प्रतिनिधिसभा निर्वाचन २०७९ भरखरै सकिएको छ। निर्वाचनमा ४८ दलहरु सहभागी भएका थिए। ती मध्ये कति दल राष्ट्रिय पार्टी बन्लान् ? राष्ट्रिय दल बन्ने प्रावधान के छ ? राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने दललाई के फाइदा हुन्छ ?
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार राष्ट्रिय दल बन्न कम्तीमा प्रत्यक्षतर्फ एक सिट जित्नुपर्ने र समानुपातिकतर्फ सदर मतको तीन प्रतिशत मत पाउनुपर्ने प्रावधान छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो आँकडा हेर्दा ४८ मध्ये नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी पाँच वटा दल राष्ट्रिय पार्टी बन्ने निश्चित देखिन्छ ।
अन्य केहि दलहरु राष्ट्रिय पार्टी बन्ने दौडमा रहेपनि उनीहरूले पाएको मत दरलाई हेर्दा ती दलहरूले राष्ट्रिय दलको मान्यता पाउने या नपाउने भन्ने निश्चित छैन।
राष्ट्रिय मान्यता प्राप्त पार्टी भएसँगै समानुपातिक सांसद मिल्नेछ । राष्ट्रिय मान्यता प्राप्त पार्टी बन्न नसकेको खण्डमा समानुपातिक मतबाट सांसद चयन हुन सक्दैनन् ।
राष्ट्रिय पार्टीको मान्यता प्राप्त गर्ने दलले संसद्मा संसदीय दलको कार्यालय र गाडीसहितको सुविधा पाउछ । ती दलले सांसदकाे संख्याअनुसार खर्च र सुविधा पाउँछन् ।
राष्ट्रिय मान्यता प्राप्त नगरेका साना दलका दुईभन्दा बढी सांसद छन् भने कोठा उपलब्ध गराउँदै आएको छ ।
संसद्मा स्वतन्त्र सांसदभन्दा राष्ट्रिय पार्टीका सांसदले बढी राजनीतिक महत्व पाउँछन् । राष्ट्रिय पार्टीले हरेक चुनावमा आफ्नो चुनाव चिह्न कायम राख्न पाउँछन् । राष्ट्रिय पार्टीको मान्यता नपाउने दलले अर्को चुनावमा आफूले पहिला प्रयोग गरेको चुनाव चिह्न नपाउन पनि सक्छन् । यद्यपि आयोगले उनीहरूले प्रयोग गरेको चिह्न उनीहरूलाई नै दिँदै आएको छ ।
राष्ट्रिय पार्टीले संसद्मा संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतकको पद पाउँछन् । उनीहरूले आकर्षक सुविधा पनि प्राप्त गर्छन् । प्रमुख सचेतक वा सचेतकले राज्यमन्त्री सरहको सुविधा पाउने गर्छन् ।