प्रस्तोता : सविन घिमिरे
हाल विर्तामोड ५ झापा निवासी निर्मल भट्टराइको जन्म ताप्लेजुङ जिल्लाको बिकट सिरिजङ्गा वार्ड न २ मा भएको हो । बा आमाले सम्हालि रहनुभएको खेति किसानीमा सहयोग गर्दै गाउँकै रहनसहनमा पौठेजोरी खे्ल्दै उहाँको बाल्यकाल संघर्षमय रुपमा बित्यो। बुबा आफै अलैँची तथा अन्य बालिहरुको खेति गर्दै बेच्नु पनि हुन्थ्यो । २०४० सालतिर विभिन्न सामानहरु बेच्ने सानो पसल बुबाले गाउँमा गर्न थाल्नुभएको थियो। त्यसपछि परिवारको आर्थिक स्थिति केहि हदसम्म सुध्रिएको थियो । गाउँमा रहेको भगवती प्रविमा ५ कक्षा उत्तीर्ण गरे पश्चात २०४७ सालतिर परिवार नै पाँचथरको गोपेटार बसाइ सर्यो। गोपेटार बसाइ सर्नुको कारण त्यहा यातायातको उपलब्धता थियो। फिदिमदेखि गोपेटार सम्म सडक विस्तार भएपछि बाटोघाटो भएको ठाउँमै ब्यापार गर्नुपर्छ भन्ने बुबा आमाको सल्लाह बमोजिम त्यहाँ बसाइ सरिएको थियो। यस अघि सिरिजङ्गामा पसल हुँदा सामान फिदिम देखि भरियाको सहयोगमा वा आफैले बोकेर लानु पर्थ्यो। त्यसपछिको कथा निर्मल भट्टराई यसरी बताउनुहुन्छ..
“गोपेटारमा बुबा आमाको व्यापार राम्रोसँग चलिरहेको थियो। हाम्रो पढाइ पनि अघि बढिरहेको थियो। केहि हदसम्म भएपनि सुखको अनुभूति गर्दै थियौं। २०५० सालमा गोपेटारमा हाम्रो घर भएको स्थानमा ठुलो पहिरो आयो । राति घरमा हामी सबैजना सुतिरहेका थियौ। पहिरोले हामी सहित घर नै बगाएर लग्यो । भाग्यबस हामी सबैजना बाच्यौ तर हामी बाहेक हाम्रो भौतिक सम्पत्ति सबै त्यहि पहिरोसँगै बगेर गयो। हामी फेरि शुन्य भयौ। छरछिमेकको सहयोग र साथले गर्दा हामी गोपेटारमा अर्को घरमा बसाइ सर्यौ। त्यहाँ फेरि सबै सामानहरु जोहो गरेर पसल सुचारु गर्यौ। विर्तामोडका ब्यापारिहरुसँग बुबाको व्यवहार राम्रो भएको कारण पसलको सरसामानहरु बेचेपछि तिर्ने सर्तमा ब्यापारीहरुले दिए।”
विर्तामोडको दिपज्योति स्कुलबाट एस एल सी पास गरेपछि भट्टराई क्याम्पस पढ्न ईलाम आउनुभयो र इलाम क्याम्पबाट १२ पास उहाले गर्नुभयो । गोपेटारमा रहेको बुबाको पसलको सामान विर्तामोडबाट जाने भएको हुँदा आफु इलाम बसेर मध्यस्तकर्ताको भुमिका निर्वाह गरि बुबालाई सहयोग गर्ने उद्देश्यले त्यतिबेला काठमाडौँ पढ्ने इच्छा त्यागी इलाम पढ्नुपरेको भट्टराई बताउनुहुन्छ।
“त्यसरि बुबालाई सामान आोसार पसारमा सघाउने क्रममा म ईलामबाट फेरि विर्तामोड आए। त्यहा आएपछि बुबाको ब्यापारमा सहयोग गर्दै गर्दा आफ्नै लागि पनि केहि गर्नुपर्छ भन्ने तृषणा जाग्यो। विर्तामोडमा सामान्य कोठा भाडामा लिएर बुबालाई पठाउने सामानहरु भण्डारण गर्न थाले । ती भन्डारण गरेको थोरै सामानहरुलाई पहाडतिरको अन्य पसलहरुतिर पनि बिक्री गर्न थाले । थोरै थोरै गर्दै आम्दानी बढ्दै गयो। यो सँगै विर्तामोडका अन्य व्यापारी तथा साथिभाइहरुसँग सम्पर्क बढ्न थाल्यो। उहाँहरुको साथ सहयोगले झनै हौसला प्राप्त भयो। त्यसपछि श्रिमति र मैले विर्तामोडलाई आफ्नो कर्मथलो बनाउने निर्णय गरेसँगै विर्तामोडमै जग्गा किनि घर बनायौ। २०६० सालमा गोपेटारमा रहनुभएका बुबाआमालाई पनि विर्तामोड ल्यायौ। यस बेलासम्म हाम्रो व्यापार राम्रो फस्टाउदै थियो। पहाडका विभिन्न ठाउँमा विर्तामोडबाट खाद्यान्न धेरै परिमाणमा पठाउथ्यौ। त्यो सँगै त्यहा उत्पादित अलैँची पनि किसानहरुबाट किनेर विर्तामोड झार्न थाल्यौ। सो अलैँची विर्तामोडकै स्थानिय व्यापारीहरुलाई बेच्न थाले। यसबाट राम्रो आम्दानी हुन थाल्यो । स्थानिय ब्यापारीहरुसँग पनि राम्रो कारोबार र सम्बन्ध बन्यो। स्थानिय बजारमा अलैँचीको राम्रो व्यापार हुन थालेपछि मलाई भारतीय बजारमा पनि अलैँची निर्यात गर्नुपर्छ भन्ने लाग्यो । त्यसपछि भारतमा अलैँची खरिद गर्ने व्यापारि सोधिखोजि गरे। त्यहाका व्यापारिहरुसँग सम्पर्क भएर कुरा भएपछि भारतमा पनि अलैँची पठाउन थालियो। मेरो मिहेनत , इमान्दारिता र व्यापार प्रतिको झुकावले सार्थकता पाएको झै दिन प्रतिदिन व्यापारबाट राम्रो आम्दानी हुन थाल्यो। बिगत ५ वर्ष देखि भने खाद्यान्नको व्यापार पुर्ण रुपमा बन्द गरी अलैँचीको व्यापारमा मात्र आबद्ध भएको छु।”
अलैँची विश्वको ३ देशमा मात्र उत्पादन हुन्छ । नेपाल, भारत र भुटानमा मात्र उत्पादन हुने अलैँची मध्ये नेपालमा ५५% अलैँची उत्पादन हुन्छ। गत वर्ष नेपालले ७ अर्ब बैदेशिक मुद्रा अलैँचीबाट आर्जन गरेको थियो। यस अर्थमा अलैँची खेतीलाई प्रोत्साहन गरेर त्यसलाई तेस्रो मुलुकमा समेत निर्यात गर्न सकियो भने देशले थप विदेशी मुद्रा भित्रयाउन सक्ने सम्भावना देखिन्छ । राष्ट्रिय अलैँची व्यापार संघका अध्यक्ष समेत रहनुभएका भट्टराईले अलैँचीको सम्भावना , समस्या तथा जोखिमबारे आफ्नो कथासँग अनुभव जोड्दै यसरी बताउनु हुन्छ ।
“सबैभन्दा बढि अलैँची उत्पादन हुने नेपालमा अलैँचीबाट मनग्य आम्दानी गर्ने प्रचुर सम्भावना रहेको छ । हालसम्म नेपालमा उत्पादित अलैँची भारतमा मात्र निर्यात गर्न सकिएको छ। नेपालमा उत्पादित अलैँचीको ५ % मात्र नेपालमै खपत हुन्छ। बाँकी ९५% भारतनै निर्यात हुने गर्दछ। नेपालमा उत्पादन भएको अलैँची भारतले लेबलिङ गरेर आफ्नो उत्पादन भनि अन्य मुलुक पठाउने गरेको छ। यसले गर्दा अन्तर्राष्ट्रिय बजारमा अलैँची उत्पादनको उद्गम स्थल भारत हो भनेर प्रचार भइरहेको छ। सबैभन्दा बढी अलैँची उत्पादन गरेर पनि हामीले तेस्रो मुलुकमा पाइला टेक्न सकेका छैनौ । अलैँची व्यापारी तथा अलैँची व्यापार महासंघको तर्फबाट विभिन्न समयमा र हालसम्म पनि नेपाल सरकारसँग भारत बाहेकका अन्य देशहरुमा पनि अलैँची निर्यात गर्नेबारे पहल र बहस गरिरहेका छौ। भौगोलिक विकटता र भुपरिवेष्ठित राष्ट्र भएको कारण पनि तेस्रो मुलुकमा अलैँची निर्यात गर्न महंगो रहेको छ । त्यस्तै नेपालको व्यापार सम्बन्धि विदेशी नितिले पनि यसमा असर गरेको छ । यो वर्ष हामीले यु ए इ मा गोदाम स्थापना गरी नेपालकै ब्रान्डमा अलैँची निर्यात गर्न लागेका छौ। पाकिस्तान पनि अलैँची खपत गर्ने मुलुक भएकोले त्यहाँ पठाउने पनि पहल भइरहेको छ ।
नेपालमा उत्पादित अलैँचीलाई विश्वको विभिन्न देशहरुमा निर्यात गर्न सके देशले विदेशि मुद्रा आर्जन गर्नु त छदैछ , यस बाहेक किसानदेखि लिएर व्यापारीहरु पनि आर्थिक रुपमा समृद्ध हुदैँ जान्छन । यसले गर्दा अलैँची खेतिमा आकर्षक बढी उत्पादन थप वृद्धि भई अलैँचीमा नेपालले आफ्नो पहिचान स्थापित गर्न सक्दछ। नेपालमा उत्पादित अलैँचीले नेपालकै नाममा अन्य देशमा स्थान नपाउनुको अर्को कारण विदेशी बजारमा सम्बन्ध नभएर पनि हो। विदेशमा आयोजना हुने अन्तर्राष्ट्रिय व्यापार मेलाहरुमा सहभागी भइ नेपालको अलैँचीलाई पनि प्रदर्शनमा ल्याउन सके यसको प्रचार विदेशी बजारमा पनि हुन्छ। यसका लागि आवश्यक स्टलहरु मिलाउन सरकारले पहल गर्नुपर्छ । अलैँचीमा पनि अन्य बालिहरुमा जस्तै रोगहरु छन । हाल पातमा किरा लाग्ने रोग ब्याप्त छ । नेपाल सरकारलाई जानकारी दिएपछि हाल विभिन्न ठाउँमा टोलीहरु खटिनुभएको छ । कतिपय रोगहरु यहा पत्ता लगाउन नसकेको कारण भारत सिक्किमको परिक्षण केन्द्रमा लगेर पनि जाँच गराइएको छ। यसरी अलैँची खेतिलाई मास्न सक्ने रोगहरुको निवारण गर्न सरकारले विग्य टोलि तथा उपकरणहरू व्यवस्थामा ध्यान दिनुपर्दछ।”
निर्मल भट्टराई भन्नुहुन्छ सफल उद्यमी बन्नको लागि आत्मविश्वास, मिहेनत र इमान्दारिताले मुख्य भूमिका खेल्दछ।
“सफल उद्यमी बन्न ईच्छाशक्ति मात्र भएर हुदैन तर आफुले गर्ने व्यवसाय तथा उद्यम सम्बन्धि जानकार र अनुभव भएको पनि हुनुपर्दछ । रहर र कसैको कर अथवा बाध्यताको कारण मात्र उद्यम थालनि गरे त्यसले जोखिम पनि निम्त्याउन सक्छ । नेपालका युवायुवतीहरु यहाँ रोजगार नभएको कारण विदेश पलायन हुनु पर्ने कुरा दुर्भाग्य भएपनि अब नेपालका युवाहरुले यहि सम्भावना खोज्नुपर्छ। आफ्नो बाँझो खेतहरुलाई उर्बर बनाउनुपर्छ। विदेशमा गरेको जति मिहेनत यहि गर्ने हो भने प्रशस्त आम्दानी यहि गर्न सकिन्छ ।”
नेपालका अलैँचीको विक्री वितरणमा थप सहयोग पुग्ने हिसाबले राजन भट्टराईले एभरेष्ट लार्ज कार्डामम इन्डस्ट्रि स्थापना गर्नुभयो । यस इन्डष्ट्रिले अलैँचीका ४ उत्पादन बजारमा ल्याएको छ । मिजाज ब्रान्डकाे अलैँचीको दानामा सिल्भर कोट गरि बनेको माउथ फ्रेसनर , अलैँचीको पाउडर , अलैँचीको दाना (५०० ग्राम /१ केजि) र अलैँचीलाई प्याकेजिङ गरी नेपालमा उत्पादित भनेर बजारमा आएको छ । गुणस्तरको हिसाबले नेपालमा उत्पादित अलैँची सबैभन्दा उत्कृष्ट भएकाले विभिन्न तरिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा नेपालकै ब्रान्डमा फैलाउन सके अलैँचीबाट पनि नेपालको छुट्टै पहिचान बनाउन सकिने भट्टराई बताउनुहुन्छ। त्यसैले नेपाली युवाहरुलाई पनि विदेशमा परिवारबाट टाढा भएर जिवनकै जोखिम मोल्नु भन्दा यहि आधुनिक कृषिमा समय दिइ विभिन्न उद्यममा लाग्न अनुरोध पनि गर्नुभएको छ । यसको लागि सरकारले नै आफ्नो निति तथा कार्यक्रमहरुबाट साथ दिनुपर्ने उहा बताउनुहुन्छ।
२ वर्ष अगाडी कोभिडको कारण आफ्नो पितालाई गुमाउनु परेको सबैभन्दा तितो अनुभव रहेको निर्मल भट्टराईको परिवारमा हाल श्रीमती , १ छोरा , १ छोरी र आमा हुनहुन्छ । २ जना दिदीबहिनीहरुको विवाह भएर आ आफ्नै घरमा हुनुहुन्छ ।