बहराइन – नेत्र रोग विशेषज्ञ प्राध्यापक डा. सन्दुक रुइतलाई बहराइन सरकारले १० लाख अमेरिकी डलर ( १३ करोड हाराहारी ) को पुरस्कार राशिले सम्मान गर्ने भएको छ । तिलगंगा आँखा अस्पतालका संस्थापक समेत रहेका विश्वप्रसिद्ध नेत्र रोग विशेषज्ञ डा. रुइतलाई बहराइन सरकारले मानवीय सेवामा पुर्याएको योगदानको कदरस्वरुप इसा अवार्डबाट सम्मानित गर्ने घोषणा गरेको छ ।
बहराइनको राजपरिवारले स्थापना गरेको अवार्डका लागि छनोट समितिले विश्वभरका १३९ जनाको प्रारम्भिक सूचीबाट डा रुइतको नाम छनोट गरेको हो । सन् २०२०-२१ को लागि बहराइन राज्यले डा. सन्दुक रुइतलाई स्वर्ण पदक, प्रशंसा पत्र र पुरस्कार राशिले सम्मान गर्ने निर्णय गरेको छ ।बहराइनका राजा शेख हमद बिन इसा अल खालिफा ‘अनररी प्रेसिडेन्ट’ रहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले सन् २०१३ देखि हरेक दुई वर्षमा मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति/संस्थालाई प्रदान गर्दै आएको छ । अवार्डको बारेमा जानकारी दिँदै राजाका विशेष प्रतिनिधि तथा इसा अवार्डका अध्यक्ष शेख मोहम्मद बिन मुबारक अल खलिफाले मनामा कल्चरल सेन्टरमा फेब्रुअरी महिनामा आयोजना हुने विशेष समारोहमा अवार्ड वितरण गरिने जानकारी दिनुभयो ।
विश्वमा सबैभन्दा धेरै मानिसको सफल आँखाको शल्यक्रिया गरी विश्वकै सस्तो मोतियाबिन्दु लेन्स उत्पादन गरेका र अप्ठ्यारो र दुर्गम क्षेत्रमा समेत आँखाको शल्यक्रिया शिविर सञ्चालन गर्दै आएका डा रुइतलाई यो अन्तर्राष्ट्रिय सम्मान दिन लागिएको हो ।
सन्दुक रुइत एक नेपाली नेत्र रोग विशेषज्ञ हुनुहुन्छ जो विकासोन्मुख देशहरूमा अन्धोपनको उपचार र रोकथाममा आफ्नो कामका लागि परिचित हुनुहुन्छ । उहाँ काठमाण्डौ, नेपालको तिलगंगा आँखा विज्ञान संस्थानका सह-संस्थापक र निर्देशक हुनुहुन्छ, जुन मोतीबिन्दुको शल्यक्रियामा प्रयोग हुने कम लागतको इन्ट्राओकुलर लेन्स उत्पादन गर्ने अग्रणी केन्द्र हो। उहाले भुटान, म्यानमार र तिब्बतमा आँखा हेरचाह कार्यक्रम स्थापना गर्न पनि सहयोग गर्नुभएको छ। डा रुइतले आफ्नो कार्यका लागि फ्रेड होलोज फाउन्डेशन मानवीय पुरस्कार र सामुदायिक नेतृत्वका लागि रेमन म्यागसेसे पुरस्कार लगायत थुप्रै अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त गरिसक्नुभएको छ ।।