विराटनगर | इटहरी –१९ तरहरा फूलबारी चोकका गोपाल भनिने लालबहादुर विक यतिबेला झुम्का कारागारमा थुनिएका छन् । उनीमाथि सुनसरी जिल्ला अदालत निर्मला योङ्गयाको इजलासले अवैध रूपमा बैंक तथा वित्तीय संस्था सञ्चालन गरी ठगी गरेको भन्दै १८ करोड ८४ लाख ६६ हजार रुपैयाँ बिगो र ठगी मुद्दामा ७० हजार जरिवाना तथा डेढ वर्ष कैदको सजाय तोकेको छ । मंसिर २० मा लालबहादुर विश्वकर्माले जिल्ला अदालत सुनसरीको निर्णयविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन गरेका थिए । पुष ३ गते पेशी चढ्ने कुरा थियो तर पेशी पुष २६ को लागि सरेको लाल बहादुर विश्वकर्माको पक्षमा वकालत गरिरहनुभएका अधिवक्ता निराजन ओझाले बताउनु भएको छ । उहाले जिल्ला अदालत सुनसरीका न्यायाधिश निर्मला योङयाको फैसलामा ठुलो गल्ति भएको र उहाको कार्यक्षमतामा पनि प्रश्न उठेको बताउनुभयो ।
अभिवक्ता निराजन ओझासंग भएको फोन संवाद :
लाल बहादुर २०७२ सालदेखि लालबहादुर कृष्ण बहादुर विश्वकर्मा र उनका छोरा दिपक गजमेरले संचालन गरेको सिंहदेवी ज्वेलार्समा सुन, चाँदीका गरगहना बनाउने कालिगडका काम गर्थे । कृष्ण बहादुर र उनका परिवारले सिंहदेवी ज्वेलर्स नामको बचत पासबुकमार्फत विभिन्न प्रलोभन देखाई मानिसहरुबाट लाखौ रकम संकलन सुरु गरे। जम्मा गरेको भन्दा धेरै पैसा पाउने लोभमा बचतकर्ताहरुले लाखौ रकम सिंहदेवी ज्वेलर्समा जम्मा गर्दै गए । लालबहादुर आफ्नो गहना बनाउने काम देखि बाहेक साहुले खटाए अनुसार पासबुकमा हस्ताक्षर गर्थे अनि बेलाबखत बैंकमा रकम जम्मा गर्ने र निकाल्ने काम पनि गर्थे । कृष्ण बहादुरलाई लेख्न नआउने कारण उनले लाल बहादुरलाई हस्ताक्षर गर्न लगाउने कुरा उल्लेख छ।
२०७५ साल असार २० मा बचतकर्ता सुकमित गुरुङसहित नौ जनाले सिंहदेवी ज्वेलर्सले आफूहरूको ५२ लाख ६६ हजार रुपैयाँ ठगी गरेको भन्दै उजुरी हाले । उजुरीलगत्तै प्रहरीले कृष्णकी छोरी सीतालाई सोधपुछका लागि बोलाएर बयान लिँदा सीताले लालबहादुर पनि यस्तो काममा संग्लन भएको बताइन् । २ सय ७५ जनाबाट १० हजारदेखि १० लाखसम्म रकम लिएर ठगी गरेको मुद्दा २०७५ असार २१ मा सुनसरी जिल्ला अदालत पुग्यो। मुद्दालगत्तै १० धुर जग्गासमेत रोक्का भएपछि उनी २ लाख धरौटी बुझाएर केही दिनपछि कारगारबाट छुटे । उनी तारिक धाउदै थिए । २०७८ पुस १९ मा जिल्ला अदालत सुनसरी ,न्यायाधीश निर्मला योङयाको इजलासले अवैध रूपमा बैंक तथा वित्तीय सस्था सञ्चालन गरी ठगी गरेको भन्दै १८ करोड ८४ लाख ६६ हजार रुपैयाँ बिगो कायम गर्दै मुख्य साहु कृष्ण, उनका तीन छोराछोरीसहित लालबहादुरलाई थुनामा राख्ने आदेश दियो । लालबहादुरलाई अवैध रूपमा बैंक तथा वित्तीय संस्था सञ्चालन गरेको कसुरमा ३ करोड १४ लाख ३३ हजार रुपैयाँ बिगो तोक्दै ठगी मुद्दामा ७० हजार जरिवाना र डेढ वर्ष कैदको सजाय तोकियो ।
दुइ छाक टार्न हम्मेहम्मे पर्ने लाल बहादुरको परिवार यतिबेला विक्षिप्त अवस्थामा छ । उनका श्रीमती दिलु गहतराजले आफुहरुलाई बहुलाएर हिड्नु र देह त्याग गर्नु बाहेक अन्य विकल्प लाल बहादुरले न्याय पाउनु रहेको बताएकी छिन ।