धरान | उपमहानगरपालिकामा महिलाहरुको सामुहिक कुटपिटबाट एक महिलाको मृत्यु भएपछी त्यहाको आमा समूह विवादमा परेको छ। धरानस्थित वार्ड नम्बर १३ मा डेरा गरी बस्दै आएकी एकल महिला उषा राईको उपचारको क्रममा मृत्यु भएपछि जनजागृति आमा समूह विवादमा आएको हो ।
घटनाअनुसार उर्मिला राईले आफ्नो श्रीमानसँग नजिकिएको आरोप उषा राईलाई लगाएकी थिइन्। केही महिलासहित पुगेकी उर्मिला राईले गएको कात्तिक ३ गते उनको पसलमै गएर कुटपिट गरेपछि उषा गम्भीर घाइते भएकी थिइन् । केही दिन अस्पतालमा उपचार गरे पश्चात उषा डिस्चार्ज भइन। उषाले उपचार खर्च पाउने गरी प्रहरी कार्यालयमा मिलापत्र गरिए पनि पुनः स्वास्थ्यमा समस्या आएपछि झन्डै एक साताअघि उनी अस्पताल भर्ना भएकी थिइन् । उपचारकै क्रममा उनको गत मंगलबार मृत्यु भएको छ ।
मृतकका छोरी, छरछिमेकी र प्रत्यक्षदर्शीहरुले पनि कुटपिटका मुख्य आरोपी उर्मिलासँगै आमा समुहका महिलाहरु पनि रहेको बताउदै आएका छन् । मृतककी छोरीले आमालाई धुलोजस्तो पदार्थ , खोर्सानीको धुलो मिस्रित तरल पदार्थ जबर्जस्ति पिलाएर हत्या गर्ने प्रयास गरेको बताएकी छिन । उनको मृत्यु भएपछि उषाको परिवारले सातजनाविरुद्ध प्रहरीमा जाहेरी दिएको थियो । घटनामा किटानी जाहेरी आइसकेकोले अनुसन्धान भइरहेको र जोहरीमा नाम उल्लेख भएकाहरुको खोजी पनि भइरहेको ईलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी बुद्ध श्रेष्ठले बताए ।
यता विवादमा मुसिएको जनजागृति आमा समुहले बुधबार आकस्मिक रुपमा पत्रकार सम्मेलन गरेर उक्त घटनामा समुहको संलग्नता नरहेको जनाएको छ । समूहको संलग्नता नभएको र केही सदस्य व्यक्तिगत रूपमा संलग्न भएको समुहले बताएको छ । साथै, समुहले दोषीलाई कारबाही गर्न र पीडित (मृतक) उषा राईलाई न्याय दिलाउन पनि समबन्धिन निकायसँग माग गरेको छ । संस्थामा आवद्ध भएका महिलाहरु संस्थाको प्रतिनिधिको रुपमा कोही पनि नगएको प्रष्ट पार्दै अध्यक्ष निर्मला तिम्सिनाले व्यक्तिगत रुपमा घटनामा संलग्न भएमा उनीहरुलाई पनि कारबाही हुनुपर्ने बताइन् ।