विराटनगर । विकल्प एन अल्टरनेटिभ र पोखरा रिसर्च सेन्टरको संयुक्त आयोजना तथा अमेरिकी दुतावास काठमाडौँको सहयोगमा आयोजना गरिएको “युथ इन पोलिसी एण्ड गभर्नेन्स फेलोसिप कार्यक्रम” प्रदेश १ को पहिलो चरणको कार्यक्रम आज समापन भएको छ ।
समापन कार्यक्रममा प्रमुख अतिथि प्रदेश १ का सभामुख बाबुराम गौतम, विशिष्ठ अतिथि अमेरिकी दुतावास काठमाडौँका सार्वजनिक मामिला प्रमुख ग्यारेट विल्कर्सन , प्रदेश १ सभा सदस्यहरु नेपाली कांग्रेसका शोभा चेम्जोङ्ग र मैया श्रेष्ठ , नेकपा एमालेका शिला दीक्षित कार्की , मानसी लिम्बू र जय प्रकाश चौधरी, नेकपा माओवादी केन्द्रकी सपना परियार, राष्ट्रिय योजना आयोग प्रदेश १ का निवर्तमान उपाध्यक्ष सुबोध राज प्याकुरेल , युएनडिपीका प्रणय शर्मा लगायतको उपस्थिति रहेको थियो।
२० देखी ३० वर्षका युवाहरुलाई कानुन तथा सार्वजनीक निति निर्माणमा सहभागी गराई प्रदेश संरचनालाई बलियो बनाउन सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको पहिलो तहको तालिम सफलतापुर्वक सम्पन्न भएकोमा कृतज्ञता व्यक्त गरेका छन् । कार्यक्रमको विभिन्न तहका प्रशिक्षण पश्चात समग्र प्रदेशको विकास र समृद्धिको लागि प्रदेश १ सरकारलाई सहयोगी भूमिका निर्वाह गर्ने सक्षम युवाहरु उत्पादन हुने विश्वास रहेको पनि अधिकारीले बताएका छन् ।
पोखराको रिसर्च सेन्टरका संस्थापक तथा कार्यकारी निर्देशक सुजन रेग्मीले वाई पी जी फेलोशिपको पहिलो चरणको प्रशिक्षण प्रदेश १ मा सफल भएको बताएका छन् । यस कार्यक्रमको माध्यमबाट प्रदेशका युवाहरुलाई सकारात्मक सोच र सहयोगी भावनाको साथ अघि बढि जनस्तरका समस्याहरुलाई नीति निर्माण तहसम्म पुर्याउन र त्यसमा कार्य गर्न महत्वपूर्ण भूमिका खेल्ने रेग्मीले बताएका छन् ।
युथ इन पोलिसी एंड गभर्नेन्स फेलोसिप पोखरा रिर्सच सेन्टरको पहलमा सन् २०२० देखिसुरु गरीएको कार्यक्रम हो । सन् २०२० मा सुरु गर्दा यसलाई “Pre-professionals Parliamentary Support Program Fellowship” अर्थात पुर्व ब्यबसायिक संसदीय सहयोग कार्यक्रमको नाममा सुरु गरिएको थियो भने सन् २०२३ देखि पुन: ब्राण्डिङ्ग गरेर यसको नाम युथ इन पोलिसी एंड गभर्नेन्स फेलोसिप (YPG Fellowship) राखिएको हो । सन् २०२०।२१ मा पहिलो पटक गण्डकी प्रदेशमा यो फेलोसिपको आयोजना पोखरा रिसर्च सेन्टरले अमेरिकी दुतावास काठमान्डौको सहयोगमा संचालन गरे पश्चात २०२१।२२ मा कर्णाली प्रदेशमामा दुतावासकै सहयोगमा ऋति फाउन्डेसन सँगको सहकार्यमा संचालन भएको थियो भने गण्डकी प्रदेशमा नेसनल ईण्डोमेण्ट फर डेमोक्रेसीको सहयोगमा संचालन गरिएको थियो । २०२२।२३ मा प्रदेश १ मा पहिलो पटक यो कार्यक्रम शनिबारदेखि संचालन भएको थियो।
यस फेलोसिपका लागि २० देखि ३० वर्षका कम्तीमा स्नातक तहमा अध्ययन गरिरहेका तथा सम्बन्धित प्रदेशमा कम्तीमा १ वर्ष देखी बसोबास गर्दै आएका नेपाली नागरिकले आवेदन दिन पाउछन । आवेदकहरु मध्येबाट सुरुको चरणमा ५० जना लाई छनौट गरी पहिलो तहको तालिम दिईन्छ जसबाट २५ जनालाई छनौट गरि दोस्रो तहको तालिम दिइन्छ । अन्तिम चरणमा १२ जनालाई छनौट गरि तेस्रो तहको तालिम पश्चात प्रदेश सभाका सदस्यहरुसँग ज्ञान सहयोगीका रुपमा ६ महिना काम गराइन्छ । तालिमका क्रममा युवाहरुले सार्वजनिक नीति निर्माण, सुसाशन, सरकारको संरचना, अनुसन्धान आदिका बारेमा प्रशिक्षण प्राप्त गर्नेछन ।
वाई. पि. जी. फेलोहरुले प्रदेश सभाका सहस्यहरुको निगरानीमा रही, तोकिएका सदस्यहरुसगँ संसदिय कार्यका लागि सक्रिय रुपले २६ हप्तासम्म (१६ घण्टा प्रति हप्ता) काम गर्नेछन्। फेलोहरुले विषेश गरेर प्रदेश सभाका सदस्यहरुका लागि अध्ययन तथा अनुसन्धान गरी सभामा प्रश्न गर्नका लागि प्रश्नहरुको खेस्रा बनाउने, भाषण गर्नका लागि भाषण वा छलफलका लागि कुनै कागज तयार गर्नुका साथै सार्वजनिक महत्वका विषयहरुलाई उठाउन सहयोग गर्ने आदि कामहरु गर्नेछन्। प्रदेश सभा बन्द भएका बेला, फेलोहरु विभिन्न नीति तथा विकास सम्बन्धी प्रशिक्षण वा तालिममा सहभागी हुनेछन् भने शासन पद्दतिको विस्तृत तथा व्यवहारिक ज्ञान लिनका लागि केही अवलोकन भ्रमणमा पनि जानेछन्।