विराटनगर। सन्दिप कट्टेलद्वारा लिखित अंग्रेजी उपन्यास ” अ प्याच अफ हेभेन ” सार्वजनिक गरिएको छ। विराटनगर स्थित पत्रकार महासंघ मोरङमा एक कार्यक्रमका बीच उपन्यास सार्वजनिक भएको हो। अंग्रेजी विधामा धेरै कथा तथा उपन्यास लेखि सकेका कट्टेलको यो पहिलो प्रकाशित कृति हो। उपन्यासले एक अहंकारी मान्छेको जीवनलाई केन्द्रित गरेको छ । सरल भाषामा उतारिएको कथाको मुख्य पात्र बेन्जामिन छन् । कट्टेलले अंग्रेजी साहित्यमा एम ए गरेका छन् भने लेखक अंग्रेजी विषयका प्राध्यापक पनि हुन् ।
उपन्यासलाई लेखक कट्टेलका आमाबुबा लगायत विभिन्न साहित्यकार , बुद्धिजीवी तथा प्राध्यापकहरुको उपस्थितिमा संयुक्त रुपमा विमोचन गरिएको थियो। विमोचन कार्यक्रममा प्रमुख अतिथिको रुपमा महेन्द्र बहुमुखी क्याम्पसका पुर्व प्राध्यापक धर्म चन्द्र नेपाल लगायत अतिथिहरु लेखक विमल श्रीवास्तव , कवयत्री सविता गौतम , हिमालयन दर्शन कलेज विराटनगरका क्याम्पस चिफ भारत सापकोटा , मेरिल्याण्ड कलेजका प्रधानाध्यापक लक्ष्मण ढकाल , शिक्षादीप कलेजका प्रधानाध्यापक ग्यान बहादुर खड्का , लेखक महेन्द्र प्रसाद जोशी र साहित्यकार सिमा आभास लगायतको उपस्थिति रहेको थियो ।
कृतिमाथि टिप्पणी गर्दै कवी सविता गौतमले उपन्यासले सुरु देखि अन्त्यसम्मै पाठकलाई आकर्षित गर्न सफल भएको बताइन ।‘कथा सुरु भएदेखि अन्त्यसम्मै पाठकलाई आकर्षण गर्ने कथा वस्तु रहेको छ,’ उनले भनिन । अन्य वक्ताहरुले लेखकलाई सल्लाह सुझाव सहित बधाई तथा पुस्तकको सफलताको कामना गरेका थिए।