विराटनगर | “विराटनगरको विकासमा युवा सहभागिता” लगायतका विषयमा विकल्प–एन अल्टरनेटिभमा आबद्ध युवाहरु ( विकल्प फेलोज )ले आयोजना गरेको अन्तरक्रियामा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सहभागिता जनाएका छन् । विराटनगर महानगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा उपस्थित युवाहरुले विराटनगरमा जारी सरसफाई अभियान, फुटपाथ नियन्त्रण, कर संकलन, डुबान र सुकुम्बासी समस्याका समाधानका लागि भइरहेका पहल तथा महानगर आफैंले बनाउन लागेका ठूला परियोजना लगायतका विषयमा प्रश्न गर्नुका साथै सुझावहरु पनि दिएका थिए।
युवाहरुको प्रश्नहरुलाई सम्बोधन गर्दै कोइरालाले युवाहरुलाई प्रष्टीकरण दिएका थिए भने विराटनगरको विकासमा आ- आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह पनि गरेका थिए । अहिलेको समाज नकारात्मक सोचबाट ग्रसित भएको बताउँदै मेयर कोइरालाले सकारात्मक सोचका साथ देश निर्माणमा लाग्नुपर्नेमा जोड दिए ।
अन्तरक्रियामा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, महानगरका प्रेस सल्लाहकार मीनकुमार नवोदित, विकल्पका प्रमुख वसन्त अधिकारी लगायतको सहभागिता रहेको थियो ।
विकल्प एन अल्टरनेटिभले सुशासन , आर्थिक स्वतन्त्रता तथा जन-सरोकारका विषयमा वर्षौदेखि विभिन्न कार्यक्रम तथा खबरदारी गर्दै आएको छ ।