वसन्त अधिकारी | पर्यटन व्यवसाय संसारभरि सबैभन्दा द्रुत गतिमा फस्टाउँदै गएको व्यवसाय हो । नेपाल संसारको सबै भन्दा उत्कृष्ट पर्यटकीय गन्तव्य हो भन्ने सत्यता विभिन्न तथ्यहरुले उजागर गर्दछ । नेपालको प्राकृतिक सौन्दर्य, भौगोलिक तथा सांस्कृतिक विभिदता र मौलिक इतिहासको कारण विश्वभरिबाट नेपाल घुम्न आउन चाहने पर्यटकहरुको कमि छैन । यति धेरै पर्यटकीय सम्भावना हुँदाहुँदै पनि हामीले पर्याप्त मात्रामा पर्यटकहरुलाई भित्र्याउन सकेको अवस्था छैन ।
थाईल्याण्डले सन् २०२२ मा १ करोड ११ लाख ५० हजार भन्दा बढी पर्यटक भित्र्याएको तथ्याङ्क छ। विश्वको नक्सामा मुस्किलले ठम्याउन सकिने मरुभूमिमा अवस्थित युएइको दुबई शहरले सन् २०२२ मा मात्र १ करोड ४३ लाख ६० हजार पर्यटक भित्र्यायो । नेपालभन्दा २०५ गुणा सानो सिंगापुरले सन् २०१९ मा १ करोड ९० लाख भन्दा बढी आगन्तुक भित्र्याएको थियो । जबकि पर्यटकीय सम्भावनाले भरपुर नेपालले सन् २०२२ मा जम्मा-जम्मी ६ लाख पर्यटक मात्र देश भित्र्याउन सफल भयो । आश्चर्यको कुरा यो छ कि, प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपाल जस्तो देशले पर्यटन ” भ्रमण बर्ष २०२०” मनाउन लाग्दा पनि मात्र २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो ।
हामी नेपाली संसारका २ ठुला छिमेकी राष्ट्र चीन र भारतको बीचमा अवस्थित छौ, जसले संसारको ३७ प्रतिशत जनसंख्या ओगटेको छ । पौने तिन अर्ब भन्दा बढी जनसंख्या भएका यी दुइ देशका १ प्रतिशत नागरिकहरु मात्र पनि नेपाल भित्रिने हो भने नेपालको जनसंख्या बराबरको हुन आउछ । महत्वपूर्ण कुरा यो हो कि दुवै देशहरु आर्थिक रुपमा बलियो हुदै गएका छन्, जसका नागरिकहरु पर्यटककोरुपमा बाहिरन सक्दछन ।
संसार १० वटा अग्ला हिमाल मध्ये ८ वटा त हामी कहाँ नै छ । संसार भरिका झन्डै ४९ करोड बुद्ध धर्मालम्बीहरुको पवित्र धार्मिक स्थल लुम्बिनी पनि हाम्रो देशमै अवस्थित छ । झन्डै १०० करोड भारतीय हिन्दुहरुको निम्ति धार्मिक पर्यटनको सम्भावना बोकेको पशुपतिनाथ जस्तो पवित्र स्थल काठमाडौँ स्थित छ । सांस्कृतिक विभिदता झल्काउने झन्डै १२५ जात जाति हामी कहाँ छन्, जसको फरक भाषा, संस्कार, संस्कृति, लवाईखवाई र रहन सहन पर्यटकहरुको निम्ति रुचिको बिषय हुन सक्छ । आफ्नै देशमा पर्यटकहरु आकर्षित गर्नेयतिका धेरै अवसर र सम्भावना हुँदाहुँदै पनि वर्षेनी ५-७ लाख हामी नेपाली अर्काको माटोमा पसिना बगाउन बाध्य छौ।
आज नेपालले बाहिरी मुलुकहरुसंग यतिका धेरै व्यापार घाटा बेहोरिरहेको अवस्थामा बैदेशिक मुद्रा भित्र्याउने सबै भन्दा राम्रो माध्यम पर्यटन व्यवसायको प्रबर्धन नै देखिन्छ । विश्व बैंकको अनुसार सन् २०२२ मा नेपालमा पर्यटन व्यावसायको योगदान २ खर्ब ८९ अर्ब रुपैया भन्दा बढीको देखिन्छ, जुन कुल ग्राहस्थ उत्पादनको ६.७ % हुन आउछ । नेपालले पर्यटन व्यवसायलाई प्रवर्धन गर्ने वातावरण बनाउने हो भने यो भन्दा पनि धेरै रकम र लगानी भित्र्याउन सकिने सम्भावना देखिन्छ । साथै यो क्षेत्रले बढी भन्दा बढी नेपालीहरुलाई रोजगारी र स्वरोजगारको अवसर सृजना गरी राज्यलाई धेरै भन्दा धेरै आर्थिक स्रोत उपलब्ध गराउने कुरा निश्चित छ। जुन रकमलाई राज्यले भौतिक संरचना निर्माण लगायत जनहितका कयौं कार्यहरुको निम्ति खर्चिन सक्दछ ।
आज पर्यटन व्यवसायका निकै चुनौती हामी माझ तेर्सिएर रहेका छन्, जसकारण हामीले अपेक्षा गरे अनुसार पर्यटकहरु भित्र्याउन सकेको अवस्था छैन । हामी कहाँ बाटोघाटोको अवस्था राम्रो छैन, सम्भावना भएका पर्यटकीय स्थलहरुको विकास र जगेर्ना गर्न सकेका छैनौ, पर्याप्त मात्रामा गुणस्तरीय होटलहरु संचालन गर्न सकेका छैनौ, दक्ष कामदारको अभाव खट्किएको अवस्था छ, प्रदुषण नियन्त्रण तथा सरसफाईमा ध्यान पुर्याउन सकेका छैनौ, पर्यटकहरुलाई धेरै भन्दा धेरै मनोरंजन लिन सक्ने ठाउ र वातवरणको अभाव छ, प्रचारप्रसारको कमि छ । यस्ता विभिन्न सामान्य तथा जटील कमि-कमजोरीका कारण नेपालको पर्यटन व्यवसायले अपेक्षित लगानी र पर्यटकभित्र्याउन सकेको छैन ।
हामीसंग चुनौती मात्र छैनन्, तर पर्यटनमा अथाह सम्भावना पनि रहेको छ । हामीले हाम्रा सम्भावनाहरुलाई यथार्थमा परिणत गर्ने हो भनेहाल विद्यमान चुनौतीहरुलाई निराकरण गर्नको निम्ति पहल नगरी धर छैन । कसरी नेपाल भन्दा ४९४ गुना सानो माल्दिभ्सले हरेक बर्ष १६ लाख पर्यटक भित्र्याउछ, कसरी इन्डोनेसियाको एउटा बालि टापुले हरेक बर्ष झन्डै ५०-६० लाख पर्यटक भित्र्याउछ भन्ने कुरा पर्यटनका सम्भावना बोकेर त्यसलाई साकार तुल्याएका देशहरु बाट सिक्न आवस्यक छ ।
निकै ठुलो परिमाणमा सस्तो मूल्यमा वस्तु तथा सामान उत्पादन गर्ने छिमेकि मुलुक भारत र चिनसंग उत्पादन र व्यापारमा प्रतिस्पर्धा गर्नसक्ने क्षमता हाल हामीमा छैन । अहिलेको अवस्थामा हाम्रो कम्पिटेटिभ एड्भान्टेज अर्थात् तुलनात्मक फाइदा पर्यटन व्यवसायको विकास गर्नुमा नै देखिन्छ । यस क्षेत्रमा नेपालले अरु भन्दा राम्रो सेवा प्रदान गरी धेरै भन्दा धेरै बैदेशिक मुद्रा भित्र्याउन सक्ने सम्भावनाराख्दछ । जसको निम्ति केन्द्रिय, प्रदेश र स्थानिय सरकार लगायत अन्य सरोकारवाला निकायहरुले पर्यटनको विकास नेपालकोआर्थिक विकासको आधार हो भन्ने कुरा बुझ्न जरुरि छ । यसप्रति सकारात्मक भावना लिई पर्यटनको विकासमा तगारोको रुपमारहेका नीति नियम र कानुनलाई पर्यटक र पर्यटन व्यवसाय मैत्री वातावरण बनाइ धेरै भन्दा धेरै पर्यटकहरु भित्र्याई नेपाल र नेपालीजनताले लाभ लिनबाट पछि पर्नु हुदैन ।