सरकार नमस्कार,
म जनता । यता आराम छैन । त्यताको खबर सोधिरहन आवश्यक छैन । चोकका अखबार पसल भरी, घर घरका टि.भी. च्यानल भरी तिम्रा खबर छ्यापछ्याप्ती छन् । सायद म तिम्रा बारे तिमी भन्दा पनि धेरै जानकार छु सरकार ! तिमी आराम छौ ।
मेरा हजुरबाले तिम्रै आगमनका लागि २००७ साल मै झण्डा बोकेका रे । मेरी बज्यैले आफ्नो नागरिकता नै २०३७ को जनमत संग्रहमा बहुदलका नाममा भोट हाल्न बनाएकी रे । तिम्रो मेरो सम्बन्ध पुरानै छ । त्यसैले त यो चिठी लेख्ने अधिकार पाएकी छु ।
मेरा माईजुहरु काकाकहरु तिम्रै खातिरदारीमा केही प्रहरी त केही लडाकु बनेर दश बर्षे जनयुद्धमा लडेका थिए । आज तिनै देशका नाममा ज्यान दिने का अनाथ सन्तान,मेरा भाई भतिजीका मनमा देशप्रेम जगाउन असक्षम छु । म एक आम जनता ।
२०६२/६३ का राँके जुलुस र सहिद बडाबा को चिता एकैसाथ जलेका थिए । नानी “बलिदानको आगोले कालजयी उज्यालो छरीरहन्छ । यो उज्यालो हाम्रालागी हो,तिम्रालागी , तिम्रा सन्तान दरसन्तानका लागी हो । बडिमाका आँखामा आसु भए पनि शब्दमा पिडा होइन विश्वास थियो त्यो दिन।
तिनै बडिमा आज पछ्यौराले मुख छोप्दै सार्बजनिक बसमा उभिएर एकल महिलाको भत्ता थाप्न जाँदै छिन्। स्मार्ट लकडाउन , जोर बिजोर प्रणाली,बसभरी खचाखच मान्छे अनि बजारमा मास्कको अभाव!यो समेत गरी तीन पटक भयो उनी धाएको। सुरुमा ‘सही गर्ने हाकिम छुट्टीमा छन्’ भन्ने जवाफ साथ फर्काइयो उनलाई अनि दोस्रो पटक ‘आजलाई पैसा सकियो ’ भन्ने जवाफ साथ फर्काइयो ।
बडाबाले फैलाएको त्यो उज्याल्योमा आज राज्यका मन्त्रीहरुको कुर्सी टल्किरहेछ । मेरी बडिमा अझै छायाँमा छिन्। ‘श्रीमान गम्भीर नेपाली’ अरुका सामुन्ने गाउन लगाए पनि भरे घरमा बुवाले ‘गाउछ गीत नेपाली’ नै हाम्रो राष्ट्रिय गान हो भनि सिकाउनु हुन्थ्यो।
आज बुबा बिहानका पत्रिकाका अक्षर भरी आफुहरुले जीतेको गणतन्त्र र देश प्रेम खोजिरहनु हुन्छ । कतै रक्सीका बोतलको प्रचार त कतै भ्रष्ट्र्राचारका समाचारले पत्रिका भरिएको छ।त्यसैमा घोत्लिदै हरेक बिहान बुबा आफुले जेलमा बिताएका चिसा रात सम्झिरहनु हुन्छ,बाटामा लगाएका चर्का नारा र खाएका भाटा सम्झनु हुन्छ,आफुहरुले जितेको गणतन्त्रको अभ्यास खोजिरहनु हुन्छ ।
पोहोर कोरोनाले आमा बित्नुभयो । यहाँ ज्वरो बढ्दा पहिलो आवश्यकता औषधी होइन पैसा बन्ने रहेछ । कोरोना बिमा हामीले पनि गरेकै थियौँ । तर हस्पिटलको इमरजेन्सीमा पैसा बुझाउने समय ३ घण्टा, कोरोना बिमाबाट पैसा भुक्तान हुने समय ३ महिना।आमा बित्नुभयो।लस्करै आमासँग अरु १० वटा लास प्रहरीले सदगद गरिदियो।हामी सबै केहि पर बसी कोरोना बिमाको कागज हातमा बोकेर सरकारले दिएको सेवा टुलुटुलु हेरीरह्यौँ । सदगद को सेवा !
आज स्मार्ट लकडाउन छ।खाने चामल त छ तर दाल तरकारी किन्ने पैसाले भर्खरै घरमा इन्टरनेट जोडेका छौँ, छोरा छोरीको स्कुल अनलाइन छ।विद्यालयले बच्चा निकाल्ने धम्की दिएपछि दुई वटा स्मार्ट फोन पनि रीन गरेर किनेका छौँ । त्यही रिन तिर्न भएपनि टेलर खोल्नुपर्यो ।पेशाले म दर्जी ।
आज स्मार्ट फोनमा अनालाइन कक्षा लिनुका साटो छोरालाई चोकमा प्रहरी हेर्न राख्नुपरेको छ। छेवैको चिया पसले र अगाडि ठेलामा मकै पोल्ने दिदीले पनि आफ्ना बच्चालाई मेरो छोरा झैँ काममा लगाएका छन् । हाम्रो व्यापार सरकारको ‘अति आवश्यक व्यापार ’को सूचिमा परेन रे । तर हाम्रा भोका पेटका लागि त यो भन्दा आवश्यक अरु के छ र ?
सरकार,तिमीलाई मैले/हामीले जहिल्यै दिएकै त छौँ । मैले हरेक महिना / वर्ष दिएको कर, बेला बखत दिएका भोटहरु,मेरा बा आमाको जवानी,मेरा बडाबाहरुको ज्यान लगायतका वापत मेरो / हाम्रो माग धेरै छैन। मेरा बाल बच्चा तिमीले पालिदिनु पर्दैन,न त मलाई खान दिनै पर्छ । म एक आम जनता, म सक्षम छु । बस् गरी खाने माहोल देउ सरकार !
कहाँ चुक्यो हामी आम जनताले , हाम्रा बा आमाले जितेको गणतन्त्र ?
राजनैतिक धरातलको पाटो बलियो बनाउन खोज्दा खोज्दै आर्थिक सामाजिक धरातलमा चुक्यो गणतन्त्र ।
१.अधुरो मार्कसवाद :
मार्कसको सिद्धान्त अनुसार पेटमा मार परेकाको झुण्ड बन्यो / बनायौँ । त्यही झुण्डको भरमा राजतन्त्र पनि फाल्यौँ तर अर्थमा आधारित सत्ता संरचना फुटाउन सकिएन। यता पुराना बुर्जुवा फालेर खाली पारेका कुर्सीमा फेरी नयाँ बुर्जुवा बस्न थाले उता भोका पेटहरुले हरेस खाए। झुण्ड तितर बितर भयो।आफ्नो भोक चपाउदै कोही विदेश पसे कोहि गाउँ पसे अनि सहरमा बाँकी भोकाहरु आसे पासे बन्दै तिनै बुर्जुवाका खल्ति तिर पसे, कार्यकर्ता बनेर ।
२.उदारवादको लहर र चपेटा :
रुख नै उडाउला झैँ गरी हावा चल्दा हाँगाहरु भाचिन्छन् तर हावासँगै लतक्क निहुरीएर घाँस बाच्न सक्छ । यही कुराको सिको गर्दै विश्वमा चलेको उदारवादको लहरसँगै विश्व बैँङ्क लगायत दातृ निकायका कुरा मानी हामीले देशमा कागजी उदारवाद भित्र्यायौँ ।
कुनैपनि प्रणाली लागु गर्न कागजका दुई अक्षर र त्यसमा राजा र मन्त्रीका हस्ताक्षर मात्रले पुग्दैन , सो अनुरुपका संरचना विकास गर्नुपर्छ। उदारवादको मौखिक लहर आए पनि व्यवहारमा,कानुन,सरकारी कार्यलय र त्यहाँ काम गर्ने कर्मचारीका मगजमा अतिक्रमणकारी स्वभाव नै कायम रह्यो। जङ्गलमा बिस्तारै आफैँ फस्टाउदै गरेको फूलमा सहरी किटनाशक हालेझैँ भयो नेपालका लागि त्यो बेलाको उदारवाद ।
उदारवाद पुजिवादमा विकास हुने क्रममा पुरानो नोकर–मालिक सम्बन्ध नयाँ संयन्त्र भित्र छिरीसकेको थियो। गाउँ,सहर ,चौतारा,राजनिती, शिक्षा सबैतिर खोक्रो पुँजिवाद छिर्यो । पहिला देश विकासको नारामा सरिक हाम्रा बा आमा जस्ताको समुह आर्थिक आवश्यकताको झापड खाँदै देशप्रेम पोको पारेर घर फर्किए ।
हरेक प्रणालीको आफ्नै अनुशासन हुन्छ। यो आजको सरकारले बुझेको छैन । आजको सरकारले कागजमा ‘उदारवाद ’ छापेर व्यवहारमा ‘अतिक्रमणवाद’ देखाई जनता सामु ‘समाजवादको’ आस्वासन दिनु नै मुख्य समस्या हो ।
३.जनताका आवश्यकता र राष्ट्रिय योजना बिचको तालमेल :
विश्वको लहर पछ्याउनु बुद्धिमानी नै हो तर आफ्नो आवश्यकतालाई भुलेर अरुको सिको गर्नु मुर्खता । वर्षातमा भिजेर चिसो हुदा सुरुमा घरमा छानो हाल्नु पर्छ । छानो हाल्नुको साटो अरुका न्याना कपडा हेर्दै जाडो भयो भन्दै ज्याकेट किन्नु मुर्खता हो।
छिमेकीले शैन्य शक्तिमा लगानि गर्यो भन्दै आधा जनता भोकमरीमा रहदा, आधा जनता अशिक्षीत रहदा उनीहरुको पेट भर्नु र शिक्षा दिनुका साटो करोडौँ खर्चेर सुडानबाट शैन्य उपकरण ल्याइयो। भ्रष्टाचार भयो, हामीसँग तीनको चेक जाँचगर्ने शिक्षीत टेक्निसियन भएन। अर्काले खिया लागेका टिनका बाकस बेचेर पैसा लग्यो ।
सुरुमा त आफ्नो आवश्यकताको पहिचान भएन,त्यस पछि आफ्नो हैसीयतको पनि हेक्का भएन।शैन्य उपकरणका बारे केहि नजानेकाहरुलाई अवलोकन र चेकजाँचमा पठाइयो।अरुका लहैलहैमा अरबौ डुब्यो। घरको छानो चुहीरह्यो, नयाँ ज्याकेट लगाएका जनता भिजीरहे चिसो भैरह्यो।
४. शासन प्रणाली नयाँ भए पनि शक्ति सम्बन्ध पुरानै :
एक आम जनता राणा कालमा भारदार, द्वारे लगायत देख्दा डराउथ्यो। ऊ आज पनि प्रहरी देखेर डराउछ । आज एक आम जनतामा एक बर्दिवाला प्रहरीसँग भन्दा धेरै अधिकार छ, त्यही पनि उ प्रहरीसामु डराउछ, बिना कारण एक झापड खाए पनि चुपै रहन्छ । हामी अझै पुरानो शक्ति सम्बन्धबाट बाहिर आउन सकेका छैनौँ ।
आज पनि जनता नेता तथा कर्मचारीका अगाडी हात जोडेर झुक्छ जब की नेता तथा कर्मचारी उसको नमस्कार फर्काउनु समेत आवश्यक ठान्दैनन् । जनता जन प्रतिनिधीका भाषणमा प्रश्न गर्दैन। ऊ भिडसँगै सभाहल छिर्ने ठाउँमा फुलका गुच्छा लिएर नेताको स्वागतमा बस्छ ।
२० वर्ष अघि पनि ऊ यसैगरी राजालाई स्वागत गर्न बस्थ्यो l सरकार र सासक बन्न आज निश्चित कुल घरानामा जन्मनु आवश्यक छैन तर आफ्नो पद र कार्यको भान हुनु आवश्यक छ। तिमी सरकार बन्न राज घरानामा जन्मन पर्दैन तर राज धर्म सिक्न पर्छ। त्यसैगरी आज आम जनताका पनि आफ्ननै धर्म छन् । आफ्ना अधिकारको प्रयोग गर्नु र सरकार सामु बिना कारण नझुक्नु उसको मुख्य धर्म हो । यीनै कारणले गर्दा हाम्रा आमा बा ले जितेको गणतन्त्र लागु हुन सकेको छैन ।
बदलिदो आज :
२०४६/४७ पछिको दुई दशक अन्योल मै बित्यो । राष्ट्रियता बोकी हिडेका र पछि आर्थिक अभावको झापड खाएका हाम्रा बा जस्ताको जमात बिस्तारै रिटायर्डमेन्ट तिर लाग्दै छ। हो सत्तामा खिचातानी, अनिश्चित उमेरका युवा नेताको जमात लगायत कायम छ तर ‘आज’ बदलिदो छ ।
आज युवामा दोधार (कन्फ्युजन) छैन। हो उसलाई महङ्गीको मार छ, गरी खाने माहोल छैन तर पनि उसलाई आफ्नो आवश्यकता थाहा छ । उसलाई थाहा छ, आज सरकार, समाज र अर्थतन्त्र छुट्टा छुट्टै निकाय हुन्। उसलाई थाहा छ यो बुबाका पालामा जस्तो गीत र सडकका नारामा देश प्रेम देखाउने बेला होइन। यो लगानी र सेवामा देश प्रेम देखाउने बेला हो ।
आज एक आम जनताले गरी खान जानेको छ । सरकारले दह्रो रही सहजिकरण गरीदिए मात्र पुग्छ, समाज र अर्थतन्त्र आफै चल्ने छ । मेरी काकीले चोकको फुटपाथ मै भएपनि व्यापार गर्न जानेकी छिन् । नगरपालीकाले अस्ती उनको पसल उठायो । व्यापार गर्ने ठाउँको कमीले उनी बेरोजगार भइन् । चोक छेवैको सरकारी जग्गा खाली छ ।
हाम्रा दाजुहरुसँग उत्पादन र व्यापारका नयाँ अवधारणा छन्, तिनलाई कार्यान्वयन गर्ने जोस र जनशक्ति छ तर पैसा छैन । त्यही पैसाको जोहो गर्न विदेश पसेका उनीहरुको सबै जोस र जवानी उतै सकिन्छ। यता आर्थिक वर्षको अन्त्यसम्म विकास बजेट खर्च गर्न नसकेकाले स्थानिय तह र प्रदेशमा पैसा फ्रिज भइरहेछ ।
गरीबी आफैमा एक समस्या होइन l यो विभिन्न समस्या र अवस्थाको छाँया हो । गरी खाने वातावरणको अभावको एक छायाँ हो गरीबी । यही गरी खाने वातावरणको खोजिमा छ आजको युवा । सरकारले दह्रो रही सहजिकरण गरीदिए मात्र पुग्छ, समाज र अर्थतन्त्र आफै चल्ने छ । गरीबी र अभाव आफै हट्ने छ ।
गरी खान देउ सरकार ।