वसन्त अधिकारी | केहि समय अगाडी विराटनगर महानगरपालिकाले सुरु गरेको पार्किङ्ग व्यवस्थापनको बिषय निकै नै पेचिलो बन्दै गइरहेको अवस्था छ । यसको पक्ष र विपक्षमा मानिसहरु स्पष्ट बाडिएको देखिन्छन् भने कसै-कसैले यसलाई जुँगाको लडाई र राजनैतिक उक्साहटको रुपमा पनि लिएका छन् । परिस्थिति जे भएपनि पार्किङ्ग व्यवस्थापनको बिषयले विराटनगरमा अहिलेसम्म यति ठुलो हलचल मच्चाउन सकेको थिएन । पार्किङ्ग नगरको समस्या हो र यसलाई व्यवस्थापन गर्न जरुरि छ भन्ने छलफलको सुरुवात भएको छ जसको श्रेय विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई जान्छ ।
अमेरिका स्थित वासिंगटन डिसीमा मलाइ खाना खुवाउन लगेका पाहुनाले पार्किङ्ग खोज्दा नभेटेर ३० मिनेट घुमेपछि घण्टाको २४ डलर तिरेर प्राइभेट पार्किङ्ग गरेको मेरो अनुभव रहेको छ । पार्किङ्ग व्यवस्थापनको बिषय संसारको कुनै पनि बढ्दै गएको शहरहरुको लागि टाउको दुखाइको बिषय हो । विराटनगर महानगरपालिका यसबाट अछुतो रहन सक्दैन । ढिलो चाडो यसलाई व्यवस्थापन गर्न जरुरि छ। अन्यथा यसले निम्त्याउने समस्याले नगरवासीलाई नराम्ररी सताउने छ भन्ने कुरामा दुइमत छैन ।
हाल विराटनगरमा पार्किङ्ग व्यवस्थापनको बिषयलाई लिएर उठेको सवाल भनेको “व्यवस्थापन कि जिविकोपार्जन ? ” भन्ने हो। शहरी व्यवस्थापनलाई महत्वपूर्ण मान्ने पक्षहरु पार्किङ्ग व्यवस्थापनको नियमलाई खुलेर समर्थन गरेको देखिन्छन भने जिविकोपार्जनको पक्षलाई महत्वपूर्ण मान्नेहरु भने यसको बिरुद्दमा उत्रिएको महसुस हुन्छ ।धेरै मानिसहरु छन् जसलाइ यी दुवै बिषय उत्तिकै महत्वपुर्ण हुन् भन्ने लाग्छ । एउटा पक्षलाई मात्र अंगालेर अर्को पक्षलाई नजरअन्दाज गर्न सकिने अवस्था छैन । मैले सामाजिक संजालमा चलेको छलफलहरु अध्यन गर्दा धेरै पक्ष-बिपक्षका कुराहरु पाए, जसलाई यहाँ राख्ने प्रयास गर्दैछु ।
सामाजिक अभियन्ता उद्धव केसी लेख्नु हुन्छ, ” पार्किंग पक्कै पनि हरेक शहरको समस्या हो । यसलाई व्यबस्थित गर्न सकिएन भने दु:ख लण्डनको मानिसले पाउँदैनन्…व्यापार चौपट हुनुको कारण पार्किंग मात्र होइन, अपितु अनेक छन् । ३ वटा ठूलाठूला पार्किङ्ग सहितको मलहरु हुनु, नजिकै जोगबनीको बजार हुनु र महँगी बढेकोले मानिसहरुको क्रय शक्तिमा ह्रास आउनु हो” ।
त्यसै गरि होटल व्यवसायी पुण्य गौतम भन्नुहुन्छ, “महानगरीय पार्किङ व्यवस्थापनका लागी मेयर, उप-मेयर ,कार्यकारी लगायत सम्पूर्ण लाई धन्यवाद छ, बाटो पार्किङ कदापी होइन, महानगरले पार्किङ व्यवस्था गरेकै छ” ।
त्यसै गरि अर्जुन कुमार कर्ण लेख्नुहुन्छ, “विराटनगर अब महानगरपालिका भइसक्दा पनि यहाँका जनताहरुको सोच र जीवनशैली गाऊँ-देहातमा बस्नेहरुको जस्तो हुनु भएन। विराटनगर महानगरपालिकाले ठाउँ-ठाउँमा पार्किंगको व्यवस्था गरेकै छ। पार्किंग स्थलमा सवारी साधन पार्क गरी, बढ़ी मा ५ मिनट हिड़ेर सजिलै बजारको कुनै पनि पसल पुग्न सकिन्छ। यदि कुनै व्यक्तिले भन्छ कि म अलिकती पनि हिड्दिन, ठ्याक्कै पसल अगाडी नै सवारी साधन पार्क गरी समान किन्न जान्छु भने, त्यो उसको संकुचित मानसिकता र अलछीपनको पराकाष्ठा मात्र हो। “
यता बि.एम खत्री ” पहिला व्यवस्थित पार्किंग बनाउ, त्यसपछि मात्र नो पार्किङ अभियान लागू गरौं । अन्यथा बजार जाने मानिसहरुले कहाँ पार्किंग गर्ने?” लेख्नु हुन्छ। प्रदिप चौधरी लेख्नु हुन्छ “सफा र व्यवस्थित मात्र भएर हुन्छ ? मुख्य त आर्थिक कारोबार भएन भने बिराटनगर बजार के गर्न आउँछन् मान्छे? मायाले सँसार चल्दैन हजुर!”
केवल राज विष्टको बुझाइमा, “आत्मादह यसरी गर्न बाध्य बनाउँछ सरकारले, ती सटर खोलेर बसेका पसलहरुमा कहाँ पार्किंग गरेर आउनु होला? यसरी नै हो बिदेश जान बाध्य बनाउछन, गरी खाना दिदैनन नेपालमा” ।
अनिल कुमार राम प्रश्न गर्नुहुन्छ, “सबै ठाउँ नो पार्किङ गरेपछि सवारी साधन चाई काधमा बोकेर हिड्नु?”
सुभाष बर्माले सामाजिक संजालमा विचार व्यक्त गर्दै विदेशमा बसेर विकासको कुरा गर्नेहरुले एक महिना व्यापार गरेर हेर्नु नी भनेर चुनौती दिनु भएको छ l
त्यसैगरी विराटनगरका युवा व्यवसायी गंगाधर मैनालीको बुझाइमा “शहर सुन्दर बनाउनु पर्छ, ट्राफिक चुस्त हुनुपर्छ भन्ने कुरामा दुइमत छैन। तर कुनै पनि कार्यको शुरुवात शुन्यबाट गर्ने कि एकै पटक १०० मा जाने भन्ने कुरा हो …साच्चै शहर भरि नो पार्किङ शुरु गर्ने हो भने प्रत्येक भाडा लागेको घरबाट यो कुराको शुरुवात गरौ। सटर भाडामा लाउदा ५ वटा सटर हुनेले कम्तिमा २० वटा बाइक राख्ने ठाउ अनिवार्य बनाउन कडा नियम लगाउ। नया बन्ने घरलाई अनिवार्य बेसमेन्ट पार्किङ बनाउन लगाउ । एकै पटक सिंगापुर बनाउछु भनेर लहड नगरौ। सकेसम्म मिलाएर जाने सहज प्रणालिको बिकास गरौ। “
विराटनगर महानगरपालिका कर्मचारी त्रीभुषण गिरीका अनुसार “अन्तराष्ट्रिय अभ्यास हेर्ने हो भने हरेक शहरहरुमा अफ स्ट्रिट पार्किंग र अन स्ट्रिट पार्किङ्ग दुवै प्रचलनमा छन् । व्यस्त, अत्यावश्यक तथा साँगुरो सडकहरुमा अफ स्ट्रिट पार्किंग र खुला तथा फराकिलो सडकहरुमा अन स्ट्रिट पार्किंग लागु हुन्छ, त्यसको पनि धेरै विधिहरु छन्। पार्किङको विषयमा अवज्ञा वा विवाद गर्नु भन्दा वार्ता र संवादको माध्यमबाट कुन स्थानमा कस्तो पार्किङ राख्ने भन्ने बारे निकास खोजे विराटनगरको भलो हुने थियो।”
हामी सबै यो नगरको विकाश र व्यवस्थापन चाहन्छौ र आफ्नो ठाउँलाई राम्रो बनाउन सहयोग गर्नु हामी सबै नगरवासीको दायित्व पनि हो ।कुनै एकजना जनप्रतिनिधि र राज्यसेवकको पहलले मात्र विकासलाई सम्भव तुल्याउन सम्भव छैन । दिगो विकासलाई सम्भव तुल्याउन आम मानिसहरुको सहभागिता हुन आवश्यक । नत्र विकासको कामले स्थायीत्व पाउन सक्दैन । यस अर्थमा महानगरपालिकाले सरोकारवाला व्यक्तिहरुको साथ सहयोग लिएर अगाडी बढ्न आवस्यक छ । अहिलेको समस्यालाई सुल्झाउने उपाय भनेको कि त पेलेरै लानु पर्यो अथवा दुवै पक्ष कुनै समझदारीको विन्दुमा आउनु पर्यो । व्यापारीहरुले पनि मेरो गोरुको बारै टक्का भन्नु हुदैन । महानगरपालिकाले पनि आर्थिक मन्दीको मार खेपिरहेका व्यापारीहरुलाई पेलेरै जान्छु भन्ने मनसाय राख्नु उपयुक्त देखिंदैन । संवाद र छलफलको माध्यमबाट समझदारीको विन्दुमा आएर हाल चालिएको पार्किङ्ग व्यवस्थापनको बिषयलाई सफल बनाउन सबैको पहल आवश्यक छ ।
मानिस आदतले निर्देशित प्राणि हो । लागेको बानि एकै पटक छुटाउन सहज हुदैन । यसको लागि समय लाग्छ तर यदि विराटनगर महानगरपालिकाको पार्किङ्गको व्यवस्थापन गर्न सकेको खण्डमा अन्तत: यसले सबै नगरवासीको हित गर्ने कुरा निश्चित छ । मेरो व्यक्तिगत विचारमा अहिले सबै सडकहरुमा एकै पटक पार्किङ्ग व्यवस्थापन गर्नु भन्दापनि आवश्यक अध्ययन गरेर अधिक समस्या रहेको कुनै निश्चित बाटो पहिचान गरी दिर्घकालिन पार्किङ्गको विकल्प दिंदै अन्य ठाउँहरु तिर पनि योजना कार्यन्वयन गर्न सकेको भए उचित हुने थियो ।
साघुरो र अधिक सवारी चाप भएको बाटोको हकमा विकल्प दिएर पूर्ण रुपले पार्किङ्ग निषेध गर्ने व्यवस्था मिलाउन आवस्यक देखिन्छ । फराकिलो सडकको हकमा सवारी चालकलाइ पायक पर्ने ठाउहरुमा निशुल्क पार्किङ्गको व्यवस्था मिलाई सडकमा पार्किङ्ग गर्नेहरुको लागि समयको हिसाबले शुल्क उठाउन पनि सकिन्छ । यसो गर्दा निशुल्क पार्किङ्ग सेवा उपयोग गर्न चाहनेहरुले शुल्क तिर्नु पर्ने छैन भने सडक पार्किङ्गको सेवा उपभोग गर्न चाहनेहरुले पार्किङ्ग शुल्क तिरेर सेवा लिन सक्नेछन् । यसले महानगरपालिकालाइ आवस्यक स्रोत संकलन गर्ने आधार पनि प्रदान गर्नेछ ।
हाल बाटोमा ९० डिग्री सिधा मोटरसाइकल पार्किङ्ग गर्ने चलनलाइ ४५ डिग्री छड्के राख्ने व्यवस्था गरेर पनि सडकलाई फराकिलो बनाउन सकिने अर्को उपाय हुन सक्छ भने चार चक्के र ठुला सवारी साधनहरुलाई बजार साघुरो र मुख्य सडकहरुमा पार्किङ्गमा रोक लगाउने व्यवस्थाले पनि पार्किङ्ग व्यवस्थापनमा केहि हदसम्म सहयोग पुर्याउने देखिन्छ । विशेष समयमा व्यस्त रहने सडकमा पार्किङ्ग निषेध गरेपनि सडक व्यस्त नहुने समयहरुमा पार्किङ्ग गर्न दिएर पनि समस्या समाधान गर्ने गरेको अन्तराष्ट्रिय अभ्यासहरु छन् । त्यसै गरि सार्वजनिक बिदाको दिन सडकमा धेरै चाप नहुने हुँदा पार्किङ्ग गर्न छुट दिने व्यवस्थाले पनि पार्किंग व्यवस्थापनमा सहयोग पुर्याउन सक्दछ । बजार क्षेत्रमा पार्किङ्गको समस्या न्यूनीकरण गर्न व्यापारिक प्रयोजनको निम्ति बन्ने नया भवनमा बेसमेन्ट पार्किङको नियम अनिवार्य गर्न आवश्यक छ ।
अन्त्यमा फेरी, यदि विराटनगरले समयमा नै पार्किङ्गको व्यवस्थापन गर्न नसकेको खण्डमा भविष्यमा अस्तव्यस्तताको विकराल स्थिति निम्तिन सक्छ । यसमा कसैले पनि कुनै किसिमको राजनीतिक दाउपेच नखेली समास्या समाधान गर्नको निम्ति हातेमालो गर्न आवस्यक छ। महानगरपालिकाले पनि समस्या समाधानको निम्ति पायक पर्ने ठाउहरुमा दिर्घकालिन पार्किङ्गको व्यवस्था गर्न आवश्यक छ भने विराटनगर महानगरपालिका र व्यापारी दुवै पक्ष केहि हदसम्म लचक भइ संवाद र छलफलको माध्यमद्वारा समस्या समाधानको उपाय निकाल्न आवश्यक छ ।