रविकर शान्डिल्य | रंगहरू मानिसको जीवनको अभिन्न अंग हो । होली एक रंगीन चाड हो जसले प्रेम झल्काउछ , सद्भाव दर्शाउछ र खराबीमाथि राम्रोको विजयको उत्सव प्रकट गर्दछ। होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ ।सदाझैँ यसवर्षको रंगहरुको पर्व होली अर्थात् फागु पूर्णिमा आज र भोलि धुमधामका साथ मनाइदैछ । काठमाडौं उपत्यकासहित पहाडी भू–भागमा आज र तराईमा भोलि होली मनाइदैछ ।
नेपालबाहेक भारत , मलेसिया जस्ता विभिन्न देशहरूमा समेत यो रंगीन पर्व मनाउने गरिन्छ । होलीको बारेमा प्रल्हाद र हिरण्यकश्यपमा केन्द्रित धेरै किंवदन्ती वा लोककथाहरू छन। भगवान कृष्ण र राधाको बारेमा पनि धेरै कथाहरू छन्।
त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रहलादसंग होलीलाई जोडेर हेरिन्छ। हिन्दू शास्त्र अनुसार प्रल्हाद एक राजकुमार थिए जो भगवान विष्णुको कट्टर भक्त थिए। उनका बुबा हिरान्यकश्यपलाई आफ्नो छोरा विष्णुको परम भक्त भएको कुरा मन परेको थिएन। हिरान्यकश्यपकी बहिनि अर्थात प्रह्लादका फुपु होलिकाले आगोमा अक्षुण्ण रहने वरदान पाएकी थिइन् । आफ्नो छोरालाई काखमा राखेर आगोमा भस्म पर्न अनुरोध गरेपछि होलिकाले हिरान्यकश्यपको कुरा मान्दै आगोमा प्रह्लादलाई भष्म पार्न खोजेकी थिइन् । भगवान विष्णुको कट्टर भक्त भएकाले प्रह्लाद आगोमा भष्म भएनन् तर शक्तिको दुरुपयोग गरेको सजायस्वरुप होलिका स्वयम् आगोमा जलेकी थिइन्। यसरी नै यस पर्वको शुरुवातका लागि होलिका दहन वा होलिका आगलागी गर्ने चलन चल्न थाल्यो ।
होलीको प्रतिनिधित्व गर्ने अर्को किंवदन्ती भगवान कृष्णसँग सम्बन्धित छ। नारद पुराण र भविष्य पुराणमा होलीको महत्व अनि चलनको चर्चा गरिएको छ, भगवान श्रीकृष्णलाई दुध खुवाएर मार्न आएकी राक्षसनी पुतनाको पनि आजकै दिन बालक कृष्णले वध गरेको उल्लेख गरिएको छ।। यसरी पुतनाको बध भएपछी गोपालवासीहरुले जयजयकार गर्दै आजको दिनको रंगीन उत्सव मनाएको विवरण पनि ईतिहासले वयान गर्दछ ।
नीलो रंगले मानवता र धैर्यतालाई दर्शाउछ भने पहेलो रंग भगवान श्रि कृष्णको प्रिय रगं हो ।
होलीले मानिसहरूलाई एकताबद्ध गर्दछ । एक अर्कामा भाइचारा बढाउछ। यो दिन देशैभरका मानिसहरू साथीभाइ र आफन्तहरूलाई भेट्न जान्छन् र मिठाई र उपहार आदानप्रदान गर्छन्। यो दिन विभिन्न मिठो परिकारहरु बनाएर साथीभाई आफन्तसंग बसेर भोजन गर्ने चलन छ ।
होली पर्वले दानव राजा हिरण्यकश्यप र प्रह्लादको कथाले सत्यको शक्ति र खराबीमाथि राम्रोको परम विजयलाई जनाउँछ। यसले गर्दा असत्यमाथि सत्यको विजयको मूल शुत्रलाई आत्मसात गरी सत्यको मार्गमा हिड्न प्रेरित गर्दछ। खेतबारी फसलको लागि तयार हुँदा होलीलाई वसन्त पर्वका रूपमा पनि लिइन्छ, जसले मेहनती किसानहरूलाई पनि यो पर्व मनाउने कारण दिन्छ।