गणेश कार्की
पहिले वा अहिले नेताहरुको आलोचना गर्दा व्यक्तिगत रिसइवी साँध्न आलोचना गरिएको वा गरिने होइन । केहि सुधार होला कि भनेरै आलोचना, समर्थन गर्ने हो । मैले गर्ने वा मप्रति गरिने आलोचना र समर्थनहरुको बारेमा पनि मेरो धारणा सँधै यहि थियो, छ र रहनेछ । विकशीत राजनीतिक घटनाक्रमका बारेमा मलाई प्रश्न गर्नेहरुप्रति आभारी छु ।
रह्यो कुरा, हत्या आरोपी भएर अदालतले थुनामा राख्न आदेश दिए पनि सांसद भएर निर्वाध संसद भवन आउजाउ गर्ने सांसद लक्ष्मी महतो कोइरी र उनलाई पक्राउ गर्न भएको आनाकानीबारेमा मेरो धारणाको । यसमा मेरो व्यक्तिगत धारणा स्पष्ट छ । कोइरी थुनामा नहुनु दण्डहीनताको प्रश्रय हो र, हाम्रो पार्टीका सभापति तथा गृहमन्त्रीले कोइरीलाई थुनामा पठाउन नसक्नु तत्कालका लागि अक्षमता हो भन्नलाई धेरैबेर सोच्नसम्म पर्दैन ।
अदालतले थुनामा राख्न आदेश दिएका व्यक्तिहरु थुनामा नै भेटिनु पर्छ, संसदमा त झन् हुँदै होइन । किन यो भइरहेको छ भन्ने बारेमा आमनागरिकले थाहा पाउनु पर्छ । त्यो प्रक्रिया पुरा गर्न राजनीतिकरुपमा नसकिएको हो भने सभापतिले त्यो पनि थाहा दिनु पर्छ । किनकि, हामीले देख्न चाहेको रवि लामिछाने टिभीमा सिधा कुरा चलाउँदै गरेको रवि लामिछाने नै हो । हामीले भेट्न खोजेको रवि लामिछाने आफ्ना कुरा नदबाइ आममानिसले बुझ्न सक्ने सिधा भाषामा मुखरित हुन सक्ने रवि लामिछाने नै हो । एकथान निरिह गृहमन्त्री रवि लामिछाने होइन ।
मलाई विश्वास छ, गृहमन्त्रीको कुर्सीमा बसिरहेको र आफैले अस्विकार गरिरहेका नेताहरुको भिडमा हराइरहेको रवि लामिछानेले पक्कै पनि चाँडो भन्दा चाँडो हामीले चाहेको रवि लामिछानेलाई भेट्टाउनु हुनेछ । सांसद कोइरीको पक्राउ त्यसको पहिलो संकेत बन्नेछ । प्रीय सभापतिलाई भीड भन्दा परबाट यति अनुरोध, सुझाव पुर्याउने जमर्को गरेको छु । आशा छ, भीडको तुवाँलो हटेर प्रस्ट देखिने, सुनिने रवि लामिछाने पाइनेछ ।
( गणेश कार्की राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय समिति सदस्य हुन् । )