नेपाली नेत्र रोग विशेषज्ञ तथा नेत्रका देवता भनेर चिनिने डा सन्दुक रुइतले मङ्गलबार मनामाको अल–फतेहमा रहेको इसा कल्चरल सेन्टरमा आयोजित एक समारोहमा बहराइनका राजा हमाद बिन इसा अल–खलिफाबाट मानवताको सेवाका लागि १० लाख डलरको इसा अवार्ड प्राप्त गरेका छन् । उनी अवार्डका पाँचौं विजेता हुन्।
सन् २०२१-२०२२ को अवार्डका लागि शिक्षा, स्वास्थ्य, सामुदायिक सेवा, गरिबी उन्मूलन र अन्य मानवीय-सम्बन्धित क्षेत्रहरूमा विशेषज्ञता भएका विश्वभरका १३९ जनालाई छनोट सूचीमा परेका थिए । ती मध्येबाट पाँच जना उम्मेदवारलाई अवार्डको लागि छनौट गरिएको थियो ।
अवार्ड योजनाका महासचिव अली अब्दुल्लाह खलिफाले डा. सन्दुक रुइतले मोतियाबिन्दुको उपचारको लागि नयाँ दृष्टिकोण विकास गर्नका लागि अन्तर्राष्ट्रिय ख्याती प्राप्त गरेका र विश्वमै कम मुल्यमा मोतियाबिन्दुको शल्यक्रिया निकै कम समयमा पूरा गर्न सक्ने नयाँ प्रत्यारोपणयोग्य लेन्स सिर्जना गर्न सफल भएको कारण उनले पुर्याएको योगदानको लागि अवार्ड प्रदान गरिएको बताएका थिए ।
३० वर्षको अवधिमा रुइतले एसिया, अफ्रिका र नेपालमा विशेषज्ञको टोलीको सहयोगमा एक लाख भन्दा बढी आँखाको शल्यक्रिया गरेका छन्। उनको तिलगंगा आँखा विज्ञान संस्थान, सामाजिक संस्था ,२ अस्पताल, १६ क्षेत्रीय केन्द्रहरू तथा घुम्ती क्लिनिकहरू सञ्चालन गरेका छन् जसले भुटान, थाइल्याण्ड, पाकिस्तान, इथियोपिया, चीन, भारत र उत्तर कोरिया जस्ता देशहरूमा लाखौ आँखाका बिरामीहरूलाई सहयोग गरेको छ।
१३ करोड रुपैयाको पुरस्कार डा रुइतको फाउन्डेसनलाई जान्छ, जसले वार्षिक ३ लाख ५० हजार लेन्सहरू उत्पादन गर्दछ, तिनीहरूलाई प्रत्येक ३ डलरको लागतमा वितरण गर्दछ र लगभग १ लाख २० हजार मानिसहरूलाई अन्धोपनबाट बचाउन मद्दत गर्दछ।
बहराइनका राजाद्वारा फेब्रुअरी २००९ मा स्थापना गरिएको इसा पुरस्कार प्रत्येक दुई वर्षमा विशेषज्ञ प्यानलद्वारा छानिएका व्यक्ति वा संस्थाहरूलाई प्रदान गरिन्छ।