नेपालमा महिला र समाज बिचको सम्बन्ध गाढा छ । त्यसैले त यहाँ महिलाका निम्ति तीज र नारी दिवस गरी दुई दिन विशेष छुट्टी समेत दिइन्छ । आज यही नारी दिवसको अवससरमा यो सम्बन्ध सुक्ष्म रुपमा केलाउन आवश्यक देखिन्छ ।
१. समाज र महिला बिच द्वन्दको पुरानो नाता छ । कहिले समाजले घरको काम सिक भन्दा भन्दै उनी जबरजस्ती स्कुल जान्छीन् अनि कहिले समाजले उनको मन्जुरी बिना नै जबरजस्ती विवाह गराइदिन्छ । कहीले त्यही समाज बोलाएर उनले आफुमाथि भएको अन्यायको विरोध गर्छीन् , कहिले त्यही समाजले नै उनीमाथि अन्याय गरी, चरीत्रहिन सावित गरी मल मुत्र सम्म खुवाउछ । पहिला आमाको पालामा दाइजो नदिने अडान देखि आज छोरीको पालामा कन्यादान नगर्ने अडान सम्मका विषयले वर्षैँ पुरानो द्वन्दको सम्बन्ध जताइरहन्छ ।
२.समाजले महिलाको ‘विशेष’ ख्याल राख्ने गर्छ । महिलाले बच्चा बेलामा खेल्ने खेलौना देखी जवानीमा पतिसँग सुत्ने ओछ्यान सम्ममा समाजले प्रतक्ष चासो राख्छ । हो पुरुष प्रति पनि चिन्तित छ समाज तर महिलाको बढी चिन्ता लिन्छ । यदी यी दुबै साझ ढल्केपश्चात पशुपति अगाडी कतै बरालीरहेका छन् भने पुरुषको चासो उसका घर परिवार र एक दुई साथीलाई होला तर महिलाको चासो देख्ने जति सबैलाई हुन्छ ।
३. महिलाको प्रगतिका निम्ति विशेष व्यवस्था पनि गर्छ समाज । महिला कोटा लगायतका व्यवस्थाले अवसर दिन्छ अनि पछि सम्म पनि व्यवहारमा भिन्नता गरेर आफैले दिएको अवसरको अपमान गर्छ । बार रेष्टुरेन्ट लगायतमा निः शुल्क प्रवेश को सुविधा दिन्छ अनि त्यहीँ पुरुषको प्रवेशमा अत्याधिक शुल्क राखेर महिलाको कमोडिफिकेसन गरी कमाइ खाने भाडो पनि बनाउछ समाज । त्यसैले त गाढा छ महिला र समाजको सम्बन्ध ।
यो सम्बन्ध यती गाढा छ कि महिलाले चाहेर पनि समाजसँग सम्बन्ध विच्छेद गर्न गाह्रो पर्छ । यही अफ्ट्यारो चिर्दै वर्षैँ पुरानो समाज र यसको दमनकारी सम्बन्धले कुजीएका महिलाले सुरुवात गरेको सम्बन्ध विच्छेदको एक पाटो हो महिला दिवस ।
औद्योगीक क्रान्तीका बेला महिलाको रोजगारी र मतदानमा महिलाले पनि भोट हाल्न पाउनुपर्ने लगायतका अवधारणहरु को जीतसँगै पुरातनवादी समाजसँग महिलाको सम्बन्ध टुट्दै गयो । यही जीत मनाउन सन् १९०९ मा पहिलो पटक महिला दिवश मनाइयो ।
मार्च ८ एकता र जीतको दिवस हो । न्यू योर्कका सडकमा सन् १९०९ मा १५०० महिलाको र्याली र त्यस लगत्तै महिलाले पाएको रोजगारीको हकले जुन एकता र जीत को उद्घोष गर्यो त्यही उद्घोष नेपालमा सन् १९४१ मा योगमाया र उनका ६७ अनुयायीले गरेको जलसमाधी र त्यस लगत्तै स्थापित महिलाको हक सम्बन्धी व्यवस्थाले गर्यो । नेपालमा सन् १८१६ मै कमला कुवर जस्ता महान् योद्धाले नालापानीको युद्धमा देखाएको आफ्नो कुशलताले सामाजसँगको दमनकारी सम्बन्धमा धक्का पुगेको थियो ।
बि.सं. १९९० मा राणा कालिन शाशन व्यवस्थामा महिलाहरुले आफ्नै पहलमा गुप्त रुपमा स्कुल खोलेका थिए । २००४ सालमा नागरीक अधिकारको मुद्दा उठाइ राणा शासकको बिरुद्धमा शाहना प्रधान, स्नेह लता श्रेष्ठ , कर्म लता बज्राचार्य लगायत उभिएका थिए । सोही साल मङ्गला देवीको अध्यक्षतामा महिला संघको स्थापना गरी राणा सरकार समक्ष शिक्षाको माग राख्दै महिला पुगे । जसको फल स्वरुप दरवार हाइस्कुलले बिहानको सिफ्टमा महिलाका निम्ति कक्षा सुरु गर्यो । यसरी आफ्नो शिक्षाको हक सुनिश्चित गर्दै समाजको दमनबाट बिस्तारै बाहिरीन थाले महिला ।
अब आफ्नो मात्र नभई सम्पुर्ण नेपालीको अधिकार सुनिश्चित गराउने उद्देश्यसाथ महिला अघि बढे । २००३ सालको विराटनगरको श्रमिक आन्दोलनमा मनमोहन अधिकारी , गिरीजा कोइराला लगायत गिरफ्तार भए पश्चात लीला कोइराला, दीव्या कोइराला लगायतले आन्दोलनको नेतृत्व गरेका थिए । २००७ सालको राणा बिरोधी आन्दोलनमा पनि महिलाको भूमिका विशेष थियो ।
बन्दीपुर , तनहु लगायत काठमाण्डौ बाहिरका महिलाले पनि विशेष भुमिका खेले । युद्धमा घाइते आफ्नो छोरालाई काखमा राखी र्यालीमा समेत सामेल थिए आमाहरु । सोही साल विराटनगरमा जुट मिल खोल्न गरिएको श्रमिक आन्दोलनमा नन्दा नेपालको नेतृत्वमा ३ महिलाले २७ दिन सम्म भोक हड्ताल गरी जुटमिल खुलाए पछि मात्रै आन्दोलन स्थगित गरे ।
बिस्तारै सडकमाबाट सरकार र सदन सम्म पनि महिलाहरु पुग्न थाले । २०१० सालमा भएको जनप्रतिनिधि निर्वाचनमा काठमाण्डौ नगरपालिकाको वडा सदस्यमा निर्वाचित भई पहिलो पटक साधना प्रधान महिला प्रतिनिधि बनिन् । पछि २०१५ मा डडेलधुराबाट काङ्ग्रेसको तर्फबाट द्वारीका देवी ठकुरानी सांसद अनि मन्त्री सम्म बनिन् ।
अब राजनैतिक , आर्थिक, सामाजिक, न्याय सबै क्षेत्रमा महिलाको प्रवेश हुन थाल्यो । २०२८ को झापा बिद्रोहमा लीला कटेल, सीता खड्का , गौरा प्रसाइ लगायतको विशेष भूमिका रह्यो । २०४६ को प्रजातान्त्रीक आन्दोलनमा शाहना प्रधानले बाम मोर्चाको अध्यक्षता गर्दै महिलाको राजनैतिक भुमिका सुनिश्चित गरिन् । दुर्गा पोख्रेल ( बाहुनकी छोरी ) ले न्युरोडमा बसी जुत्ता पालिस गरी प्रतिकात्मक आन्दोलनले महिलाको समाज सुधारमा भूमिका सुनिश्चित गरिन् ।
सत्यभामा माथेमा नेपालको पहिलो महिला न्यायधिश बन्दै न्याय क्षेत्रमा नारीको पहुच सुनिश्चित गरिन् । २०५२ सालमा सुरु माओवादी जनविद्रोहमा पहिलो दिनबाट नै महिलाहरु बन्दुक लिएर सरिक भएका थिए । उता माओवादीका बन्दुकमा महिलाको पहुच पुगेपछि राज्यका बन्दुक माथि पनि महिलाको पहुच पुग्यो । यसरी रक्षा क्षेत्रमा पनि नारीको सहभागीता सुनिश्चित भयो ।
पछि २०६२ सालमा जन आन्दोलनका बखत सडकका र्याली देखि सहिदको घोषणा सम्ममा महिलाको वर्चस्व थियो । आज सरकारका प्रमुख तीन अङ्ग ः व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको नेत्रित्व समेत महिलाले गरिसकेका छन् ।
यो सताप्दी लामो यात्राले आज नारीलाई वंशको अधिकार , सम्पत्तीको अधिकार , हिंसा विरुद्धको हक लगायत दिलाएको छ । दमनकारी समाज र महिला बिचको गाढा सम्बन्ध मधुरो बन्दै छ । समाजले पनि नारीलाई दमनको वस्तु को दायराबाट माथि उठाई समाजकै एक अङ्गका रुपमा हेर्न थालेको छ ।
हो अझै पनि दमन बाँकी छ । डाइनिङ टेबलमा बुहारीले उठाउछे भनी चुठेर छोडिएका थाल देखि अड्डामा महिला अधिकृतले म नै हाकिम हुँ भन्दा पनि नपत्याइ “सर कुन बेला आउनुहुन्छ ” भनी सोध्ने जमात सम्मले यो दमनको अनुशरण गरिरहेका नै छन् । अझै महिलाको बलात्कार, दाइजोको नाममा हत्या, एसिड प्रहार… लगायतका घटनाले पत्रिका भरिएका हुन्छन् । तर केही समय अघि सम्म गुपचुप रहने यी घटना बाहिरिनु , पत्रिकाका पाना , न्यायका अदालत सम्म पुग्नु पनि आफैँमा एक जीत हो । बिस्तारै यी घटनाको पनि पुर्ण अन्त्य गर्ने छौँ हामी ।
आज मार्च ८, महिला एकता र जीत को दिवस । हेटलका गोष्टी र सडकका र्यालीमा मात्र सिमित नरहोस् नारी दिवस । घरका भान्छा, चेलीका पछ्यौरा , बलात्कारीका मगज , बाबुु आमाको सन्तान प्रतिको सपना , छोरीको जामा, छोराको संस्कार …. सबैतिर नारी दिवस पुग्नुपर्छ ।
समाजका कुरितीसँग सम्बन्ध विच्छेद गर्न नेपालका नारीले खेलेको भूमिकाको सम्मान छ । सबैमा नारी दिवशको शुभकामना ।