विराटनगर ।मान्छे अपहरण गरेर शरीर बन्धक बनाएको आरोप लागेका शाहेनशाह सिद्दिकी (अब्दुल खत्ताब ) यतिबेला प्रहरी हिरासतमा जिल्ला प्रहरी कार्यालय मोरङमा छन् । पक्राउ पुर्जी जारी भएको केहि दिन पछि फेसबुकमा स्टेटस लेखि आफै प्रहरीकहा गएका खात्तब र विराटनगर १५ भट्टा टोल बस्ने २५ वर्षीय अजय भन्ने जय कुमार रामको बयान मङ्गलवार सकिएको मोरङ अदालतका सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिनुभएको छ । प्रतिवादीहरूको बयान सकिएकाले बुधवार थुनछेक बहस सुरु हुने सूचना अधिकारी बुढाथोकीले जानकारी दिनुभयो । थुनछेक बहसमा वादी र प्रतिवादीका कानुन व्यवसायीहरूले पैरवी गरेपछि अदालतले धरौटी, साधारण तारेख र पुर्पक्षको लागि थुनामा पढाउने मध्ये एउटा आदेश गर्नेछ ।
खत्ताबविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय मोरङले अधिकतम २५ वर्ष कैद र दुई लाख १० हजार माग गर्दै मुद्दा दायर गरेको छ । अपहरण र शरीर बन्धक आरोपमा १० देखि १५ वर्ष कैद र १ लाख १० हजार जरिवाना र कुटपिट तथा अङ्गभङ्ग १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना माग गरिएको अभियोग पत्रमा उल्लेख छ ।
खत्ताबलाई उनका कम्पनी नेपाल टाइम्स प्रा लि का २० प्रतिशत साझेदारी पाएका पार्टनर उद्योगपति अरुण राठीले आफुलाई अपहरण गरेको र बलजफ्ती १५ लाख फिरौति लिएर छोडेको आरोप लगाई प्रहरीमा किटानी जाहेरी दिएका थिए । सोमबार खत्ताबविरुद्ध अपहरण तथा शरीर बन्धक र कुटपिट तथा अङ्गभङ्गको मुद्दा दर्ता भएको थियो ।
२० प्रतिशत शेयर खरिद गरेका राठीले नेपाल टाइम्स खरिद गर्न गरेको प्रस्ताव आफुले इन्कार गरेको कारण आफुमाथि षड्यन्त्र भएको खत्ताबले बताउदै आएका छन् । राठीले बारम्बार ” कि कम्पनी म किन्छु , कि पुरै सिध्याई दिन्छु ” भने बमोजिम रचिएको षड्यन्त्रको कारण अहिले आफुले दुख र सास्ती भोग्नु परेको खत्ताबले बताएका छन् । ” त्यतिका वर्ष दुख , कष्ट र संघर्ष गर्दै स्थापित गराइएको कम्पनी न बेच्छु न त सक्न नै दिन्छु ” भनेपछि आफुलाई फसाइएको खत्ताबको दावी छ ।
राठीले आफुलाई मंसिर १३ गते अब्दुल खात्ताबले फोन गरी भिडीयो अन्तरवार्ता गर्न बोलाएका र भोलिपल्ट भिडीयो खिच्न जाँदा आफुलाई अपहरण गरिएको आरोप लगाएका छन्। भिडियो खिचिसकेपछि आफुलाई बाधेर फिरौती मागेको र आफुले १५ लाख बराबरको चेक खात्तबलाई दिएको राठीको दावी छ । आफुलाई भिडियो खिच्ने बहानामा फकाईफुल्याई नेपाल टाइम्सको पुरानो अफिसमा अपरिचित व्यक्तिको सहयोगमा फलामको तारले बाधेर बन्धक बनाएको राठीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।