प्रस्तोता : सविन घिमिरे
प्रतिष्ठित उद्योगीको रुपमा स्थापित हुनुभएका भिम घिमिरेको जन्म सुनसरी जिल्लाको तत्कालिन महेन्द्रनगर गाउँपालिका ( हाल बराहक्षेत्र नगरपालिका ) को दिगझोडामा निम्न वर्गीय किसान परिवारमा भएको हो । ४ छोरा ,४ छोरीलाई हुर्काउन घिमिरेका बा आमाले अरुको खेतीमा बनिबुतो गर्नुहुन्थ्यो । बा -आमाले गर्नुभएको खेतीपातीमा सहयोग गर्दै घाँसदाउरा , वस्तुभाउ र मेलापात गरी बचेको समय पढाइलाई दिएर उहाको बाल्यकाल कष्टकर अवस्थामा बितेको थियो । परिवारको लागि बा आमाले त्यस बेला गर्नुभएको दुख सम्झिदा अहिले पनि उहाँको आशु आउने घिमिरे बताउनुहुन्छ । बा आमा , दाजु दिदि तथा आफु स्वयमले गरेको भोगेको दुख, कष्ट र संघर्षलाई प्रेरणाको रुपमा लिएर अगाडी बढेको कारण हाल सफलता प्राप्त भएको जनाउदै आफ्नो सफलताको कथा उहाँले हामीलाई सुनाउनुभएको छ ।
कक्षा १० पढ्दा सम्म उहाँहरु विहान उठेदेखि नै बाआमाको खेतीपातीमा सघाउनु हुन्थो । सबेरै उठेर घासदाउरा गर्ने , वस्तुभाउ चराउनेदेखि लिएर गाइ भैसी दुहुने र दुध बेच्ने काम गर्नुपर्थ्यो । सबेरै उठेर काम शुरु गरेपछि विहान ९ बजे बाकि काम थाति राखेर १० बजे स्कुल जाने उहाहरुको दैनिकी थियो । स्कुल सकेर बेलुका ४ बजे घर फर्किएपछि फेरि खेतीपाती , बस्तुभाउको काममा लागि हाल्नु पर्थ्यो । साझ खानापिन गरिसकेपछि केहि समय पढ्ने अवसर उहाँहरुले पाउनु हुन्थ्यो । तर दिनभरिको थकाइले पढाइमा ध्यान जानुभन्दा निन्द्राले सताउने गर्दथ्यो । निन्द्रा लाग्छ भनेर टुप्पी बाधेर पढेको रमाइलो किस्सा पनि घिमिरेले सुनाउनुभयो।
परिवारको कान्छो छोरा घिमिरेले वसन्त ऋतु प्राथामीक विद्यालयमा ३ कक्षासम्म अध्ययन गरेर महेन्द्र मावि चक्रघट्टीबाट एसएलसी उत्तिर्ण गर्नुभएको थियो । महेन्द्र मोरंग कलेजबाट २०४१ सालमा बि कम गरेर डिग्री क्याम्पसबाट मास्टर डिग्रि गर्नु भएका घिमिरे एसएलसीको अन्तिम परिक्षा सकिएको दिन कामको खोजीमा निस्किनुभएको थियो। काम खोज्दै जाने क्रममा उहा चतरास्थित नहरको परियोजनाको काम गरिरहेको सी डब्लु इ चाइनिज कम्पनि पुग्नुभयो । काम गर्ने इच्छा जाहेर भएपछी उहाले एक मजदुरको रुपमा काम गर्ने अवसर पाउनुभयो । सिमेन्ट बोक्ने , भारि उठाउने , बेल्चा हान्ने जस्ता काम उहाले त्यहा गर्नुपर्थ्यो। त्यसबेला उहाको तलब ७ रुपैया थियो। संगै काम थालनी गरेका केहि साथीहरुले बिचैबाट काम छाडे । घिमिरे सहित केहिले कामलाई निरन्तरता दिए। घिमिरेको काम प्रतिको इमान्दारिता , मिहेनति र मिजासिलो स्वभाव देखेर कम्पनीले उहालाई सुपरभाइजर पदमा बढुवा गर्यो । त्यसपछि लेबरको काम गर्दै आउनुभएको उहाले कम्पनिका २० जना मजदुरहरुको हाजिर रेकर्ड राख्ने , जिन्सि रेकर्ड गर्ने,तलब सिट बनाउने इत्यादि काम गर्न थाल्नुभयो। केहि महिनापछि सोहि कम्पनीकी दोभाषेको रुपमा रहनुभएकी रेडियो बेइजिङ्गका मिस चोउले कम्पनीका केहि कर्मचारी तथा मजदुरहरुलाई चिनिया भाषा सिकाउने प्रस्ताव राख्नुभयो । घिमिरे सहित केहि साथीहरुले चाइनिज भाषा सिक्न थाले । सिक्दै जादा केहिले बिचमै भाषा सिक्न छाडिदिए । तर घिमिरेले भाषा सिक्न निरन्तरता दिनुभयो । केहि महिनापछि उहा फाटफुट चाइनिज बोल्न सक्ने हुनुभयो । ६ महिनामा अलिक धेरै भाषा सिकिसकेपछि उहालाई कम्पनीले दोभाषेको काम दियो ।
यसैबिचमा एसेलसीको रिजल्ट आयो। पास हुनुभएको खबरले सबैजना खुशी थिए । काम गर्ने कि कलेज पढ्ने भन्ने कुराले दोधार बनाएपनि अन्तत: घिमिरेले विराटनगरको महेन्द्र कलेजमा पढ्दै जागिरलाई पनि निरन्तरता दिने निधो गर्नुभयो । विराटनगरमा कान्छो मामा ऋषिराम भट्टराईको साथ , सहयोग र निगरानीमा उहा कलेज पढ्दै जागिर पनि गर्न थाल्नुभयो । यसै बिचमा घिमिरेलाई समयको तालमेल नमिलेर कि जागिर छाड्नु पर्ने भयो वा पढाई । पढाइलाई नै निरन्तरता दिने अठोट लिएर उहा काम गरिरहेको चिनिया कम्पनिमा जागिर छाड्ने प्रस्ताव लिएर जानुभयो । तर चिनिया कम्पनीले , ” तिम्रो पढाइ नछाड र काम पनि गर ” भनेर समय व्यवस्थापन गरि कलेज आउन जान सवारीको समेत व्यवस्था गरिदियो। कलेज जादाको समय परिपूर्ति गर्न घिमिरेले कार्यालयको काम राति अबेरसम्म गर्नुपर्थ्यो । जागिर गर्दै काम पनि गर्दै घिमिरेले महेन्द्र मोरंग कलेजबाट आइकम पास गर्नुभयो ।
बीकम गर्ने बेलामा सी डब्लु इ र त्यसबेला टोयोटा डिलरका विजय गजानन्द बैद्यको संयुक्त लगानीमा चाइनिज इट्टा भट्टा खोल्ने योजना भयो । त्यस अनुरुप आफु काम गर्दै गरेको चाइनिज कम्पनि सी डब्लु ई ले १३ जनाको समुहको इन्चार्ज बनाएर त्यस तर्फ घिमिरेलाई पठायो। चाइनिज इट्टा कम्पनीमा काम गर्दै पढ्दै उहाले बि कम पनि उत्तिर्ण गर्नुभयो। केहि समयपछि सी डब्लु इ र विजय गजानन्द बैद्य बीचको सहकार्य टुट्यो । त्यसपछि घिमिरेलाई विजय गजानन्द वैद्यको चाइनिज इट्टा कम्पनिले र सी डब्लु सीले पनि काम गर्नका लागि आ आफ्नोतिर बोलाउन थालेको थियो । घिमिरेले सी डब्लु ई मा एक सल्लाहकारको रुपमा सहयोग गर्दै इट्टा फ्याक्ट्रीमा पुरा समय काम गर्न थाल्नुभयो। विजय गजानन्द बैद्य लगायत उहाको सम्पूर्ण परिवारले त्यसबेला गर्नुभएको साथ सहयोगले घिमिरेको जिवनमा नया मोड लियो ।
बैद्य परिवारले घिमिरेलाई आफ्नै छोरा सरह राख्नुभयो , रेखदेख गर्नुभयो , पढ्न अभिप्रेरित गर्नुभयो । यो संगै घिमिरेले उहाहरुसँग दिनप्रतिदिन व्यवसाय तथा उद्यम गर्न पनि अनुभव बटुल्दै जानुभयो। बैध्य परिवारले प्रदान गर्नुभएको कारमा उहा कलेज जानुहुन्थ्यो। उहाले बि कम उत्तिर्ण गर्नु भएपछी विजय गजानन्द बैद्यले घिमिरेलाई ” जागिर गरेर मात्र हुदैन अब तिमीले व्यवसाय शुरु गर्नुपर्छ।” भनेर हौसला दिनुभयो । तर त्यसबेला व्यवसाय गर्नको लागि घिमिरेसँग पैसा थिएन । विजय गजानन्दको सहयोगमा उहाले जग्गा किनबेचको काम शुरु गर्नुभयो । त्यसको केहि समयपछि निर्माण व्यवसाय दर्ता गरेर उहाले निर्माण व्यवसाय पनि थालनी गर्नुभयो । खाध्य सामाग्री पहाडका विभिन्न ठाउमा पुर्याउने ढुवानी सेवा पनि उहाले संचालन गर्नुभयो। यसरी विभिन्न व्यवसायमा हात हाल्नुभएको घिमिरेले आम्दानि पनि बढाउन थाल्नुभयो। उहाको लगनशिलता , इमान्दारितादेखि बैद्य परिवार दङ्ग हुनुहुन्थ्यो । विजय गजानन्दले विराटनगरमा टोयोटा गाडिको पुर्वाञ्चल डिलर खोल्ने र त्यसको निगरानी आफुले गर्नुपर्ने प्रस्ताव राख्नुभएपछि टोयोटाको सो रुम पनि घिमिरेको निगरानीमा चल्न थाल्यो।
६ महिना पछि बैद्यले घिमिरेलाई , ” तिम्रो केहि लगानी लाउनु पर्दैन । अब यो शोरुम तिमीले चलाउ , गाडि बेच पैसा देउ। ” भन्ने प्रस्ताव राख्नुभयो। उहाको प्रस्तावलाई स्वीकार्दै घिमिरेले टोयोटाको पुर्वान्चल शो रुम पूर्ण रुपमा आफुले चलाउन थाल्नुभयो । मदिराजन्य पदार्थ व्यवसाय डुबेको अनुभव पनि रहेको घिमिरेले त्यस ताका वर्षमा १२५ भन्दा बढि गाडी विक्री गर्नुभएको थियो। २०५० सालमा बैंकबाट ऋण लिएर घिमिरेले घरजग्गा जोड्नुभयो। २०५२ /५३ को बेला टोयोटाको व्यापारले अझ राम्रो गति लिइरहेको थियो । त्यसै बेला घरजग्गा कारोवारले पनि तीव्रता लियो । ढुवानी तथा निर्माण व्यवसाय पनि फस्टाइरहेको थियो । व्यवसायको सफलतासंगै घिमिरे लायन्स , लियो जस्ता क्लब र संघसंस्था तथा सामाजिक अभियानहरुमा आवद्ध हुन थाल्नुभयो । यसरि संघसंस्था तथा क्लबहरुमा सक्रिय हुदा घिमिरेको आत्माविश्वास बढ्नुका साथौ बोल्ने बानीको विकास तथा सामाजिक सम्बन्ध बढाउनुमा सहयोग पुगेको थियो । समाजमा उदयमान व्यवसायीको रुपमा भिम घिमिरेको नाम सुनिन थालिसकेको थियो । २०५४ सालमा विजय गजानन्दले टंकी सिनावारिमा रहेको इट्टा उद्योग बन्द गर्नुभयो । त्यसमा प्रयोग हुने मेसिन त्यसै थियो । घिमिरेले २०५६ सालमा अब इट्टा उद्योग फेरि सुचारु गर्नुपर्छ र यसलाई आफुले राम्रोसंग चलाउने विश्वस्त दिलाएर वैद्यलाई प्रस्ताव गर्नुभयो। घिमिरेले मेसिनलाई सिमरा लगेर विजय गजानन्द बैद्यसंगको साझेदारीमा पुन: तावाची वृक एण्ड टायल इण्डस्ट्रि सन्चाल गर्नुभयो । १ वर्ष उद्योग चलेपछि सो उद्योग विक्री भयो । विक्री गरेको पैसामा केहि थपथाप गरेर घिमिरेले २०५७ सालमा एबी वृक एण्ड टायल इण्डस्ट्रि खोल्नुभयो। त्यसबाट राम्रो आम्दानि हुदै थियो ।
सन् २००४ मा एकदिन बजार घुम्दै जादा घिमिरे दम्पतिले डिभि भर्नुभएको थियो। डिभि परेपछि इट्टा उद्योग विक्री गरेर घिमिरे आफ्नी श्रीमती र २ छोरासहित अमेरिका प्रस्थान गर्नुभयो । सफल व्यवसायीको छवी बनाउदै गर्नुभएको घिमिरे र बि एस सी नर्सिङ्ग गर्नुभएकी आफ्नी श्रीमतीलाई अमेरिकाको बसाइले सन्तुष्टि दिएन । तन अमेरिका भएपनि मन सधै नेपालमा नै हुन्थ्यो । नेपालमै केहि गर्नुपर्छ भन्ने दृढता लिएर घिमिरे परिवारसहित १ महिनामै नेपाल फर्किनुभयो। नेपाल फर्किएपछि आफ्नो चलिआएको टोयोटाको शोरुममा आफ्नो समय दिनुभयो । अमेरिका जानुभन्दा पहिला बिक्रि गरेको इट्टा भट्टा फेरि घिमिरेले पुरानै दाममा किन्नुभयो र एबी वृक एण्ड टायल इण्डस्ट्रि सुचारु गर्नुभयो। त्यसको एक वर्ष पछि उहाले त्यहि स्थानमा अर्को इट्टा उद्योग खोल्नुभयो। २०६३ सालमा विराटनगर एयरपोर्ट मोडमा रहेको पेट्रोल पम्प लिने योजना उहाले गर्नुभयो । त्यसबेला १ करोड २० लाख दाम भनिएको पेट्रोल पम्प किन्नको लागि घिमिरेसंग २० लाख रुपैया मात्र थियो। त्यसपछि घिमिरेले अभिभावकको रुपम रहनुभएको विजय गजानन्द संग सल्लाह गर्नुभयो । विजय गजानन्द आएर पेट्रोल पम्प अवलोकन गर्नु भएपछि उहाको सहायताबाट बैंकबाट ऋण लिएर सो पेट्रोल पम्प पनि किन्न घिमिरे सफल हुनुभयो । त्यसबेला मट्टीतेल र डिजेल मिसाएर विक्री वितरण गरिने कुरा थाहा पाएपछि घिमिरेले अशुद्धता हटाई शुद्ध पेट्रोलियम पदार्थ भएपछी मात्र पेट्रोल पम्प खरिद गर्नु भएको थियो। यसपछि पेट्रोलियम पदार्थमा भएका अशुद्धता र मुल्यको असमानताको विषयमा निरन्तर आवाज पनि उठाउदै जानुभयो। टोयोटा शोरुम , निर्माण व्यवसाय , दुवानी व्यवसाय , इट्टा उद्योग र पेट्रोल पम्पको सफल व्यवसायबाट उहाको नाम एक प्रतिष्ठित उद्यमीको रुपमा स्थापित हुदै गयो। २०६९ सालतिर टोयोटाको आधिकारिक सर्भिस सेन्टर ” ग्लोबल अटो पोइण्ट ” पनि घिमिरेको व्यवसायमा थपियो। त्यसपछि हालसम्म घिमिरेले पछाडी फर्केर हेर्नु परेको छैन ।
व्यवसायिक सफलतासंगै घिमिरेले विभिन्न संघसंस्थामा आवद्ध भएर सामाजिक क्रियाकलाप पनि गर्दै आउनुभएको छ । विभिन्न पदमा रहेर घिमिरेले धेरै पटक पुरस्कार तथा सम्मानहरु पाइसक्नुभएको छ । ७ रुपैया तलब पाएर मजदुर जीवनबाट सुरु गरेको यात्राले हाल घिमिरेलाई आफ्नो ६ वटा उद्योगको माध्यमबाट हजारौलाई रोजगार दिने मात्र बनाएको छैन तर राज्यलाई धेरै कर बुझाउने मध्ये एक बनाउन पनि सफल बनाएको छ। घिमिरेले आफ्नो सफलाताको श्रेय मुख्य रुपमा आफ्नो बा आमा लगायतको परिवार सदस्यहरुलाई दिनुहुन्छ । घिमिरे भन्नुहुन्छ , ” उहाहरुले जीवन दिनुभएको छ जसलाई तेल भरेर उज्यालो बत्ति बनाउने काम विभिन्न व्यक्तित्व , साथीभाई लगायत समाजले गरेको छ । ” श्रीमतीको अथाह माया र साथ्न पाएको भए जीवन कतै अन्तै मोडिन सक्ने उहा सुनाउनुहुन्छ । विभिन्न समयमा साथीभाइहरुको हौसला र सहयोग नपाएको भए यो अवस्थामा आइ पुग्न नसक्ने कुरा घिमिरे बताउनुहुन्छ । त्यस्तै उद्यम गर्ने क्रममा विराटनगर लगायत अन्य ठाउका व्यापारीहरुको साथ र सहयोगले उहालाई निरुत्साहित हुन दिएन । जेसिज, रोटरी र लायन्स क्लब जस्ता संघसंस्थामा आवद्ध भएर घिमिरेले निम्न वर्गीय विध्यार्थिहरुलाई सहयोग गर्नेदेखि लिएर सार्वजनिक भवन निर्माण , विद्यालय भवन निर्माण तथा आफ्नो जन्मभूमिमा रहेको अस्पताल सुधार जस्ता विभिन्न सामाजिक काम गर्नुभएको छ । उहाको पहलमा वृद्ध आश्रम तथा अस्पताल स्तरोन्नतिका लागि करोडभन्दा बढि बजेट भित्रिएर काम अगाडि बढेको थियो। घिमिरेले उद्योग संगठन मोरंगको अध्यक्ष हुदा तत्कालिन प्रधानमन्त्री केपी शार्मा ओलीको बाहुलीबाट बेस्ट प्रेसिडेन्ट अवार्ड पाउनुभएको थियो। हाल नेपाल उद्योग परिसंघ प्रदेश १ को अध्यक्ष रहनु भएका घिमिरेले यहा पनि उत्कृष्ट प्रेसिडेन्ट अवार्ड पाउनुभएको छ । त्यस्तै विश्वको २११ देशहरु लायन्स क्लब गभर्नरहरु मध्ये घिमिरेले बेस्ट गभर्नर अवार्ड पनि प्राप्त गर्नुभएको थियो । यस्ता विभिन्न सम्मान तथा पुरस्कारहरुले पनि मिहेनत र इमान्दारीका साथ् काम गर्न सधै हौसला दिइरहेको घिमिरे बताउनुहुन्छ।
उद्यम तथा व्यवसायिक यात्रामा भोगेका समस्या तथा चुनौतीहरुलाई सम्झिदै घिमिरेले एकताका पेय पदार्थको व्यवसायमा उधारो कारोबारले डुबाएको अनुभव सुनाउनुभयो । सो व्यवसायमा डुबेर निरुत्साहित हुनुभन्दा अबको दिनमा सतर्क भएर अगाडि बढ्ने ग्यान प्राप्त भएको घिमिरेको अनुभव रहेको छ । हालको अवस्थामा व्यवसाय तथा उद्यममा के कस्ता चुनौती छन् भन्ने प्रश्नमा घिमिरेले देशको सरकारको अस्थिरता , नेताहरुको अदुरदर्शिता , कर्मचारीतन्त्र तथा केहि समूह तथा व्यक्तिहरुको पैसा कमाउने मात्र नीति मुख्य चुनौतीको रुपमा रहेको बताउनुभएको छ। हालको परिप्रेक्षमा मुलुकलाई आत्मनिर्भर बनाउने , व्यापार घाटा घटाउने र यहि रोजगारको प्रशस्त वातावरण सृजना गर्न सक्ने दुरदर्शी नेताको खाचो भएको घिमिरेले जिकिर गर्नुभएको छ । हाम्रो देशमा काम गर्ने वातावरण खलबलिएको कारण सक्षम जनशक्तिहरु विभिन्न देशमा पलायन हुनुपर्ने बाध्यताको अन्त्य गर्न सक्ने सेवक देशलाई आवश्यक रहेको उहा बताउनुहुन्छ। उहाका अनुसार नेपालको आर्थिक तथा औद्योगिक नीति नियम निर्माणमा आफ्नो फाइदा मात्र हेर्ने प्रवृत्तिले गर्दा देशको आर्थिक स्थिति खस्किदै गएको कारण यहाँका व्यापारी तथा उद्यमीहरुलाई चुनौती रहेको छ।
घिमिरेका अनुसार उद्यम तथा व्यवसायहरुलाई प्रोत्साहन गर्नका लागि उद्यमीहरुलाई आवश्यक पर्ने जमिन सरकारले सस्तो व्याजदरमा उद्यमीलाई प्रदान गर्नुपर्दछ । व्यापारीहरुलाई आवश्यक पर्ने पुजी तथा ऋण बैंकले सहज र सस्तो ब्याजदरमा दिनुको सट्टा व्यापारीहरुलाई मार पार्ने हिसाबले उच्च व्याजदर लगाइरहेको र ऋण प्राप्त गर्न सबै प्रक्रिया पुरा गर्न सक्ने भए पनि अप्ठ्यारो स्थिति बैंक तथा वित्तिय संस्थाले सृजना गरेको आरोप लगाउदै यस कुरामा सरकारले निगरानी गरेर कदम चाल्नुपर्ने विचार व्यक्त गर्नुभयो । त्यस्तै सरकारले पर्यटकिय क्षेत्रहरुमा व्यापार तथा उद्यम गर्न चाहनेहरुलाई सस्तो व्याजदरमा जमिनहरु लिजको रुपमा प्रदान गरि धेरै रोजगारको वातावरण सृजना गर्न सक्ने बताउनुभयो। कृषिलाई आधुनिकरण गरेर कृषिमा देशले विकास गर्न सक्ने विचार व्यक्त गर्दै राज्यले कृषकहरुलाई विशेष सहुलियत र सेवा सुविधा उपलब्ध गराउनुपर्ने उहाले बताउनु भएको छ । उद्योग र व्यापारको चुनौतीहरुलाई दर्साउदै घिमिरेले नेपालमा उद्योग संचालनको लागि उर्जा अभाव रहेको बताउनुभयो । उहाले नेपाल लोडशेडिङ्ग मुक्त भनिएपनि हाल पनि उद्योगहरुले आवश्यक पर्ने विजुली खपत गर्न नपाएको बताउनुभएको छ । उहाको अनुसार नेपालले भारतलाई जुन दरमा बिजुली विक्री गरिरहेको छ , नेपालका उद्योगहरुले त्यो भन्दा बढि मुल्यमा विजुली खरिद गर्नुपरेको छ । उर्जा वितरणको पक्षपाती नीति पनि उद्योगीको चुनौतीको रुपमा रहेको घिमिरेले बताउनुभयो। यदी उद्यमशिलाताको विकास गर्ने हो भने सरकारको भौतिक पुर्वाधार तथा पुजीगत खर्च समयमै व्यवस्थित हिसाबले सदुपयोग हुनुपर्ने घिमिरे बताउनुहुन्छ। यसले गर्दा भौतिक पूर्वाधारहरु समयमै बन्ने र पुजिले बजार पाउने हुदा आर्थिक मन्दीको सम्भावनाबाट जोगिन मद्धत गर्ने उहा बताउनुहुन्छ । त्यस्तै शिक्षा , स्वास्थ्य , यातायात जस्ता धेरै ठाउमा फस्टाएका सिण्डिकेटलाई तोड्न सके धेरै लगानीकर्ताहरु प्रोत्साहित हुने उहा बताउनुहुन्छ ।
अन्त्यमा सफल व्यवसायीको छवि बनाउनुभएका भिम घिमिरेले युवाहरुलाई सपना देख्न अनुरोध गर्नुभएको छ । नेपालमै अथाह सम्भावना रहेको कारण सानो कामदेखि थालनी गरेर भएपनि सम्पूर्ण युवाहरुलाई यहि नै सम्भावनाहरुको पहिचान गरि प्रगतिको मार्गमा बढ्न हौसला दिनुभएको छ ।