विराटनगर। विराटनगरमा सडक छेकेर सीएनआई कोसी एक्स्पो आयोजना गरिएको प्रति राष्ट्रिय स्वतन्त्र पार्टी मोरंगले आपत्ति जनाएको छ ।एक्स्पोको प्रयोजनको लागि सडक नै बन्द गरिनाले नेपालको संविधानमा उल्लेख गरिएको अनुसार कुनै पनि भागमा नागरिकको स्वतन्त्रपूर्वक हिड्न पाउने अधिकारबाट बन्चित गराएको रा स्व पा मोरंगका सभापति क्षितिज गौतमले जनाएका छन् । त्यस्तै संविधानको पालना नगरी यस्ता क्रियाकलाप गर्नेलाई कारवाही गर्न र तत्काल बाटो खोलाउन माग गर्दै रा स्व पा मोरंगले जिल्ला प्रशासन कार्यालय मोरंगका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईलाई पत्र पनि हस्तान्तरण गरेको छ ।
सडक छेकेर सीएनआई कोसी एक्स्पो आयोजना गरिएको भन्दै हिजो पनि उच्च अदालत विराटनगरमा रिट परेको थियो । रिट निवेदनमाथि शुक्रबार भएको सुनुवाईमा उच्च अदालत विराटनगरले एक्स्पो रोक्ने उद्धेश्यले निवेदकका तर्फबाट माग गरिएको निषेधाज्ञाको आदेश दिन अस्वीकार गरेको थियो। उच्च अदालत विराटनगरका न्यायाधीस किरणकुमारी गुप्ताको एकल इजलासले निवेदनको माग बमोजिम शुक्रबार विपक्षीहरुका नाममा कारण देखाउ आदेश जारी गरेपनि निषेधाज्ञाको आदेश नदिएको हो । न्यायधीस गुप्ताको इजलासले विपक्षीहरु जिल्ला प्रशासन कार्यालय मोरङ, विराटनगर महानगरपालिका, नेपाल उद्योग परिसंघ प्रदेश र जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरका नाममा कारण देखाउ आदेश जारी गर्दै छलफलमा झिकाउने आदेश दिएको थियो ।
यता आयोजकले आर्थिक मन्दी छाएको बेलामा एक्स्पोका माध्यमबाट आर्थिक क्षेत्रलाई चलायमान बनाउन भन्दै उक्त स्थानमा रहेको निजी खाली जग्गामा एक्स्पोको आयोजना गरिएको र सडकको दुईपटी रहेको खाली जग्गा मध्ये एउटामा जग्गामा मात्रै एक्स्पोका सवै संरचना नअट्ने भएपछि करीव ५० मिटर सडकलाई स्थानीय तह र सुरक्षा निकायसँगको समेत समन्वयमा बन्द गरिएको दावी गरिरहेको छ ।