“आजसम्म मागेर आजसम्म कुनै देश धनी भएको छैन, उद्यम र व्यापारलाइ प्रोत्साहन गरेर कुनै देश गरिब भएको छैन l” त्यसैले मागेर परनिर्भर अनि गरिब रहिरहने कि, व्यापार र उद्यमलाई प्रोत्साहन गरि स्व: निर्भर र समृद्ध हुने भन्ने प्रस्न महत्वपूर्ण छ l
यदि NGO/INGO र Volunteer हरुले मात्रै कुनै देश र समाजलाइ समृद्ध बनाउन सहयोग गर्ने थिए भने, अफ्रिकी र नेपाल जस्ता देशहरु संसारका सबै भन्दा धनि देश हुनु पर्ने हो, तर परिस्थिति ठिक उल्टो देखिन्छ l
वैदेशिक सहयोग वा अनुदान नेपाल जस्तो अविकसित मुलुकको निम्ति धेरै समस्या समाधान गर्नको निम्ति आवश्यक देखिए पनि, नेपाली समाजमा यसको प्रभावकारिता र यसले निम्त्याएको परिणामलाई नियाल्दा, त्यति चित्त बुझाउन सक्ने अवस्था देखिँदैन l
यसै कारणले नै होला, वैदेशिक सहयोग वा अनुदानले धेरै नेपाली नागरिकहरूको मन्मस्तिस्कमा नकारात्मक छाप छोड्न पुगेको छ l
अवस्था यति सम्म भएको छ कि, आज बैदेशिक सहयोग गालिको पर्यायवाची बन्न पुगेको छ l कसैलाई बदनाम गर्नु पर्यो भने, उसलाई डलरवादीको ट्याग लगाइदिए पुग्ने अवस्था छ, चाहे त्यो व्यक्ति वा संस्थाले राम्रो नै काम गरेको किन नहोस् l
वैदेशिक सहयोगका राम्रा तथा नराम्रा दुवै पाटा रहेका छन् l यसले नेपाली समाजको शिक्षा, स्वास्थ्य, खानेपानी आदि जस्ता धेरै समस्याहरूलाई समाधान गर्नको निम्ति महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ भने, हामीलाई परनिर्भरताको स्थितिमा ढकेकी नेपालको सार्वभौममाथि बाह्य शक्तिहरूको हस्तक्षेपलाई निम्त्याएको छ l
देशको बजेट बनाउदा समेत यति रकम बैदेशिक सहयोग प्राप्त होला, भन्ने अनुमानका साथ बजेट बनाइनु पर्ने बाध्यताले पनि नेपाल जस्तो अविकसित मुलुकमा वैदेशिक सहयोग र अनुदान माथि कति निर्भरता छ भन्ने कुरा दर्साउदछ l
स्थिति यहाँसम्म छ कि, यदि कसैले हामीलाई वैदेशिक सहयोग वा अनुदान नदिने भने हामी मद्धे धेरै नेपालीलाई पोलियो र हाति पाइले जस्ता धेरै रोगको सङ्क्रमण देखिने सम्भावना रहने छ l यसर्थमा वैदेशिक सहयोग र अनुदानलाई धेरै धेरै धन्यवाद छ l
तर जसरी एउटा बच्चा आफ्नो खुट्टामा उभिन नसकेको अवस्थामा अरूको सहारा लिन्छ र आफ्नो खुट्टामा उभिन सकेको दिन अरुको हातको सहारा छोडीदिन्छ, बैदेशिक सहयोगको भूमिका पनि त्यस्तै हुनु पर्दछ l तर हामी नेपालीहरुले अरुको शाहारामा नै आश्रित हुने मनसाय बनाएको देखिन्छ l
यस कुरामा दुइमत छैन कि, दोस्रो विश्व युद्ध ताका तहस नहस भएको युरोपले पनि मार्सल प्लान मार्फत वैदेशिक आर्थिक सहयोग लिएर तन्ग्रिएको थियो l
तर आर्थिक सहयोग पाएकै भरमा देश धनी हुन्छ भनेर सोच्नु कोरा कल्पना मात्र हुनेछ l
यदि आर्थिक सहयोग कै भरमा देश धनी हुने थियो भने आज नेपाल लगायत धेरै अफ्रिकी देशहरू संसारका सबैभन्दा धनी हुनुपर्ने हो, किनकि यी देशहरूले त्यति धेरै आर्थिक सहयोग प्राप्त गरेका छन्, तर यी देशहरू आज पनि आर्थिक पछौटेपनको अवस्थामा छन् l
कुनै पनि देशले पाएको आर्थिक सहयोगलाई त्यो देशको सरकार र नागरिकहरूले कसरी र केमा सदुपयोग गर्दछन् र कसको हातमा त्यो सहयोग पर्न जान्छ भन्ने कुराले आर्थिक सहयोग वा अनुदानको उपयोगितालाई प्रमाणिकरण गर्दछ l
दोस्रो विश्व युद्ध पछि युरोपले पाएको आर्थिक सहयोगलाई पुनर्निर्माणमा सदुपयोग गरी, उद्यम र बजारको विकासको निम्ति आवस्यक पर्ने नीति-नियम र संरचना तर्फ ध्यान पुर्याई आजको स्थितिमा आइपुगे भने, साधन श्रोतले भरिपूर्ण नेपाल तथा अफ्रिकी मुलुकहरूले पाएको सहयोग र अनुदानलाई पनि उचित तवरले खर्च नगरेर सधैँ अरूको मुख ताकेर बस्नुपर्ने अवस्था निम्तियो l
अझ भन्ने हो भने त्यो अनुदान र सहयोग लाभान्वित वर्गसम्म नपुगी यी देशका शासक र तिनका आफन्त र स्वार्थ समूहहरूको हातमा पर्न गई, उनीहरूको भ्रष्ट सत्तालाई संरक्षण गर्न, र उनीहरूको भरण-पोषण गर्ने साधन बन्न पुगेको अवस्था छ l
निसन्देह पनि, यदि कसैले केही कुरा दिन्छ भने उसको त्यसमा केही स्वार्थ अवश्य लुकेको हुन्छ, केही दिए बापत सकेसम्म उसले आफ्नो निहित स्वार्थलाई अघि बढाउँछ वा बढाउन खोज्छ l यही सवाल वैदेशिक सहयोग र अनुदानको विषयमा पनि लागु हुन्छ l
तर अरु संग सहयोग लिने नाममा कतिसम्म तल झरेर उनीहरुको सर्त मान्ने भन्ने कुरा सहयोग लिने मानिस वा देशको निर्णयमा भर पर्दछ l
एउटा भनाइ छ कि “कसैलेपनि कसैको अनुमति बिना उसलाई हीनताबोध गराउन सक्दैन” l यदि हामीले आज वैदेशिक सहयोग लिँदा कसैको थिचोमिचो वा अनावश्यक दखलान्दाजी सहनु परेको अवस्था छ भने, त्यसमा हाम्रो निर्णय प्रक्रियामा पनि त्रुटि हुनसक्छ l
यदि हामी अनुदान र वैदेशिक सहयोगको भरमा बाच्न चाहन्छौ भने त्यसले हामीलाई अरूमाथि आश्रित बनाइ उनीहरूको सर्त मान्न र थिचोमिचो सहन बाध्य बनाइ रहने कुरा निश्चित छ l यदि हामी यो अवस्थाबाट उम्कन चाहन्छौ भने, हामीले अनुदान र सहयोगको अपेक्षा नगरेर, स्वदेशमै व्यापार-व्यवसाय र उद्यमको निम्ति उचित वातावरण तयार गरी धेरै भन्दा धेरै रोजगारी र उत्पादन गर्न तर्फ ध्यान पुर्याउन नितान्त आवश्यक छ l मागेर आजसम्म कुनै पनि देश धनी भएको छैन भने उद्यम र व्यापार गरेर आजसम्म कुनै पनि देश गरिब भएको इतिहास छैन l
अफ्रिकाका धेरै देश लगायत नेपाल आर्थिक रूपमा गरिब हुन पुग्यो, किनकि यी देशहरूले व्यापार नगरेर माग्नमा रमाउन थाले, जबकि अन्य विकसित देशहरूले उद्यम र व्यापारको महत्त्वलाई बुझी आफ्ना नीति, कार्यक्रम, समय तथा श्रोतहरू त्यसलाई बढवा दिने कार्यको निम्ति परिचालन गरे l मज्जा माग्नमा हैन दिनमा हुन्छ l माग्दा आत्म-स्वाभिमान गिर्छ भने दिँदा आत्मसम्मान उच्च हुन्छ l
नेपालले सन् १९५० को दशक देखि हालसम्म ठुलो परिमाणमा वैदेशिक सहयोग र अनुदान भित्र्याई सकेको भए पनि, त्यसले उल्लेखनीय रूपमा आम नेपालीहरूको जीवनमा परिवर्तनको आभास दिलाउन सकेको अवस्था भने छैन l जसकारण हामीमा यसप्रति एक किसिमको वितृष्णा छ l
बैदेशिक सहयोग तथा अनुदान लिनु नराम्रो होइन, तर सहयोगको प्रायोजन गलत हुनुभएन र पैसा असल हुनुपर्यो l आज हामी नेपालीहरूले आफू सक्षम नभएको अवस्थासम्म पाएको वैदेशिक सहयोग र अनुदानलाई सदुपयोग गरी अघि बढ्ने, तर देशले अँगाली राखेको मगन्ते नीतिलाई त्यागी उद्यम, ब्यापार-व्यावसाय फस्टाउने नीति तथा कार्यक्रम अवलम्बन गरि अघि बढ्नुपर्ने अवस्यक्ता देखिन्छ l
साथै बैदेशिक सहयोगको उदेश्यपनि, मानिसहरुलाइ परनिर्भरता तर्फ धकेल्ने भन्दापनि उनिहरुलाइ सवल, सक्षम र स्वनिर्भरता तर्फ बढाउन मद्दत गर्ने किसिमको हुनुपर्दछ l