सविन घिमिरे , विराटनगर। विराटनगरको कञ्चनवारीमा आकाशे पुल निर्माण गर्न खनिएको खाल्डो यति बेला डम्पिङ्ग साइटको रुपमा विकसित मात्र भइरहेको छैन तर खाल्डोको कारण सर्वसाधारणको ज्यान समेत जोखिममा परेको छ । पैदल यात्री हिड्ने सडकपेटिमा बनाइएको खाल्डोलाइ कुनै तवरले व्यवस्थित गर्ने कुरा त परे जाओस सो खाल्डोमा कोहि नपरुन भनेर कुनै पनि बार बेर लगाइएको छैन । यस बाट प्रष्ट हुन्छ महानगरलाई जनताको सुरक्षाको चिन्ता छैन ।
महानगरले आफ्नो पसल अगाडि पुल निमार्णका लागि भनेर बनाएको खाल्डाले गर्दा व्यवसायमा असर परेको स्थानिय व्यवसायीहरुले बताउदै आएका छन् । आकाशे पुल निर्माण गर्ने भनेर खनेको खाल्डो अहिले जोखिमपूर्ण बनेको र डम्पिङ साइटको रुपमा प्रयोग भइरहेको छ । सो खाल्डोको कारण पैदलयात्री मुख्य सडकमा हिड्न बाध्य छन् । यसले गर्दा कुनै पनि बेला कुनै पनि सवारीले पैदलयात्रीलाई ठक्कर दिन सक्ने वा अन्य कुनै पनि प्रकारको दुर्घटना हुने सम्भावना बढेको छ । रातको समयमा त झन् पैदल यात्री वा जनावारसो खाल्डोमा परेर ठुलो दुर्घटनामा पर्न सक्ने जोखिम देखिन्छ । खाल्डोमा फोहोरहरु थुपार्न थालिएको छ । महानगरलाई सफा र स्वच्छ शहरको रुपमा विकास गर्ने भनेर थलिएको अभियानलाई यो खाल्डो बाधक बनेको छ ।
अहिले थुपारिएको फोहोरले गर्दा नाली जाम भएर नजिकिदै गरेको बर्खाको समयमा सडकमा बाढी पस्न सक्ने सम्भावना त छदै छ पानी भरिएको खाल्डोमा अन्जानबस सर्वसाधारण डुब्न सक्ने पनि प्रवल सम्भावना हुनेछ । अन्तमा महानगरलाई प्रश्न , के कोहि नागरिक दुर्घटनामा परे मात्र महानगरले सडकको ज्यानमारा खाल्डो देख्ने हो ?
२०७७ चैत २ गते तत्कालीन मेयर, हाल प्रदेशसभा सदस्य भीम पराजुलीले आकाशे पुलको शिलान्यास गरेका थिए । विराटनगरको तीन स्थानमा पुल बनाउने भनेर शिलान्यास भएको थियो ।निर्माणको ठेक्का पाएको जोशी आरके जेभीले महानगरबाट प्रारम्भिक रुपमा ५ लाख रुपैयाँ बुझेर कामको थालनी समेत गरेका थिए । विराटनगरको कन्चनबारी , बरगाछी र रोडसेशमा २०७७ माघमा २ करोड ४७ लाख रुपैयामा ठेक्का लागेको आकाशे पुलको निर्माण नया नेतृत्वले चासो नदेखाएर अपलत्र परेको छ । पुल बनाउने भनिएको तीन वटै ठाउमा स्थानीय वासीको समेत अवरोध छ।