काठमाडौँ। नेकपा एमालेका सांसद देवराज घिमिरे प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएका छन्। नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई पराजित गर्दै सत्तारूढ गठबन्धनका उम्मेदवार घिमिरे बिहीवार प्रतिनिधिसभाको बहुमतबाट सभामुख छानिएका हुन्।
बैठक सञ्चालन गरिरहेका प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले घिमिरे सभामुख निर्वाचित भएको घोषणा गरेका थिए ।
२६८ सदस्य उपस्थित बैठकमा घिमिरेलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ मत , विपक्षमा १०० मत तथा तठस्थमा १ मत आएको थियो ।
घिमिरेलाई सभामुख बनाउने पूर्वसभामुख सुवास नेम्वाङको प्रस्तावमा माओवादी केन्द्रका हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले समर्थन गरेका थिए।
यसअघि गठबन्धनको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले सभामुखमा भने आफ्नै उम्मेदवार अघि सारेको हो। कांग्रेस उम्मेदवार न्यौपानेको पक्षमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वालाले समर्थन जनाएका थिए।
प्रतिनिधिसभाको बैठक आगामी शनिवार माघ ७ गते दिउँसो १ सम्मका लागि स्थगित गरिएको छ। सो दिन उपसभामुख पदका लागि निर्वाचन हुनेछ।