काठमाडौँ | लाल बहादुर विश्वकर्माको न्यायको माग गर्दै आज काठमाडौँमा पनि शान्तिपूर्ण प्रदर्शन भएको छ । सुनसरी जिल्ला अदालतबाट ठगि मुद्धामा १८ महिना जेल र ३ करोड १४ लाख ३३ हजार बिगो तिर्नुपर्ने सजाय पाएका इटहरी –१९ तरहराका गोपाल भनिने लालबहादुर विक निर्दोष र उनलाई चाडो रिहा गर्नुपर्ने माग गर्दै युवाहरुले माइतीघर मण्डला अगाडी धर्ना दिएका हुन् । प्रदर्शनमा दारी ग्याङ्ग , एम आर आर , हन्ड्रेड एस ग्रुप , नागरिक तथा सामाजिक अभियान्ताहरुको उपस्थिति रहेको थियो । आज इटहरीमा पनि लाल बहादुर बिकको परिवार तथा स्थानीयले लाल बहादुरको रिहाइको माग गर्दै धर्ना दिएका थिए ।
लाल बहादुर घटना के हो ?
लाल बहादुर निम्न आर्थिक स्थिति भएका युवा हुन् । केहि वर्ष खाडी मुलुकमा मजदुरका काम गरेर फर्किएका लाल बहादुरले नेपाल आएर बिहे गरेका थिए । बिहेपछि रोजगारको खोजि गर्दै जादा उनले सुनसरी तरहरास्थित रहेको दिपक गजमेरको सिंहदेवी ज्वेलर्समा गरगहाना बनाउने कालिगढको काम पाएर त्यहि काम गर्न शुरु गरेका थिए । लाल बहादुर दिपक गजमेरको ज्वेलार्समा सिक्री बनाउने र सरसफाइको काम गर्ने गर्दथे । दिनमा मुस्किलले ८/९ सय कमाउने लालबहादुरलाई त्यति बेला बज्र पर्यो जति बेला उनका मलिक दिपक गजमेरले गरेको अपराधमा उनी फस्न पुगे । लाल बहादुरका मालिक दिपक गजमेरले ज्वेलर्सका साथसाथै वित्तिय कारोवार पनि गर्दथे । दिपक गजमेर र उनका परिवारले सिंहदेवी ज्वेलर्स नामको बचत पासबुकमार्फत विभिन्न प्रलोभन देखाई मानिसहरुबाट लाखौ रकम संकलन सुरु गरे। । तर पछि सिंहदेवी ज्वेलार्सले आफुहरुले जम्मा गरेको पैसा तिर्न आनाकानी गरेपछि पिडितहरुले मुद्धा मामिलाको प्रक्रिया अगाडी बढाएका थिए ।
२०७५ साल असार २० मा बचतकर्ता सुकमित गुरुङसहित नौ जनाले सिंहदेवी ज्वेलर्सले आफूहरूको ५२ लाख ६६ हजार रुपैयाँ ठगी गरेको भन्दै उजुरी हाले । उजुरीलगत्तै प्रहरीले दिपक गजमेर , उनका बुबा कृष्ण बहादुर विश्वकर्मा र दिदि सित गजमेर सहित कालिगढ लाल बहादुर विश्वकर्मालाई पक्राउ गरेको थियो । २ सय ७५ जनाबाट १० हजारदेखि १० लाखसम्म रकम लिएर ठगी गरेको मुद्दा २०७५ असार २१ मा सुनसरी जिल्ला अदालत पुग्यो।
मुद्दालगत्तै १० धुर जग्गासमेत रोक्का भएपछि लाल बहादुर २ लाख धरौटी बुझाएर केही दिनपछि कारगारबाट छुटे । उनी तारिक धाउदै थिए । २०७८ पुस १९ मा जिल्ला अदालत सुनसरी ,न्यायाधीश निर्मला योङयाको इजलासले अवैध रूपमा बैंक तथा वित्तीय सस्था सञ्चालन गरी ठगी गरेको भन्दै १८ करोड ८४ लाख ६६ हजार रुपैयाँ बिगो कायम गर्दै मुख्य साहु दिपक गजमेर , उनका बुबा कृष्ण बहादुर विश्वकर्मा र दिदि दीता गजमेर सहित लालबहादुरलाई थुनामा राख्ने आदेश दियो । लालबहादुरलाई अवैध रूपमा बैंक तथा वित्तीय संस्था सञ्चालन गरेको कसुरमा ३ करोड १४ लाख ३३ हजार रुपैयाँ बिगो तोक्दै ठगी मुद्दामा ७० हजार जरिवाना र डेढ वर्ष कैदको सजाय तोकियो ।अहिले लाल बहादुर विक झुम्का कारागारमा थुनिएको अवस्थामा छन् ।
मंसिर २० मा लालबहादुर विश्वकर्माले जिल्ला अदालत सुनसरीको निर्णयविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन गरेका थिए । पुष ३ गते पेशी चढ्ने कुरा थियो तर पेशी पुष २६ को लागि सारिएको जानकारी लाल बहादुर विश्वकर्माको पक्षमा वकालत गरिरहनुभएका अधिवक्ता निराजन ओझाले बताउनु भएको थियो । उहाले जिल्ला अदालत सुनसरीका न्यायाधिश निर्मला योङयाको फैसलामा ठुलो गल्ति भएको र उहाको कार्यक्षमतामा पनि प्रश्न उठेको बताउनुभयो ।