विराटनगर। कुनै पनि देशको आर्थिक विकासमा उद्यम र व्यापारको महत्वपूर्ण भूमिका रहेको हुँदा नेपाल यसको अपवाद हुन सक्दैन भन्ने कुरालाइ मध्यनजर गर्दै विकल्प-एन अल्टरनेटिभका फेलोजले विराटनगर महानगरपालिकासंगको सहकार्यमा “नेपालमा उद्यमशीलताको महत्त्व, अवसर र चुनौती” बिषयक बिद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिताको समापन गरेको छ । विराटनगरका १८ वटा निजि तथा सामुदायिक विद्यालयहरुले सहभागिता जनाएको उक्त प्रतियोगितामा प्रमुख अतिथिको रुपमा विराटनगर महानगरपालिकाका नगर प्रमुख नागेश कोइराला, विशिष्ट अतिथिको रुपमा उप-मेयर शिल्पा निराला कार्की रहनु भएको थियो भने कार्यक्रमको अध्क्षता विकल्प-एन अल्टरनेटिभका अध्यक्ष डा भेष प्रसाद धमला ज्यूले गर्नु भएको थियो ।
उक्त प्रतियोगिताको निर्णायकको भूमिकामा प्रदेश न १ खेलकुद विकास बोर्डकी उपाध्यक्ष जिना कार्की, वेक्कप कफी विराटनगरका संचालक अभिनायक मल्ल तथा बारी रोस्टरिका संचालक युनेश राज श्रेष्ठ रहनु भएको थियो ।
प्रतियोगितामा हरेक प्रतियोगीहरुले ५ मिनेटको समयमा “नेपालमा उद्यमशीलताको महत्त्व, अवसर, अवस्था र चुनौती” को बारेमा प्रस्ट्याएका थिए । १५० जना भन्दा बढी सहभागिता रहेको उक्त कार्यक्रममा विराटनगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्कीले पनि आफ्नो भनाइ राख्नु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दैै मेयर कोइरालाले विद्यालयस्तरदेखि नै उद्यमशीलताका विषयमा सोच्नुपर्नेमा जोड दिनुभयो । स्वदेशमा रोजगारी सिर्जना नहुँदा युवाहरु विदेश पलायन हुने क्रम बढेको भन्दै उहाँले उद्यम व्यवसायमा लागेर स्वरोजगार हुन सकिने चर्चा गर्नुभयो ।
उपमेयर कार्कीले नेपालमा थुप्रै अवसर भएको बताउनुभयो । उहाँले नेपालमै केही गर्छु भन्ने हिम्मतका साथ अगाडि बढ्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
विकल्पका वसन्त अधिकारीले विद्यालयस्तरदेखि नै उद्यमशीलताका विषयमा जानकारी होस् भन्ने उद्देश्यले कार्यक्रम राखिएको जानकारी दिनुभयो । कार्यक्रमको संचालन विकल्प फेलोज कल्पना बनले गर्नुभएको थियो भने प्रतियोगिताको संयोजन रानु शाहले गर्नु भएको थियो ।
विराटनगर महानगरपालिकाको सभाहलमा आयोजित प्रतियोगितामा १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै एभरेष्ट बोर्डिङ स्कुलका कक्षा ९ मा अध्यनरत छात्र इशल भट्टराई प्रथम भएका हुन् । प्रतियोगितामा बूढानिलकण्ठ स्कुलका कक्षा ९ मा अध्यनरत छात्रा शिरिन भट्टराई द्वितीय, सेन्टजोसेफका कक्षा ९ मा अध्यनरत छात्र जयश कर्ण तृतीय र आदर्श माविका युनिश नेपालले सान्त्वना पुरस्कार प्राप्त गरे ।
प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । विजेताहरुलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र अर्थशास्त्री डा. भेषप्रसाद धमलाले पुरस्कार र प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।
उक्त प्रतियोगितालाइ बिराटनगर महानगरपालिका, वेकप कफी, मयुर प्रिन्ट प्रेस, बसन्त मल्टी पर्पोज कन्स्ट्रक्सन कम्पनि प्रा लि तथा ग्लोबल होराइजन एजुकेसन प्रा लि ले सहयोग गर्नु भएको थियो l