काठमाडौँ। रवि लामिछानेले आइतवार पुनः नेपाली नागरिकता लिएका छन्। नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेका कारण रवि लामिछानेले गृहमन्त्री, , सांसद सहितका महत्त्वपूर्ण पद गुमाएका थिए ।
जिल्ला प्रशाससन कार्यालय काठमाडौँले आजको निर्णय अनुसार लामिछानेलाई पुरानै नेपाली नागरिकता पुनः प्राप्ति भएको जानकारी दिएको छ ।
अमेरिकी नागरिकता लिएपछि स्वतः खारेज भएको भनिएको नेपाली नागरिकता लामिछानेले सक्रिय गराएका हुन्। लामो समय अमेरिका बसेर फर्किएका लामिछानेले अमेरिकी नागरिकता लिएपछि उनको नेपाली नागरिकता स्वतः खारेज भएको फैसला सुनाएको सर्वोच्च अदालतले उनले नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको ठहर गरेको थियो । यस लगत्तै लामिछाने नागरिकता लिन प्रशासन कार्यालय पुगेका थिए।
नागरिकता ऐन र नियमावलीमा नेपालको नागरिकता पुन: प्राप्तिका लागि विदेशको नागरिकता त्यागेको निस्सा सहित मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने उल्लेख छ। यस्तो निस्सा दर्ता भएकै दिनदेखि नेपालको नागरिकता कायम हुने कानुनी व्यवस्था छ।
लामिछानेले नागरिकता पुन: लिइसकेपछि अब उनलाई मन्त्री लगायत सार्वजनिक पद लिन बाटो खुलेको छ। नेपालको कानुनले सांसद नभए पनि छ महिनासम्म मन्त्री बन्न सक्ने सुविधा दिएको छ।