– वसन्त अधिकारी
भोल्टेयर भन्छन, “म तिम्रो विचारसंग असहमत भएपनि तिमीले आफ्नो विचार राख्न पाउनु पर्छ भन्ने कुराको निम्ती म जिन्दगी भरी लडिरहने छु । ” मानिसको विचार र त्यस्को अभिव्यक्ति कति महत्वपूर्ण छ भन्ने कुरा भोल्टेयरको यो भनाइले प्रस्ट गर्दछ । तर के नेपाली समाज वा राज्य व्यवस्था अभिव्यक्तिको स्वतंत्रताको बिषय प्रति त्यती उदार छ ? आउनुहोस यस विषयलाई केही उदाहरणहरू बाट बुझने प्रयास गरौ ।
२०७९ भदौ १२ गते आइतबार कमेडीयन अपूर्व क्षितिज सिंहलाई नेवार समुदायको भावनामा आघात पुर्याएको भन्दै अभियन्ताहरूले उनीविरुद्ध ‘अभद्र व्यवहारको उजुरी दिएको आधारमा पक्राउ गरिएको थियो। १२ दिन हिरासतमा राखी हाजिर जमानीमा छोड़िए पनी प्रहरीले उनलाई फेरी नियन्त्रणमा लिएको थियो । उनले फेसबुक मार्फत माफी माग्नुका साथै युट्युबबाट आफनो भिडियो पनि हटाउनु परेको थियो ।
त्यसैगरी २०७७ साल कार्तिक ७ गते महानगरीय अपराध महाशाखाले र्यापर भिटेन अर्थात समिर घिसिङलाई उनले गाएका “हामी यस्तै त हो नि ब्रो’ गीत समाजलाई अपाच्य हुने खालको भएको भन्दै महानगरीय अपराध महाशाखा टेकुले पक्राउ गरेको थियो।
युट्युबमा सार्वजनिक गरिएको र १९ लाखपटक हेरिएको उक्त गीत मा अश्लील र अपमानजनक शब्द प्रयोग गरेको भन्दै सो गीतलाई हटाउन बाध्य पनि बनाइएको थियो ।
२०७६ साल कार्तिक ५ गते गायक दुर्गेश थापाको “ह्याप्पी तिहार, चिसो बियर’ गीत सार्वजनिक भएपश्चात देउसी भैलोको गीत बिगारेर सामाजिक सहिष्णुता बिगारेको भन्दै जिल्ला प्रहरी कार्यालय काठमाडौमा ऊजुरी परेको कारण महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले थापालाई कार्यालयमा उपस्थित हून निर्देशन गरेको थियो। दुर्गेशले उक्त गीत युट्युब च्यानलबाट हटाउन बाध्य भएका थिए ।
त्यसैगरी २०७५ साल फाल्गुनमा गायक पशुपति शर्माले सरकार, नेता र कर्मचारीहरूलाई व्यंग्य गरेर गाएका ‘लुट्न सके लुट कान्छा’ बोलको लोकप्रिय लोकगीत सरकारपक्षीय कार्यकर्ताको तिव्र आक्रोश र दबाबपछि युट्युबबाट हटाउन बाध्य पारिएको थियो। गायक शर्माले नेपालको सार्वजनिक क्षेत्रमा व्याप्त भ्रष्टाचारको व्यंग्यात्मक गीत गाएको कारण तत्कालीन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठनबाट धम्की झेल्नु परेको थियो। सामाजिक सञ्जालमा दर्शक तथा श्रोताबाट अत्याधिक सकारात्मक प्रतिक्रिया आएपनि गीत रिलिज भएको ४८ घण्टामै युट्युबबाट हटाउनु परेको थियो। ६ वर्ष अघि पनि शर्माले गाएको “केको बाहुन, केको कामी, केको जनजाति” गीतलाई दलित तथा जनजाति अधिकारकर्मीले विरोध गरेका कारण युट्युबबाट हटाइएको थियो।
२०७८ फागुनमा राजनीतिक उथलपुथलको चर्चा सहित र विवादकै बीच गायक प्रकाश सपुतको गीत ‘पीर’ ले युट्यूवमा एक करोडको भ्युज पाएको केहि घण्टामै युटुवबाट हट्नु परेको थियो । प्रकाश सपूतको ‘पिर’ गीतले माओवादीका लागि लडेकाहरुले बिताउनु परेको कष्टकर जीवन र सत्ताको स्वादमाँ जिम्मेवारी बिर्सिएका नेताहरूको रजगजलाई प्रस्ट रूपले दर्शाएको थियो। उक्त गीतको कारण माओवादी नेतृत्व र कार्यकर्ताबाट प्रकाश सपुतले धेरै आलोचना र धम्किको सामना गर्नु पर्यो । अत्याधिक नेपाली स्रोताले मन पराएपनि आलोचना खप्न नसकेपछी अन्ततः प्रकास सपुतले उक्त भिडियोबाट विवादास्पद खण्ड हटाउन बाध्य भएका थिए।
२०७६ साल जेष्ठ २४ गते, युट्युबर प्रणेश गौतमले आफ़नो युट्युब च्यानलको ‘व्यंग्य भिडियो मार्फत चलचित्र ‘वीर विक्रम २’ को बारेमा नकारात्मक टिप्पणी गरेकै कारण पक्राउ पर्नु परेको थियो। फिल्म वीरविक्रम–२ को समीक्षामा गालीगलौज र अव्यवसायिक टिप्पणी गरेको भन्दै निर्देशक मिलन चाम्सले प्रहरीमा उजुरी दिएपछि प्रनेशलाई पक्राउ गरि कठगरामा हालिएको थियो ।
गायिका सोफिया थापाले ‘नो व्रत प्लिज’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरे पश्चात धम्कीपूर्ण फोन कलको सामना गर्नुपरेको थियो। । विश्व हिन्दु महासंघको भ्रातृ संगठन विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले विज्ञप्ति नै निकालेर गीत हटाउन चेतावनी दिएको दियो ।
झण्डै एक दशकअघि गायिका कोमल वलीको ‘पोइला जान पाम’ गीत पनि विवादमा परेको थियो । वलीले गितमा पोइ शब्द प्रयोग गरेको भन्दै दर्शक तथा स्रोताहरुले आलोचना गरेका थिए ।
यी सबै घटनाहरुलाई नियाल्दा, नेपाली समाज र कानून त्यति उदार र सहिष्णु देखिदैन। माथि उल्लेखित कलाकारहरूले कुनै ठुलो अपराध गरेको प्रतित हुदैन । धेरै मानिसहरूले उनिहरूको क्रियाकलापलाई रुचाएपनी केही मानिस वा मानिसहरुको समूहमा भएको आपत्तिको कारण उनिहरू कानूनी कारवाहिको भागीदार हुनु परेको अवस्था विद्यमान छ ।
प्रजातंत्रतिक र स्वतंत्र समाजमा अभिव्यक्तिको स्वतंत्रताले निकै महत्व राख्दछ जुन कुराको ग्यारेन्टी नेपालको संविधानको धारा १६ ले पनि गरेको छ। सरकारको हस्तक्षेप र सेंसरसिप बिना आफ्ना विचारहरु अभिव्यक्त गर्न पाउने हरेक नागरिकको अधिकार हो ।
आफ्ना बिचार व्यक्त गरेकै आधारमाँ कोहीपनी मानिसहरू जेल जानु पर्ने वा आफ्नो सृजनाको कारण त्रासमाँ बाच्नू पर्ने समाजलाई स्वतंत्र मान्न सकिदैन। स्वतंत्र र प्रजातांत्रिक समाजमा फरक र अलोकप्रिय विचार व्यक्त गर्नको निम्ती मानिसहरूलाई छूट हुन्छ ।
यदि कुनै राज्य वा समाजले कुनै व्यक्तिलाई आलोचना गर्न र आफ़नो बिचार व्यक्त गर्न बन्देज लगाउछ भने त्यो समाज स्वतंत्र र प्रजातांत्रिक नभएर अप्रजातांत्रिक र तानासाहि प्रकृतिको हुन पूग्दछ।
सबैले हामिलाई मनपर्ने कुरा गर्छन वा गर्नु पर्छ भन्ने हुदैन । कसैले गर्ने व्यवहार र क्रियाकलापमा सबै मानिसको चित्त बुझ्छ वा बुझ्नु पर्छ नै भन्ने हुदैन । अरुलाइ मन परेको कुरा मात्र व्यक्त गर्न पाउने र फरक बिचार व्यक्त गर्न नपाउने समाजले स्वतन्त्र समाजको संग्या दिन सक्दैन ।
समाजमा हरेक मानिसको फ़रक सोच र चाहना हुन्छ। त्यसैले एउटा व्यक्तीलाई अर्को व्याक्तीले गरेको बोली- व्यावहार प्रति चित्त नबुझ्नु स्वभाविक प्रक्रिया हो ।
कतिपय अवस्थामा भने कुनै व्यक्तिले बोल्दा वा लेख्दा अन्य व्याक्ती वा समुदायको भावानामा जानेर वा नजानेर पनि ठेस पुगीरहेको हुन सक्छ । व्यक्तिले दिएको अभिव्यक्तिको कारण कसैको भावानामा ठेस पुग्न गयो भन्ने आधार बनाइ व्यक्तिलाई कारवाहि गर्न थालियों भने जसले जसलाइ पनि कारवाहि गर्ने र जेल हाल्ने आधार तयार हुन सक्दछ। यसको कारण एक किसिमको डर र त्रासको वातावरण सिर्जना हुन्छ जसले गर्दा समाजको अन्य सदस्यलाई खुलेर बोल्नुपर्ने विषयमा पनि बन्देज लाग्दछ ।आफ़नो बिचार व्यक्त गर्न असुरक्षित महसूस हुन थाल्दछ । व्यक्तिको सोच्ने र उक्त सोचलाई व्यक्त गर्ने क्षमतालाई कुण्ठित गरिदिने हो भने समाजको प्रगति रोकिएर स्वेच्छाचारी शासकहरूको अभिस्टलाई पूरा गर्न मद्दत पूर्याउछ। यसबाट समाजका केहि व्यक्ति वा समुदायको स्वार्थ पुरा भएपनि अन्य धेरै सदस्यहरूको अहित गर्नेछ।
सत्तामा हुनेहरू आफनो स्वार्थ सिद्दको निम्ती अभिव्यक्ति स्वतंत्रतालाई सधै खुम्च्याउन तल्लीन रहन्छन। यस कुरालाई नागरिकले बुझेर यसको रक्षाको निम्ती डट्न आवास्यक छ ।
अवश्य पनि स्वतंत्रता भनेको स्वरच्छन्दता होइन भन्ने कुरा सबैले बुझन जरूरी छ । स्वतंत्रता संगै जिम्मेवारी पनि जोडीएर आएको हुन्छ भन्ने कुरा समाजका कुनैपनी सदस्यहरूले बिर्सनु हुदैन ।
कुनै व्यक्तीले आफ़नो अभिव्यक्ति स्वतंत्रताको अधिकार प्रयोग गर्दा त्यसले कुनैपनी किसिमको हिंसात्मक व्यवहारलाई प्रशय दिने वा अरुको जीउ धनमाथी नोक्सानी पूर्याउने किसिमको हुनु हुदैन । साथै त्यसबाट समाजमा भ्रम सिर्जना गर्ने, झुटलाई बढावा दिने, घृणा र द्वेस फैलाउने किसिमको कार्य हुनु हुदैन भन्ने कुरा प्रति पनि सचेत रहन आवश्यक छ । व्यक्तिले कुनैपनि किसिमको अभिव्यक्ति दिदा उसको नियत के रहेको छ भन्ने कुरालाई ध्यानमाँ लिनु पर्दछ ।
मनोरंजन वा सचेतनाका लागि तयार पारिएको बिषयलाई सोही अनुरूप नै हेरिनु पर्दछ जसप्रति कानून र समाजका मानिसहरु उदार र सहिष्णु हुन आवास्यक छ ।
सरकार, तिनका मानिस तथा समाजका अन्य ख़राब तत्वहरूले गरेको गलत क्रियाकलापलाई कला,संगीत, लेख वा भाषण आदि जस्ता माध्यमद्वारा नागरिकहरूलाई सचेत गर्नको निम्ती प्रकाशन, सम्प्रेसण तथा आलोचना गर्न पाउनु हरेक नागरिकहरूको अधिकार मात्र नभएर, कर्तव्य पनि हो भन्ने हरेक नागरिकले बुझन आवस्यक छ।
आफनो विचार अभिव्यक्त गर्ने अधिकार मात्र नभएर नागरिकको हितको निम्ति काम नगर्ने र नागरिक अधिकार खोस्ने साशकहरूलाई हटाई व्यक्तीको अधिकार र हितलाई सर्वोपरि राख्ने सरकार निर्माण गर्ने अधिकार समेत नागरिकहरूमा निहित हुन्छ।
एक जनाको बोल्न पाउने अधिकार खोसिनुले अंतत सबै नागरिकको अधिकार खोसिने सम्भावनालाई बढावा दिने हुनाले अभिव्यक्तिको स्वतंत्रतालाई सुरक्षित राख्न आवश्यक छ।
समाजमा स्थापित र लोकप्रिय विषयहरू त्यसैपनि सुरक्षित हुन्छन । सुरक्षाको धेरै खाचो त अलोकप्रिय र फरक विचारलाइ पर्दछ।
अन्त्यमा भोल्टेयरले भने जस्तै हामी अरुको विचारमा असहमत भएपनि उसले आफ्नो विचार राख्न पाउनु पर्दछ भन्ने कुराबाट पछी हटनु हुदैन । जस्को निम्ती उदार र फराकिलो मन , विचार र सहिष्णुता दर्साउनु आवास्यक छ।