म एउटा साधारण टि-शर्ट हु, म मानिसहरुको आंग ढाक्नुको साथै अन्य प्रायोजनको निम्ति पनि प्रयोग हुन्छु l देख्दामा म साधारण देखिए पनि मेरो बन्ने प्रक्रिया सहज भने अवस्य छैन l मेरो जीवन कथा कपासको खेतिको गर्ने प्रक्रियाबाट सुरु हुन्छ l ५ महिना लगाएर कपास पाकीसकेपछि मेसिन लगाएर मेरो प्रजातिलाई जमिनबाट काटिन्छ, जसलाई प्रसोधनको निम्ति फ्याक्ट्रीमा ढुवानी गरिन्छ l जहाँ धेरै नै महंगा र ठुला मेसिन मेरो निम्ति धागो बनाउन दिनरात लागि परेका हुन्छन् l तयारि धागोलाई थानको कपडामा परिणत गर्नको निम्ति निश्चित ठाउमा पुर्याईन्छ l थानको कपडा तयार भए पश्च्यात थरि थरिका आकर्सक रंगले हामीलाई रन्ग्याइन्छ l यी सबै आफैमा निकै नै जटिल प्रक्रिया हुन्, जसमा ठुलो लगानी र समय खर्च हुन्छ l थानको कपडा तयार भएपछि बजारको मांग अनरुप देश विदेशका बिभिन्न ठाउमा बिक्रीको निम्ति ढुवानी गरिन्छ l
यस्तै थानको कपडा बिक्रि हुने धेरै ठाउ मद्धेको एकटा थोक बिक्रेताको बाट थान कपडा खरिद गरि, मलाई तयारि गर्ने ठाउमा लगिन्छ l
ग्राहक तथा बजारको मांग अनुसार कपडा तयार गर्नु पर्ने हुनाले, मेरो साइज र आकारमा थान कपडा, कटिंग गर्न मास्टर लाइ जिम्मा लगाइन्छ l जसको निम्ति अनुभबी कटिंग मास्टरको जरुरि पर्दछ l थान कपडा मेरो साइजमा कटिंग भै सकेपछि सिलाउन सजिलो होस् भनेर मलाइ भाज लगाएर मिलाइन्छ l यसपछि मलाइ सिलाइ गर्नको लागि ओभरलक् मेसिनको मास्टरको जिम्मा लगाइन्छ, जसले मेरो बाजु पट्टि र घाटीको पट्टिको सिलाइ गर्दछन् l ओभरलकको काम सकी सकेपछि मलाइ लेबल पट्टि सिलाइ गर्नको निम्ति अर्को मास्टरको हातमा जिम्मा लगाइन्छ l त्यहाँको पनि काम सकिएपछि फ्लाटलक सिलाइको निम्ति थप अर्को मास्टरको हातमा पुर्याइन्छ l यी प्रत्येक कारिगडका फरक-फरक काम र विशेषता हुन्छन् l
त्यस पश्च्यात मलाइ सुल्टो बनाइ, म मा भएको अनावस्यक धागोलाइ छाटकाट गरिन्छ र म अब प्रिन्टमा जान तयार भए l मानिसहरुले मलाइ बिभिन्न थरिको प्रिन्टमा रुचाउने हुनाले, मलाइ सुहाउने डिजाइन वा ट्रेसिंग कम्प्युटरबाट निकाली प्रिन्टको काम गर्ने मानिसलाइ जिम्मा लगाइन्छ l प्रिन्टवालाले प्रिन्ट गर्ने डिजाइनको फ्रेम एक्स्पोज गरेर सेट गरे पश्च्यात म माथि प्रिन्ट गर्न थालिन्छ, र त्यो प्रिन्ट सजिलै नउक्कियोस् भनेर फिजिंग मेसिनले उच्च तापक्रममा फिजिंग गरिन्छ l प्रिन्टको काम सकिसकेपछि मलाइ फेरी पोको पारेर मेरो साहुजीको कारखानामा ल्याइन्छ l
मलाइ आकर्सक बनाउन मेरो खुम्चिएको आकारलाई आइरन लगाएर सिधा बनाइन्छ l त्यस पश्च्यात म भित्र कुट हाली प्लास्टिकको र्यापरमा प्याकेजिंग गरेर तयार गरिन्छ l अब म लगभग-लगभग बजार निस्किन तयार भए l सबै जोड घटाउ गरे पश्च्यात साहुजीले मेरो मूल्य १९० रुपैया हुने निर्धारण गर्ने निर्णय गर्दछन् l यति लामो यात्रा र कसरत पश्च्यात जम्मा मेरो मूल्य मात्र १९० रुपैया ? के गर्ने, प्रतिस्पर्धाको बजारमा आफ्नो खुसिले जातिमा समान बेच्न मन लाग्यो त्यतिमा बेच्छु भनेर पनि त हुदैन l
तर मेरो जीवनी यतिकैमा सकिएको छैन l मलाइ मेरो साहुले बेच्न टाडा-टाडा सम्मको बजार लिएर डुल्छन्, कति दोकानमा मोल-मलाइ गर्छन्, कहिँ नगदी बेच्छन् भने कहिँ उधारी l त्यो दिएको उधारी पनि समयमा उठ्ने र सबै उठ्छ भन्ने ग्यारेन्टी हुदैन l कतिले त लगेको सामान मन नपरेर वा बिक्रि नभएर पछि फर्काइ दिन्छन् l यदि उनको बजारमा लगानी फसेर समयमा पैसा उठेन भने, काम गर्ने स्टाफहरुलाई हफ्तावारी दिने खर्च, कामलाइ सुचारु राख्न बजारबाट कपडा उठाउने, बिजुली बत्ती, घर-भाडा तिर्ने, बैंकको ऋण-कर्जा तिर्ने र घर खर्च चलाउने आदि जस्ता सबै काम रोकिन पुग्छ l
मलाइ तयारि अवस्थामा ल्याउने साहुले गरेको ब्यापार बाहिरबाट हेर्दा सजिलो देखिएपनि त्यस भित्रका पिडा उनि बाहेक अरुलाई थाहा छैन l भनेको बेला कहिले कारिगड भेटिदैनन् त कहिले काम गर्नेहरु नआइदिने, कहिले मेसिन बिग्रने त कहिले बिजुलीको अभावमा काम गर्नेहरु त्यसै बस्नुपर्ने स्थिति छदैछ l त्यसमा पनि कटिंग तथा सिलाइ अनि प्रिन्ट बिग्रिएर समान खराब हुने, लुगा मुसाले खाइ दिने, समान बिक्रि नभएर आउट डेट भइ थन्किने वा लगानी पनि नउठ्नेगरि सस्तो मै सल्टाउनु पर्ने समस्या सधै रही रहन्छन् l त्यसमा पनि सरकारले लादेका नीति-नियम लाइ मान्नु पर्ने बाध्यता त छदैछ l
लामो समय अर्काको कपडा बेच्ने यी मानिसले ३ बर्ष अघि ७ लाख रुपैया ऋण लिएर मलाइ तयार गर्ने सानो कारखाना दर्ता गरि आफ्नो उत्पादन सुरु गरेका हुन् l ब्यापार नाफा कमाउने माध्यम मात्र नभएकोले, आज उनको टाउकोमा झन्डै साढे १५ लाखको ऋणको भार छ l तरपनि उनले हरेस खाएका छैनन् l उनलाई आशा छ, म एकदिन उनि र उनको ब्यापारलाइ अवस्य साथ दिनेछु l यहि आशाले नै उनले मेरो साथ छोडेका छैनन् l
मलाइ तयार गर्न मद्दत पुर्याउने साहुले, ऋण लिएर लगानी गर्ने जोखिम लिएकै कारण कसैले रोजगारी पाएका छन् र उनीहरुको घरको चुलो बलि रहेको छ l यसले अन्तत राज्यले बोक्नुपर्ने भारलाइ केहि हदसम्म भएपनि कम गरिदिएको छ l बजारमा निम्न आय भएका मानिसहरुले समेत थोरै पैसामा आफ्नो आंग ढाक्न पाएका छन्, जसले समाजका धेरै मानिसहरुको जीवनमा उपयोगिता सिर्जना गरेको छ l राज्यले थोरै नै भएपनि जनहितको कार्य गर्नको निम्ति राजस्व संकलन गर्न पाएको छ l त्यति मात्र नभएर कुट, धागो, कपडा, मेसिन, रंग, सवारी साधन वा भनौ यो कामसंग सम्बन्ध राख्ने अन्य धेरै किसिमका ब्यापारहरुलाइ पनि संचालन गर्न त्यतिनै टेवा पुर्याएको छ l
फेरिपनि म दोर्ह्याउछु, देख्दा म एउटा साधारण टि-शर्ट हु, तर म साधारण भने अवस्य हैन l किनकी मलाइ बनाउन संसारको कुनैपनि एकजना मानिसले सक्दैन l मलाई तयार गर्नको निम्ति संसारभरीका धेरै मानिस लगायत मेसिनहरुको हात रहेको छ भन्ने कुरा तपाइले थाहा पाइसक्नु भएको छ l जुन मानिसहरुलाइ न त तपाइँ चिन्नु नै हुन्छ l न त उसले पुर्याएको योगदानको बारेमा तपाईलाई जानकारी वा सरोकार नै छ l तरपनि ति सबै मानिसहरुले आफ्नो हितको निम्ति काम गर्दैगर्दा पनि, मेरो र तपाइको जीवनमा कुनै न कुनै रुपले उपयोगिता सिर्जना गरि रहेका हुन्छन् l त्यसैले म साधारण देखिएपनि मेरो निर्माण चक्रलाइ कम आक्न भने मिल्दैन l
यो नै उद्यम र ब्यापारको सौन्दर्य हो l यसका आफ्नै अफ्ट्यारा र चुनौती हरु छन्, तरपनि कुनै पनि देश र समाजको आवस्यकता पुरा गर्ने, उत्पादन, रोजगारी र आर्थिक समृद्धिलाइ सुनिस्चित गर्ने यो नै उपयुक्त बिकल्प हो l त्यसै कारण पनि नेपाली समाजले उद्यम, ब्यापार तथा व्यवसाय प्रति सकारात्मक नजरिया अपनाउन जरुरि छ l साथै राज्यले उद्यम र ब्यापार फस्टाउने बाताबरण तथा आर्थिक नीतिहरु अवलम्बन गरि अघि बढ्न नितान्त आवस्यक छ l