विराटनगर। विर्तामोडका सफल व्यवसायी तथा एभरेष्ट लार्ज कार्डामम इण्डस्ट्रिज प्रा लि का चेयरमेन निर्मल भट्टराईले विराटनगरमा अलैची व्यवसायमा आफ्नो अनुभव सुनाउनुभएको छ। अंग्रेजी महिनाको अन्तिम बिहिबार विकल्प एन अल्टरनेटिभले सहजसंगको सहकार्यमा आयोजना गर्दै आएको ” उद्यमीका कुरा ” कार्यक्रममा यो पटक भट्टराईले उपस्थित १६० जना युवा तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको माझ आफ्नो जीवनको भोगाइ , संघर्ष तथा व्यवसायीक जिवनका बारेमा अनुभव प्रस्तुत गर्नुभएको थियो ।
नेपाल अलैची व्यवसायी संघको अध्यक्ष समेत रहनुभएको भट्टराइले नेपालमा अलैची खेति तथा व्यवसाय , यसको चुनौती र अवसरका बारेमा प्रष्ट पारी सहभागीहरुको प्रश्नहरुलाई समेत उत्तर दिनुभएको थियो ।विश्वको ३ देश नेपाल, भारत र भुटानमा मात्र उत्पादन हुने अलैँची खेतीलाई प्रोत्साहन गरेर त्यसलाई तेस्रो मुलुकमा समेत निर्यात गर्न सकियो भने देशले थप विदेशी मुद्रा भित्रयाउन सक्ने सम्भावना रहेको उहाले कार्यक्रमा बताउनुभएको थियो ।सबैभन्दा बढी अलैँची उत्पादन गरेर पनि हामीले तेस्रो मुलुकमा पाइला टेक्न नसकेको अवस्थामा अलैँची व्यापारी तथा अलैँची व्यापार महासंघको तर्फबाट विभिन्न समयमा र हालसम्म पनि नेपाल सरकारसँग भारत बाहेकका अन्य देशहरुमा पनि अलैँची निर्यात गर्नेबारे पहल र बहस भैरहेको उहाले बताउनुभयो ।भौगोलिक विकटता र भुपरिवेष्ठित राष्ट्र भएको कारण पनि तेस्रो मुलुकमा अलैँची निर्यात गर्न महंगो रहेको र नेपालको व्यापार सम्बन्धि विदेशी नितिले पनि यसमा असर गरेको कारण सरकारले यस सम्बन्धि विचार गर्नुपर्ने उहाको धारणा थियो ।
अन्त्यमा युवाहरुलाई केन्द्रित गर्दै सफल उद्यमी बन्न ईच्छाशक्ति मात्र भएर नहुने तर आफुले गर्ने व्यवसाय तथा उद्यम सम्बन्धि जानकार र अनुभव भएको पनि हुनुपर्ने सुझाव उहाले दिनुभयो । रहर र कसैको कर अथवा बाध्यताको कारण मात्र उद्यम थालनि गरे त्यसले जोखिम पनि निम्त्याउन सक्ने उहाको जिकिर थियो । नेपालका युवायुवतीहरु यहाँ रोजगार नभएको कारण विदेश पलायन हुनु पर्ने कुरा दुर्भाग्य भएपनि अब नेपालका युवाहरुले यहि सम्भावना खोजि आफ्नो बाँझो खेतहरुलाई उर्बर बनाउन सके नेपालमा नै प्रशस्त आम्दानी गर्न सकिने हौसला भट्टराइले कार्यक्रममा थियो।