मानिस जन्मँदै स्वतन्त्र प्राणी भएकोले उसको जीवनमा स्वतन्त्रताले ठुलो महत्त्व राख्दछ l हरेक मानिस भित्र स्वतन्त्रताको चाहना रहेको हुन्छ र यो कुरा उसलाई प्यारो हुन्छ ।
मानिस कुनै पनि किसिमको दासत्व अनि गुलामीबाट बच्न चाहन्छ र स्वतन्त्रतामा नै मानिसको सर्वाङ्ग विकास सम्भव छ । सायद त्यसैले Patrick Henry भन्दछन्, Give me liberty, or give me death! अर्थात्, या त मलाइ स्वतन्त्रता देउ, नत्र मृत्यु” ।
संसारमा नविनतम सोच र आवस्कार त्यहि ठाउमा सम्भब भएको छ, जुन ठाउमा व्यक्तिको स्वतन्त्रता र अधिकारलाइ सुनिस्चित गरिएको छ । यदि मानिसको स्वतन्त्रपुर्वक बाच्न पाउने अधिकार लाइ कुण्ठित गरिदिने हो भने, उसको विकासको क्रममा बाधा-अवरोध पुग्ने निश्चित छ । यसै कारण संसारमा अधिकांश ठुला-ठुला परिवर्तनहरू गुलामी र दासत्वबाट मुक्ति पाउनको निम्ति नै गरिएको पाइन्छ ।
तर स्वतन्त्रतासंग जिम्मेवारी जोडिएको हुन्छ, जसको सिमा हुन्छ र सबैले स्विकार्नु पर्दछ । Oliver Wendell Holmes भन्छन्, मेरो हात हल्लाउने अधिकार त्यहाँ गएर समाप्त हुन्छ, जहाँबाट तपाइको नाकको दाड़ी सुरु हुन्छ ।
मानिसको जीवन, स्वतन्त्रता र सम्पत्ति माथिको नैसर्गिक अधिकार खोस्ने अधिकार कोही सँग पनि हुँदैन । किनकि जीवन मानिसले प्रकृतिबाट प्राप्त गर्दछ । मानिसले आमा-बुवाको माध्यमले संसार देखेपनि, उसको शारीरिक तथा मानसिक बनोट तयार गर्ने कुरामा आमा-बुवाको कुनै पनि हात हुँदैन, त्यसैले अरूलाई त परै जाओस्, स्वयम् आफ्नो बाबु-आमालाई समेत छोरा-छोरीको जीवन खोस्ने अधिकार हुँदैन ।
स्वतन्त्रता मानिसले आफ्नो शरीर सँगै लिएर जन्मने कुरा हो । स्वतन्त्र रूपले हिँड्न पाउने, बोल्न पाउने, लेख्न पाउने, आफूले इछ्याएको काम गर्न पाउने आदि जस्ता अधिकार मानिसको शरीर र बिचारसँग सम्बन्धित रहेको कारण, ब्याक्तिको यी अधिकारलाई खोस्ने अधिकार त्यो अवस्था सम्म कोहिसंग हुँदैन, जबसम्म उसले अरूको अधिकारमा दखल पुर्याउने कुनै किसिमको कार्य गर्दैन ।
बाच्नको निम्ति व्यक्तिलाई आर्थिक क्रियाकलाप नगरी धर छैन । जसका निम्ति उसले आफ्ना दिमाग तथा हात-खुट्टाको प्रयोग गरी, जीविकोपार्जन र सम्पत्ति आर्जन गर्न आवस्यक पर्दछ ।
मानिस स्वभावैले सम्पत्ति सङ्ग्रह गर्ने प्राणी भएकोले, व्यक्तिले आफ्नो दिमाग, हातखुट्टा र श्रमको उपयोग गरी सम्पत्ति आर्जन गरेको खण्डमा, त्यो व्यक्तिगत सम्पत्ति हुन पुग्छ, जसको रक्षा हुन आवस्यक छ । कानुनी राज्यमा व्यक्तिको सहमति बिना उसको सम्पत्ति खोस्ने वा बलजफ्ती गर्ने अधिकार अरू कसैलाई हुँदैन ।
बलिया र सक्षमहरूबाट कमजोर र असाहयहरुको सम्पत्ति र अधिकारको रक्षा गर्ने हेतुले राज्यको उत्पत्ति अनिवार्य भएको हो । व्यक्तिले आफ्ना अझ बढी अधिकार सुनिश्चित गर्ने उदेश्यले, आफ्ना केही अधिकार राज्यलाइ सुम्पिएर, अरूबाट आफ्नो जिउ-धन माथि हुनसक्ने सम्भावित आक्रमणबाट बच्न, र आफ्नो अधिकारको रक्षाको निम्ति कानुन र सुरक्षा निकायको व्यवस्था गर्न कर तिर्ने मन्जुरी जनाएको हो ।
यस दृस्टीकोणबाट हेर्ने हो भने राज्यले व्यक्तिको निर्माण गरेको नभएर, व्यक्तिले आफ्नो अधिकार सुनिश्चित गर्नको निम्ति राज्य तथा यिनका निकायको स्थापना गरेका हुन् l जसकारण राज्यको प्रमुख दाइत्व नागरिकहरूको व्यक्तिगत अधिकार र जिउधनको रक्षा गर्नु हो l
आजसम्मको मानव इतिहासमा जति पनि विकास सम्भव भएको छ, त्यो व्यक्तिको योगदानले गर्दा नै सम्भव भएको छ । व्यक्तिको योगदान बिना कुनै पनि सङ्गीत, कला, साहित्य वा आविष्कार सम्भव भएको छैन । व्यक्तिले मात्र सोच्न सक्छ, व्यक्तिले मात्र कल्पना गर्न सक्छ, व्यक्ति मात्रले नै सिर्जना गर्न सक्छ । त्यो व्यक्ति नै हो जसले आफ्नो कल्पना र आविष्कारको माध्यमद्वारा समाजलाई अगाडी बढाउन निरन्तर भूमिका खेल्दछ ।
व्यक्तिको योगदान बिना संसार आजको अवस्थामा आइपुग्न सक्ने थिएन । समाज भन्नु नै व्यक्तिहरूको जोड हो । साचो अर्थमा समाज एउटा अवधारणा हो भने व्यक्ति यथार्थ हो । व्यक्तिहरूले नै समाज र राज्यको निर्माण गर्दछन् । त्यसैले समाजमा व्यक्तिको सम्भावना र स्वतन्त्रतालाई दमन र नियन्त्रण गरी, समाज र राष्ट्रको प्रगतिको कामना गर्न सम्भब छैन ।
व्यक्तिको प्रगति बिना कुनै पनि समाजको प्रगति सम्भव छैन । व्यक्तिको हितसँगै समाजको पनि हित सम्भव छ । जबसम्म व्यक्तिको राजनीतिक, सामाजिक, आर्थिक, धार्मिक र व्यक्तिगत स्वतन्त्रता सुनिश्चित हुँदैन, तबसम्म उसको सर्वान्गीय विकास सम्भव छैन । यी उल्लिखित स्वतन्त्रताहरू कुण्ठित गरिएको खण्डमा व्यक्ति पङ्गु हुन पुग्दछ, जसले अन्ततः समाज र राष्ट्रको हित अवश्य गर्ने छैन ।
हाम्रो स्वतन्त्रता प्रतिको बुझाइ त्यति स्पष्ट छैन । हामीले स्वतन्त्रतालाई स्वछन्दतासंग तुलना गरेर हेर्ने गरेका छौ । स्वतन्त्रताको अर्थ जसलाई जे मन लाग्यो त्यही गर्न पाउने कुरा अवश्य होइन । स्वतन्त्रतासँग व्यक्तिको अधिकार, र उसले निर्वाह गर्नुपर्ने जिम्मेवारी जोडिएर आएको हुन्छ । अधिकार उसले गर्न पाउने कुरासँग सम्बन्ध राख्दछ, भने जिम्मेवारी व्यक्तिले निर्वाह गर्नुपर्ने दाइत्वसंग सरोकार राख्दछ ।
व्यक्तिगत स्वतन्त्रताको मर्म भनेको, अरूको अधिकार र स्वतन्त्रतामा दखल नपुर्याई आफूलाई इच्छा लागेको कुरा गर्न पाउने अधिकारको अवस्था हो । व्यक्तिको हात हल्लाउन अधिकार हुन्छ, तर उसको हातले अरूलाई चोट लाग्नु हुँदैन । हात हल्लाउन पाउने व्यक्तिको अधिकार हो, तर उसले हात हल्लाउँदा अरूलाई नलागोस् भनेर सचेत रहनुपर्ने उसको जिम्मेवारी हो ।
हरेक स्वतन्त्रताको सीमा हुन्छ, जसको परिधि भित्र रहेर व्यक्तिले आफ्नो स्वतन्त्रताको उपयोग गर्न पाउँदछ l जबसम्म व्यक्तिले आफ्नो अधिकारको सीमा पार गरी, अरूको अधिकारको दायरामा दखल पुर्याउदैन, तबसम्म उसले आफ्नो अधिकारको प्रयोग गर्न पाउनु पर्दछ ।
तर जब उसले आफ्नो अधिकारको सीमा नाघेर अरूको अधिकारमाथि आक्रमण गर्दछ, तब पीडितलाई न्याय दिलाउन र पीडकलाई सजायको भागीदार बनाउन, प्रभावकारी कानुन नितान्त आवश्यक हुन्छ आउँछ l जसले नागरिकहरूको अधिकारको रक्षा गरी समाजमा शान्ति स्थापना गर्नको निम्ति महत्त्वपूर्ण भूमिका खेल्दछ ।
राज्यको नीति नियम र कानुनलाइ पालना गर्नुपर्ने दायित्व हरेक नागरिक को हो। तर ति नीति-नियम र कानुन व्यक्तिको जीवनलाई प्रताडित गर्नको निम्ति नभएर, उनीहरुको जीवनलाई सहज बनाउने तथा अधिकार र स्वतन्त्रताको रक्षा गर्न सहयोग गर्ने किसिमको हुनुपर्दछ।
नेपाली समाजको परिपेक्क्षमा व्यक्तिगत स्वतन्त्रताको स्थिति त्यति सन्तोषजनक छैन । हाम्रो सामाजिक संरचना, गरिबी र असिक्षाको कारण आज पनि अधिकांश हामी नेपालीलाई व्यक्तिगत स्वतन्त्रताको सवालमा त्यति धेरै चासो र सचेतना भएको अवस्था देखिँदैन । समाजको हितको निम्ति व्यक्तिको चाहना र अधिकारलाई तिलान्जली दिन सकिन्छ भन्ने हामी मद्धे धेरैको मान्यता रही आएको छ । जबकी व्यक्तिको हितमा नै समाजको हित सम्भव छ ।
लुडविग वॉन मिसेस भन्दछन् “यदि कोही व्यक्ति पानी नपिएर रक्सी पिउँदछ र खुसी हुन चाहन्छ भने, सजिलै भन्न सकिन्छ कि उसले गलत काम गरिरहेको छ । बुद्धिमानी मानिसले त्यसो गर्नेछैन । तर पनि यदि उ त्यसमै रमाउन चाहन्छ भने, त्यो उसको समस्या हो मेरो होइन” । यसको अर्थ उमेर पुगेको व्यक्ति आफूले लिएको निर्णय प्रति आफै जिम्मेवार हुन्छ । त्यस निर्णयबाट आउने सही वा गलत परिणामको भागिदार पनि स्वयं उ नै हुन्छ । उसको निर्णयको लागि उ बाहेक अन्य व्यक्ति जिम्मेवार हुँदैन, वा अरूलाई जिम्मेवार ठहर्याउन सकिन्न ।
व्यक्तिसँग सही र गलत दुवै किसिमको निर्णय लिन सक्ने क्षमता हुन्छ भने, दुवै किसिमको अधिकार पनि । यदि मानिससँग सही छनौट र निर्णय गर्ने अधिकार हुने, तर गलत निर्णय र छनौट लिने अधिकार नदिने हो भने, त्यो स्वतन्त्रता नभएर एक प्रकारको दासत्व नै हो ।
व्यक्तिले गलत निर्णय लिएको अवस्थामा, अन्य व्यक्तिले उसको हितको निम्ति उचित सल्लाह सुझाव दिन सक्दछन्, तर उसलाई यो नै गर भनेर बाध्य बनाउन भने मिल्दैन । कुनै पनि मानिसलाई नैतिकता, समाज, नीति-नियम र कानुनको आडमा, उसले इच्छाएको काम गर्नबाट वञ्चित गर्न सकिन्छ, तर यसले उसको छनौट र व्यक्तिगत स्वतन्त्रताको अधिकारलाई कुण्ठित गरिदिन्छ।
एउटा उमेर पुगेको मानिसले के खाने, के हेर्ने, के गर्ने, के लगाउने, कस्तो हाउभाउ बनाउने, को सँग हिँड्ने, को सँग बस्ने, को सँग प्रेम र विवाह गर्ने, कुन धर्म अपनाउने आदि जस्ता विषयहरू नितान्त व्यक्तिगत छनौट र स्वतन्त्रताका विषय हुन्।
जबसम्म उसको आचरण र ब्यावहारले अरूको व्यक्तिगत स्वतन्त्रता र अधिकार माथि दखल पुर्याउदैन, तबसम्म समाजका अन्य मानिसहरूको टाउको दुखाइको विषय हुनु हुदैन भन्ने मान्यतामा म विश्वास गर्दछु ।
हो उसको व्यवहारले अरूको अधिकारमाथि असर पुर्याएको खण्डमा, उसलाई अवश्य सजायको भागीदार बनाइनु पर्दछ । अन्यथा समाजले भिड, नैतिकता, नीति, नियम र कानुनको आड लिएर, व्यक्तिमा आत्म ग्लानि र हिनताबोधको स्थिति सिर्जना गरी, उसको व्यक्तिगत चाहाना, स्वतन्त्रता र अधिकारलाई कुण्ठित गर्नु अनैतिक ठहरिन्छ ।
मानिसको आर्थिक, सामाजिक, राजनीतिक र हरेक किसिमको विकास उसको स्वतन्त्रतामा नै सम्भव भएको कारण, समाजमा व्यक्तिगत स्वतन्त्रता बारे छलफल चलाउन नितान्त आवश्यक देखिन्छ ।