विराटनगर। अवैध बैंक तथा वित्तीय संस्था सञ्चालन कसुरमा जेल सजाय तोकिएका लालबहादुर विश्वकर्मासहितका प्रतिवादीलाई उच्च अदालत विराटनगरले ‘नियमअनुसार मुद्दा पेस गर्न’ आदेश दिएको छ ।
जिल्ला अदालत सुनसरीको निर्णयविरुद्ध गरिएको पुनरावेदनमा उच्च अदालतका कामु मुख्य न्यायाधीश सत्यमोहन जोशी थारू र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले मंगलबार उक्त आदेश दिएको हो ।
उच्च अदालतको आदेशमा ‘सुनसरी जिल्ला अदालतबाट भएको फैसला कानुनको रोहमा फरक पर्न सक्ने देखिँदा विपक्षी नेपाल सरकार पक्षलाई जानकारी दिई नियमअनुसार पेस गर्न’ भनिएको छ । सुनसरी जिल्ला अदालतकी न्यायाधीश निर्मला योङ्याको एकल इजलासले २०७८ पुस १९ मा अवैध रूपमा बैंक तथा वित्तीय संस्था सञ्चालन गरी ठगी गरेको अभियोगमा सिंहदेवी ज्वेलर्सका संचालक दिपक गजमेर, उनका बुबा कृष्ण बहादुर विश्वकर्मा, उनका दिदि सीता गजमेर र उनका कामदार लालबहादुर विश्वकर्मालाई थुनामा राख्ने आदेश दिएको थियो ।
इटहरी–१९ तरहरा फूलबारी चोक निवासी गोपाल भनिने लालबहादुर विश्वकर्मा इटहरी–२० तरहरामा २०७२ देखि सञ्चालित सिंहदेवी ज्वेलर्सका ज्यालादारी कामदार थिए । तरहरा बजारका कृष्ण विश्वकर्मा, दीपक गजमेर, कमल गजमेर र सीता विकले सञ्चालन गरेको ज्वेलर्समा लालबहादुर शिक्रि बनाउने र सरसफाइ गर्ने काम गर्थे।उनी दैनिक ८ सय देखि १ हजार ज्याला पाउँथे ।त्यही ज्यालाले उनले ६ जनाको परिवारको गुजारा चलाउँथे ।
लालबहादुरलाई सुनसरी जिल्ला अदालतले ३ करोड १४ लाख ३३ हजार रुपैयाँ बिगो असुली, जरिवाना र डेढ वर्ष कैद तोकेको थियो । उनी एक महिनादेखि सुनसरीको झुम्का कारागारमा छन् ।