सविन घिमिरे | सुनसरीको तरहरास्थित सिंहदेवी ज्वेलर्सका कामदार गोपाल भनिने लालबहादुर विश्वकर्मा झुम्का कारागारमा थुनिएको २ महिना कटिसकेको छ। उनलाई आफ्ना मालिकले गरेको ठगि धन्दामा फसाइएको भनेर चौतर्फी न्याय माग गरिएको छ । उनीमाथि सुनसरी जिल्ला अदालत निर्मला योङ्गयाको इजलासले अवैध रूपमा बैंक तथा वित्तीय संस्था सञ्चालन गरी ठगी गरेको भन्दै ३ करोड १४ लाख ३३ हजार रुपैयाँ बिगो असुली र ठगी मुद्दामा ७० हजार जरिवाना तथा डेढ वर्ष कैदको सजाय तोकेको थियो ।
०७२ सालदेखि सञ्चालनमा आएको सिंहदेवी ज्वेलर्सले बचतकर्ताको ५२ लाख ६६ हजार रुपैयाँ ठगी गरेको भन्दै २०७५ असार २० मा बचतकर्ता सुकमित गुरुङसहित ९ जनाले उजुरी हालेका थिए । भोलिपल्ट अर्थात असार २१ गते जिल्ला अदालत सुनसरीमा ज्वेलर्सविरुद्ध २ सय ७५ जनाबाट १० हजारदेखि १० लाख रुपैयाँसम्म रकम लिएर ठगी गरेको मुद्दा परेको थियो । सो मुद्धामा ज्वेलर्समा कालिगडका रूपमा काम गरिरहेका लालबहादुर विकलाई पनि विपक्षी बनाइएको थियो । उक्त मुद्दामा नै २०७८ पुस १९ गते आएको फैसलामा १८ करोड ८४ लाख ६६ हजार रुपैयाँ बिगो कायम हुँदा लाल बहादुरलाई ३ करोड १४ लाख ३३ हजार रुपैयाँ बिगो, ७० हजार जरिमाना र १८ महिना जेल सजाय सुनाइएको थियो ।उक्त मुद्दामा ज्वेलर्सका सञ्चालक तथा मुख्य प्रतिवादी दीपक गजमेर छन् भने अन्य प्रतिवादीमा दीपकका दिदि सीता विश्वकर्मा, बुबा कृष्णबहादुर विश्वकर्मा, भाइ कमल विश्वकर्मा र उनका कामदार लालबहादुर विक छन् ।
त्यसो त ‘प्रतिवादी गोपाल भन्ने लालबहादुर विश्वकर्मा ज्वेलर्सका कामदार हुन् र उनीबाट आफुहरु नठगिएको’ भनी मुख्य जाहेरवाला सुकमित गुरुङ सहित ७२ जना जाहेरवालाहरुले समेत बकपत्र गरेका छन् ।
लाल बहादुरका मालिक दिपक गजमेरले ‘मेरा सम्पूर्ण संस्थाहरूबाट भए गरेका कारोबारमा प्रतिवादीहरू कृष्णबहादुर विश्वकर्मा, सीता विश्वकर्मा, कमल विश्वकर्मा र गोपाल भन्ने लालबहादुर विश्वकर्माको कुनै संलग्नता र सहमति समेत छैन । निजहरूलाई मैले अह्राएको समयमा मात्र पासबुकबाट पैसा लिनुदिनु गर्नुहुन्थ्यो । ” भनी अदालतमा बयान दिएका छन् ।
प्रतिवादी कृष्णबहादुर विश्वकर्मा गजमेरले अदालतमा ” सहप्रतिवादी गोपाल भन्ने लालबहादुर विश्वकर्मा हाम्रै सुन पसलका कालिगड हुन् । छोराहरू दीपक विश्वकर्मा गजमेर, कमल विश्वकर्मा गजमेर र छोरी सीता विश्वकर्मा गजमेर समेत पसलमा नहुँदा मलाई दस्तखत गर्न नआएकोले मैले निज कालीगढ गोपाल भन्ने लालबहादुर विश्वकर्माले सिंहदेवी ज्वेलर्स इन्डस्ट्रिज प्रा.लि. लेखिएको पासबुकमा कन्चन चौधरीबाट जम्मा गरेको नगद रु. ५,००,०००।– (पाँच लाख) र अम्बिका अन्जना राईको जम्मा गरेको नगद रु. १०,७२,०००।– (दशलाख बहत्तर हजार) लगायतका पासबुकमा दस्तखत गर्न नलाई सो रकम म आफूले बुझिलिएको हो । दैनिक कारोबारको रेखदेख सम्बन्धी प्रमुख जिम्मेवारी छोरा दीपक विश्वकर्मा गजमेर आफैंले गर्थे, निज नभएको बेला म लगायत छोरा कमल विश्वकर्मा गजमेर र छोरी सीता विश्वकर्मा गजमेर समेतले कारोबार गर्ने गरेका थियौंै । छोराछोरी कोही पसलमा नहुँदा कहिलेकाहीँ पसलका कालिगड गोपाल भन्ने लालबहादुर विश्वकर्मालाई मैले पासबुकमा दस्तखत गर्न लगाई नगद म आफूले बुझिलिई राख्ने गर्दै आएको थिएँ ।” भनेर बयान दिएका छन् ।
सिंहदेवी ज्वेलर्समा पैसा राख्ने तथा जाहेरवालाहरुले जिल्ला अदालत सुनसरीले गरेको फैसलामा लालबहादुरलाई सजाय भएको न्यायोचित नरहेको बताउदै आएका छन्। लाल बहादुरलाई अन्याय भएको भन्दै उनलाई न्याय दिनुपर्ने मागसहित सामाजिक सन्जालमा ” जस्टिस फर लाल बहादुर” अभियान ब्यापक चलेको थियो। उनको समर्थनमा इटहरी र काठमाडौंमा प्रदर्शन समेत भएको थियो। इटहरीका मेयर हेमकर्ण पौडेल , मानव अधिकारकर्मी तथा विभिन्न अभियान्ता समेत लाल बहादुर बिकको घरमा गई पारिवारलाई भेटघाट गरेका थिए। सबैले लाल बहादुरको न्यायको लागि पहल गर्ने आश्वासन दिएका थिए ।
पेसी सरेको सरै गर्दा परिवार अत्तालिएका छन्
जिल्ला अदालत सुनसरीको फैसला विरुद्ध लाल बहादुरले गत साउन २० गते उच्च अदालतमा निवेदन दिएका हुन् । उनको पहिलो पेसी पुस ३ गते राखिएको थियो । पुष २६ मा भएको पुनरावेदनको सुनुवाइमा लाल बहादुर विश्वकर्मासहितका प्रतिवादीलाई उच्च अदालत विराटनगरले ‘नियमअनुसार मुद्दा पेस गर्न’ आदेश दिएको थियो । उच्च अदालतको आदेशमा ‘सुनसरी जिल्ला अदालतबाट भएको फैसला कानुनको रोहमा फरक पर्न सक्ने देखिँदा विपक्षी नेपाल सरकार पक्षलाई जानकारी दिई नियमअनुसार पेस गर्न’ भनिएको थियो । माघ ३ गते र माघ २४ गते पनि गोलाप्रथा गर्दा लाल बहादुरको मुद्धामा सत्यमोहन जोशी थारू र न्यायाधीश मुरारीबाबु श्रेष्ठको बेञ्च नै परेको कारण हेर्न नमिल्ने भएको थियो। अर्को पेसी फागुन १६ गते मंगलबार तोकिएको छ । माघ २४ गते पनि पेसी सरेपछि लाल बहादुर बिकको मुद्धा झडिया झिकाउने आदेश भइ सकेको र पेशी तारेखमा झडॆया झिकाउने बेञ्चमा परी पटक पटक मुद्धा हेर्न नमिल्ने भएको कारण आफु निर्दोष व्यक्ति कारागारमा बसी रहनुपरेको र परिवार समेत पिडामा रहेको हुदा लामो अवधि सम्म मुद्धा किनारा समेत नभएकोले अब उप्रान्त झगडिया झिकाउने बेञ्चबाट समेत मुद्धा हेरी मुद्धाको किनारा भएमा मन्जुरी हुने भने निवेदन दिएका छन् ।
अदालतले छिटो फैसला गरे हुन्थ्यो भनेर लाल बहादुर विकका वृद्ध बुबा आमा लगायतका परिवारहरु बिलौना गरिरहेका छन् । पटक पटक पेसी सरिरहेको कारण आफुहरु आजित भैसकेको लाल बहादुरकी श्रीमती दिलकुमारी गहतराजले बताएकी छिन । उनी भन्छिन्, ‘मुद्दा लगाउने सुक्मित गुरुङले पनि लालबहादुर दोषी छैन भनेर बकपत्र गरेका छन् । ज्वेलर्सका मालिकहरुले समेत मेरो श्रीमान निर्दोष छन् भनेर बकपत्र गरेका छन् ।र सत्यता पनि यहि हो मेरो श्रीमान निर्दोष छन् । मानवताको नाताले हेर्दा पनि यो अन्यायपूर्ण नै हो। हामी मर्नुबाच्नुको स्थितिमा पुगेका छौ !’
उता लाल बहादुरको पक्षमा वकालत गरिरहेका अधिवक्ता निराजन ओझाले जिल्ला अदालत सुनसरीका न्यायाधिश निर्मला योङयाको फैसलामा ठुलो गल्ति भएको र लाल बहादुरलाई उच्च अदालत विराटनगरले न्याय दिलाउने कुरामा विश्वस्त रहेको बताउदै आएका छन्। अदालतको आफ्नै प्रक्रिया भएको कारण मुद्धाको प्राथमिकता , एउटै बेञ्च पर्नेजस्ता विविध कारणले पेसी सर्नु स्वाभाविक भएको उनले बताएका छन् ।आफुहरुको वहस हुने पालो चाडै आउने र सो बहस पश्चाता लाल बहादुर थुनामुक्त हुने कुरामा आफु विश्वस्त रहेको अधिवक्ता ओझाले विभिन्न संचार माध्यमा पनि बताउदै आएका छन् ।
फैशालाको पूर्ण पाठ
https://drive.google.com/drive/folders/18jxD0B4cDpdSC9DMxGc8q9L3vZSsopul
जाहेरवाला , परिवार तथा छिमेकीको भनाइ
अधिवक्ता निराजन ओझाको भनाइ
इटहरीका मेयर हेमकर्ण पौडेलले परिवारलाई भेटेका
1 Comment
Pingback: तिमी पहुच नभएको मजदुर हौ त्यसैले अदालतको आदेश नमान्ने छुट तिमीलाई छैन - Bikalpa Khabar