वसन्त अधिकारी | गरिबी यो देशको मुख्य समस्या हो भनेर भन्दा फरक नपर्ला l जसकारण हरेक बर्ष लाखौ नेपाली विदेशिन बाध्य छन् l हरेक दिन ३-४ वटा विदेशबाट आएका शव स्विकार्नु पर्ने आज हाम्रो नियति बनेको छ l
तर, समृद्धि र गरिबी दुबै कुरा हासिल गर्न सकिने कुरा हो l देशले गरिबी हासिल गर्ने कि समृद्धि भन्ने कुरा त्यस देशले अंगालेको आर्थिक नितिले निर्धारण गर्दछ l मात्र केहि दशक अघि चरम गरिबीमा रहेका देश आज समृद्ध हुन पुगेका छन् भने कुनै बेलाका धनी देशहरु आज आर्थिक विकाशमा निकै पछि परेको अवस्था छ l १९३० ताका अर्जेन्टिनाको अर्थतन्त्र संसारको १० औ ठुलो थियो भने २ दशक अघि भेनिजुयेला साउथ अमेरिका क्षेत्रको समृद्ध देशहरु मध्ये एक पर्दथ्यो l तर आज उनिहरुको आर्थिक साख गिरेको अवस्था छ l कुनै बेला चीन, सिंगापुर, कोरियाका जनता चरम गरिबीमा बाचेका थिए। तर आज उनीहरु संसारको समृद्ध देश मध्ये एक हुन पुगेका छन् l आजसम्म इतिहासमा जतिपनि देशहरुले आर्थिक विकास गरेका छन् ती देशहरुले उद्यम र व्यापार फस्टाउने नीति लिएर मात्र समृद्ध हुन सकेका छन। नेपाल यसको अपवाद हुन सक्दैन l
जबरजस्ती कसैलाइ उद्यमी बनाउन सकिदैन l राज्यको नीतिले के कुरालाइ प्रोत्साहित गरि रहेको छ र सामाजिक मूल्य मान्यताले कस्ता कुरालाइ उत्प्रेरित गर्दछ भन्ने कुरा महत्वपूर्ण हुन आउछ l उद्यमी बन्न र बनाउनको निम्ति उत्प्रेरणा, सामाजिक मूल्य मान्यता तथा राज्यको नीति सहयोगी हुन आवस्यक छ l सामाजिक मूल्य मान्यता तथा राज्यको नीतिले जे कुरालाई प्रोत्साहित गर्छ, त्यो कुरा बढेर जान्छ र जे कुरालाई निरुत्साहित गर्दछ त्यो घटेर जान्छ l आज नेपाली समाजका नागरिकहरुलाई राजनीति गर्न, विदेशिन उत्प्रेरणा र बाध्यता छ। तर उद्यम र व्यापार गर्नको निम्ति कुनै उत्प्रेरणा र प्रोत्साहन छैन l आज नेपालीहरु ५० लाख खर्चेर अबैधानिक रुपमा जोखिम लिदै अमेरिका भासिन तयार छन्, तर व्यापारको जोखिम कमै इच्छुक देखिन्छन् l कारण, नेपालमा उद्यम-ब्यापार गर्नको निम्ति उत्प्रेरणा र प्रोत्साहन गर्ने नीति तथा सामाजिक मूल्य-मान्यताको अभाव छ l संसार यति अघि बढेको देख्दा देख्दै पनि नेपाली समाजले उद्यम र व्यापार प्रति सकारात्मक रुपले हेर्ने सामाजिक दृष्टिकोण विकास गर्न सकेको छैन l हामी विदेश जानको निम्ति ऋण काडेर पैसा झिक्न तयार छौ तर ब्यापार गर्नको निम्ति धेरै कम मानिसले हौसला दिने गरेको देखिन्छ l आजको नेपाली समाज र यहाँको शैक्षिक व्यवस्थाले व्यापार गर्ने भन्दा पनि जागिर खानेहरुलाई उत्प्रेरित गर्दछ l
अन्तत: सम्पति कमाउने आधार भनेको व्यापार नै हो l राजनीति सेवा हो भने जागिरले जीवनयापन गर्नको निम्ति सहयोग पुर्याउदछ (जबसम्म त्यो जागिरले मनग्ये आम्दामी गर्ने किसिमको हुदैन) l पैसा दुइ तरिकाले कमाउन सकिन्छ। एउटा सेवा दिएर, अर्को लुटेर वा लुट्ने नीति तथा कानुनि आधार तयार गरेर । उद्यम र व्यापारिक सेवा दिएर पैसा कमाउने आधार हो जुन आधारलाइ प्रोत्साहन गर्ने नीति तथा वातावरण हामी कहाँ भएन l जब देशमा कमाएर खान गार्हो र लुटेर खान सजिलो हुन्छ तब असल मानिस र पुँजी दुवै पलायन हुन्छन । उनीहरु त्यहा जान्छन जहाँ उनीहरुको मेहेनतको कदर हुन्छ l
राम्रो नीति त्यहि नीति हो जसले धेरै भन्दा धेरै मानिसहरुको हित गर्दछ l आम नेपालीहरुको अहित गरि पहुच र शक्ति हुने मात्र दुइ चार जनाको स्वार्थ र हितलाइ संरक्षण गर्ने नीति खराब नीति हो l यदि नेपालले आर्थिक विकास गर्न चाहन्छ भने धेरै भन्दा धेरै मानिसहरुले सहज रुपले उद्यम तथा व्यापार गरी खान सक्ने आर्थिक नीति अवलम्बन गर्न जरुरि छ, जसले उद्यमसिल समाज निर्माण गरि स्वदेशमै उत्पादन र रोजगारीलाइ बढावा दिन्छ l तर बिडम्बना, हामीले अर्थतन्त्रलाई कहिले पनि प्राथमिकतामा राखेनौ। यो देशमा राजनीति जहिले पनि केन्द्रमा रहदै आयो l बुझ्नुपर्ने कुरा के हो भने, आर्थिक स्वतन्त्रता बिनाको राजनीतिक स्वतन्त्रता भएका नागरिकले ढिलो चाडो आफ्नो राजनीतिक तथा व्यक्तिगत छनौटको स्वतन्त्रता पनि गुमाउन पुग्दछन l यसको अर्थ राजनीति महत्वपुर्ण छैन भन्ने होइन, राजनीति महत्वपूर्ण छ। तर त्यो भन्दापनि महत्वपूर्ण अर्थतन्त्र छ l राजनीतिले हाम्रो जीवनमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पारेपनि अर्थतन्त्रको बिषयले हामीलाई प्रत्यक्ष प्रभाव पार्दछ l
हामीले दिनमा के खाजा खाने देखि कस्तो पहिरन, घडी, जुत्ता लगाउने, कस्तो शिक्षा लिने देखि कहाँ स्वास्थ उपचार गराउने आदि सबै , हामीसंग कति साधन स्रोत छ त्यसले निर्धारण गर्दछ l जबकि यो देशमा को प्रधानमन्त्रि बन्यो वा कसले सरकार बनायो भन्ने कुरामा धेरै नेपालीको चासो नहुन सक्छ l अर्थतन्त्रले हामीलाई यतिसम्म प्रभाव पार्न सक्छ कि यदि सिमाना पारी भारतमा चिनी ६० रुपैया र सिमाना वारी नेपालमा चिनीको दाम ८५ रुपैया छ भने मानिसहरुलाई त्यसबेला शायदै राष्ट्रियता याद आउछ। भारत तिर गएर चिनी खरिद गर्ने उत्प्रेरणाले हामी मध्ये धेरैलाई निर्देशित गर्दछ l त्यसैले पनि अर्थतन्त्रको बिषयलाई हल्का रुपले लिन मिल्दैन l
नागरिकलाइ गरीब बनाएर कुनै पनि देश धनी हुन सक्दैन। नागरिक धनी हुनु भनेको नै राज्य धनी हुनु हो। जति धेरै नागरिकहरु अधिक कर तिर्न सक्ने सामर्थ्य राख्दछन, त्यतिनै धेरै राज्यले कर स्वरूप स्रोत संकलन गर्न सक्दछ । त्यसलाई राज्यले सार्वजनिक हितको निम्ति खर्च गर्न सक्दछ l नागरिक गरीब भएको अवस्थामा राज्यले स्रोत संकलन गर्न सक्दैन फलस्वरूप राज्य संचालन तथा साधारण विकासका कामहरुमा समेत अवरोध सिर्जना हुने निश्चित छ l
यदि हामी यो देशले आर्थिक बिकाश गरोस भन्ने चाहना राख्दछौ भने उद्यम, ब्यापार -व्यावसायलाइ प्रोत्साहन गर्ने किसिमको नीति तथा कानुन अवलम्बन गरी नागरिकहरुले सहज रुपले आफ्नो पेशा व्यावसाय गरी खान सक्ने वातावरण तयार गर्न आवश्यक छ l यसको निम्ति उद्यम, व्यापार गरी उत्पादन, सेवा र रोजगारी सृजना गर्न चाहनेहरुको निम्ति हाल अवस्थित नीतिगत झन्झट हटाइ व्यापार सुरु गर्न, संचालन गर्न र आवश्यक परेको खण्डमा बन्द समेत गर्न सहज वातावरण तयार गर्न आवश्यक छ l
नागरिकहरुको आर्थिक स्वतन्त्रता खोसेर देशको आर्थिक विकास कुनै हालतमा सम्भब छैन l मागेर आजसम्म कुनै देश धनि भएको छैन र उद्यम तथा व्यापार फस्टाउने नीति लिएर कुनै देश गरिब भएको छैन l