काठमाडौँ — सरकारले कोशी नामकरणको विरोधमा भएको आन्दोलका क्रममा टाउकोमा लाठि लागेर केहि दिन पछि उपचारको क्रममा निधन भएका पदमबहादुर लिम्बू ‘ लाजेहाङ’ लाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।
मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । ‘कोशी नामकरण सन्दर्भमा कोशी प्रदेशमा आन्दोलनको क्रममा पदमबहादुर लिम्बूको निधन हुन पुग्यो । त्यसपछि आन्दोलनकारीसँगको छलफलबाट छानबिन समिति बनेको थियो । त्यसपछि काम प्रक्रिया अघि बढ्ने क्रममा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई सहिद घोषणा गर्ने र क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको छ ।’प्रवक्ता शर्माले नामकरणसम्बन्धी भइरहेको आन्दोलन र विरोधलाई प्रदेशसँग वार्ता गरी अघि बढ्न केन्द्र सरकारको सहजीकरण गर्ने निर्णय भएको बताइन्। ‘नामकरणसम्बन्धी आन्दोलनलाई प्रदेशसँग वार्ता गरेर अघि बढ्न यहाँबाट सहजीकरण गर्ने कुरा भएको छ,’ मन्त्री शर्माले भनिन् ।
कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै गत चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा स्वर्गीय लाजेहाङ्ग लिम्बू पनि उपस्थित थिए । चैत्र ५ गतेको आन्दोलनमा टाउकोमा लाठी प्रहार गरिएका पदम लिम्बू ” लाजेहाङ” चैत्र ८ गते बेहोस भएपछी उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । उपचारको क्रममा उनको चैत १० गते मृत्यु भएको थियो । प्रहरीको लाठी चार्जबाट लजेहांग लिम्बू घाइते भएको आरोप पहिचानवादी पक्षले लगाएको थियो ।आन्दोलनकारीहरुबाट लिम्बूको टाउकोमा लागेको भिडीयो पनि सार्वजनिक भएको छ।
भिडियोमा हेर्नुहोस
धरान–१५ बाझगरा बस्दै आएका ४२ वर्षीय लाजेहाङ कुमार लिङ्देन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बूवान भोलेन्टियरका केन्द्रीय सह–कमान्डर थिए ।