विराटनगर | विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलका अध्यक्ष डा ज्ञानेन्द्र मानसिंह कार्कीसँग विकल्प एन अल्टरनेटिभले ‘उद्यमीका कुरा’ संवाद चलाएको थियो । सहजसँगको सहकार्यमा आयोजना गरेको संवादमा डाक्टर कार्कीले आफ्नो संघर्ष र सफलता बारे प्रकाश पारेका हुन् । उनले केहि न केहि गरौं भनेर प्रेरणा लिन चाहने १३५ सहभागिबीच जीवन, संघर्ष र सफलता बारे प्रकाश पारेका थिए ।
नेपालका वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ तथा ल्याप्रोस्कोपी सर्जन डा कार्कीको जन्म झापाको दमकमा भएपनि उनको बाल्यकाल विराटनगरमै बित्यो । बुबाको खेतीपाती दमकमै भएपनि परीवारक बसाइ विराटनगर थियो । ७ वर्षको हुँदा ४ कक्षामा भर्ना गरिएको कारण राधाकृष्ण माध्यमिक विद्यालयबाट एसएलसी उत्तिर्ण गर्दा उनी १३ वर्षका थिए । हुन त डा कार्की पढाइमा त्यति उत्कृष्ट विद्यार्थी थिएनन ।उनलाई याद भएदेखि नै डाक्टर बन्छु भन्ने अठोट भने थियो तर डक्टर बन्न के पढ्नुपर्छ , कसरी पढ्नुपर्छ कति पढ्नुपर्छ भन्ने थाहा थिएन । एसएलसी उत्तिर्ण गरे पश्चात उनी बाकी अध्ययनको लागि दार्जीलिंग गए । त्यहाबाट बोटनि विषयमा बीएस्सी उत्तिर्ण गरे । छात्रवृत्तिको अवसर पाएपछि उनी चिकित्साशास्त्र पढ्नको लागि तत्कालिन सोभियत संघ गए। १९८० बाट त्यहा अध्ययन शुरु गरेका डा कार्कीले १९८६ मा एमडी र १९९१ मा एम एस गरे ।
उतै विवाह गरेका डा कार्की दुई छोरा र श्रीमती लिएर नेपाल फर्किए पश्चात काठमाडौँ प्रसुति गृहमा ३ वर्ष सेवा गरेपछि १९९३ मा विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा स्त्री तथा प्रसुती रोग विशेषज्ञको रुपमा सेवा गर्न शुरु गरे । त्यस बेला कोशी अस्पतालमा २ वटा मात्र शल्यक्रिया कक्ष थियो । विरामीको चाप भने अत्यधिक थियो । यतिसम्म कि एकजना विरामीको पालो ३ वर्षपछि मात्र आउने अवस्था थियो । वर्षमा १०। १२ वटा ठुला शल्यक्रिया हुने कोशी अस्पतालमा ३–४ वर्षमा मात्रै बिरामीको शल्याक्रिया गर्ने पालो आउँथ्यो ।
सरकारी अस्पतालको हरिविजोग हेरेपछि उनलाई दिक्क लग्यो । स्रोत र साधनको अभावले गर्दा डाक्टरहरुले चाहेर पनि विरामीको उपचार गर्न सक्दैन थिए । विरामीहरुको अवस्था नाजुक थियो । पछि उनके हप्तामा चार दिन शल्याक्रिया गर्ने पालो तोके । रुसमा अध्ययन गरेका र अनुभवले निखारिएका डा कार्कीले दैनिक ७–८ वटासम्म शल्याक्रिया गर्न थाले । तर पनि विरामीको चाप अनुसारको सेवा उपलब्ध गराउन सकिएको थिएन ।
त्यसबेला काठमाडौँ उपत्यका बाहिर कतैपनि निजि अस्पताल स्थापना भएको थिएन । सरकारी अस्पतालले धान्न नसकेको विरामीहरु काठमाडौँ जान बाध्य थिए । सबैजनालाई काठमाडौँ जान सम्भव पनि थिएन । धेरै विरामीहरु उपचार नपाएरै ज्यान गुमाउन बाध्य थिए । स्वास्थ्य सेवामा देखिएको त्यो भयावह स्थितिलाई बदल्ने सोच उनमा आयो । २०५१ सालमा उनले एउटा घर भाडामा लिए । एक नर्स र एक डाक्टरलाई सहयोगीको रुपमा लिएर उनले ७ कोठा र १ बेडको सानो क्लिनिक स्थापना गरे । एउटा हल्लिने खाट र २०० वाटको बलब झुण्डाएर एक अपरेशन कक्ष पनि त्यहा शुरु भयो। त्यसबेला मानिसहरु डा कार्कीलाई देखेर हास्ने गर्थे । एक जना मानिसले एक बेडको अस्पताल शुरु गरेर कसरी संचालन गर्न सक्ला र भनेर मानिसहरु उनलाई विश्वास गर्दैन थिए । जसले जे भने पनि उनले सुनेनन् , संघर्ष गरिरहे । उनी लगायतको टिमले गरेको मेहनतले सो एक बेडको क्लिनिक एक महिनामै १० बेडको भयो र ६ महिनामा २० बेडको भइसकेको थियो ।१८ वर्ष पहिला काठमाडौँमा मात्र भएको सिटि स्क्यान प्रविधि उनले विराटनगर भित्र्याएका थिए । २५ वर्षको अन्तरालमा आज विराट नर्सिङ्ग होम बढेर विराट मेडिकल कलेजमा परिणत भएको छ । हाल मेडिकल कलेजमा ९०० र विराटनगर अस्पतालमा ३०० गरेर जम्मा १२०० बेडको अस्पताल संचालित छ जसबाट १७०० जनाले प्रत्यक्ष र त्यति नै अप्रत्यक्ष्यले रोजगारी पाएका छन् । अस्पतालले यहा मात्र रोजगार सृजना गरेको छैन तर भारत र अन्य देशका लाखौ विरामीलाई सेवा प्रदान गरी विदेशी मुद्रा स्वदेशमा भित्र्याउने काम पनि गरेको छ। त्यस्तै विराट मेडिकल कलेजमा चिक्तिसाशास्त्र अध्ययन गर्नको लागि भारतबाट पनि वार्षिक सयौ विद्यार्थी आउने गर्दछन । स्वदेश तथा विदेशका एकसय डाक्टरलाई स्नातकसम्मको अध्ययन गराउने क्षमता विराट मेडिकल कलेज राख्दै आएको छ ।
सहभागीहरुलाई आफ्नो जीवन कथा सुनाउने क्रममा नेपालको सन्दर्भमा चिकित्सा क्षेत्रको वास्तविक परिभाषामा अझै अन्योल रहेको डा कार्कीले बताएका थिए । चिकित्सा क्षेत्र नाफामुखी हुनुपर्ने र हरेक संस्थाले कुनै न कुनै प्रकारको नाफा कमाउन सक्दा मात्र टिक्न सकिने उनले बताए । ” आजको समाजले डाक्टरहरूलाई नाफामा केन्द्रित गर्नुको सट्टा जनताको सेवामा मात्र समर्पित हुनु पर्ने पेशाको रूपमा बुझेको छ। तर, सरकारले चिकित्सा क्षेत्रबाट आर्थिक भार उन्मुक्ति दिएमा मात्र बिरामीलाई निःशुल्क सेवा दिन सम्भव छ । कि त सरकारले जिम्मेवारी लिनुपर्छ वा हामी उद्यमीले संस्था आफैंले व्यवस्थापन गर्नुपर्छ ।” , उनको भनाइ थियो।
त्यसपछि उनले नेपालको चिकित्सा क्षेत्रको केही उल्लेखनीय प्रगतिलाई प्रकाश पारे। उनले नेपाल हाल विश्वका विकासोन्मुख राष्ट्रहरुमा चिकित्सा क्षेत्रमा नम्बर १ वा २ मा रहेको बताए । एउटा मात्रै सिटि स्क्यान मेसिन रहेको विराटनगरमा अहिले १४ सिटि स्क्यान मेसिन, ५ एमआरआई मेसिन, ३ वटा मुटुको मेसिनले फड्को मारेको छ । तर दुर्भाग्यवश यी सबै परिवर्तन नेपालको निजी क्षेत्रले गरेको छ । सरकारले ३० वर्षभित्र उत्पादन गर्ने डाक्टरको सङ्ख्या निजी क्षेत्रले १ वर्षमा उत्पादन गर्ने चिकित्सकको सङ्ख्या बराबर छ । निजी क्षेत्रको आश्रयमा सरकारले यो प्रगति विश्वसामु देखाउँछ तर सहयोगको आवश्यकता पर्दा बेवास्ता गरेको उनको भनाइ थियो । अन्तमा, उनले सहभागीहरूलाई भविष्यको बारेमा धेरै चिन्ता नगर्न र आफ्नो लक्ष्य प्राप्त गर्न निरन्तर काम गर्न सुझाव दिँदै आफ्नो मन्तव्य समाप्त गर्नुभयो। “भगवानले हामीलाई कर्मको योग्य बनाउनुभएको छ, हामीले रोपेको फल पाउन समय लाग्छ”, डा कार्कीको समापन भनाइ थियो ।
Video :