरिद गरेर आफ्नो प्राथमिकता र छनौटलाई व्यक्त गर्दछन् l पहिला-पहिला राजाको छोरा नै राजा हुन्थे, कुलीन बर्गको सन्ततिको हातमा सबै अधिकार हस्तान्तरण हुने कुरा निश्चित थियो l तर बजारमा यदि ग्राहकले कुनै पनि व्यापार वा उद्यमीको बस्तु, सेवा तथा उत्पादनलाई मन पराइ दिएको खण्डमा, बजारले जो कसैलाइ पनि राता-रात सफल बनाएर पुरस्कृत गरिदिन सक्छ l बजारमा त्यही व्यापार सफल हुन्छन्, जसले धेरै भन्दा धेरै मानिसहरूको चाहना र आवश्यकता बुझेर सस्तोमा राम्रो र गुणस्तरीय बस्तु तथा सेवा प्रदान गर्ने अवसर जुटाउँछन् l जुन व्यापारले बजार र मानीहरूको आवश्यकता र चाहना बुझ्न सक्दैन, उसलाई बजारबाट पलायन हुन् धेरै समय लाग्दैन l
बजार प्रतिस्पर्धामा आधारित भए पनि यसमा एक किसिमको अदृश्य सहयोगको वातावरण रहेको हुन्छ l जाबो ५ रुपैयाँमा सजिलै पाइने पेन्सिल संसारको कुनै एक जना मानिसले एक्लै बनाउन सक्दैन l यसको निम्ति रुख रोप्ने देखि, रुख काट्ने, लकडी चिर्ने, खानीमा काम गर्ने देखि लिएर, रबर निकाल्ने, रङ्ग लगाउने, ढुवानी गर्ने, बिक्री गर्ने आदि धेरै मानिसहरू संसारका विभिन्न कुनाबाट लागि परेका हुन्छन् l जसलाई यो कुराको आभास पनि नहुन सक्छ कि उनीहरू तपाइ हाम्रो निम्ति पेन्सिल बनाउनको निम्ति काम गरिरहेका छन् l यी सबै मानिसहरूलाई न त तपाईँ चिन्नु नै हुन्छ, न त उनीहरूले तपाईँ लाई नै चिन्छन् l न त उनीहरूले पुराएको योगदानको बारेमा अरू कसैलाई जानकारी वा सरोकार नै छ l तर ती सबै मानिसहरूले आफ्नो हितको निम्ति काम गर्दै गर्दा पनि, मेरो र तपाइको जीवनमा कुनै न कुनै रूपले उपयोगिता सिर्जना गर्न सहयोग पुराई रहेका हुन्छन् l जुन सहयोगलाई बजारले मात्र सम्भव तुल्याउन सक्छ l
माथि उल्लेखित उदाहरणहरूले बजारको महत्त्वलाई दर्साउँदछन् l चिनको अर्थतन्त्र सुधारको निम्ति महत्त्वपूर्ण मानिने Deng Xiaoping को प्रख्यात भनाइ छ “Being Rich is Glorious” अर्थात् धनी हुनु राम्रो कुरा हो l जुन कुरालाई बजारको विकासले नै सुनिश्चित गर्न सक्दछ l संसारमा त्यही सहर तथा देशहरूले आर्थिक प्रगति गर्न सफल भएका छन्, जुन देशको सरकारले बजारको विकासको नीतिलाई प्राथमिकतामा राखी त्यस अनुसारको वातावरण सिर्जना गर्न सफल भएका छन् l सिंगापुर, दुबई तथा हंगकंग यसका ज्वलन्त उदाहरण हुन्, जुन देश तथा सहर मात्र केही दशक अघिसम्म केही नभएको अवस्थाबाट आज आर्थिक रूपमा संसारका सबै भन्दा विकसित ठाउँको रूपमा स्थापित छन् l यस कुराहरूबाट हामीले पनि पाठ सिकेर नेपालमा बजारको विकासको निम्ति गृहकार्य गर्न नितान्त आवश्यक देखिन्छ l